+
+
Shares

एमालेमा पोखरेल समूहको प्रस्ताव : वामपन्थी एकताको प्रस्ताव अगाडि बढाऔं

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २२ गते १७:५२
फाइल फोटो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपालमा वामपन्थी एकता प्रस्तावलाई महत्वका साथ अगाडि बढाउनुपर्ने धारणा राखेका छन्।
  • पोखरेल समूहले महाधिवेशनमा एमाले-माओवादी एकता किन विभाजनमा रुपान्तरण भयो भनेर गम्भीर समीक्षा गर्नुपर्ने अवधारणापत्र बुझाएको छ।
  • उनले एमालेको अगुवाईमा वामपन्थी आन्दोलनको एकता र एकीकरणलाई महत्वपूर्ण कार्यभारको रूपमा अघि सार्नुपर्नेमा जोड दिएका छन्।

२२ मंसिर, काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपालमा वामपन्थी एकता प्रस्तावलाई महत्वका साथ अगाडि बढाउनुपर्ने धारणा राखेका छन् ।

सोमबार पार्टी मुख्यालय च्यासलमा बुझाइएको पोखरेल समूहबाट महाधिवेशनमा समेट्नुपर्ने अवधारणापत्रमा एमाले-माओवादी एकता किन विभाजनमा रुपान्तरण भयो भनेर समीक्षा गर्नुपर्ने उल्लेख गरिएको छ ।

‘जुन जुन समयमा एकता, एकीकरण र सहकार्य भएको छ, त्यस समयमा आन्दोलनप्रति जनताको सम्मान र समर्थन पनि बढेको छ’ अवधारणापत्रमा भनिएको छ, ‘जुन समयमा फुट, विभाजन र अनावश्यक द्वन्द्व बढेको छ, त्यस बेलामा जनविश्वासमा कमी आउनुका साथै राष्ट्रका लागि योगदान गर्न पनि सकिएको छैन ।’

पोखरेलले पुष्पलाल, मनमोहन, तुलसीलाल, जननेता मदन भण्डारी लगायतका शीर्ष व्यक्तित्वहरूले आ-आफ्नो समयमा वामपन्थी एकता र एकीकरणका लागि महत्वपूर्ण भूमिका खेलेका स्मरण गरेका छन् ।

‘विगतमा गरिएको एमाले-माओवादी एकतालाई ‘ऐतिहासिक र महान्’ भनिएको भए पनि व्यवस्थित तयारीबिना अपरिपक्व ढंगले गरिएका कारण त्यसले निरन्तरता पाउन सकेन । त्यसको गम्भीर समीक्षा हुन आवश्यक छ,’ उनले भनेका छन् ।

पोखरेल समूहले अवधारणापत्रमा एमालेका हरेक महाधिवेशनमा संयुक्त मोर्चा, वामपन्थी एकता र एकीकरणका विषयमा छलफल हुँदै आए पनि पछिल्लो समय यी बिषय ओझेलमा पर्दै आएका उल्लेख गरिएको छ ।

‘फेरि पनि यी विषयमाथि गम्भीर बहस आवश्यक छ’ पोखरेलले भनेका छन्, ‘पाँचौं राष्ट्रिय महाधिवेशनमा जबजलाई कार्यक्रमको रूपमा प्रस्तुत गर्दा जननेता मदन भण्डारीले संयुक्त मोर्चा, वामपन्थी एकता र एकीकरणबारेमा गर्नुभएको विश्लेषणलाई हामीले अहिलेको सन्दर्भमा परिस्कृत र उन्नत बनाउनु आवश्यक छ ।’

एमालेको आगामी महाधिवेशनले जबजको आधार र एमालेको अगुवाईमा नेपालको वामपन्थी आन्दोलनको एकता र एकीकरणको प्रस्तावलाई महत्वपूर्ण कार्यभारको रूपमा अघि सार्नुपर्नेमा पोखरेल समूहको जोड छ ।

‘हामी यिनै मान्यताका आधारमा सम्पूर्ण वामपन्थी शक्ति तथा व्यक्तिहरूलाई एमालेसँगको एकता प्रक्रियामा सामेल भई एमालेलाई वाम लोकतान्त्रिक शक्तिका रूपमा स्थापित गर्न हार्दिक अपिल गर्दछौं,’ अवधारणापत्रमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?