+
+
Shares

प्रधानमन्त्रीका सल्लाहकार भन्छन् : नेपालले चीनको ‘सुरक्षा रणनीति’ मा समर्थन गरेको छैन

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १६ गते १४:५१

१६ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडाले नेपालले चीनको ग्लोबल सेक्युरिटी इनिसियटिभ्स (जीएसआई) मा समर्थन नगरेको बताएका छन् ।

चिनियाँ विदेश मन्त्रालयले सार्वजनिक गरेको एक रिपोर्टमा शनिबार प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीचको द्विपक्षीय भेटवार्तामा नेपालले जीएसआईमा समर्थन जनाएको उल्लेख थियो ।

प्रधामन्त्री ओली र चिनियाँ राष्ट्रपति सी बीचको भेटवार्तामा सहभागी पूर्वअर्थमन्त्री समेत रहेका डा. खतिवडाले यसको खण्डन गरेका छन् ।

नेपालको संविधान र असंलग्न परराष्ट्र नीतिप्रति प्रतिबद्ध नेपाल सरकार कुनै पनि मुलुकको सुरक्षा रणनीतिको अङ्ग नबन्ने उनले बताएका हुन् ।

शांघाइ सहयोग स्रगठन (एससिओ) प्लस को शिखर सम्मेलनमा भाग लिन चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीबीच भदौ १४ गते तियानजिनमा द्विपक्षीय भेटवार्ता भएको थियो ।

भेटपछि चिनियाँ विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा ‘नेपाल चीनद्वारा प्रस्तावित ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ (जीडीआई), ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) र ग्लोबल सिभिलाइजेसन इनिसिएटिभ (जीसीआई) लाई समर्थन गर्दछ’ भनिएको छ ।

‘प्रधानमन्त्री ओलीको यो भ्रमण मुलत: एससिओ प्लस को शिखर सम्मेलनका लागि हो । सामान्यत : यस्ता सम्मेलनका साइडलाइन वार्तामा कुनै सहमति र समझदारीमा हस्ताक्षर हुँदैन र गरिएको छैन । सहमति नै नभएको विषयमा नेपाल जिएसआइको पक्ष बन्यो भन्ने ढङ्गले प्रचार गरिनु विल्कुलै गलत छ,’ डा. खतिवडाले भने ।

डा खतिवडाले दुई मुलुकबीच यसअघि भएका बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआइ) को फ्रेमवर्कलगायत सहमति र सम्झौताका कार्यान्वयनका लागि दुवै पक्षले प्राथमिकता दिने विषयमा छलफल भएको बताए ।

जिएसआइमा नेपालले समर्थन जनाएको समाचार सञ्चारमाध्यममा प्रकाशित भएको सन्दर्भमा समेत डा. खतिवडाले खण्डन गरेका छन् । चिनियाँ विदेश मन्त्रालयको विज्ञप्तिमा नेपालले जीसीआईमा समर्थन जनाएको उल्लेख भएकोमा डा. खतिवडाले भने त्यसलाई झुटो भनेका हुन् । (राससको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?