२४ काठमाडौं । नेपाली कांग्रेसका सात तह (वडादेखि केन्द्रसम्म) मा विस्तारित कार्यसमितिहरूमा रहन पार्टीको क्रियाशील सदस्यता अनिवार्य मानिन्छ । क्रियाशील सदस्यहरूबाटै कांग्रेसले महाधिवेशन प्रतिनिधिहरू छनोट हुन्छन् । नेतृत्व चयनका निम्ति महाधिवेशन प्रतिनिधिहरूले मतदान गर्छन् ।
महाधिवेशन प्रतिनिधि छनोट गर्ने क्रियाशील सदस्यहरूको नवीकरण निर्धारित समयावधिभित्र सम्पन्न हुने सम्भावना नदेखिएपछि कांग्रेसले म्याद थप गरेको छ । ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ ले बुधबारमात्रै पार्टीको सदस्यता नवीकरणको समयावधि चार दिनका लागि थप गरेको हो ।
समिति संयोजक एवम् महामन्त्री गगनकुमार थापाले बुधबार जिल्ला सभापतिहरूसँग ‘भर्चुअल’ बैठक गरेर २९ मंसिरसम्म सदस्यता नवीकरणको काम सम्पन्न गरी सक्न निर्देशन दिएका छन् ।
यसअघि १५ मंसिरमा सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले २५ मंसिरभित्र नवीकरण नभएका, छुटेका, विवरण पठाउन बाँकी रहेका जिल्लाले जिल्ला कार्यसमितिको बैठकको निर्णय, नवीकरणको सूचीको अन्तिम नामावली र रकम केन्द्रमा पठाउन भनेको थियो ।
बैठकले निर्धारण गरेको समयावधिभित्र नवीकरणको काम सम्पन्न हुने नदेखिएपछि चार दिनका लागि म्याद थप गरिएको समिति सदस्य योगेन्द्र चौधरीले जानकारी दिए ।
‘जिल्ला सभापतिज्यूहरूसित अनलाइन मिटिङ बस्यो । उहाँहरूलाई मंसिर २९ गतेभित्र नवीकरण सक्न भनेका छौं,’ उनले अनलाइनखबरसँग भने, ‘पुस ३ गतेभित्र केन्द्रमा पठाइसक्ने गरी काम गर्नुस् भनेर महामन्त्रीज्यूले निर्देशन दिनुभएको छ ।’
यसअघि कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले २५ मंसिरभित्र नवीकरणको सूची जिल्लाले केन्द्रमा पठाई सकेपछि पनि नवीकरण गर्न आउने सदस्यको नवीकरण गरेर छुट भएकाहरूको मात्रै छुट्टै नामावली, निर्णय र रकम केन्द्रमा पठाइसक्नु पर्ने निर्णय गरेको थियो ।
समितिले छुट भएका सदस्यहरूका लागि निर्धारण गरेको मितिभित्र अब सबै क्रियाशील सदस्यको नवीकरण गरी सक्न जिल्ला सभापतिहरूलाई निर्देशन दिएको हो । पूर्वनिर्धारित समयावधिभित्र नवीकरणको काम सम्पन्न नहुँदा आशन्न महाधिवेशन प्रभावित हुने संशय बढेको छ ।
तर, समितिका सदस्यहरू थप गरिएको समयावधिभित्र नवीकरणको काम सम्पन्न भए महाधिवेशनको कार्यतालिका प्रभावित नहुने दाबी गरिरहेका छन् । समितिले थप गरिएको समयभित्र क्रियाशील सदस्यहरूको नवीकरणको सम्पूर्ण काम सम्पन्न भइसक्ने अपेक्षा राखेको छ ।
‘हाम्रो विश्वास छ, निर्धारित समयमै नवीकरणको काम सकिन्छ,’ समिति सदस्य चौधरीले भने, ‘महाधिवेशनको कार्यतालिका प्रभावित नहुने गरी २९ गतेसम्म सक्न भनेर महामन्त्रीले निर्देशन दिनुभएको छ ।’
समितिका अर्का सदस्य प्रकाश रसाइली ‘स्नेही’ले नवीकरणको म्याद चार दिनका लागि थप गर्दा महाधिवेशनको कार्यतालिका प्रभावित नहुने प्रतिक्रिया दिए । ‘हाम्रो महाधिवेशन गर्ने कार्यतालिका सर्दैन । यसले प्रभावित हुँदैन,’ उनले भने, ‘हामी मूल उद्देश्यबाट दायाँ–बायाँ हुँदैनौं ।’
सबै सदस्यको नवीकरण अनिवार्य रूपमा गर्न परिपत्र
महामन्त्री थापाले बुधबार नै जिल्ला सभापतिहरूलाई परिपत्र गरेर सम्पूर्ण क्रियाशील सदस्यहरूको सदस्यता अनिवार्य रूपमा नवीकरण गर्न निर्देशन दिएका छन् ।
परिपत्रमा नवीकरण गर्दा मृत्यु भएका, पार्टी परित्याग गरेका, केन्द्रीय अनुशासन समितिले अन्तिम कारबाही गरेर निष्कासन गरेका तथा क्रियाशील नवीकरण नगरिदिनु भनी लिखित वा मौखिक आग्रह गरेकाहरूबाहेक सबै सदस्यहरूको नवीकरण अनिवार्य रूपमा गर्नका लागि आवश्यक व्यवस्था गर्नुपर्ने उल्लेख छ ।
अत्यन्त जरूरी भन्दै ७७ वटै जिल्ला सभापतिहरूलाई पठाइएको परिपत्रमा क्रियाशील सदस्यहरूको सदस्यता नवीकरण नरोक्ने गरी आवश्यक व्यवस्था र मातहतका समितिमा समन्वय गर्न भनिएको छ ।
‘नवीकरणका लागि योग्य व्यक्तिको कुनै कारणले नवीकरण रोकिएमा निजले सदस्यता नं. र शुल्कसहित सदस्यता व्यवस्थापन केन्द्रीय समितिमा निवेदन दिएमा केन्द्रीय कार्यालयबाट नै सदस्यता नवीकरण गर्न सक्ने निर्णय भएको हुँदा कसैको पनि नवीकरण नरोक्ने गरी आवश्यक व्यवस्था र मातहतका समितिमा समन्वय गर्नु गराउनु होला,’ महामन्त्री थापाले भनेका छन् ।
केन्द्रीय कार्यसमिति बैठकले गरेको निर्णयअनुसार नयाँ क्रियाशील सदस्यता वितरणका लागि प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिलाई नै सिधै सदस्यता फारम पठाइएको परिपत्रमा उल्लेख छ ।

एक मात्र निर्वाचन क्षेत्र भएका जिल्लाले पुस १० गते भित्र र दुईभन्दा बढी निवांचन क्षेत्र भएकाले जिल्लाले पुस ११ गते सम्पूर्ण प्रक्रिया पूरा गरेर नामावली प्रकाशन गरी केन्द्रमा पठाउनु पर्ने पनि महामन्त्री थापाले परिपत्रमा उल्लेख गरेका छन् ।
‘नयाँ सदस्यता वितरण नेपाली कांग्रेसको विधान, नियमावली र केन्द्रीय कार्यसमितिको निर्णयअनुसार सहज र व्यापक वितरण गर्ने पार्टीको नीति रहेकोले सोही अनुसार मापदण्ड समेत पठाइसकेको अवस्थामा मापदण्ड पुगेका व्यक्तिलाई सहज ढङ्गले सदस्यता नवीकरण तथा वितरण गरी तोकिएको समयभित्रै केन्द्रमा उपलब्ध गर्नु गराउन हुन यो परिपत्र गरिएको छ,’ महामन्त्री थापाले भनेका छन् ।
समितिसँग छैन नवीकरणको तथ्यांक
‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’सँग अहिलेसम्म जिल्लाले सम्पन्न गरेको सदस्यता नवीकरणको तथ्यांक नै छैन । समितिका सदस्यहरूले क्रियाशील सदस्यता नवीकरणको यकीन तथ्यांक केन्द्रमा आइनपुगेको प्रतिक्रिया दिएका छन् ।
‘हामीले जिल्लालाई डाटा ईन्ट्रीका लागि आईडी र पासवर्ड पठाएका छौं । देशभरबाट फटाफट नवीकरणको काम भइरहेको छ,’ समिति सदस्य रसाइलीले भने, ‘कति नवीकरण भयो भन्ने कुरा कलेक्सनपछि मात्रै भन्न सकिन्छ ।’
अर्का सदस्य चौधरीले पनि समितिसँग अहिले नवीकरणको तथ्यांक नभएको बताए । अहिलेसम्म कति सदस्यता नवीकरण भएका छन् भन्ने जिज्ञासामा उनले भने, ‘त्यस्तो डेटा छैन । तर, बुझ्दै गर्दा, फोनमा अपडेट हुँदै गर्दा ७५–८० प्रतिशतको बीचमा नवीकरण भयो होला भन्ने हाम्रो अनुमान छ ।’
१८ कात्तिकमा बसेको केन्द्रीय कार्यसमिति समक्ष महामन्त्री थापाले पेस गरेको प्रतिवेदनअनुसार झन्डै नौ लाख क्रियाशील सदस्यमध्ये तीन लाखले मात्र नवीकरण गरेका थिए । केन्द्रीय कार्यालयलाई ४६ जिल्लाबाट तीन लाख नौ हजार २५४ जनाले सदस्यता नवीकरण गरेको विवरण प्राप्त भएको उनको प्रतिवेदनमा उल्लेख थियो ।
जसमध्ये केन्द्रीय कार्यालयलाई इमेलमार्फत् प्राप्त विवरणअनुसार १९ जिल्लाका एक लाख ६३ हजार ८०८ क्रियाशील सदस्यमध्ये एक लाख १८ हजार ७९४ को सदस्यता नवीकरण भएको छ ।
महामन्त्री थापाले बैठकमा पेस गरेको प्रतिवेदनमा भनिएको थियो, ‘१९ जिल्लामा एक लाख ६३ हजार ८०८ क्रियाशील सदस्यमध्ये एक लाख १८ हजार ७९४ सदस्यता नवीकरण भई केन्द्रीय कार्यालयमा इमेलमार्फत विवरण प्राप्त भएकेको छ ।’
२७ जिल्लामा (केही वडाबाहेक) तहगत नवीकरण भएर एक लाख ९० हजार ४६० सदस्यता केन्द्रमा बुझाउने क्रममा रहेको प्रतिवेदनमा उल्लेख छ । ‘अर्थात् ४६ जिल्लाबाट ३ लाख ९ हजार २५४ सदस्यता नवीकरणको विवरण प्राप्त भएको छ,’ महामन्त्री थापाले प्रतिवेदनमा लेखेका छन्, ‘सिस्टममा इन्ट्री गर्न बाँकी छ ।’
१६ वटा जिल्लामा (केही वडाबाहेक) वडाबाट क्रियाशील सदस्यता नवीकरण भएर तहगत प्रक्रियामार्फत जिल्लामा संकलन हुने क्रममा रहेको महामन्त्री थापाको भनाइ थियो ।
महामन्त्री थापाले पर्सा, काभ्रे, मकवानपुर, कास्की, बाँके, बर्दिया र कञ्चनपुरमा आन्दोलन र आगजनीका कारण सदस्यता नवीकरणको काममा ढिलाइ भएको प्रतिवेदनमा उल्लेख गरेका थिए ।
नयाँ सदस्यका लागि साढे सात लाख फारम वितरण
कांग्रेसले नयाँ क्रियाशील सदस्यहरूका लागि झण्डै साढे सात लाख फारमहरू जिल्ला पठाएको छ । कांग्रेसले सुरूवातमा २५ प्रतिशत र पछिल्लो समय ७५ प्रतिशत सदस्यता फारम जिल्लाहरूमा पठाएको हो ।
कांग्रेसले गत असारमा क्रियाशील सदस्यताको अनुपातमा २५ प्रतिशत नयाँ क्रियाशील बाँड्ने निर्णय गरेको थियो । तर १५ मंसिरमा सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले सदस्यता वितरणमा लचकता अपनाउने निर्णय गरेपछि धमाधम नयाँ क्रियाशील सदस्यताको माग भइरहेको छ ।
सदस्य बन्न इच्छुकका लागि कांग्रेसमा लचिलो प्रावधान
कांग्रेसले १४ औं महाधिवेशनमा सय प्रतिशत नयाँ क्रियाशील सदस्यता बढाउने निर्णय गरेको थियो । १३ औं महाधिवेशन हुँदा कांग्रेसमा चार लाख ९८ हजार ४७६ क्रियाशील सदस्य थिए । १४ औं महाधिवेशनमा शतप्रतिशत बढाउने क्रममा क्रियाशील सदस्यको संख्या आठ लाख ७० हजार ८८४ पुगेको थियो ।
गत महाधिवेशनमा शतप्रतिशत क्रियाशील सदस्यता थपेको कांग्रेसले १५ मंसिरको केन्द्रीय कार्यसमिति बैठकबाट आगामी महाधिवेशनका लागि भने प्रतिशत संख्या नतोकी बढीभन्दा बढी नयाँ क्रियाशील सदस्यता वितरण गर्ने निर्णय गरेको छ ।

पार्टीको क्रियाशील सदस्यता लिन चाहे विधानबमोजिम योग्यता पुगेका व्यक्तिलाई सहज रुपमा सदस्यता प्रदान गर्ने निर्णय कांग्रेसको छ । नयाँ क्रियाशील सदस्यता वितरणको मापदण्ड सम्बन्धमा गरिएको निर्णयमा भनिएको छ, ‘कुनै पनि योग्य व्यक्तिलाई सदस्यताबाट वञ्चित नगर्ने ।’
यसअघि विधानमा ‘कुनै पनि इच्छुक व्यक्तिले सदस्यता लिन पाउने’ लेखेको कांग्रेस नयाँ क्रियाशील सदस्यता वितरणमा भने व्यवहारतः लागू नगर्ने, नियन्त्रण गर्ने, प्रतिशत संख्या तोक्ने गर्दै आएको थियो । जसका कारण महाधिवेशन अघि कांग्रेसमा जहिल्यै नयाँ क्रियाशील सदस्यता वितरणमा विवाद सिर्जना हुँदै आएको थियो ।
बैठकको निर्णयअनुसार प्रतिनिधिसभाको क्षेत्रलाई केन्द्रले १४ औं महाधिवेशनमा कायम रहेको क्रियाशील सदस्य संख्याको सामान्यतया शतप्रतिशत नयाँ क्रियाशील सदस्यता फारम उपलब्ध गराएको छ ।
‘यसका अतिरिक्त वडाको जनसंख्या, मतदाता र क्रियाशील सदस्यताको अनुपातमा आवश्यकताअनुसार थप माग भएबमोजिम सदस्यता वितरण गर्न सक्ने गरी सदस्यता फारम उपलब्ध गराउने व्यवस्था गर्ने’ बैठकले गरेको निर्णयमा भनिएको थियो ।
नयाँ क्रियाशील सदस्यता वितरणमा कांग्रेसले वडाको जनसंख्याभित्र पनि महिला, आदिवासी जनजाति, दलित, मधेशी, खस आर्य, थारु, मुस्लिम, अल्पसंख्यक, अपाङ्गताको जनसंख्यालाई मध्यनजर गरी सोही आधारमा समानुपातिक/समावेशी प्रतिनिधित्वलाई ध्यान दिने पनि निर्णय गरेको थियो ।
केन्द्रीय कार्यसमितिको निर्णयअनुसार नयाँ क्रियाशील सदस्यता वितरण गर्दा १८ देखि ३० वर्षका युवाको व्यापक प्रतिनिधित्व हुने गरी प्राथमिकता दिएर वितरण गर्नुपर्ने र समाजमा विभिन्न पेशागत वुद्धिजीवी तथा सामाजिक कार्यमा संलग्न व्यक्तिहरूलाई प्राथमिकता दिनुपर्ने छ ।
दुई प्रकारका कांग्रेस सदस्य
कांग्रेसको विधानमा पार्टीभित्र दुई किसिमको सदस्यताको व्यवस्था छ । पहिलो – कांग्रेस सदस्य र दोस्रो– कांग्रेस क्रियाशील सदस्य ।
सामान्यतया कांग्रेसले १८ वर्ष पूरा भएको, पार्टीको आदर्श, उद्देश्य, नीति र विधानमा आस्था भएको र प्रचलित कानुनले राजनीतिक दलको सदस्य हुन अयोग्य नठहरिएकालाई पहिलो प्रकृतिको सदस्यता दिने गरेको छ ।
पहिलो प्रकृतिको सदस्यता अर्थात् ‘नेपाली कांग्रेसको सदस्य’ का रूपमा सदस्यता लिएको एक वर्ष भइसकेपछि क्रियाशील सदस्यता लिन योग्य मानिन्छ ।
कांग्रेस विधानको धारा ४ मा लेखिएको छ, ‘नेपाली कांग्रेसको सदस्यता प्राप्त गरेको सदस्यले एक वर्ष पुगेपछि क्रियाशील सदस्यता प्राप्तिका लागि तोकिए बमोजिमको आवेदन फारम भरी आफ्नो सदस्यता भएको पार्टी वडा कार्यसमिति कार्यालयमार्फत् तोकिएबमोजिमको शुल्कसहित आवेदन गर्न सक्ने छ ।’
कांग्रेसमा क्रियाशील सदस्यता कसरी नवीकरण हुन्छ ?
कांग्रेसको सदस्यता नवीकरण गर्न चाहने सदस्यले प्रत्येक वर्ष आफू सदस्य रहेको वडा कार्यसमितिमा नवीकरणका लागि तोकिए बमोजिमको आवेदन दिनुपर्ने र वडा कार्यसमितिले सदस्यता नवीकरण गर्ने विधानको धारा ६ मा ‘नेपाली कांग्रेसको सदस्यता नवीकरण गर्ने कार्यविधि’ अन्तर्गत व्यवस्था छ ।
कांग्रेसको विधानको धारा ७ (क) अनुसार क्रियाशील सदस्यले प्रत्येक वर्ष क्रियाशील सदस्यता नवीकरण गर्नुपर्छ । त्यसका लागि क्रियाशील सदस्यले वडा कार्यसमितिमा तोकिएबमोजिमको आवेदन दिनुपर्छ ।

क्रियाशील सदस्यता नवीकरण गर्न चाहने कांग्रेस कार्यकर्ताले नवीकरण गर्दा योग्यता पुगेको प्रमाणसहित आफैँ वडा कार्यसमितिको कार्यालयमा उपस्थित भएर आवेदन दिनुपर्ने विधानमा उल्लेख छ ।
वडा कार्यसमितिले योग्यता पुगेको क्रियाशील सदस्यको सदस्यता नवीकरण गर्न फारम प्राप्त भएको दुई हप्ताभित्र गाउँपालिका/नगरपालिका कार्यसमितिमा सिफारिस गरी पठाउनुपर्ने वैधानिक व्यवस्था छ ।
त्यसपछि गाउँपालिका/नगरपालिका कार्यसमितिले प्राप्त नवीकरणसम्बन्धी सबै आवेदनमा आफ्नो रायसहितको विवरण दुई हप्ताभित्र प्रदेशसभा क्षेत्रीय कार्यसमितिमा, प्रदेशसभा क्षेत्रीय कार्यसमितिले आफ्नो रायसहितको विवरण दुई हप्ताभित्र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिमा र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले आफ्नो रायसहितको विवरण दुई हप्ताभित्र जिल्ला कार्यसमितिमा पठाउनुपर्छ ।
जिल्ला कार्यसमितिले मातहत कार्यसमितिका सिफारिस र रायसमेतको आधारमा आवेदनमाथि बढीमा एक महिनाभित्र निर्णय गरेर आवेदक र मातहतका सिफारिस गर्ने सबै निकायलाई निर्णयको जानकारी गराउनुपर्ने कांग्रेसमा व्यवस्था छ ।
एकमात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका जिल्लामा प्रदेश सभा क्षेत्रीय कार्यसमितिले जिल्ला कार्यसमितिमा पठाउने विधानमा भनिएको छ ।
विभिन्न तहका कार्यसमितिले राय व्यक्त गर्दा क्रियाशील सदस्यता नवीकरणका लागि विधानबमोजिम योग्यता पुगे/नपुगेको हेर्नुका साथै पछिल्लो स्थानीय तह, प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचनमा आवेदकको भूमिका र अन्य जिम्मेवारी पूरा गरे/नगरेको समेत हेर्ने गर्छन् ।
जसका लागि आवश्यक परे विभिन्न तहका निर्वाचनका उम्मेदवारको राय पनि लिनसक्ने व्यवस्था कांग्रेसको विधानमा उल्लेख छ ।
क्रियाशील सदस्यताको कार्यविधि
कांग्रेस विधानको धारा ५ (क) अनुसार वडा कार्यसमितिले नियमित रूपमा क्रियाशील सदस्यता सिफारिस गरी गाउँपालिका/नगरपालिका कार्यसमितिमा पठाउनुपर्छ ।
वडा कार्यसमितिले वडा कार्यसमितिको बैठक गरी वडा भित्रका क्रियाशील सदस्यसमेत आमन्त्रण गरेर क्रियाशील सदस्यता दिनुपर्ने व्यक्तिको नाम कार्यसमितिको बैठकबाट निर्णय गरी रायसाथ गाउँपालिका/नगरपालिका कार्यसमितिमा पठाउँछ ।
वडा कार्यसमितिले नियमित रूपमा योग्यता पुगेका क्रियाशील सदस्यको नाम सिफारिस नगरे गाउँपालिका/नगरपालिका कार्यसमितिले आफू मातहतका वडा कार्यसमितिसँग क्रियाशील सदस्यता दिनुपर्ने कांग्रेसका सदस्यको नामावली माग्ने अधिकार विधानले दिएको छ ।
गाउँपालिका/नगरपालिका कार्यसमितिले नाम प्राप्त भएको दुई हप्ताभित्र बैठक गरी सिफारिश भएर आएका व्यक्ति विधानबमोजिम क्रियाशील सदस्यता पाउन योग्य भए वडा कार्यसमितिलाई क्रियाशील सदस्यताको फारम उपलब्ध गराउँछ ।
वडा कार्यसमितिले सम्बन्धित व्यक्तिलाई फारम प्राप्त भएको दुई हप्ताभित्र फारम भर्न लगाई सिफारिस साथ गाउँपालिका/नगरपालिका कार्यसमितिमा पठाउँछ ।
गाउँपालिका/नगरपालिका कार्यसमितिले बैठक गरी क्रियाशील सदस्यताका लागि प्रदेशसभा निर्वाचन क्षेत्रीय कार्यसमितिलाई विवरणको जानकारी गराई दुई हप्ताभित्र प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिलाई सिफारिस गर्नुपर्ने हुन्छ ।
प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले सिफारिस प्राप्त भएको बढीमा एक महिनाभित्र प्राप्त सिफारिसमा योग्यता पुगेका व्यक्तिलाई कार्यसमितिको बैठकबाट निर्णय गरी क्रियाशील सदस्यताको निर्णय गर्नुपर्ने विधानमा व्यवस्था छ ।
प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले सदस्यताको सम्पूर्ण विवरण राखी मातहतका निकायलाई राख्न लगाउने र जिल्ला कार्यसमिति, प्रदेश कार्यसमिति र केन्द्रीय कार्यसमितिमा पठाउँछ ।
कांग्रेसको क्रियाशील सदस्यता प्रदान गर्ने निर्णय भएको सदस्यलाई केन्द्रीय सभापति, प्रदेश सभापति र जिल्ला सभापतिको हस्ताक्षर भएको ‘नेपाली कांग्रेसको क्रियाशील सदस्यता’ को प्रमाण पत्र दिने गरिएको छ ।
प्रतिक्रिया 4