+
+
Shares
विष्णु रिमालसँग वार्ता :

‘२३ र २४ भदौमा विद्रोह होइन दुर्घटना भएको हो, फेरि ओलीलाई ल्याउँछौं’

'मदन बितेपछि आर्यघाटमै ओलीलाई महासचिव बनाउने प्रस्ताव नेताहरूबाट आएको थियो'

‘नराम्रो घटनालाई त सुघटना भन्न मिल्दैन, त्यो दुर्घटना नै हो। जसलाई हामी जेनजी आन्दोलन भन्छौं नि, २३ गते माइतीघरमण्डलमा प्रदर्शन भएको, युवाहरू आउने, ३० वर्षमुनिका मानिसहरू आउने कुरामा त्यहाँ त सत्ता परिवर्तनको कुरा पनि थिएन, संसद्‌मा आगो लगाउने कुरा पनि थिएन, हिंसामा जाने कुरा पनि थिएन ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २२ गते १८:४२

एमाले उपमहासचिव विष्णु रिमालसँग अनलाइनखबरले गरेको वार्तामा एघारौं महाधिवेशनसँग जोडिएका प्रश्न सामेल छन्। एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा कांग्रेस र एमालेले चलाएको सरकार सम्बन्धी केही समीक्षात्मक विश्लेषण, जेनजी प्रदर्शन र परिणतिबारे लामो संवाद भएको छ। रिमालसँग बसन्त बस्नेतले गरेको यो संवादको पूरा भाग भिडियोमा उपलब्ध छ।

यसअघि तपाईं तत्कालीन प्रधानमन्त्री ओलीको प्रमुख सल्लाहकार बनेपछि भोलिपल्टै हामी अन्तर्वार्तामा बसेका थियौं। सरकारको प्राथमिकता के हो भनेर सोद्धाखेरि तपाईंले भन्नुभएको थियो: ‘निराशा चिर्ने, आशा जगाउने!’ तर किन सफल हुनुभएन ?

१४ महिनामा सरकारमा बस्दाखेरि पछिल्लो एक वर्ष, १२ महिनामा चाहिं एक तहको भरोसा जागेको थियो । निराशा चरम थियो, खासगरी नवपुस्ताहरूमा निराशा थियो। त्यहाँ निराशा चिर्न सम्भव भइरहेको थिएन, निराशा चिरिएन भन्ने नै थियो ।

खासगरी आर्थिक क्षेत्रमा भरोसा बढेको थियो। अर्थतन्त्रका परिसूचक राम्रो भइरहेका थिए । निराशा चिर्न हामी सफल भइरहेका थियौं । अर्को चाहिं अस्थिरता अन्त्य भयो भन्ने चाहिं मेसेज दिइरहेका थियौं । किनभने संवैधानिक हिसाबले स्थिरतातिर थियौं हामीहरू। तर जुन आम निराशाका कुरा थिए, ‘केही भएन’ भन्ने भाष्य नै बनाउन खोजिएको थियो। ‘बन्दैन मुलुक’ भन्ने भाष्य चिर्न हामी सफल भइसकेका थिएनौं। सुरुआत उत्साहप्रद नै थियो ।

शुरुको जोश किन तुरुन्तै सेलायो ?

सेलाएको थिएन। किनकि उद्योगी व्यवसायीहरूमा निराशा बढेको थिएन, उत्साह नै बढ्दै थियो । नयाँ पुस्तामा चाहिं यी कुराहरू सञ्चार हुनसकिरहेको थिएन । पहिलो- एउटा चाहिं राजनीतिक हिसाबले यो प्रणालीको विपक्षमा रहेकाहरू एउटा न्यारेटिभ सेट गर्ने तहमै थिए । त्यसलाई हामीले राम्रोसँग जवाफ दिन सकिरहेका थिएनौं ।

दोस्रो, तपाईंले त्यो दुर्घटनाभन्दा अगाडिको समय हेर्नुहुन्छ भने २०८१ को चैत १५ गते भएको घटना होस् अथवा त्योभन्दा अगाडि भएका घटना; ती सबैलाई हामीले चिर्दै–चिर्दै आयौं । त्यो एकदम नकारात्मक पाटोबाट राजनीतिक अस्थिरताको लागि नै प्रयत्न भइरहेको थियो ।

त्यतिखेर हामीले दिएको मेसेज चाहिं के थियो भने– जबसम्म केपी ओली र शेरबहादुर देउवा एकठाउँमा रहन्छन्, नम्बर गेमको हिसाबले संवैधानिक हिसाबले सरकार फेरिंदैन। यो सन्देश व्यवसायी र लगानीकर्तालाई महत्त्वपूर्ण भयो। त्यहाँ चाहिं आशाका कुराहरू आए। बैंकहरूमा जम्मा भएको तरलतालाई चलायमान बनाउने प्रयत्नहरू शुरु भए। ती सकारात्मक पक्ष थिए।

तर हामीले सम्बोधन गर्नुपर्ने अर्को पाटो पनि थियो। एउटा चाहिं व्यवस्थाको विरुद्धमा नकारात्मक यो भाष्य तयार गर्नेहरूलाई हामीहरूले चिर्न सकिरहेका थिएनौं। रक्षात्मक भएर काम गरिरहेका थियौं।

४० मुनिका युवा आकर्षित गरेका थिएनौं। उनीहरूलाई सञ्चार गर्न सकेको भए भदौ २३ र २४ को दुर्घटना हुँदैनथ्यो। सरकारले अलि समय पाउँथ्यो भने शायद स्टार्टअपको माध्यमबाट हामी युवा पंक्तिमा एक ढङ्गको छाप छोड्न सक्थ्यौं होला। अन्तर्राष्ट्रिय मामिलामा हेर्ने हो भनेदेखि त नेपालको सरकारको, नेपालको प्रधानमन्त्रीको उचाइ बढेकै थियो।

तपाईंले भदौ २३ र २४ मा भएको घटनालाई दुर्घटना भन्ने शब्द प्रयोग गर्नुभएको ?

नराम्रो घटनालाई त सुघटना भन्न मिल्दैन, त्यो दुर्घटना नै हो। जसलाई हामी जेनजी आन्दोलन भन्छौं नि, २३ गते माइतीघरमण्डलमा प्रदर्शन भएको, युवाहरू आउने, ३० वर्षमुनिका मानिसहरू आउने कुरामा त्यहाँ त सत्ता परिवर्तनको कुरा पनि थिएन, संसद्‌मा आगो लगाउने कुरा पनि थिएन, हिंसामा जाने कुरा पनि थिएन । युवाहरूमा आक्रोश चाहिं थियो । त्यो आक्रोश केमा केन्द्रित थियो भन्दा, पहिलो; एउटा चाहिं सामाजिक सञ्जाल नियमनको लागि गरिएको प्रयत्नमा असहमति थियो ।

दोस्रो चाहिं केमा थियो भन्दाखेरि सुशासन भएन र भ्रष्टाचार बढ्यो भन्नेमा थियो। भ्रष्टाचार र सुशासन अलि अमूर्त कुरा थिए, पोइन्ट ब्ल्याङ्क थिएन। जसले जसलाई पनि भ्रष्ट भन्दिने अनि सुशासन भएन भन्ने । अर्को चाहिं भन्या त त्यो सामाजिक सञ्जालसँग जोडिएको मात्रै थियो ।

त्यसमा कुनै क्रान्ति गर्ने, परिवर्तन गर्ने भन्ने केही नै छैन । किनभने यस्तो कुरामा तपाईंले क्रान्ति, आन्दोलन भनेर जाने हो भने त्यसमा नेता तय हुन्छ, एजेन्डा तय हुन्छ, मागपत्र प्रस्तुत गरिन्छ ।

लिखित एजेन्डा भन्दा बाहिर आन्दोलन जान सक्छ नि ! जस्तो कि २०३६ सालमा भयो। जनमतसङ्ग्रहको माग सिधै उठेको थिएन । जुल्फिकर अली भुट्टोको फाँसीको विरुद्धमा विस्तारै विद्यार्थी बोल्ने, युवाहरू बोल्ने, ज्ञापनपत्रहरू दिन थाले। पछि माग मोडियो ।

माग मोडियो; तर नेता त थियो नि त्यसको !

आन्दोलन भएपछि परिणाम त अनेक आउँछन् होइन र ?

परिणाममा मैले भनि’रा छैन। परिणामको त हामी फेरि पनि कुरा गरौंला। परिणामलाई आएर क्रान्ति भन्न थालियो भने बिग्रिन्छ कुरो। मेरो चाहिं भनाइ के मात्र हो भने, त्यो एउटा प्रदर्शन थियो। युवाले चाहेको प्रदर्शन संसद् जलाउने पनि थिएन, संसद् घेर्ने पनि थिएन ।

माइतीघरमण्डलमा शान्तिपूर्ण प्रदर्शन गर्ने र त्यसको माग के थियो भन्दा सामाजिक सञ्जाललाई नियमन गर्ने प्रक्रियामा हामी सहमत छैनौं, यसलाई खुल्ला गर्नुपर्छ। दोस्रो चाहिं अमूर्त; अघि मैले भनिहालें, सुशासन र भ्रष्टाचार विरुद्धको थियो ।

दिउँसोको हिंसाले चाहिं सबैथोक उल्ट्याइदियो नि त, हैन ?

ठिक हो। त्यसकारण दिउँसोको हिंसा किन भयो भन्ने चाहिं मेरो लागि रहस्यको कुरा हो। म सरकारमा प्रधानमन्त्रीको मुख्य सल्लाहकार भएर बस्दाखेरि पनि मेरो लागि त्यो रहस्यको कुरा हो।

एउटा चाहिं नागरिकको हिसाबले तपाईं र म उस्तै भएर बस्दाखेरि पनि मण्डलामा गरिने प्रदर्शन तानिएर एकैचोटि हिंसा हुने गरी, हत्या हुने गरी, मान्छेको ज्यान जाने गरी, युवाहरू मर्ने गरी बानेश्वरसम्म पुग्नुपर्ने घटना र त्यसको पछाडिको नेतृत्व को हो त ? किनभने त्यहाँ त यो जेड जेनेरेसनका मानिसहरूले योजना गरेका थिएनन् ।

उनीहरूले त शान्तिपूर्ण भन्या थिए । अझ तपाईंहरूले अनलाइनखबरमा छापेको रिपोर्टले नै भन्छ कि प्रदर्शन हाइज्याक भो भनेर आयोजक युवाले भनेका रहेछन्। भनेपछि त हाइज्याक गर्ने को हो? हाइज्याक गर्ने त अदृश्य शक्ति भयो नि त! अदृश्य शक्तिले के गर्छ त? षड्यन्त्र हुन्छ, त्यो त अदृश्य तरिकाले। अब किनभने छापामार युद्धमा पनि नेताहरू चिनिन्छन् ।

तपाईं सरकारमा बस्नेहरूले नै अदृश्य शक्तिलाई देखाएर पन्छिने कि त्यहाँ प्रदर्शन गर्ने? घुसपैठ गर्ने को थिए? कसले विभिन्न खालका गतिविधि गरेको थियो भन्ने कुराको आधारभूत सूचना त जे जति छ, त्यो बाहिर ल्याउने ?

त्यो त घुसपैठ भएपछि नै आउने कुरा भो, त्योभन्दा अगाडि त केही पनि थिएन । त्योभन्दा अगाडि त जसले प्रदर्शन गर्छु भनेका थिए, उनीहरू त जेनजी थिए । जेनजीहरूले नि कोही नाम त दिएका थिएनन् । अहिले पो हामी जेनजी समूहको थुप्रै नाम चिन्छौं, विभिन्न नेताहरूको नाम चिन्छौं, अहिले बाहिर सत्तामा आएका जम्मै नयाँ नाम पछि न थाहा भो। त्यहाँ त कसैले मागपत्र त पेश गरेको थिएन । कसलाई देखाउने ? कसैले पनि आफूलाई नेता घोषणा गरेकै थिएन त। नेताहरू त कहिलेदेखि देख्न थाल्नुभयो भने २४ गतेपछि न देखिन थाल्नुभयो।

तपाईंहरू २००८ सालमा चिनियाँकाजीलाई बीपी कोइराला गृहमन्त्री हुँदा मारेको भनेर इतिहास पढाउनुहुन्छ। अहिले चाहिं सरकारमा बस्नेले जिम्मा लिनु नपर्ने ?

एउटा व्यक्तिको घर गएर लुट्ने, ट्वाइलेट फुटाएर लिएर जाने, धाराको टुटी पनि फुकालेर लिएर जाने, अनि व्यक्ति घरमा बसेर रातभरि भोज लगाएर जाँडपानी खाएर त्यहाँ पकाएर, अनि त्यसपछि त्यहाँ भएका लुगा–गहना लगाएर, अनि ग्लास फुटाएर जाने, पछि खापा पनि फुकालेर लिएर जाने, मिल्ने ठाउँमा आगो लगाउने, नमिल्ने ठाउँमा चाहिं लुटेर लिएर जाने, वन–वनका मान्छेहरू ग्रुप–ग्रुपका मान्छेहरू गएर लुटपाट गर्नेलाई त क्रान्ति भन्न सकिंदैन नि! कहिल्यै पनि क्रान्ति त्यस्तो हुँदैन ।

नेपालको होल हिस्ट्री हेर्नुस् न! तपाईंले दुई-तीन वटा कुरालाई हेर्नुभयो भने हुन्छ। झन्डै झन्डै ८०० वर्ष अगाडि चाहिं पशुपतिनाथमाथि मङ्गोलको एउटा शासकले आएर अट्याक गरेको रहेछ। त्यसमा ८०० वर्षयता पशुपतिमा कसैले नै अट्याक गरेको थिएन। यो पल्ट प्रयत्न भयो, हैन। त्यसकारण यसलाई हामी कसरी लिन्छौं ? कुन उद्देश्यबाट भएको थियो ?

म हिंसा, अराजकताको पक्ष त लिन्नँ। तर राजा चार्ल्सको टाउको काटेर ग्लोरियस रेभलुसन गर्नेहरू पनि छन् त बेलायतमा। कहिलेकाहीं यस्तो हुँदैन इतिहासमा ?
हैन, यसलाई धेरै जनरलाइज पनि गर्नुहुँदैन। त्यो हुँदाखेरि त हामी कहीं पनि पुग्दैनौं। फेरि तपाईंले भनेको कुरामा म सहमति जनाउँछु। २३ र २४ को घटना तीन भागमा बाँड्नुपर्छ:

पहिलो, २३ गते १२ बजेसम्म: एउटा प्रदर्शन हो। ‘जेनजीहरूले प्रदर्शन’ भनिएको शब्द नै त्यही हो। जेनजीहरूले प्रदर्शन गर्ने भनेका थिए।

दोस्रो, १२ बजेपछि: त्यो हाइज्याक भयो। कसले गर्‍यो? छानबिन गरौं। अहिले हामी राज्यमा छैनौं, राज्य संयन्त्रले यसलाई छानबिन गर्नुपर्छ। त्यो हाइज्याक गर्ने को हो? त्यहाँ विभिन्न खालका कुराहरू आएका छन्। तपाईंहरूले सम्पादकीय लेख्नुभएको छ, न्युज लेख्नुभएको छ, विभिन्न व्यक्तिको फोटोहरू आएका छन्। त्यसपछि मान्छे मारिएका छन्, तोडफोड भएका छन् र भाइटल इन्स्टलेसनमाथि आक्रमण भएको छ। एउटा सानो उदाहरण दिन्छु म। अरू कुनै पनि लोकतान्त्रिक देशहरूमा अदालतमाथि, मेन प्रशासन बिल्डिङमाथि र संसद्माथि अट्याक हुँदा ‘आतङ्ककारी हमला’ भनेर चित्रित गर्ने गरिन्छ र त्यही हिसाबको सजायको कुरा पनि आउँछ। त्यहाँ रहेका सेक्युरिटी एजेन्सीजहरूले गरेको प्रतिवादलाई चाहिं दोषी मानिएको पाइँदैन। यो म यसरी जानुस् भनिरा’को छैन। जेहोस्, अर्को १२:०० बजेको एउटा पाटो मूल्याङ्कनको विषय बन्नुपर्छ। अब मूल्याङ्कन गर्ने निकायहरूले गरिरा’होला, त्यसमा मैले धेरै बोल्नु जरूरी ठान्दिनँ।

तेस्रो, त्यसपछि २४ गतेको कुरा: २४ गतेमा दुइटा कुरा जोडिन्छ।

एउटा चाहिं अघिल्लो दिनको मानिसको मृत्युलाई लिएर, युवाहरूको मृत्युलाई लिएर आक्रोश आएको स्वाभाविक भन्ने एउटा पक्ष त्यो छ।

दोस्रो भनेको चाहिं राज्यमाथि आक्रमण भा’छ। तपाईंले हेर्नुभयो भनेदेखि सांकेतिक आक्रमणहरू छन्। अदालत/न्यायालयको सन्दर्भमा जिल्ला अदालतदेखि सर्वोच्च अदालतमा एकैचोटि अट्याक भएको छ। ३५/३६ वटा जिल्लामा यी भएका छन्, हैन। त्यसपछि तपाईंले प्रशासनिक हिसाबले हेर्नुहुन्छ, कार्यपालिका हिसाबले हेर्नुहुन्छ भने वडा कार्यालयदेखि सिंहदरबारसम्म आगलागी भएका छन्। त्यसपछि तपाईंले व्यवस्थापिकाको कुरा गर्नुहुन्छ भनेदेखि नगरपालिकादेखि लिएर संसद् भवनसम्म अट्याक भएका छन्। पार्टीका अफिसहरूमा तोडफोड भएका छन्। नेताहरूको घरमा तोडफोड भएका छन्। र नेताहरू एउटाको मात्रै छैन। ल मानिलिनुस् न, केपी शर्मा ओली मन परेन, उहाँ प्रधानमन्त्री हुनुहुन्थ्यो र २४ गतेको घटना (२३ गतेको घटनालाई उहाँलाई जोडेर) उहाँमाथि आक्रोश पोखियो भन्ने हो भने केपी ओली विरोधीहरूमाथि किन अट्याक भयो त? त्यसको नि त जवाफ त दिनु पर्ला नि!

यी जम्मै कुरा समग्रमा हिसाबकिताब गर्‍यो भने मात्रै हामी २३ र २४ गते भएका घटना, दुर्घटना, क्रान्ति, आन्दोलन, प्रदर्शन, विद्रोह के हो त्यसको निष्कर्षमा पुग्न सक्छौं। त्यतिकै शब्दलाई प्रयोग गर्‍यो भने शब्द त अलि हल्का हुन जाला भन्ने चिन्ता हो मेरो। मेरो सबैप्रति सम्मान छ, आन्दोलनमा लाग्ने मान्छेप्रति कुनै मेरो सम्मान छैन। अशिष्टता व्यक्त गर्नेलाई समर्थन गर्नुपरेन। यहाँले भन्नुभएको जस्तै हिंसा, तोडफोड, लुटपाटमा लागेकाहरूलाई कुनै सम्मान देखाउनु परेन, तिनीहरू लुटेरा नै हुन्, हिंसाकार नै हुन्। तर जो भला मनका साथ मुलुक बन्नुपर्छ भनेर लागेका थिए र दिग्भ्रमित भएर लागेका थिए भने पनि उनीहरूप्रति सम्मानका साथ यी पक्षहरूलाई जोडेर विश्लेषण गर्नुपर्छ भनेर भन्न चाहन्छु म।

तपाईंलाई लाग्दैन कि तिनै नेताहरू घुमीघुमीकन प्रधानमन्त्री बनिरहेका, एकले अर्कालाई सत्तामा सघाइरहेका नेताहरूप्रतिको आम आक्रोश बढ्दो मात्रामा थियो। त्यो कहीं न कहींबाट विस्फोट हुने पोइन्ट खोजिराखेको थियो र त्यो फुटेको हो? यस्तो लाग्छ कि लाग्दैन तपाईंलाई?

मलाई यसलाई कसरी विश्वास गर्नुपर्छ जस्तो लाग्छ भने, कसले कुन जागिर खायो भन्ने हिसाबले घटनाको मूल्याङ्कन गर्न थाल्यौं भने हामी कहिल्यै पनि टुङ्गोमा पुग्दैनौं। को व्यक्ति कति चोटि प्रधानमन्त्री भयो, कति चोटि घुमी-घुमी आयो, त्यसकारणले गर्दा आक्रोश भयो। व्यक्ति प्रधानमन्त्री भएकोमा आक्रोश होइन नि त!

डेलिभरीको कुरा होला नि त! डेलिभरी त डिग्री फरक छ यो वा त्यो हुँदाखेरि। त्यो हिसाबले हामीले विश्लेषण गराउन सकेनौं भने त हामी समाजलाई न्याय गर्दै गर्दैनौं नि! आज एउटाप्रति रिस उठ्या होला।

ल मलाई प्रचण्ड कमरेडसित रिस उठ्या होला, उहाँलाई मुख छोड्दिउँला। मलाई केपी शर्मा ओली मन पर्‍या होला, उहाँको प्रशंसा गर्दिउँला। मलाई ठीक ठीकै लाग्या होला शेरबहादुर दाइ, उहाँको बारेमा एउटा कुरा भन्दिउँला। यसबाट त हामी कोही पनि उन्मुक्ति पाउँदैनौं नि! प्रधानमन्त्री/मन्त्री भन्ने निश्चित व्यक्ति हो। सबै मन्त्री प्रधानमन्त्री बन्दै बन्दैनन्। घुमिफिरी नै हुन्छ। विभिन्न ठाउँमा त्यस्तै हुन्छ। जस्तो समयले मागेरै त होला नि पुटिन पटक–पटक राष्ट्रपति र प्रधानमन्त्री भएको।

त्यसकारणले गर्दा हरेक देशको आफ्नो आवश्यकताले नेताहरूलाई बनाउँछ, अगाडि बढाउँछ, पछि हटाउँछ। त्यो हिसाबले त्यही मान्छे दोहोरियो भनेर भन्ने हो भने मिल्दैन। जस्तो कर्पोरेट बिजनेसमा पनि त्यही हुन्छ। कर्पोरेट बिजनेसमा पनि जसले चलाउँछ, त्यसलाई दिइन्छ। कहिलेकाहीं ट्रान्जिसनल लिडर नभएसम्म चाहिं पुरानै मान्छेलाई बोकेर हिंड्ने चलन हुन्छ।

तर उही प्रचण्डजी पटक–पटक प्रधानमन्त्री भएको कारणले, केपी ओली पटक–पटक प्रधानमन्त्री भएको कारणले, शेरबहादुरजी पटक–पटक प्रधानमन्त्री भएको कारणले मान्छेमा वितृष्णा आयो, आक्रोश पोखियो भन्ने कुरा अलि सामान्यीकरण हुन्छ जस्तो लाग्छ। असहमति त हुन सक्छ, त्यसलाई म नेगेटिभ मान्दिनँ, तर त्यो चाहिं मापदण्ड होइन।

चाहे चुनावबाट चाहे दलको महाधिवेशनमा। पहिले तपाईंहरूले दुईपल्ट उही पदमा लड्न नपाउने, ७० वर्ष उमेरहद राख्ने जस्ता नियम राख्नुभएको थियो। अहिले कुनै व्यक्तिका लागि नियम बदल्दा युवाहरू आउने बाटो नै रोकियो हैन ?

हाम्रो पार्टीमा ७० वर्ष हामीले राखेका थियौं, सोचेरै दुई कार्यकाल पनि राखेको हो। त्यो केपी ओलीलाई हेरेर चढाउनको लागि ७० र दुई टर्म हटाउनलाई अर्काले भनेर होइन।

दोस्रो, त्यो हामीले नेकपा बनाएपछि हट्यो। नेकपा बनाउँदाखेरि त्यो सान्दर्भिक भएन।

यहाँले भन्नुभएको जस्तै एमालेले गरेको राम्रो काम सबैले सिकिदिए भनेदेखि राम्रो हुन्थ्यो नि, तर नेकपा भन्दाखेरि एमालेको त्यो प्रयोगलाई चाहिं स्वीकार्य भएन। माओवादी पार्टीमा हामीभन्दा धेरै यङ मान्छेहरू हुनुहुन्थ्यो, त्यहाँको चाहिं लिडरसिपको पुस्ता हेर्ने हो भने बिलो ५० का धेरै साथीहरू हुनुहुन्थ्यो। नेकपा बन्दाखेरि त्यो ७० हट्यो। त्यो ७० नै बोकेर हिंड्यौं हामीले।

तेस्रो, जब नेकपा फुटेर एमाले र माओवादी बन्यो, पुरानो ठाउँमा फर्क्यौं, अनि हामीले के भन्यौं भने चितवनमा जाँदाखेरि यो जरूरी भएन अब, किनभने त्यही मिसाएर अघि गइसक्यो, अब नगर्ने भनेर हामीले त्यसलाई हटाइदियौं। त्यो चाहिं चितवन महाधिवेशनमा ७० हटिसकेको कुरा हो। त्यो अहिले हटाएको होइन।

अहिले कस्तो लाग्छ भने, केपी ओली थर्ड टर्ममा जानको लागि सेकेन्ड टर्ममा पनि हटाएको अनि त्यसपछि ७० नि हटाएको भन्ने हामीलाई परिराख्या छ। त्यो चाहिं होइन। चितवनबाट हामीले सेकेन्ड टर्म हटायौं र त्यसपछि पार्टीमा नयाँ साथीहरू ल्याउनको लागि नामै भन्दाखेरि अब मुकुन्द न्यौपानेजी, बामदेवजीहरूलाई ल्याउनको लागि हामीले ७० हटायौं।

त्यसैले यो ७० को विषय के हो भन्दाखेरि फलानालाई ल्याउनलाई राखेको, नल्याउनलाई नराखेको भन्ने होइन।

जतिखेर हामी ७० को पक्षमा थियौं। ठूलो संख्यामा अहिले ‘७० चाहिन्छ चाहिन्छ’ भन्ने साथीहरू विपक्षमा हुनुहुन्थ्यो ७० को। हामी चाहिं बरु ७० को पक्षमा थियौं त्यो बेला। अहिले हामीले ‘अब यो ७० आवश्यकताले गर्ने हो, छोड्दिऊँ’ भनेर छोड्दियौं हामीले उमेरको लागि। त्यसैले पहिलो कुरा यसले चाहिं प्रगतिलाई ब्लक गर्छ भन्ने मलाई लाग्दैन।

दोस्रो नेतृत्वको कुरा चाहिं के हुन्छ भनेदेखि; जस्तो भनौं न, अहिले एमालेको कुरा गर्ने हो भने यदि केपी ओलीभन्दा पछि अरू नेताहरूमा मतलब केही हुन्थ्यो भनेदेखि मलाई लाग्छ, ७० हुनु र नहुनुको केही अर्थै हुँदैन, केपी ओलीले छोड्दिनुहुन्थ्यो।

हाम्रो पार्टीको एउटा इतिहास छ, २०३९ सालमा हामीले पहिलो चोटि महासचिव फेरेको हो। यो लिगेसीको भन्छु, है। नेकपा माले थियो त्यो बेला। सीपी मैनाली सबैभन्दा क्यारिस्मेटिक लिडर हुनुहुन्थ्यो हाम्रो पार्टीमा। सीपी मैनाली अगाडि सबै नेताहरू चाहिं फिका लाग्नुहुन्थ्यो। उहाँ त्यति चर्चित भूमिगत नायक हुनुहुन्थ्यो।

उहाँलाई हटाउँदाखेरि कुन तरिकाले हट्यो भन्दाखेरि उहाँभन्दा मुनि रहेका सबै नेताहरू मतैक्य रह्यो। ‘जो भए नि हुन्छ, उहाँलाई नराख्ने’ भन्नेमा पुग्यो। त्यसकारणले गर्दा सहज ढङ्गले गएको झलनाथ खनाल हाम्रो पार्टीको त्यो बेला नेता बन्नुभयो। २०४६ मा मदन भण्डारी महासचिव बनाउँदाखेरि झलनाथ नै समर्थक बनेर उहाँभन्दा मुनिका सबैले हामी मदन भण्डारीलाई महासचिव मान्छौं भनेपछि नेतृत्व त्यसकारणले चेन्ज भयो।

मदन भण्डारीको चाहिं अवसानपछि को बन्ने भन्ने सन्दर्भमा बहस थियो हाम्रो पार्टीमा, आर्यघाटमै बहस भएको हो। र धेरै साथीहरूको माग केपी ओली महासचिव बन्नुहोस् भन्ने थियो। केपी ओली आफैंले ‘म महासचिव बन्दिनँ, कारण छन्। कारण के हुन्छ भने पार्टीमा विग्रह आउँछ। सिनियर मानिनुहुन्छ माधव नेपाल, उहाँलाई बनाऊँ’ भनियो। उहाँलाई नै बनाएर लिएर गइयो। त्यसपछिको स्थितिमा चाहिं केपी ओली जतिखेर अध्यक्ष बन्न आउनुभयो, एजेन्डाको आधारले आउनुभयो। उहाँ सहज ढङ्गले नेतृत्वमा सल्लाह गरेर आएको मान्छे होइन।

अब अहिलेको स्थितिमा आजको एमालेमा केपी ओली बाहेकको को हुन्छ त अध्यक्ष त्यसो भए? भन्दाखेरि त मतैक्य छैन। ‘केपी ओली नभए नै हुन्छ’ भन्ने चाहिं हुनुहुन्छ साथीहरू। तर केपी ओली बाहेक कोहो भन्दाखेरि एकले अर्कालाई समर्थन गर्ने तह त छैन अहिले।

तपाईंले त बुझिने गरी भन्नुभयो। तर अध्यक्ष ओलीले हेरौंला नि विद्या भण्डारीको उम्मेदवार भएर को आउँदो रहेछ भनेर ललकारिदिनुभयो नि ?

यस्तो हुन्छ नि त! त्यो के हुन्छ भने मातहत रहेका साथीहरूले बाहिर बसेर ललकारिरहेको छ भने जवाफ त गइहाल्छ नि! महाधिवेशनको मुखैमा भएकाले यसमा धेरै म प्रवेश नगरौं भन्ठान्छु। किनकि यसले कतिपय नेताहरूको मन दुख्न सक्छ। तर अहिले केपी ओलीको तुलनामा अरू कोही पनि आउनुहुन्छ जस्तो चाहिं मलाई लाग्दैन।

जितेर जो पनि आउन सक्नुहुन्छ होइन ?

दुइटाको तुलना भयो भने के हुन्छ? दुइटा तपाईं र म यहाँ दुई जना बसिरा’छौं। अनलाइनखबरको प्रधानसम्पादक को बन्न सक्छ भन्दाखेरि स्वतः बसन्त बस्नेत हो ! त्यहाँ विष्णु रिमाल त हुँदै होइन! रियालिटी त्यसरी नै बुझ्नु पर्‍यो नि! अलिकति मिठो कुरा गरौं न भन्दिएर हुँदैन।

ईश्वर पोखरेल आफैं उठ्न चाहेको भन्दा पनि तपाईंहरूले विद्या भण्डारीलाई रोकेपछि उत्पन्न परिस्थिति हो भनेर बुझे हुँदैन ?

यो चाहिं एमाले भर्सन होइन। यो मिडिया भर्सन हो। म पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको बारेमा केही पनि टिप्पणी गर्न चाहन्नँ। म उहाँलाई सम्मान गर्छु। र राष्ट्रपति, उपराष्ट्रपतिहरूको, राष्ट्रपति/उपराष्ट्रपतिबाट सेवानिवृत्त भएपछि भूमिका के हुनुपर्छ भन्ने मेरो आफ्नो व्यक्तिगत मान्यता छ। त्यो व्यक्तिगत मान्यता अहिले मैले मिडियामा भन्नु राम्रो हुँदैन यतिखेर। एमालेको राजनीतिमा बहसको विषय पूर्वराष्ट्रपतिज्यूलाई बनाउनुहुँदैन। उहाँप्रति मेरो सम्मान छ। त्यसरी हामी जानुपर्छ।

त्यसपछि वरिष्ठ उपाध्यक्ष लगायत नेताहरूको सन्दर्भमा पनि मेरो सम्मान त्यति नै छ। प्रतिस्पर्धा गर्न पाइन्छ कि पाइँदैन भन्दाखेरि अघि तपाईंको भाषा सापट लिएर भन्छु। प्रतिस्पर्धा गर्न एमालेमा पाइन्छ। प्रतिस्पर्धा खेलको नियम हो। खेलमा जित्दाखेरि विजेता होइन्छ। रनरअप भयो भने रनरअपकै तहमा बस्नुपर्छ हामीहरूले, त्यही नै हो। जबजले भन्छ: पहलकदमी गर, प्रतिस्पर्धा गर, श्रेष्ठता हासिल गर, नेतृत्व लेऊ। साथीहरूले आफूलाई ‘म प्रतिस्पर्धा योग्य छु’ भनेर ठान्नुहुन्छ भने त उहाँलाई त रोक्नै मिल्दैन।

तर यसैमा त्यो पहलकदमीबाट प्रतिस्पर्धा गर्ने, श्रेष्ठता पाउने क्रमलाई रोक्न कुटाकुटै भए, कहिले लफडाहरू भए, हैन? प्रतिस्पर्धाको क्रममा त्यो त्यति स्वस्थ प्रतिस्पर्धा भएको जस्तो पनि लाग्दैन कति ठाउँमा। किन यस्तो अवस्था आएको ?

अब मसित तपाईंले संवाद गरिरहँदाखेरि अर्को एंगलबाट प्रश्न राख्नु स्वाभाविक होला, हैन। त्यही नै होला संवाद गर्ने विधि। नत्र कस्तो देखिने भयो भने, तपाईं चाहिं एमालेभित्र एउटा विपक्षको प्रवक्ता भएर प्रश्न गर्ने, मैले चाहिं त्यहाँ बयान दिएको जस्तो हुनेभयो, के हाम्रो कुरा नि! त्यसकारण म यसरी…

प्रतिस्पर्धा गर्न पाउने अधिकार किन कुण्ठित भयो भनेर सोध्न त पाइयो नि ?

कुण्ठित कहीं पनि छैन। प्रतिनिधि छनोटमा तपाईंले हेर्नुभयो भने कुनै पनि पार्टीको तुलनामा एमालेले अहिले १३ गते गरेको प्रतिनिधि छनोटमा कुनै पनि पार्टीभन्दा हामी अब्बल नै छौं। विवाद भा’छ कि छैन? विवाद भा’छ नि त! विवाद किन हुँदैन जहाँ पनि हुन्छ। पर्ने र नपर्ने विवाद हुँदैन र? पहिला साथीहरू सर्वसम्मत गर्ने भन्नुहुन्छ।

हाम्रो त इनडाइरेक्ट भोट हुने हो नि त माथि त। अहिले २३०० चानचुन हाम्रो प्रतिनिधि बन्नुहुन्छ। त्यो २३०० छान्नलाई १२०० बाट ४०० जना, चार जना छान्ने गरी गर्‍या हो। जहाँ–जहाँ जुन–जुन ठाउँमा साथीहरूले खेलको नियम सर्वसम्मत बनाउने भनेर मान्छेलाई तोक्नुभयो, त्यही अनुसार आउनुभएको छ। जुन–जुन ठाउँमा उहाँहरूले भोट हाल्ने भन्नुभयो, भोट हाल्नुभएको छ। भोट हाल्ने ठाउँमा चाहिं दुवै पक्ष छन्। दुवै पक्ष छन्, है।

अहिलेको अध्यक्ष केपी शर्मा ओलीलाई भोट हाल्छु भन्ने अरूले पनि ‘हामीले भोट हाल्न पाएनौं, एउटा पक्षले पेल्यो’ भनेको पनि सुन्छौं हामी। अर्कोतिर केपी ओलीलाई भोट हाल्दिनँ भन्ने पक्षले पनि ‘हामीलाई पेल्यो’ भनेको सुनेको छौं हामीले कतिपय ठाउँमा। त्यसको त छानबिन गर्ने निकाय छ नि, त्यसले गरिहाल्छ।

तपाईं त अहिले पनि पार्टीको उपमहासचिव नै हुनुहुन्छ। संगठनको महत्वपूर्ण काम त तपाईंले होल्ड नै गर्नुहुन्छ नि त! कार्यकर्ताले गुनासो गर्न नआए भने सुन्ने ठाउँमै हुनुहुन्छ!

त्यो निकाय छ। हाम्रो त सङ्गठन विभागले गरिनै राखेको छ त। सङ्गठन विभागमा जानुहुन्छ, साथीहरूले गुनासो राख्नुहुन्छ, आक्रोश पोख्नुहुन्छ।

कोही अब घुर्की पनि लगाउनुहुन्छ। कतिले गएपछि यस्तो भएन भन्नुहुन्छ। जम्मै त छ त। पाइहाल्छन्। कार्यकर्ताले त्यो पाउनुपर्छ। एकदमै पाउनुपर्छ। त्यो अधिकार सुनिश्चित पनि राख्नुपर्छ। त्यो त छ।

सर्वत्र ओली हावी हुँदा अरू नेताहरूको व्यक्तित्वलाई ओझेल पार्ने कामहरू शुरु भयो भन्ने जताततै गुनासो सुनिन्छ नि!

अग्लो रूख एकातिर छ र साना–साना रूख अर्कातिर छन् भने त अग्लो रूखको ओझेल त पारिहाल्छ, यसलाई यसरी नै बुझ्दा राम्रो हुन्छ। तर मलाई के लाग्छ भने हरेक पार्टीमा नम्बर एक नेता त अगाडि नै हुन्छ नि, उनै हावी हुन्छ त!

अझ हाम्रो पार्टी र गैरकम्युनिस्ट पार्टीमा त भिन्नता छ। हाम्रो पार्टीमा बहुमत आएपछि चुनिन्छौं सबै हामी, है। म एउटा अलिकति बताउने अनुमति चाहन्छु। जस्तो हाम्रोमा अध्यक्ष र अनि अरू अरू पदका मान्छेहरू सबै इलेक्टेड हुन्छन्, है। निर्विरोध हो भने निर्विरोध, भोट हालेर आयो भने इलेक्टेड हो। भोट हालेर आएका सबै सार्वभौम स्वतन्त्र हुँदैनन् हाम्रो पार्टीमा।

तपाईं पार्टी उपमहासचिव भएर चलाइसकेको नेता हो। अब तपाईंको उम्मेदवारी चाहिं केमा पर्दैछ ?

मैले अघि नै भनें, अब मेरो दुइटा पद पक्का नै छ: महाधिवेशन प्रतिनिधि परिषद् सदस्य र यदि केन्द्रीय कमिटीबाट बाहिर गएँ भनेदेखि सल्लाहकार परिषद् सदस्य पक्का नै छ। यो दुइटै पद काफी नै छ मेरो लागि। त्यो बाहेक चाहिं पार्टी पङ्क्तिले कुनै पदमा अपेक्षा गर्‍यो र आवश्यक ठान्यो भने बस्छु। हैन, अब अरू नै साथीहरू हुनुहुन्छ, अरूलाई मौका दिनुपर्छ भन्नुभयो भने मलाई केही आपत्ति छैन। म महाधिवेशन प्रतिनिधि परिषद् सल्लाहकार परिषद् भएर बसेर काम गर्ने…

उपाध्यक्ष बन्ने या महासचिव बन्ने ?

मेरो केही पनि आकाङ्क्षा छैन। मैले अघि नै भनें। मैले तपाईंलाई यही जवाफ चितवनमा पनि दिएको थिएँ। तपाईंले मलाई सोध्नुभएको थियो बाटोमै, ‘तपाईं के हुने’ भन्नुभएको थियो, ‘आवश्यक पर्दा म केही नहुन नि सक्छु’ भनेको थिएँ। अहिले पनि मेरो त्यही नै हो। मेरो त्यस्तो निजी आकाङ्क्षा केही छैन। यदि पार्टीमा म कुनै ठाउँमा फिट हुन्छु भनेर साथीहरूले ठान्नुभयो, त्यो फिट भएको त यहाँ बसेर काम गर्ने भनेर हो। हैन, त्यहाँ हामी काम गर्ने योग्य अरू नै छौं, ‘तपाईंले गरिसक्नुभयो, छोड्नुहोस्’ भन्यो भने मलाई केही आपत्ति छैन त्यसमा।

तपाईंले सामूहिक नेतृत्व प्रणाली भन्नुभयो। एमालेमा अहिले सामूहिक नेतृत्व प्रणाली छ?
छ त।

त्यो पदाधिकारी अध्यक्षको एकदम छ नि अहिले त, हैन? एकल नेतृत्व प्रणाली जस्तै छ नि झन्डै झन्डै व्यवहारमा, हैन ?

अध्यक्षको वरिपरि हामी सबै जोडिएका छौं, अहिले प्रतिस्पर्धामा आउनुभएको कमरेड ईश्वर पोखरेल पनि त्यही नै हुनुहुन्छ नि त। त्यही त हो नि हामीले बहस गर्ने। जस्तो कहिलेकाहीं डाक्टर ढिलो, भने हिजो अस्ति तपाईंले न्युज पढ्नुभयो होला नि त, चारजना सिनियर नेताहरू नै गएर अध्यक्षलाई भेटेर आफ्नो कुरा राखेर आउनुभएको छ, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, सचिव कमरेड एक जना जानुभएको थियो। यो त छ त, एमालेमा त भइहाल्छ त।

तर त्यो त उहाँहरू गुनासो गर्न जानुभयो, हैन ?

पार्टीमा गुनासो हुन्छ, सुझाव हुन्छ, छलफल हुन्छ, अन्तरविरोध पनि हुन्छ, समर्थन सबै हुन्छ नि त! सधैं एकनास त कहाँ हुन्छ र? चित्त नबुझ्ने विषय हो भने त गुनासो पनि गर्नु पर्‍यो। त्यो सबै हुन्छ नि!

अघिल्लो महाधिवेशन अनि अस्ति सरकार बन्दाको बेलासम्म पनि केपी ओलीको नेतृत्व नै अपरिहार्य हो भनेर ठान्ने मध्ये कतिपय नेताहरू त अब उहाँले प्रश्न उठाउने ठाउँमा आइपुग्नुभयो। त्यो चाहिं अब हेरौं न !

मैले अघि नै भने नि, अहिले तपाईंले र मैले गरेको संवादमा एक हप्तापछि नेतृत्व चयन हुने भएकोले धेरै मैले मुख खोल्न थालें भने त्यसले गलत मेसेज जान्छ। कतिपय साथीहरूलाई यसले चोट पुर्‍याउन सक्छ। त्यसकारण यस्तोमा मैले बोल्नु राम्रो हुँदैन, हैन। त्यसकारणले गर्दा अब हामी एमालेहरू त नयाँ नेतृत्व चयनको चरणमा प्रवेश गरिसकेकै छौं नि त! त्यसमा अब हामीले साथीहरूलाई छोड्दिनुपर्छ। मन पराउनुहुन्छ, पक्षमा बोल्नुहुन्छ, मन परेन भने जो साथीलाई मन पर्छ, त्यतैतिर आफ्नो मत राख्नुहुन्छ, केही फरक नै परेन त्यसमा।

नयाँ पार्टीहरू यो बीचमा खुब उदाएका छन्; त्यसको दबाब कतिको महसुस गर्नुभएको छ?

त्यो चाहिं अहिले संक्रमणकालीन परिणति हो। ठिकै बाँकी रहन्छ। म यसमा एउटा सानो प्रसङ्ग जोड्न चाहन्छु। यतिखेर त उहाँ जेलमा हुनुहुन्छ रवि लामिछानेजी। रास्वपाको तर्फबाट उहाँ गृह तथा उपप्रधानमन्त्री बनिसकेपछि एकचोटि यस्तै संवाद भएको थियो।

उहाँ र अरू अरू सांसदसित पनि कुरा भएको थियो मेरो रास्वपाका साथीहरूसित पनि। ‘के हुन्छ भोलि?’ भन्ने सन्दर्भमा मैले उहाँहरूलाई एउटा शब्द प्रयोग गरेको थिएँ: ‘अहिले रास्वपा रवि लामिछानेजीको पार्टी हो। अब रवि लामिछानेजी घण्टीबाट प्रवेश गरेर बाहिर निक्लिनुभयो भने मात्र त्यो पार्टी बन्छ, नत्र त्यो पार्टी बन्दैन’ भन्ने मेरो तर्क थियो।

अर्को भाषामा मैले के भनेको थिएँ भने, पार्टी भनेको एउटा मेसिन हो। त्यो मेसिनमा विभिन्न किसिमका कच्चा पदार्थ हालिन्छ। जस्तो मानिलिउँ एउटा पिठो हाल्नुभयो भने अर्को आउटपुटका रूपमा त्यो चाउचाउ भएर निक्लिन्छ कि धुलो भएर निक्लिन्छ, हेर्नै बाँकी छ। जबसम्म त्यसले पार्टीको आकार लिंदैन, तबसम्म त्यो ‘पार्टी भनेर खोलिएका पार्टीहरू’ भनेर टिप्पणी गर्नु अलि हतारो हुन्छ जस्तो मलाई लाग्छ।

तपाईंले २०६२-६३ पछि थुप्रै खालका पार्टीहरू सुन्नुभएको थियो नि! रमाइला–रमाइला नाम भएका पार्टीहरू थिए। मुस्कान पार्टी थियो। के–के पार्टी थिए, अनेक पार्टी थिए नि! त्यसकारण यो त हामीले हेर्दै–भोग्दै आएकै कुरा हो। २०४७ सालपछि नि त्यस्तो भएको थियो। २०६३ सालपछि पनि भयो। अहिले पनि भएको छ। यस्तो हुन्छ। राजनीतिक घटनाक्रममा यो स्वाभाविक कुरा हो।

भिडियो/तस्वीर : कमल प्रसाई र शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?