+
+
Shares
१५ औं महाधिवेशन :

कांग्रेस महामन्त्रीमा को–को भिड्लान् ?

महाधिवेशनका लागि बन्ने समीकरणको सम्भावित रूपरेखा स्पष्ट भइनसकेका कारण उनीहरू मुखरित हुन हच्किरहेका छन् ।

केशव सावद केशव सावद
२०८२ मंसिर २२ गते २२:०२
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेको ११ औं महाधिवेशन मंसिर २७ गतेबाट र नेपाली कांग्रेसको १५ औं महाधिवेशन पुस २६–२८ मा हुँदैछ।
  • नेपाली कांग्रेसमा सभापतिको उम्मेदवारीका लागि डा. शेखर कोइराला, गगन थापा र पूर्णबहादुर खड्का प्रमुख दावेदार रहेका छन्।
  • महामन्त्री पदका लागि नैनसिंह महरले मात्र उम्मेदवारी घोषणा गरेका छन् भने अन्य नेताहरूले सार्वजनिक घोषणा गरेका छैनन्।

२२ मंसिर, काठमाडौं। नेपालका दुई पुराना राजनीतिक दलहरू नेपाली कांग्रेस र नेकपा एमाले महाधिवेशनउन्मुख छन् । एमालेको ११ औं महाधिवेशन मंसिर २७ गतेबाट सुरू हुँदैछ । अर्को दल कांग्रेसले आगामी पुस २६–२८ का लागि १५ औं महाधिवेशनको मिति घोषणा गरेको छ ।

मंसिर १५ मा बसेको केन्द्रीय कार्यसमिति बैठकले चुनावी कार्यतालिका सर्वसम्मत पारित गरेसँगै कांग्रेसमा महाधिवेशनको सरगर्मी बढेको छ । पार्टीको सर्वोच्च पद सभापतिको उम्मेदवारी हुने नेताहरुको लामै सूची बनेको छ ।

तर, सभापति बाहेकका पदमा भने शीर्ष तहका नेता कमै खुलेका छन् । सभापतिमा संस्थापनइतरका नेता डा.शेखर कोइराला र महामन्त्री गगन थापाले सार्वजनिक रुपमा घोषणा गरिसकेका छन् । संस्थापन पक्षीय पूर्व पदाधिकारीहरुको ‘सता भाइ’ समूहले सभापतिको उम्मेदवार तय गर्न सकेका छैनन् ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पनि हालसम्म सभापतिको उम्मेदवार हुने सार्वजनिक घोषणा गरेका छैनन् । १४ औं महाधिवेशनमा सभापतिको प्रत्यासी हुँदा पाँचौं स्थानको मत ल्याउने कल्याण गुरुङले प्यानल सहित सभापतिको उम्मेदवार हुने बताइसकेका छन् ।

कार्यवाहक सभापति खड्कालाई पनि १५औं महाधिवशेनमा सभापतिका सम्भावित उम्मेदवारका रूपमा हेरिएको छ । कांग्रेसमा पछिल्लो समय ‘सात भाइ’को परिचय बनाएका पूर्वपदाधिकारी र कार्यवाहक सभापति खड्कालाई सभापति शेरबहादुर देउवाका ‘उत्तराधिकारी’का रूपमा हेर्ने जमात पनि कांग्रेस वृत्तमा छ ।

यी आठ जना नेताहरूमध्ये कसले बाजी मार्छन् भन्ने अहिले नै अनुमान गर्न भने कठिन हुने कांग्रेस नेताहरु बताउँछन् । यो सँगै कांग्रेसभित्र हुने गरेको विश्लेषण छ– ‘महाधिवेशनका लागि उम्मेदावरी दर्ता गर्ने दिनसम्म ‘सात भाइ’ एक ठाउँमा रहन्छन् कि रहँदैनन् ?’ वा, कार्यवाहक सभापति खड्कासहित एउटा टिम बन्छ कि बन्दैन भन्ने अन्यौल यथावत् छ ।

यही अन्यौलताकै कारण सभापतिबाहेकका पदका लागि आकांक्षा राखेका नेताहरू आफ्नो उम्मेदवारीबारे सार्वजनिक रूपमा मुखरित भइरहेका छैनन् । महाधिवेशनका लागि बन्ने समीकरणको सम्भावित रूपरेखा स्पष्ट भइनसकेका कारण उनीहरू मुखरित हुन हच्किरहेका छन् ।

‘समीकरण बनिसकेको छैन । नेगोसिएसनको कुरा पनि मिलिसकेको छैन । मुख्यत: त समूह बन्नुपर्‍यो । गुटपछि नेताहरूको आ–आफ्नो व्यवस्थापन हुनुपर्‍यो,’ कांग्रेस नेताहरू भन्छन्, ‘आन्तरिक रूपमा मनस्थिति बनाएर बसेका छन् तर, मुख्य नेतृत्वसँग कुरा मिलिसकेको छैन । त्यो नभइ घोषणा गर्ने कुरा भएन ।’

‘सभापतिमा को लड्ने भन्ने पनि निश्चित भइसकेको छैन,’ ती नेताले भने, ‘यताका उता, उताका यता नहोलान् भन्न सकिने अवस्था छैन । कन्फर्म भइनसकेकाले मुख खोल्न नसकेका हुन् ।’

कांग्रेसको पदाधिकारीमा आकांक्षा राखेका एक नेताले सभापतिका लागि को–को नेता उम्मेदवार हुन्छन् भन्ने निश्चित भइनसकेका कारण घोषणामा ढिलाइ भएको प्रतिक्रिया दिए ।

‘सभापतिमा को लड्ने भन्ने पनि निश्चित भइसकेको छैन,’ ती नेताले भने, ‘यताका उता, उताका यता नहोलान् भन्न सकिने अवस्था छैन । कन्फर्म भइनसकेकाले मुख खोल्न नसकेका हुन् ।’

अनलाइनखबरले अघिल्लो महाधिवेशनमा पदाधिकारीका लागि चुनावी प्रतिष्पर्धा गरिसकेका केही नेताहरूसँग प्रतिक्रिया लिन खोजेको थियो । उनीहरूको भनाइ छ– अहिले नबोलौं । पछि कुरा गरौंला ।

कार्यकारी भूमिका हेर्दा सभापतिपछि महत्वपूर्ण मानिने महामन्त्री पदका लागि विभिन्न नेताहरू आकांक्षीका रूमा देखिन सक्ने कांग्रेस नेताहरू बताउँछन् ।

उनीहरूका अनुसार १४ औं महाधिवेशनमा महामन्त्रीमै प्रतिष्पर्धा गरेका र तत्कालीन समयमा आकांक्षा राखेका नेताहरू यसपल्ट पनि मुख्य दाबेदार हुन् ।

१४ औं महाधिवेशनमा शेखर कोइरालाको समूहबाट गगन थापा र डा. मिनेन्द्र रिजाल महामन्त्रीका उम्मेदवार थिए । शेरबहादुर देउवाको समूहले डा. प्रकाशशरण महत र प्रदीप पौडेललाई महामन्त्रीका रूपमा अघि सारेको थियो ।

यस्तै प्रकाशमान सिंहको समूहबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधिको समूहबाट राजाराम कार्की महामन्त्रीका उम्मेदवार थिए ।

कोइराला समूहबाट थापा र सिंहको समूहबाट शर्मा महामन्त्रीमा विजयी हुँदा देउवा समूहका उम्मेदवारद्वय महत र पौडेल क्रमशः तेस्रो र चौथो भएका थिए । यस्तै कोइराला समूहका उम्मेदवार रिजाल मतगणनामा पाँचौं हुँदा निधि समूहका उम्मेदवार कार्की छैठौं स्थानमा थिए ।

तत्कालीन समयमा देउवा समूहबाट नेताहरू बालकृष्ण खाँण र एनपी साउदलाई महामन्त्रीका प्रवल दाबेदारका रूपमा हेरिएको थियो ।

तर, चुनावी समीकरण मजबुत बनाउन देउवाले नेता कृष्णप्रसाद सिटौलाका तर्फबाट युवा नेता पौडेललाई महामन्त्रीको उम्मेदवार बनाएपछि दुवै नेताहरूले केन्द्रीय सदस्यमा चित्त बुझाएका थिए ।

१४ औं महाधिवेशनमा महामन्त्रीमै प्रतिष्पर्धा गरेका र तत्कालीन समयमा आकांक्षा राखेका नेताहरू यसपल्ट पनि मुख्य दाबेदार हुन् ।

केन्द्रीय सदस्यका लागि साउद २९ सय ३७ र खाँण २८ सय ७९ मत ल्याएर सर्वाधिक मत ल्याउने केन्द्रीय सदस्यको सूचीमा दोस्रो र तेस्रो नेता बनेका थिए । नेता डा. शशांक कोइरालाले ३८ सय ३६ मत प्राप्त गरेर पहिलो भएका थिए ।

१४ औंमा महामन्त्रीमा प्रतिष्पर्धा गरेका र आकांक्षा राखेका नेताहरूलाई १५ औं महाधिवेशनमा महामन्त्रीका आकांक्षीका रूपमा हेरिएको छ । तथापि, उनीहरू कसैले पनि उम्मेदवारी घोषणा भने गरिसकेका छैनन् ।

आशन्न महाधिवेशनमा दिने उम्मेदवारीबारे नेताद्वय साउद र खाँणले पनि मुख खोलेका छैनन् । उनीनिकट नेताहरू दुवै जनालाई पदाधिकारीका उम्मेदवार भएको बताउँदै आएका छन् ।

१५ औं महाधिवेशनका लागि केन्द्रीय सदस्य नैनसिंह महरले मात्रै महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनी प्रतिनिधिसभा निर्वाचन २०७९ को उम्मेदवारी दर्ताका दिनबाटै महामन्त्रीका लागि घोषणा गरेर प्रचार–प्रसारमा जुटेका थिए ।

‘नेपाली कांग्रेसलाई विधिसम्मत पार्टी बनाउन समग्र देशको नेतृत्व गर्न सक्ने सशक्त पार्टी बनाउन १५ औं महाधिवेशनमा महामन्त्री बन्ने गरी आजैदेखि कार्यप्रारम्भ गर्ने,’ नेता महरले २०७९ मंसिर २३ गते सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए ।

उनले अनलाइनखबरसँगको कुराकानीमा आफ्नो उम्मेदवारीको घोषणा कायम रहेको प्रतिक्रिया दिए । ‘आजका दिनसम्म म जुन टिममा थिएँ, त्यही टिममा छु । टिमको साथ समर्थनका लागि कुराकानी भइरहेको छ । पोजेटिभ संकेत पाएको छु,’ महरले भने, ‘तर, टिमले मेरो उम्मेदवारीले छेक्दैन । जिल्ला–जिल्ला पुगेर संवाद, समन्वय गरेको छु । देशभरका साथीहरूको परामर्श लिएर बसेको छु । उहाँहरूको परामर्श भनेको तपाईं महामन्त्रीमा उठ्नुपर्छ, नेतृत्व लिने बेला भयो भन्ने हो । त्यो मैले पालना गर्नुपर्छ ।’

१४ औंमा महामन्त्रीमा निर्वाचित थापाले सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । उनलाई अर्का महामन्त्री शर्माको समर्थन छ । तर, शर्मा आफूले भने उम्मेदवारी दिने पद खुलाएका छैनन् । उनी महामन्त्रीमा दोहोरिन्छन् कि उपसभापति उम्मेदवार बन्छन् अहिले नै भन्न सकिने अवस्था बनिसकेको छैन ।

देउवा समूहबाट महामन्त्रीको उम्मेदवार बनेका पूर्वअर्थमन्त्री महत पूर्वपदाधिकारीहरूको समूहमा छन् । उक्त समूह आफूमध्येबाट कुनै एक जनालाई सभापतिको उम्मेदवार बनाउने प्रयासमा छ ।

पार्टी प्रवक्ताको जिम्मेवारीमा रहेका महतको सचिवालय स्रोतले उम्मेदवारीको विषय छलफलमै रहेको प्रतिक्रिया दिएको छ ।

देउवा समूहबाट महामन्त्रीका लागि प्रतिष्पर्धा गरिसकेका अर्का नेता पौडेल पछिल्लो समय महामन्त्री थापानिकट मानिन्छन् । उनलाई थापाको समूहबाट १५ औंमा महामन्त्रीको उम्मेदवारका रूपमा हेरिएको छ।

‘उम्मेदवारीबारे कहीँ पनि बोल्नु भएको छैन । तर, उहाँ स्वाभाविक दाबेदार हो । उहाँलाई शुभेच्छुकहरूले महामन्त्री बन्नुपर्ने सल्लाह दिइरहनुभएको छ,’ पौडेलनिकट स्रोतले भने ।

लेखक
केशव सावद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?