News Summary
Generated by OK AI. Editorially reviewed.- सर्वोच्च अदालतले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिस्ट्रार लक्ष्मीचन्द्र महतलाई कार्यभार सम्हाल्न दिन अन्तरिम आदेश जारी गरेको छ।
- महतले नियुक्ति भएको तीन महिनासम्म कार्यभार सम्हाल्न अवरोध भएको भन्दै रिट दायर गरेका थिए।
- न्यायाधीश शारंग सुवेदीको एकल इजलासले १६ मंसिरमा महतलाई पद र जिम्मेवारी निर्वाधरूपमा सम्पादन गर्न दिने आदेश दिएको छ।
२२ मंसिर, हुम्ला । सर्वोच्च अदालतले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाको रजिस्ट्रारमा नियुक्त भएका लक्ष्मीचन्द्र महतलाई कार्यभार सम्हाल्न दिन आदेश दिएको छ ।
अघिल्लो सरकारको पालामा नियुक्ती पाएका महतले पदभार ग्रहणमा अवरोध भएको भन्दै दायर गरेको रिटमा सर्वोच्चले अन्तरिम आदेश जारी गर्दै काम गर्ने बाटो खोलिदिएको हो ।
गत १३ भदौमा प्रतिष्ठानका सह–कुलपति तथा स्वास्थ्यमन्त्रीस्तरीय निर्णयानुसार महतलाई कामकाज गर्न दिन र कुनै अवरोध नगर्न १६ मंसिरमा सर्वोच्चले आदेश दिएको छ ।
महतलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०६८ को दफा २२ को उपदफा (१) बमोजिम उप–कुलपतिको सिफारिसमा सह–कुलपतिले रजिस्ट्रारमा नियुक्त गरेका थिए ।
तर, नियुक्ति भएको तीन महिनासम्म पनि बिना कारण कार्यभार सम्हाल्न अवरोध भएको भन्दै महतले सर्वोच्चचमा रिट दायर गरेका थिए ।
रिटमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतका सार्वजनिक निकायका पदाधिकारीहरूको नियुक्ति, मनोनयन र योग्यता निर्धारण ‘मन्त्रिपरिषद् स्वीकृत मापदण्ड, २०७३’ बाट स्पष्ट तोकिएको र कुनै पनि प्रतिष्ठान वा अन्य निकायले मनपरी ढंगले योग्यता वा प्रक्रिया निर्धारण गर्न नसक्ने कानुनी व्यवस्था उल्लंघन भएको दाबी गरिएको थियो ।
उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश शारंग सुवेदीको एकल इजलासले १६ मंसिरमा महतलाई तोकिएको पद र जिम्मेवारी निर्वाधरूपमा सम्पादन गर्न दिने व्यवस्था मिलाउन अन्तरिम आदेश जारी गरेको हो ।
सर्वोच्च अदालतको आदेशसँगै महतलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रजिस्ट्रारका रूपमा कामकाज गर्न बाटो खुलेको छ ।
प्रतिक्रिया 4