
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री केपी शर्मा ओलीले एससीओ बैठकमा सम्बोधन गरी नेपालको स्पष्ट स्ट्याण्ड राख्नुभयो र भ्रमणको मुख्य औपचारिक कार्यक्रम सकिएको छ।
- चीनको सुरक्षा रणनीति 'ग्लोबल सेक्युरिटी इनिसिएटिभ'मा नेपालले समर्थन गरेको भनाइ चीनको विज्ञप्तिमा आएको भए पनि प्रधानमन्त्रीले त्यसबारे कुनै कुराकानी गर्नुभएको छैन।
- नेपाल कुनै सैन्य गठबन्धनमा सामेल हुँदैन भन्ने स्पष्ट पोजिसन कायम रहेको र लिपुलेक विषयमा नेपालको भूमि भएको कुरा चीनलाई राखिएको छ।
१६ भदौ, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सांघाइ सहयोग संगठन (एससीओ) को बैठकमा सोमबार सम्बोधन गरेका छन् । उक्त सम्बोधनपछि यो भ्रमणको मुख्य औपचारिक कार्यक्रम सकिएको छ।
गत शनिबार चीन पुगे लगत्तै चिनियाँ राष्ट्रपति सी चीनफिङसँगको भेटमा भारत र चीनबीच नेपालको लिपुलेक हुँदै व्यापार गर्ने सहमतिको विरोध गरेको थियो। तर उक्त भेटमा चीनले अघि सारेको सुरक्षा रणानीति ‘ग्लोबल सेक्युरिटी इनिसिएटिभ’ (जीएसआई) मा नेपालले समर्थन गरेको कुरा चीनतर्फको वक्तव्यमा उल्लेख छ।
त्यही कारण अहिले प्रधानमन्त्रीले यो विषयमा जवाफ दिनुपर्ने कुरा उठिरहेको छ । यसै सन्दर्भमा प्रधानमन्त्रीकै भ्रमण टोलीमा रहेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सोमबार साँझ अनलाइनखबरसँग गरेको कुराकानी :
प्रधानमन्त्रीको भ्रमणको मूल कार्यक्रम आज सकियो । यो भ्रमण कस्तो रह्यो ?
भ्रमण पूर्ण रुपमा सफल भयो । अन्तर्राष्ट्रिय मञ्चमा प्रधानमन्त्रीले नेपालको स्ट्याण्ड र विचारहरु प्रस्ट रुपमा राख्नुभयो । त्यसैले हामीले भ्रमण पूर्ण रुपमा सफल भएको ठानेका छौं ।
चीनका राष्ट्रपतिले आज ‘ग्लोबल गभर्नेन्स इनिसएटिभको घोषणा गरे । यो अभियानलाई कसरी लिनुभएको छ ?
ग्लोबल गभर्नेन्स इनिसिएटिभ चाहिँ आज प्रपोज गरेको अभियान हो । विभिन्न देशहरुले त्यसबारेमा सम्मेलनमा कमेन्ट गरेका छन् । केहीले गरेनन् । हामीले पनि छलफल गरेरपछि धारणा बनाउने कुरा हो।
सी चिनफिङसँगको गत शनिबारको भेटमा नेपालले चीनको सुरक्षा रणनीति ‘ग्लोबल सेक्युरिटी इनिसिएटिभ’मा समर्थन जनायो भन्ने विज्ञप्ति जारी भएको थियो । त्यसलाई लिएर अहिले बहस भइरहेको छ । जीएसआईमा नेपाल संलग्न हुनेबारे के कुरा भएको हो ?
जीएसआईको बारेमा न हाम्रो प्रधानमन्त्रीले आफ्नो कुराकानीमा व्यक्त गर्नुभयो, न द्विपक्षीय कुराकानीमा त्यो विषय आयो । सार्वजनिक रुपमा पनि कसैले केही भनेको छैन । नेपालको पहिलेदखि नै एउटा स्ट्याण्ड छ, नेपाल कुनै पनि सैन्य गठबन्धनमा सामेल हुँदैन । त्यो स्ट्याण्डमा अहिले पनि कायम छ ।
चीनको विज्ञप्तिमा त्यो कुरा कसरी आयो त ?
चिनियाँ साइडबाट आएको विज्ञप्तिमा कसरी पर्यो त्यो हामीलाई के थाहा र ? हाम्रो तर्फबाट त्यस विषयमा कुनै कुराकानी भएको छैन । प्रधानमन्त्रीले जीएसआई भन्ने शब्द पनि उच्चारण गर्नुभएको छैन ।
अब यो विज्ञप्तिमा आएको विषयलाई लिएर अब नेपाल पक्षाबाट कुनै कन्सर्न जनाइन्छ ?
हामीले त्यस विषयमा कुनै कुरा गरेको छैन । कुरा नगरेको विषयमा हामीले कन्सर्न जनाउने कुरा भएन । नेपाल पहिला पनि त्यस्तो गठबन्धनमा सामेल भएको छैन । अहिले पनि हुँदैन । नेपालको पोजिसेन त क्लियर छ नि ।
बेइजिङमा अझै एउटा द्विपक्षीय भेट बाँकी नै छ । त्यो भेटमा चाहिँ अहिले असष्पष्ट भएका जीएसआई लगायतका विषयमा केही कुरा हुन्छ ?
हामीले चीनसँगको द्विपक्षीय सम्बन्धलाई बलियो बनाउने हो । हाम्रो देशको हितमा हाम्रो परराष्ट्र नीतिलाई सञ्चालन गर्ने हो । नेपालले आफ्नो विकासको चाहनालाई ध्यान दिएको छ । त्यही कुरालाई प्राथमिकतामा राखेर छलफल हुन्छ ।
लिपुलेकको विषयमा नेपालले कुरा राख्दा सी चिनफिङबाट चाहि कस्तो प्रतिक्रिया आयो ?
हामीले हाम्रो कुरा राख्यौं । नेपालले हाम्रो भूमि हो भनेर राख्यौं । त्यही हो कुरा ।
लाओस कम्बोडिया, मालदिभ्स लगायतका देशका सरकार प्रमुखहरुसँग पनि भेट भयो । त्यो भेटमा चाहिँ के कुरा भयो ?
त्यसमा द्विपक्षीय सम्बन्धलाई कसरी बलियो बनाउने भन्ने कुरा भएको हो । सांस्कृतिक आर्थिक सम्बन्धलाई विस्तारित सुदृढ गरौं भन्ने कुरा नै भयो । देशअनुसारका आवश्यकताका कुराकानी भए।
प्रतिक्रिया 4