News Summary
Generated by OK AI. Editorially reviewed.- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भुटान भ्रमणमा ऊर्जा, कनेक्टिभिटी र सांस्कृतिक क्षेत्रमा द्विपक्षीय सहयोग बढाउने निर्णय गरे।
- भारतले भुटानको पञ्चवर्षीय योजनाका लागि १० हजार करोड रुपैयाँ सहयोग र ४ हजार करोड रुपैयाँ सहुलियतपूर्ण कर्जा दिने प्रतिबद्धता जनाएको छ।
- मोदीले भुटानमा १ हजार २० मेगावटको पुनात्याङ्छू–२ हाइड्रोपावर परियोजना उद्घाटन गरे र पुनात्याङ्छू–१ को पुनःनिर्माण सुरु हुने जानकारी दिए।
५ मंसिर, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पछिल्लो साता छिमेकी मुलुक भुटानको भ्रमण गरे । भ्रमणका क्रममा मोदीले थिम्पुमा भुटानका राजा जिग्मे खेसर नामग्याल वाङचुकसँग भेटवार्ता गरे । भेटमा दुई देशबीच ऊर्जा, कनेक्टिभिटी र सांस्कृतिक क्षेत्रमा द्विपक्षीय सहयोग बढाउने निर्णय भएको छ ।
सन् २०१४ पछि मोदी दोस्रो पटक भुटान भ्रमणमा गएका हुन् । चीनले आफ्नो प्रभुत्व बढाउँदै गएका बेला भारतका लागि सामरिक दृष्टिकोणले भुटान निकै महत्त्वपूर्ण देश हो । सोही अनुरूप भारतले भुटानलाई उस्तै महत्त्व दिँदै आएको छ ।
भवितव्य घटना र क्षेत्रमा चीनको विस्तारलाई मध्यनजर गर्ने हो भने भुटानको भौगोलिक अवस्थिति भारतका लागि संवदेनशील मानिन्छ । पूर्वी हिमालयमा भारत र चीनबीचमा छ भुटान ।
भुटान, भारत र चीनको सीमा नजिक अवस्थित डोकलामसहितका क्षेत्रले निगरानीका लागि अहं भूमिका राख्छ । डोकलाम दक्षिण तिब्बत, भुटान र सिक्किमको बीचमा पर्दछ, जुन क्षेत्रको भूमिमा चीन र भुटानले आ–आफ्नो दाबी गर्दै आएको छन् ।
चीनले यस क्षेत्रमा सडक वा सैन्य गतिविधि बढाउँदा भारतको सिलिगुडी करिडोरमा सुरक्षा खतरा बढ्न सक्ने विज्ञहरू बताउँछन् । सोही कारण सन् २०१७ मा भारत र चीनबीच डोकलाममा तनाव उत्पन्न भएको थियो ।
हालैका वर्षमा चीनले भुटानमा व्यापार, सम्पर्क सञ्जाल, टेलिकम र पूर्वाधार जस्ता क्षेत्रमा आफ्नो उपस्थिति बढाउँदै लगेको छ । भुटानमा चीनको प्रभाव बढ्दै जाँदा त्यसले सोझै आफ्नो सुरक्षा र रणनीतिक हितमा चुनौती दिन सक्ने चिन्ता भारतको छ ।
भुटानमा लगानी बढाउँदैछ भारत
मोदीको हालैको दुईदिने भ्रमणका क्रममा भारत र भुटान सरकारबीच तीन सम्झौतामा हस्ताक्षर भएको छ ।
मोदीले भुटानका वर्तमान राजाका पिता र पूर्वराजा जिग्मे सिंग्ये वाङचुकको ७०औं जन्म जयन्तीका सन्दर्भमा आयोजित कार्यक्रममा भाग लिए, सोही दौरान दुई देशबीच कयौं योजना घोषणा गरिएको थियो ।
भुटानसँगको सीमामा पर्ने आसामको हतीसरमा भारतले नयाँ अध्यागमन कार्यालय बनाउने निर्णय गरेको छ । सो अध्यागमन केन्द्रबाट नजिकैको भुटानी शहर गेलेफूसम्म जाने यात्रुका लागि सहजता हुने अपेक्षा छ ।
भारतले दुई देशबीच आवागमन सहज बनाउन यो कदम उठाएको जनाएको छ । गत सेप्टेम्बरमा भारतले रेल परियोजना समेत घोषणा गरेको थियो, जसअनुसार अब भुटान सोझै भारतीय रेल्वे नेटवर्कसँग जोडिनेछ ।
कोकराझार–गेलेफू रेल्वे लाइनले भारतको आसाम राज्य र भुटानको दक्षिण जिल्ला गेलेफूसँग जोड्नेछ । यस्तै दोस्रो रेल्वे लाइन पश्चिम बंगालको बनारहाटदेखि भुटानको दक्षिण पश्चिम जिल्ला समत्सेसम्म पुग्नेछ ।
भारत सरकारले भुटानको पञ्चवर्षीय योजनाका लागि १० हजार करोड रुपैयाँ सहयोग दिने घोषणा गरेको छ । भारतले भुटानको ऊर्जा र पूर्वाधारको विकासका लागि ४ हजार करोड रुपैयाँ सहुलियतपूर्ण कर्जा वा कर्जा दिने प्रतिबद्धता गरेको छ ।
मोदीले भुटान भ्रमणकै क्रममा भारतको सहयोगमा निर्माण भएको १ हजार २० मेगावटको पुनात्याङ्छू–२ हाइड्रोपावर परियोजनाको समेत उद्घाटन गरे । साथै पुनात्याङ्छू–१ को पुन: निर्माण सुरु हुने भएको छ । भारतीय निजी कम्पनी टाटा पावर, अडानी समूह र रिलायन्स पावरले पनि भुटानको ड्रङ्क पावर कर्पोरेशनसँग विद्युत परियोजनाका लागि सम्झौता गरेका छन् ।
सम्झौता अनुसार आगामी वर्षमा भुटानमा थप विद्युत परियोजनाको विकास गर्ने उल्लेख छ । साथै गेलेफूलाई माइन्डफुलनेस सिटी बनाउन भारतले सहयोग गर्ने घोषणा गरिएको छ । यसबाहेक भारतले भुटानी समुदायका लागि वाराणसीमा मन्दिर र अतिथी गृह बनाउने भएको छ ।
भुटानलाई चीनसँग नजिकिएको देख्न चाँहदैन भारत
जवाहरलाल नेहरू विश्वविद्यालयको स्पेशल सेन्टर फर नेशनल सेक्युरिटी स्टडिजका एसोसिएट प्रोफेसर डा. अमित सिंहले भारत–भुटान सम्बन्धमा चीनसँगको सीमा विवाद मुख्य कारक बन्ने गरेको बताउँछन् ।
सन् २०१७ मा डोकलाममा तनाव उत्पन्न हुँदा भुटान सोझै चीनसँग भिड्न चाहन्थेन । भुटानले सदैव सीमा विवादलाई संवाद र शान्तिपूर्ण तरिकाले समाधान गर्न चाहेको देखिन्छ । सोही कारण सन् २०२३ देखि भुटानले चीनसँग संवादको प्रयास बढाउँदै गएको छ ।
यस बीच चीनले पनि भुटानमा आफ्नो लगानी बढाउँदै गएको छ । दुई देशबीच व्यापार समेत लगातार बढ्दै गएको देखिएको छ । सन् २०२३ मा भुटानले चीनबाट झण्डै ८३ मिलियन डलरको सामान आयात गरेको थियो ।
डा. अमित सिंहका अनुसार भारतले भुटानसँगको कनेक्टिभिटी परियोजनाको उपयोग रणनीतिक सुरक्षाका लागि प्रयोग गर्न सक्छ ।
उनी भन्छन्, ‘भुटानले चीनतर्फ झुकाव राखेको हेर्न भारत चाहँदैन, सोही कारण भारतले भुटानसँग मिलेर विभिन्न परियोजना सुरु गरेको छ, रेल्वे सञ्जाल विस्तार हुँदा दुई देशबीच व्यापार र पर्यटनले बढावा पाउनेछ, यसबाहेक भारत र भुटानबीच धार्मिक र सांस्कृतिक सम्बन्ध पनि गहिरो छ, चीनको छवि राम्रो नभएको भुटानलाई थाहा छ, चीनलाई विस्तारवादी राष्ट्रका रूपमा चित्रित गरिन्छ र उसले स्थिरतामा विश्वास गर्दैन, यस्तोमा भारतको दिशा सही छ र भुटान पनि भारतले आफ्नो यस मामिलामा समर्थन गरोस् भन्ने चाहन्छ ।’
पूर्वी एशियामा भारतका लागि महत्त्वपूर्ण छिमेकी
भुटानले आफ्नो कूल आयको झण्डै ४० प्रतिशत हिस्सा विद्युत निर्यातबाट कमाउँदै आएको छ । भुटानमा उत्पादित अधिकतम विद्युत भारतमै निर्यात हुँदै आएको छ ।
भारतले भुटानबाट आयातित विद्युत आफ्ना पूर्वी राज्यको विकासमा उपयोग गर्दै आएको छ । भुटानको मुद्राको विनिमय भारतीय रुपैयाँ बराबर नै छ । भुटान आमरूपमा संयुक्त राष्ट्रसंघीय सभामा समेत भारतकै पक्षमा उभिँदै आएको छ ।
ओपी जिन्दल ग्लोबल युनिभर्सिटीका जिन्दल स्कुल अफ इन्टरनेशनल अफयर्सका एसोसिएट प्रोफेसर एलिजावेथ रोशले मोदीको भुटान भ्रमणको सन्दर्भ बुझ्नु पर्ने बताइन् ।
उनी भन्छिन्, ‘सन् २००० को सुरुआततिर भुटानी सेनाले आफ्ना राजाको आदेशमा भारतीय विद्रोही समूह (इन्सेर्जेन्ट्स) विरुद्धको कारबाहीमा भारतलाई सघाएको थियो । अहिले पूर्वी एशियाली देशमा भारतको कूटनीतिक कमजोर छ, बंगलादेशमा राजनीतिक अस्थिरता छ, साथै भविष्यमा पनि भारतसँग उसका सहयोगीको भूमिका र दिशा पूर्ण स्पष्ट देखिँदैन, म्यानमारमा गृहयुद्ध र आन्तरिक संघर्ष चलिरहेको छ, यस्तोमा भारतको नजर भुटानतर्फ सोझिएको छ ।’
भारतले छिमेकी देशसँगको आफ्नो रणनीतिमा बदलाव गरिरहेको देखिन्छ । भारत र भुटानबीच लामो समयदेखि घनिष्ठ आर्थिक र सुरक्षा सम्बन्ध छ, त्यसलाई निरन्तरता दिने भारतको रणनीति देखिन्छ ।
प्रतिक्रिया 4