२२ मंसिर, काभ्रेपलाञ्चोक । जेनजी आन्दोलनका क्रममा सिन्धुलीमा भएका आगजनी, तोडफोड र लुटपाटमा सलंग्न २१ जनालाई सिन्धुली प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार सिन्धुलीको जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय र वडा कार्यालय तथा विभिन्न व्यक्तिहरूका घरमा आगजनी, तोडफोड र लुटपाट गर्ने २१ जनालाई पक्राउ गरिएको हो ।
तोडफोड, आगजनी र लुटपाटमा संलग्न सबैलाई जाहेरीका आधारमा पक्राउ गरिएको तथा अन्य १० जनाको नाममा पक्राउ पुर्जी जारी गरेको एसपी सुवेदीले बताए ।
पक्राउ पर्नेमा सर्लाहीको बागमती नगरपालिका– १२ घर भई हाल कमलामाई ६ मासुनिल सुज कलेक्सन पसल संचालन गरी बस्ने वर्ष २० को सुजन शाह, कमलामाई–८ का वर्ष ३६ को मिलन भन्ने रत्न बहादुर श्रेष्ठ, कमलामाई ५ बस्ने वर्ष ४७ को फौद थापा मगर, कमलामाई– ६ मा गौतम फर्मा केयर संचालन गरी वर्ष ३० को सुजन गौतम, सर्लाही रामनगर ६ स्थायी घर भइ कमलामाई–६ मा पप्पु किचेन डेकोर भाडा पसल संचालन गरी बस्ने वर्ष २५ को पप्पु कुमार साह, कमलामाई– ५ बस्ने वर्ष २७ को रबन चौधरी, कमलामाई १२ बस्ने वर्ष ३१ को क्षितिज श्रेष्ठ रहेका छन् ।
त्यस्तै भारतको सितामढी घर भई कमलामाई – ६ धुराबजार बस्ने वर्ष २२ को देवनंदन साह, कमलामाई ४ बस्ने वर्ष २४ को सविन लामा, कमलामाई– १२ बस्ने वर्ष २३ को डोर बहादुर सार्की, महोत्तरीको गौशला–२ घर भई हाल कमलामाई ५ बस्ने राजु महरा, तीनपाटन–११ बस्ने वर्ष २५ को होम बहादुर लुङ्गेली, कमलामाई ८ का वर्ष ३४ को ओम बहादुर खत्री, मरिण ८ का वर्ष ३० को कमल पाख्रिन, महोत्तरी बर्दिबास १४ घर भई हाल कमलामाई ६ बस्ने वर्ष ३५ को हरिचन सोनारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
पक्राउ पर्ने अधिकांश जिल्ला अदालतमा आगजनी गरेको कसुरमा पक्राउ परेका छन् । पक्राउ गरेका केही व्यक्तिको नाम भने अनुसन्धान जारी भएकाले गोप्य राखिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
पक्राउ पर्ने सबैलाई अपराधिक उपद्रव गर्न नहुने कसुर मुद्दामा जिल्ला अदालत सिन्धुलीबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
९ करोड १८ लाख क्षति
जेनजी आन्दोलनका क्रममा सिन्धुलीमा भएका सरकारी कार्यालयहरूमा आगजनी, तोडफोड र लुटपाटबाट ९ करोड १८ लाख ४० हजार ७०५ रुपैया बराबरको क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीले सार्वजनिक गरेको विबरण अनुसार सबैभन्दा बढी कमलामाई नगरपालिका लगायत वडा नं ५ र ६ नं वडा कार्यालयको ४ करोड २९ लाख, १५ हजार ५१६ रुपैया क्षति भएको छ । त्यस्तै जिल्ला प्रशासन कार्यालय सिन्धुलीको १ करोड ७६ लाख ९२ हजार ४६८, सिन्धुली जिल्ला अदालतको १ करोड ६० लाख ८ हजार ३४४, जिल्ला समन्वय समितिको कार्यालय, सिन्धुलीको ५८ लाख २० हजार ६००, कारागार कार्यालय सिन्धुलीमा २०, लाख ५९ हजार ४००, करदाता सेवा कार्यालयमा १६ लाख १५ हजार १३७, मालपोत कार्यालय १४ लाख ६६ हजार ३९०, कमलामाई नगरपालिका वडा नं. ४ को कार्यालयमा ४ लाख ६३ हजार ८०० रुपैयाँ बराबरको क्षति भएको छ ।
त्यस्तै एमाले, कांग्रेस र माओवादी पार्टी कार्यालय, गैर–सरकारी कार्यालयहरू, एकिकृत अखिल नेपाल शिक्षक संगठन, नेपाल बार एसोसियशन, सिन्धुली जिल्ला अदालत बार एकाइ तथा निजी भवनहरू पूर्व साम्सदहरू श्याम कुमार घिमिरे, राजन दहाल, छत्र बम्जन तथा कमलामाई नगरपालिकाका मेयर उपेन्द्र पोखरेलको घर, पूर्व मेयर खड्ग बहादुर खत्रीको घर, तथा महेन्द्रदेव श्रेष्ठको घर आगलागी तथा ताडफोड भएका थिए ।
प्रतिक्रिया 4