नेकपा एमालेको ११औँ महाधिवेशनको चटारो छ। पार्टी नेतृत्वका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र अर्का नेता ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने देखिएको छ । पोखरेलले आफ्नो प्यानल नै बनाएर चुनावी मैदानमा ओर्लने तयारी गरिरहेका छन् । वर्तमान अध्यक्ष ओलीलाई नै फेरि तेस्रो पटक नेतृत्वमा ल्याउनका लागि मात्र यो महाधिवेशन भए जस्तो देखिन्छ ।
एमालेका युवा नेताहरूले किन अध्यक्षमा हाक दिने हिम्मत गर्दैनन् ? पार्टी पुनर्गठनका लागि ‘जेन-जी विद्रोह’ले दिएको सन्देश एमालेले किन सुन्न चाहेन? अझै पनि ओलीकै नेतृत्वमा चुनावमा गएर एमाले बौरिन सक्ला ? यस्तै प्रश्नहरूमा केन्द्रित रहेर एमालेका सचिव योगेश भट्टराईसँग हिमालय टिभीको कार्यक्रम ‘यक्ष प्रश्न’ मा निमेष बन्जाडेले गरेको संवादको सम्पादित अंश :
एमालेको आसन्न महाधिवेशनको जति देशभर उत्साह देखिनुपर्ने हो, एउटा प्रमुख दलको महाधिवेशन आइरहँदा, त्यो चासो देखिएन । किन होला ?
अहिलेको परिस्थिति नै त्यस्तो छ।
तर कांग्रेसको त व्यापक चर्चा भयो नी ?
अहिलेको चर्चा-परिचर्चा मिडिया, सामाजिक सञ्जालमै हुने हो र आम जनसमुदायको बीचमा पनि विभिन्न ठाउँमा छलफलहरू भइरहेका छन् । र, नेकपा एमालेको अलिकति भिन्न के छ भने, हामीले भदौमा विधान महाधिवेशन गर्यौँ । त्यो विधान महाधिवेशनमा पार्टीको विधान, नीति, कार्यक्रम, सङ्गठनिक प्रस्तावको विषयमा छलफल गर्यौँ । पहिले-पहिले के हुन्थ्यो भने, एउटै महाधिवेशनमा नीतिको पनि छलफल हुन्थ्यो, नेतृत्वको पनि छलफल हुन्थ्यो ।
नीतिको छलफल गर्दा हामी देशव्यापी रूपमा पार्टीको अफिसियल लाइन, फरक मत सबैलाई लिएर जाने एउटा प्रचलन थियो । पछिल्ला काल दशौँ राष्ट्रिय महाधिवेशनताकादेखि हाम्रो यो जुन परम्परा थियो, त्यो टुटेको छ।
अब विधान महाधिवेशन, नीति महाधिवेशनमा विधान र नीतिको बारेमा छलफल हुने भयो, आम मान्छेले कम चासो राख्ने भए । नेतृत्वमा बढी चासो हुन्छ।
त्यही चासो अहिले देखिएन नि ?
कम चासो छ । भदौ २३/२४ गतेको घटनापछि राजनीतिप्रति नै मान्छेको एउटा उदासीनता, खासगरी दलप्रति, नेतृत्वप्रति टिप्पणीहरू भइरहेको बेलामा हामीले त्यसलाई एउटा आफ्नो सकारात्मक म्यासेजबाट लैजानुपर्ने थियो । सकिरहेका छैनौँ, त्यो सत्य हो ।
किन सकिएन ? जेन-जी विद्रोहले त पार्टीहरूको पुनर्गठन खोज्यो । स्वयं तपाईं युवा नेताहरूले पनि अब पुनर्गठन जरुरी भइसक्यो, ढिला भइसक्यो भन्नुभयो । एमालेमा त्यो सङ्केत देखिएन किन ?
यो जेन-जी मुभमेन्टले मात्र हैन कि, त्योभन्दा अगाडिदेखि नै नेपाली समाजमा एउटा जबर्जस्त कुरा के उठिरहेको छ भने, मूलतः ठूला राजनीतिक दलहरूमा नेतृत्व जाम भएर बसिराखेको छ । नेतृत्वको हस्तान्तरण भएन। पुरानो नेतृत्वले अवसरवादी चरित्र पनि देखाइराखेको छ— कहिले कोसँग मिल्द्या छ, कहिले कोसँग मिल्द्या छ।
त्यसको त परिणाम त्यही २३ र २४ भदौ हो त। त्यसको परिणाम त रिजल्ट आइसक्यो। अब पनि चेत खुलेन किन ?
हाम्रो कमिटीको म्याद २०८३ मङ्सिरसम्मको हो । हामी एक वर्ष अगाडि नै आएका छौँ। त्यो आउनुको कारण भदौ २३/२४ गतेको प्रतिक्रिया नै हो। नत्र भने हामी २०८३ मङ्सिरमै जान्थ्यौँ होला । तर, हामी एक वर्ष अगाडि आउँदाखेरि आम जनताको अपेक्षा अनुसारको रिजल्ट दिन सकेनौँ भने त आउनुको पनि अर्थ भएन नि त !
ठूला राजनीतिक दलहरूको पुनर्गठनको कुरा चाहिँ यो पार्टीभित्र पनि उठ्या छ, पार्टी बाहिर पनि उठ्या छ। मूलतः के छ भने, हाम्रो देशमा जुन तहको नेतृत्व, भनौँ न, प्रचण्डजी त्यो जनयुद्धदेखि संसदीय व्यवस्था सबैमा उहाँ नै नेता भएर बसिरहनुभएको छ। शेरबहादुर दाइ पनि लामो समय नेतृत्वमा उहाँले बस्नुभयो । हाम्रो अध्यक्ष पनि अध्यक्षकै रूपमा १२ वर्ष बसिसक्नुभयो । गएको १० वर्षमा ६ वर्ष प्रधानमन्त्रीको रूपमा उहाँले काम गर्नुभयो।
अब यसो हेर्दा अरू पार्टीको नेतृत्व, भनौँ न, प्रचण्डजीको नेतृत्व ३०-४० वर्षदेखि छ। त्यस हिसाबले केपी ओलीको नेतृत्व १२ वर्ष मात्रै भयो भन्न सकिएला ।

तर के छ भने, अब उहाँहरूको नेतृत्वको उपादेयता पुष्टि हुन सक्दैन, मलाई त्यो लाग्छ। त्यसैले उहाँहरू तीनै जनाले आ-आफ्नो पार्टीलाई एकताबद्ध बनाएर नेतृत्व हस्तान्तरणको बाटोमा जानु उपयुक्त हुन्छ।
हाम्रो पार्टीमा अलि जटिल छ। कांग्रेस र हाम्रो बीचमा अलिकति भिन्न छ। कांग्रेस ‘मास पार्टी’ हो, हामी चाहिँ ‘मास बेस्ड क्याडर पार्टी’ हौँ, हाम्रो परिभाषा त्यस्तो छ।
कांग्रेसमा के हुन्छ भने, त्यो बाह्य प्रभाव पारेर पार्टीभित्रको नेतृत्वमा आउन सजिलो छ। मासबाट आउने हो जनरल्ली, मासबाट आउने हो । त्यसलाई पार्टीको संरचनाले समर्थन गर्ने अथवा नगर्ने जे गर्ला ।
अब हाम्रोमा चाहिँ मासमा प्रभाव पारेर भित्र प्रभाव पार्ने कुरा अलिकति कठिन छ। हाम्रो चाहिँ अलिकति संरचनागत पार्टी हो । यो कम्युनिस्ट पार्टी, अलिकति संरचनागत पार्टी हुन्छ। हामी अलिकति ट्र्याडिसनल संरचनागत पार्टी पनि हौँ। त्यसो हुँदा संरचनाहरूले यदि नयाँ नेतृत्वलाई स्वीकारोक्ति गरेन भने मासले मात्रै खोजेर मात्रै पनि नहुँदो रहेछ। अहिले हाम्रो कठिनाइ त्यो हो । हामी जसले विकल्प दिन खोजिराखेका छौँ, हामीले संरचनालाई कति कन्भिन्स गर्यौँ त? यो च्यालेन्ज हो के!
तर पनि नेतृत्व चयनको विधि त, नेतृत्व चयन गर्ने त प्रतिनिधिले नै हो नि, चाहे मास बेस्ड होस्, चाहे क्याडर बेस्ड होस् ?
तर ती प्रतिनिधिहरू चाहिँ संरचनाको प्रभावमा ज्यादा हुन्छन् के। त्यसकारणले अब हाम्रो संरचनामा अलाई बदल्नुपर्ने, खासगरी संरचनाभित्रबाट नेतृत्व बदल्नुपर्ने भन्ने कुराको आवाज उठ्नुपर्ने हो । त्यो उठ्या पनि छ। म अपेक्षा गर्छु कि यो दशौँ महाधिवेशनले हाम्रो संरचनाले नयाँ नेता नेतृत्वको खोजी गरेको कुरालाई स्वीकार्छ।
भनेको ईश्वर पोखरेलले अध्यक्षमा जित्नुहुन्छ?
जित्नुहुन्छ । यो आजको एमालेको पुनर्गठन, एमालेको पुनर्जीवन, एमालेको रूपान्तरण, मुलुकको रक्षा, मुलुकको रूपान्तरण र आजका जेन-जी पछाडि उत्पन्न परिस्थितिको समाधानको निम्ति त्यो एउटा विकल्प हो ।
विकल्प त हो, तर जित्ने आधार के? ग्यारेन्टी के? तपाईंहरूको त्यो आफ्नो संरचनाको हिसाब गर्न खोज्दै हुनुहुन्छ नभने पनि। अनि त्यो क्याल्कुलेसनले जित्ने आधार दिन्छ ?
हाम्रो पार्टीमा नेतृत्वको हस्तान्तरणको कुरा यति बलियो ढङ्गले विगतमा कहिले उठेको थिएन। माधव नेपालजी १५ वर्षसम्म महासचिव हुनुभयो, प्रमुख पदमा हुनुभयो, तर उहाँको पालामा पनि यति बलजफ्ती उठेको थिएन। र, आजचाहिँ घटनाक्रमले नेतृत्वको हस्तान्तरण बिना पार्टीहरू पुनर्जीवित हुन सक्दैनन् भन्ने निष्कर्ष पार्टीभित्र पनि छ, बाहिर पनि छ। त्यसकारण हस्तान्तरणको प्रक्रियामा पार्टी अध्यक्षले सहज ढङ्गले त्यो बाटो खोल्नुपर्छ भन्ने हाम्रो भनाइ हो।
पार्टी अध्यक्ष आफैँ मैदानमा उत्रिने कुरा नै अहिलेको सन्दर्भमा सान्दर्भिक छैन। म त भनिराख्या छु, दशौँ राष्ट्रिय महाधिवेशनमा भीम रावल कमरेडले उम्मेदवारीको दाबी प्रस्तुत गर्नुभयो, तर त्यतिबेला केपी ओलीकै दाबी पुष्टि हुन्थ्यो । त्यो जनरल, त्यो चाहिँ न्यचुरल थियो, प्राकृतिक थियो। त्यसकारण हामीले सबैले उहाँलाई समर्थन गर्यौँ। आज फेरि केपी ओलीले नेतृत्वमा दाबी गर्ने कुरा यो प्राकृतिक छैन, यो अप्राकृतिक हुन्छ र यो बलजप्ती हुन्छ।
तर उहाँले जित्दै हुनुहुन्छ नि ? तपाईंहरूको त प्यानल समेत बनेको छैन ।
मलाई त्यस्तो लाग्दैन । उहाँले पनि त बनाउनु भएको छैन नी ।
प्रतिद्वन्द्वीहरूको चाल पनि हेर्नुपर्छ नि ! र, हतार पनि छैन। किनभने हामी महाधिवेशनको पनि दिन बाँकी नै छ ।
ईश्वर पोखरेल, तपाईंहरूले ल्याउन खोजेको किन हो ? ओलीजी र ईश्वर पोखरेलजीमा के फरक छ त्यस्तो ? केपी ओलीजस्तो आँटिलो नेता छोडेर किन ईश्वर पोखरेल ?
त्यो खालको आटिलो चाहिँदैन अहिले। त्यो खालको खालको आँटले सही ठाउँमा देशलाई लाँदैन।
आजसम्म त लग्नुभयो त उहाँले! उहाँले त भन्नुभयो त यत्रो राष्ट्रिय स्वाधीनता बचाएको छु, मैले गर्दाखेरि नेपालको अस्तित्व बचेको छ ।
हैन, दुर्घटना भयो । हाम्रो अध्यक्षको बारेमा पोजेटिभ-नेगेटिभ दुइटै कोणबाट हामीले हेर्नुपर्छ।
केपी ओलीले २०७१ सालमा पार्टीको अध्यक्षको रूपमा निर्वाचित हुनुभयो। त्यसपछि संविधान निर्माणको कालमा उहाँको धेरै नै राम्रो भूमिका थियो, नेतृत्वदायी भूमिका थियो। म त्यसको प्रशंसा गर्छु।
संविधान निर्माणको लगत्तै जुन सरकार बन्यो उहाँको नेतृत्वमा, त्यो एकदम कठिन परिस्थितिमा थियो। र, विशेष गरी नाकाबन्दी जस्ता कुराहरूको सामना गर्नमा सिङ्गो मुलुकले उहाँलाई साथ दियो, हामी सबैले साथ दियौँ । त्यसको सकुशल ल्यान्डिङ पनि गर्नुभयो। त्यसपछि कतिपय घटनाहरूमा उहाँले सही नेतृत्व पार्टीलाई पनि गर्नुभएछ, देशलाई पनि गर्नुभएछ।
तर सँगसँगै अब जस्तो पछिल्लो सरकारको कालमा, नेपालमा ठूला पूर्वाधारको कन्सेप्ट पनि उहाँले ल्याएको हो । त्यसमा मान्नुपर्छ। कति आलोचना भएनन्— कहिँ टावर बनायो, के बनायो भन्ने पनि छ। त्यसको आफ्नो ठाउँमा छ। तर जे होस्, ठूला पूर्वाधारको माध्यमबाट मुलुकको समृद्धि हासिल गर्ने बाटो लिनुपर्छ भन्ने उहाँको कन्सेप्ट राम्रै कन्सेप्ट हो।
यी तमाम कुरामा उहाँलाई मैले सकारात्मक ढङ्गले हेर्छु। नेपाल राष्ट्रको अलिकति गरिमालाई उच्चो बनाउने, अन्तर्राष्ट्रिय मञ्चहरूमा प्रभावकारी प्रस्तुति गर्ने— यी सबै उहाँको कालमा भएका पोजेटिभ कुरा हुन्।
तर सँगसँगै उहाँले अवसर पाएर गर्न नसकेका केही कुराहरूको पनि चर्चा हुनुपर्छ यतिबेला । विशेष गरी मलाई के लाग्छ भने, २०७५ सालमा हामीले पार्टी एकता गर्यौँ— माओवादी र नेकपा एमालेको। त्यो त्यति पारदर्शी थिएन। आवश्यक थियो होला, तर पारदर्शी थिएन। मूलतः केपी ओली र प्रचण्डको आपसी सहमतिमा त्यो काम सम्पन्न भएर पार्टीले अनुमोदन गरे । त्यो ऐतिहासिकै थियो। जेसुकै भए पनि त्यो गरेको मलाई उचितै लाग्यो। बाटो, तरिका गलत अपनाए पनि, सही निर्णय नै थियो।

तर उहाँले त्यसलाई टिकाउन सक्नु भएन। उहाँले टिकाउनु पर्थ्यो। त्यो टिकाउन नसक्नेमा उहाँलाई मात्रै म त दोष त दिन्नँ, तर उहाँ मुख्य नेता भएको नाताले त्यसको जवाफदेही त उहाँले लिनुपर्छ, लिनुपर्ने हुन्छ। त्यसमा प्रचण्डजीको, माधव नेपालजीको दोषै थिएन भन्ने म ठान्दिनँ। किनभने मैले नजिकबाट हेरेको छु कि उहाँहरूको पनि ठूलो दोष छ त्यसमा। त्यसमा उहाँ असफल हुनुभयो भन्ने मलाई लाग्छ।
दोस्रो कुरा, संसद् विघटन— २०७७ साल पुस ५ गतेको, हैन। त्यसमा हाम्रो पार्टीभित्र हेर्ने दृष्टिकोण अलग-अलग छन्। ल ठीक छ, एउटा प्रधानमन्त्रीले संसद् विघटन गर्नुभयो, तर त्यो संसद् विघटनको पुष्टि त गर्न सक्नु भएन।
राजनीतिक हिसाबले त ठीक छ भन्नुभयो होला, तर संवैधानिक दृष्टिकोणले संसद् विघटन त स्वीकृत भएन। अर्को, उहाँले त्यहाँ ठूलो कमजोरी गर्नुभयो जस्तो मलाई लाग्छ त्यसमा।
त्यसपछि आउँदा अब २०७९ पछिको संसदीय निर्वाचनमा फेरि पनि हामीले पार्टीलाई पुनर्गठित गर्दै अगाडि बढ्यौँ । तर एउटा सम्मानजनक पोस्टमा, अवस्थामा हामी आयौँ । त्यसमा पनि उहाँको नेतृत्व छ।
तर पार्टीभित्र हामीले के मूल्याङ्कन गर्यौँ भने, झन्डै २० देखि २५ सिट चाहिँ पार्टीको आन्तरिक अन्तरविरोधबाट, अन्तरघातबाट पराजित भयौँ भन्ने निष्कर्ष उहाँकै दस्तावेजमा छ। तर त्यसमाथि उहाँले कुनै पनि एक्सन गर्नुभएन। अन्तरघात गर्नेहरू माथि कुनै एक्सन गर्नुभएन। ती अन्तरघात गर्नेहरू नै आज उहाँको प्यानलमा छन् । कुनै बेला पर्यो भने नाम पनि भनुँला।
त्यो अन्तरघातबाट हार्ने पनि उहाँकै नजिकका मान्छे हुन्। अन्तरघात गर्नेहरू पनि उहाँकै नजिकका मान्छे हुन्। भनेपछि पार्टीभित्र शुद्धीकरण भएन उहाँको नेतृत्वमा। पार्टीभित्र शुद्धीकरण भएन, यो कुरा त हामीले स्वीकार्नुपर्यो।
अब पार्टीको सङ्गठनात्मक फैलावटको कुरा गरौँ । दशौँ राष्ट्रिय महाधिवेशनमा झन्डै १० लाख पार्टी सदस्यहरू, साढे नौ लाखभन्दा बढी पार्टी सदस्यहरूबाट प्रतिनिधित्व छानिएको थियो। आज ६ लाख ६७ हजार पार्टी सदस्यहरू, भनेपछि झन्डै साढे दुई लाख पार्टी सदस्य हाम्रो घटेको छ।
दशौँमा भन्दा साढे आठ लाखबाट १० लाख पुर्याउने योजना थियो। हामी चाहिँ साढे छ लाखतिर आयौँ, ६ लाख ६७ हजारमा आयौँ। तर त्यो आठ लाखभित्र पनि झन्डै ५० प्रतिशतलेचाहिँ नवीकरण गरेनन्। नयाँ मानिसहरूको नवीकरण, नयाँ मानिसहरू पार्टी सदस्य थपेर ६ लाख ६७ हजारमा हामी पुग्यौँ।
स्थानीय उप-चुनाव भयो केही ठाउँमा । एमालेले सन्तोषजनक परिणाम ल्याएन । त्यहाँ हामीले सन्तोषजनक परिणाम ल्याएनौँ भन्ने स्वयं अध्यक्षको रिपोर्टमा छ है। म यो कुरा भनिराखेको छु।
क्याम्पसमा विद्यार्थीहरूको चुनाव भयो। त्यसमा जतिबेला म अध्यक्ष थिएँ अनेरास्ववियुको, यो ५१/५२ सालमा हामीले इतिहासकै सबैभन्दा धेरै जितेका हौँ— ७३% क्याम्पसहरूको स्ववियु हामीले जितेका हौँ ।
आजको स्ववियु चुनावमा हाम्रो अनेरास्ववियुको रिजल्ट राम्रो छैन, सन्तोषजनक छैन। त्यो कुरा पनि उहाँकै प्रतिवेदनमा छ है। मैले उहाँको प्रतिवेदन नै उल्लेख गरेको छु, यो मेरो आरोप हैन उहाँलाई। सङ्गठनात्मक ढङ्गले पनि उहाँको नेतृत्वमा हामीले जति प्रगति गर्नुपर्ने हो, गरिराखेका छैनौँ।
पछिल्लो कालमा नेपाली कांग्रेससँगको समीकरण भयो। मुलुकमा एउटा अन्योलता थियो, अस्थिरता थियो, दिशाहिनता थियो। त्यसलाई दुइटा ठूला पार्टी मिलेर ट्र्याकमा ल्याऊँ न त, संविधान पनि संशोधन गरौँ भनेर हामीले सात बुँदे गर्यौँ ।
तर त्यो सात बुँदेको दोस्रो नम्बर बुँदामा त हातै हालिएन— संविधान संशोधनकोमा। यदि संविधान संशोधनको कुरालाई हात हाल्दै गएको भएदेखि, त्यसलाई भनौँ न, एउटा काम गर्दै गएको भएदेखि सायद हामी भदौको त्यो अवस्थामा जाने थिएनौँ कि, सम्हालिन्थ्यौँ कि ! तर त्यतातिर हात हालिएन र कांग्रेस र हाम्रो एलायन्सको पनि दुर्दशा देखा पर्यो।
सङ्गठनात्मक ढङ्गले यी गएका चार-पाँच वर्षमा, झन्डै १२ वर्ष उहाँ पार्टी अध्यक्ष भएको बेला, झन्डै छ वर्ष उहाँ सरकारको प्रमुख भएको बेलाका यी मेजर मेजर घटनाहरू हुन् ।
अहिले भनिन्छ नि यो २४ गतेकोमा थुप्रै घुसपैठ भो, षड्यन्त्र भो भन्ने कुरा पनि छ। होला त्यो भएको, भएको होला। तर एउटा उहाँले एउटा डक्ट्रिन अन्तर-यो अन्तर्राष्ट्रिय सम्बन्धमा यो केपी ओली डक्ट्रिनै भने पनि हुन्छ, “सबैसँग मित्रता, कसैसँग सद्भाव” यो उहाँको एउटा लाइन छ। मलाई एकदम मन पर्छ यो लाइन। त्यो हाम्रो परराष्ट्र नीतिको मेजर कुरा पनि हो। यदि त्यस्तो हो भने आज अन्तर्राष्ट्रिय शक्तिहरूले हामीमाथि किन षड्यन्त्र गरे त ?
भदौ २४ सम्म आउँदा पछिल्ला दिनहरूमा केपी ओलीका जुन कदमहरू भए, त्यसले चाहिँ फेल खाँदै गए ?
फेल खायो ।
त्यसकारणले गर्दा अहिलेको एमालेको नेतृत्वमा उहाँले दाबी गरेर सुहाउँदैन। अब चाहिँ उहाँ बिदा लिने बेला भयो ?
विधानत उहाँले दाबी गर्ने ठाउँ छ, पाइयो। तर यो प्रक्रियामा राजनीतिक वैधता हुन्छ नि? राजनीतिक वैधता प्राप्त भएन भने कानुनी वैधताले मात्रै काम लाग्दैन।
कानुनी वैधता त २४ गतेसम्म उहाँसँगै थियो । २४ गते अपरान्हसम्म त उहाँसँगै थियो नि कानुनी वैधता ! तर जब राजनीतिक वैधता र कतिपय नैतिक वैधता पनि हामीले गुमायौँ, त्यसपछि न परिस्थिति बदलियो !
तपाईंहरूले ईश्वर पोखरेललाई काँध बोकेर हिँड्ने हो कि ? एमालेमा गगन-विश्व प्रकाशहरू पनि जन्मिने हो? एमालेका गगन-विश्व प्रकाशहरू खै भन्छन् नि ? योगेश भट्टराईले अध्यक्षमा उम्मेदवारी दिने ह्याउ राख्न सक्दैन ?
धेरै साथीहरूले मलाई त्यो गर्न पनि उत्प्रेरित गर्नुभएको हो, नगर्नुभएको हैन। दुइटा पार्टीको कल्चर अलिकति फरक छ ।
त्यसो भए तपाईं हार्ने डरमा उठ्नुहुन्न? तपाईंले सङ्केत गरेको त्यही छ— हाम्रो संरचना अप्ठ्यारो छ, हाम्रा प्रतिनिधिहरू हाम्रो पक्षमा त्यति धेरै छैनन्। त्यसकारणले गर्दा पनि अलि अप्ठ्यारो छ भन्न खोज्या त होला नी होइन ?
हार्ने र जित्नेको लेखाजोखा गरेर प्रतिस्पर्धामा आइँदै आइँदैन।त्यो लेखाजोखा गर्न थालियो भने त जो बलियो छ, त्यता लाइन मिलाउन हिँड्छन् मान्छे। म त्यस्तो मान्छे हैन ।
म २२ गतेसम्म फेरि पनि केपी ओली अध्यक्ष हुनुहुन्छ भने ठीकै छ भन्ने ठाउँमा भएको मान्छे हुँ। तर २३/२४ गतेका घटनाले उहाँले राजनीतिक वैधता गुमाउनुभएको छ ।
त्यसकारण हस्तान्तरण गर्नुपर्छ भन्दाखेरि हाम्रो पार्टीलाई युनिफाइड पनि गर्नु पर्यो हामीले, हैन। मेरो नेतृत्वमा पार्टी युनिफाइड हुन्छ कि हुदैन? जे सुकै होस् वा खेलूँ भन्ने कुरा त हुन सक्ला, तर एक्सेप्टेन्स हुन्छ नि? एक्सेप्टेन्सको हिसाबले पार्टी भित्रका सिनियर लिडरहरू छन्, सम्मानित नेताहरू छन्, अरू पङ्क्ति छ। भनेपछि ती सबै पङ्क्तिलाई एकताबद्ध गरेर समन्वयकारी ढङ्गले लानु छ नेकपा एमालेलाई आजको दिनमा।
त्यो काम योगेश भट्टराईले किन नसक्ने ? के तपाईंले जिम्मेवारी राम्री पुरा गर्नुभएको छैन र ?
जिम्मेवारी भनेको पनि सापेक्षिक हुन्छ । यो गएको पाँच-सात वर्षमा मलाई जे जिम्मेवारी दिएको छ, पार्टी अध्यक्षको प्रतिवेदनमा मेरो जिम्मेवारीको शब्द सन्दर्भमा एकदम एक्सेलेन्ट शब्दमा मलाई प्रशंसा पनि गर्नुभएको छ।
यो बीचमा म कर्णालीमा छोटो समय काम गरेँ, पार्टी अध्यक्ष/महासचिवको प्रतिवेदनमा त्यो कामप्रति प्रशंसा गरिएको छ।
१५ महिना म मधेसको इन्चार्ज भएर काम गरेँ, मधेसमा पार्टीलाई एउटा सिस्टममा ल्याउनको निम्ति त्यतिबेला महत्त्वपूर्ण काम भयो भनेर उहाँहरूले लेख्नुभएको छ ।
म संसदीय विभाग प्रमुख भएँ, संसदीय विभाग प्रमुख भएर मैले पर्याप्त काम गर्न पाइनँ। जहाँ पनि मैले काम गरेको छु। कुनै बेला म अखिलको अध्यक्ष थिएँ। ७३% क्याम्पसहरूमा जिताको लिड गरेको मान्छे हो म त्यो बेलाको।
त्यो त्यही योगेशसँग मान्छेले आस गरिराखेको छ के। त्यही योगेश सम्झिराखेको छ। तर अहिलेको योगेश चाहिँ लुते भयो भन्ने आयो के ?
आजको दिनमा एमालेलाई विद्रोही चेत मात्रै हैन कि, समन्वयकारी र सन्तुलित नेतृत्व पनि चाहिएको छ। त्यसमा हामीभन्दा ईश्वर पोखरेल अगाडि हुनुहुन्छ ।एमालेभित्र जुन विचारको विविधता छ, बुझाइको विविधता छ, हाम्रो चाहिँ राजनीतिक जीवनको पनि विविधता छ।
जस्तो एमाले पछिल्लो कालमा नेकपाको कालपछि माओवादीबाट एमालेमै रहनुभएका कमरेडहरूको पनि एउटा ठूलो हिस्सा छ । हिजो विभिन्न कालखण्डमा यो वा त्यो समूहमा लाग्दै आएका साथीहरूको पनि एउटा ठूलो हिस्सा छ। यो सबै हिस्सालाई युनिफाइड गर्ने, समन्वयकारी नेतृत्व चाहिएको छ। त्यो आजको दिनमा ईश्वर कमरेडले गर्न सक्नुहुन्छ।
समन्वय मात्रै गर्ने हो कि एमालेलाई ठूलो पार्टी पनि बनाउने?
आजको दिनमा हामीलाई के चाहिएको छ भने, बलियो नेताभन्दा पनि सामूहिक भावनामा चल्ने नेता चाहिएको छ । पछिल्लो पाँच-सात वर्ष हेर्नुहुन्छ भने एमालेमा शक्तिको केन्द्रीकरण भयो। त्यो भएर बिग्रिराखेको छ। हामी शक्तिको केन्द्रीकरणतिर जान खोजिरहेका छौँ नि!
ईश्वर पोखरेललाई अध्यक्ष बनाइयो भने पार्टी हामीले चलाइन्छ भन्ने लाग्या छ तपाईंहरूलाई?
हामी भन्नाले सबै मिलेर। अध्यक्षले त समन्वय गर्ने हो, दिशा निर्देशन गर्ने हो। पार्टिसिपेसन सबैको चाहियो।
मैले कहिलेकाहीँ ठट्टा गर्दा भन्छु के— हाम्रो पार्टीमा सुनदेखि नुनसम्मको डिलिङ केपी ओलीले गर्नुहुन्छ। यसलाई अन्यथा अर्थ नलाउनु होला, प्लिज है। तर हामीलाई चाहिएको सुनदेखि नुनसम्मको डिलिङ एउटै व्यक्तिले गर्ने पार्टी चाहिएन। सुनको डिलिङ अलग्गैले गर्छ, नुनको डिलिङ अलग्गैले गर्छ, कपडाको डिलिङ अलग्गैले गर्छ। आफ्नो-आफ्नो जिम्मेवारी अनुसारको डिलिङ गरोस् न! अनि त्यो अलिकति समन्वयकारी होस्, अलिकति सामूहिकतातर्फ चलोस्। सबैका विचारहरू त्यहाँ समेटिऊन्। पार्टीभित्र आन्तरिक लोकतन्त्र गएका पाँच-सात वर्षमा खुम्चियो, कमजोर भयो। जनसङ्गठनहरू नेताहरूको गुटको अखडा भए ।
तपाईंले ईश्वर पोखरेलबाट आस देख्नुभएको छ ?
झलनाथजी पनि एकदमै प्रशासनिक नेता होइन नि! तर २०६५ सालदेखि २०७० सालसम्म उहाँको नेतृत्वमा हामी बस्यौँ, त्यो बेला पार्टीको लोकतान्त्रिकरणको अभ्यास नेकपा एमालेकै इतिहासमा सबभन्दा उत्कृष्ट भयो। किनभने उहाँले पावर एक्सरसाइज गर्न रुचाउनु भएन।हामीलाई पावर एक्सरसाइज गर्ने नेता चाहिएको होइन, पावर ब्यालेन्स गर्ने नेता चाहिएको हो।
तर हक्की, आँटी लिडर पनि त चाहिन्छ फेरि पार्टीलाई! सबै मको पछाडि लाग्ने त नेता हुन्न नि त! मासलाई लिड गरेर अगाडि जाने पो नेता हो नि त फेरि!
हो, सबै गुण एउटै नेतामा खोज्यौँ भने त्यसबाट हामी दुर्घटनामा पुग्छौँ । हामीले सबै गुण ओली कमरेडबाट खोज्न खोज्यौँ जुन सम्भव थिएन। केही समस्या आयो पार्टीमा, उहाँले हल गरिहाल्नुहुन्छ नि! दुइटा मानिसहरू केही मिलेनन्, उहाँले हल गरिहाल्नुहुन्छ नि! अर्को के भयो, उहाँले हल गरिहाल्नुहुन्छ नि! सबै डिपेन्ड उहाँमा भयो।
ओलीजीसँग तपाईंहरूको सैद्धान्तिक विमति त होइन नि?
सबै सैद्धान्तिक, कार्यशैली, सैद्धान्तिक यी सबै किनभने हामी जनताको बहुदलीय जनवाद (जबज) ले कस्तो पार्टी बनाउँछ त ? मदन भण्डारीले भनेको पार्टी कस्तो हो त बहुदलीय जनवादको पार्टी? भन्दा शक्ति पृथकीकरणको सिद्धान्तमा आधारित पार्टी हो।
स्वस्थ मर्यादित प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने पार्टी हो। जे मुखले बोलिन्छ, सिद्धान्त र काम गराइमा फरक छ। अनि, तपाईंको चाहिँ पार्टी भित्रका विविधतालाई एकताबद्ध गर्ने पार्टी हो मदन भण्डारीले भनेको पार्टी, बहुदलीय जनवादको पार्टी त्यो हो। हैन, सबैले आफ्नो क्षमता, योग्यता अनुसार प्रकट हुन पाउँछन्, त्यो पार्टी हो।
केपी ओलीको नेतृत्वमा सर्वसम्मती हुने कुनै गुञ्जायस छ ?
त्यो टर्दै गएको छ । आज हामीले नेतृत्व हस्तान्तरणका लागि उहाँ र इश्वर पोखरेल बाहेकमा सहमति गरौं न ।
तपाईंहरूको प्यानलको अध्यक्ष त ईश्वर पोखरेलजी हुनुभयो । महासचिव को हो?
महासचिवमा म पनि हुन सक्छु। अब गोकर्णजी हुनुहुन्छ, सुरेन्द्र पाण्डे हुनुहुन्छ। त्यही पनि कुरो मिल्या छैन । हामीमा कुनै असहमति छैन ।
तर सहमति पनि त आएन?
आउँछ। छिट्टै आउँछ, दुई-तीन दिन भित्र आउँछ । योगेश भट्टराई म महासचिवको सशक्त दाबेदार हुँ यतिखेर चाहिँ तपाईंलाई भन्छु।
तपाईंको दाबी महासचिवमै हो?
मैले महासचिव भएर पार्टी केन्द्रीय कार्यालयबाट पार्टी कसरी एउटा राम्रो सुदृढ पार्टी चलाउनुपर्छ भन्ने कुरा आउने पाँच वर्षमा महासचिव भए भने मैले मोडल देखाएर पनि जान्छु।
गोकर्ण जी, सुरेन्द्र पाण्डे जीहरूले आस गर्नुभयो अथवा हामीलाई छोडिदिनुभयो, ‘छोडिदिनुस्’ भन्नुभयो भने के गर्ने?
त्यसमा हामी फ्लेक्सिबल नै छौँ।
भण्डारीको साथ त पर्याप्त त छ हैन तपाईंहरूको समूहलाई ?
पूर्ण समर्थन छ । उहाँको एउटा नैतिक समर्थन हामीलाई छ। उहाँ पनि अन्यायमा पर्नुभएको छ, हामी पनि अन्यायमा परेका छौँ। पीडित-पीडितहरूको एकता हुन्छ।
उहाँले न्याय पाउने सम्भावना हुन्छ कि हुँदैन अब?
दुनियाँमा पुँजीवादी क्रान्ति पछाडि सङ्गठन बन्यो, पार्टी बन्यो नि ! पार्टी सङ्गठन कसले बनायो त भन्दा गरीबहरूले बनाए, सर्वहाराहरूले बनाए, राज्यबाट दबाइएकाहरूले बनाए नि ! एमालेभित्र पनि हामी पीडितहरू, हामी नेतृत्वका नेतृत्वको व्यवहारबाट पीडितहरूको बीचमा एकता हुन्छ। हामी सामूहिकतातर्फ विश्वास गर्छौँ। सङ्गठन भनेको सामूहिकता हो नि! शासकहरू सामूहिक हुँदैनन्।
उहाँले ‘म माथि अन्याय भो’ भन्नुभएछ उहाँकै भाषामा। न्याय मिल्छ पछि विद्याजीलाई?
इतिहासले न्याय दिन्छ। अनि त्यो उहाँ माथि जस्ता शब्दहरू प्रयोग गरिएको छ… उहाँ नेपालको सम्मानित नागरिक हो। सम्मानित नागरिकहरू माथि भन्न नहुने शब्दहरू प्रयोग भएको छ नि! यसले हाम्रो चाहिँ सांस्कृतिक धरातललाई कमजोर बनाउँछ। त्यसमा पनि नेतृत्वको त्यो तहको उचाइबाट सांस्कृतिक धरातलहरूलाई कमजोर बनाउनु हुँदैन।
अनि राष्ट्रपति भइसकेको मान्छे राजनीतिमा आउनु पनि त राम्रो होइन नि ?
त्यो अलग बहस हो। त्यसमा बहस गर्न सकिन्छ। त्यसलाई यति भद्दा छलफलबाट भताभुङ्ग पार्नुपर्ने पनि आवश्यकता थिएन। ‘कुरा यो हो’ भनेर उहाँलाई बुझाएर भन्न पनि सकिन्थ्यो।
अनि यो पीडित-पीडित जम्मा भएर प्यानल गठन गरिरहँदा बरु पहिले नै माधव नेपालजीहरूसँग गै गएको भए हुन्थ्यो जस्तो लागेको छैन ?
म माधव नेपाललाई सम्मान गर्छु। सिनियर नेता हो, जो सुकै भए पनि सम्मान गर्नुपर्छ। माधव नेपालले जुन बाटो लिनुभयो, एकदमै गलत बाटो लिनुभयो । जब संसद् पुनर्स्थापना गर्यो अदालतले, त्यसपछि पार्टीबाट निस्किनै हुन्थेन। यो एमाले पार्टीमा बसेर पार्टी बनाउनु पर्थ्यो उहाँले।
तपाईंहरूले के बनाउनुभयो त नि! तपाईंहरू झन् पीडितमाथि पीडित हुनुभयो नि ?
एमाले तपाईंले चाहे भन्दा फरक बनिराखेको छ। यसो कसै माथि दुःख पर्यो भन्दैमा हाम्रा राजनीतिक अडानहरू गलत थिए भन्ने ठाउँमा पुग्नु हुँदैन होला ।पार्टीलाई हामीले सकेको ठाउँमा एकताबद्ध गरेका छौँ नि ! २८ लाख भोट नेकपा एमालेले गएको संसदीय चुनावमा पायो, त्यसमा हाम्रो योगदान छैन र? त्यसमा हामीले योगदान गरेका छैनौँ ? ७८ जनाको प्रतिनिधि सभामा जितेर आउँदा, त्यसमा हाम्रो योगदान छैन र ? छ नि! त्यो कुरा पो सम्झिनु पर्यो त!
अब चुनाव आउँदै छ। फागुन २१ गते। केपी ओलीजीकै नेतृत्वमा एमाले फेरि चुनावी मैदानमा होमियो भने के अहिलेको यो प्रतिकूल स्थितिमा एमाले बौरिन सक्ला ?
अव तपाईंले भनेको रिजल्टमा हामी पुग्दैनौँ । अलग रिजल्टमै पुग्छौँ। तर मानौँ तपाईंले भनेको रिजल्टमा पुगियो भने पनि, त्यतिबेला जे परिस्थिति आउला, सामना गर्नुपर्छ।
मैले पर्सनल्ली त्यसलाई त्यति सहज देखेको छैन। तर मानौँ न, पार्टीको आम बहुमतले त्यसलाई स्वीकार्यो भने मैले स्वीकार्छु ।
यो पार्टी फेरि पनि के छ भने बलियो सङ्गठनात्मक संरचना भएको पार्टी हो। र, जनतासँग अहिले यो पछिल्लो कतिपय कारणले जनताको बीचमा हाम्रा थुप्रै प्रश्नहरू छन्
अहिले के भनेर माग्ने त भोट?
पार्टीको महाधिवेशनले उहाँलाई नेता छान्यो, उहाँका कतिपय कमजोरीका बाबजुद पनि उहाँलाई नेता छान्यो, उहाँको नेतृत्वमा फेरि पनि हामी आयौँ । हैन, उहाँको नेतृत्वमा हिजो भएका राम्रा कामहरूको हामी प्रशंसा गर्छौँ ।
उहाँका नराम्रा कामहरूको हामी जनस्तरमा पनि माफी माग्छौँ, माफी मागेर जान्छौँ।
प्रतिक्रिया 4