२१ मंसिर, काठमाडौं । जेनजी आन्दोलनका क्रममा नेकपा एमालेको मुख्यालय च्यासलस्थित कार्यालय समेत जलेको थियो । हाल एमालेको महाधिवेशन केन्द्रित गतिविधि सोही मुख्यालयबाटै भइराखेको छ ।
एकातिर एमालेको महाधिवेशन केन्द्रित गतिविधि चलिराखेको छ भने अर्कोतिर आन्दोलनका क्रममा जलेका संरचनाहरूको पुनर्निर्माण र सरसफाइ लगायतका कार्य समेत भइराखेका हुन् ।
नेताहरूका अनुसार जेनजी आन्दोलनका क्रममा मुख्यालय जल्दा १० करोड बढीको भौत्तिक क्षति भएको छ ।
मुख्यालयको अग्रभागमा काम भइसकेको छ । रङ्रोगन, प्लम्बिङ, सजावटका काम समेत भएका छन् ।
गत २३ र २४ भदौ जेनजी आन्दोलन भएको थियो । एमालेको मुख्यालय २४ भदौमा जलेको हो ।

जेनजी आन्दोलनका बेला एमालेका अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा सरकार थियो । आन्दोलनका क्रममा ओली प्रधानमन्त्रीबाट राजीनामा दिन बाध्य भए । त्यसपछि प्रतिनिधिसभाबाटै अर्को सरकार बन्न सक्ने अवस्था थिएन ।
२७ भदौमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ । अन्तरिम सरकारलाई आगामी २१ फागुनमा प्रतिनिधिसभाको चुनाव गराउने म्यान्डेड छ ।
एमालेले सरकार गठन र प्रतिनिधिसभा विघटन दुवै संविधानविपरीत रहेको भनेर विरोध गर्दै आएको छ । सर्वोच्च अदालतमा मुद्दा समेत दायर गरेको छ ।

यही बेला पार्टीको आन्तरिक जीवनमा समेत ऊर्जा भर्ने गरी महाधिवेशनमा रहेको नेताहरू बताउँछन् ।
एमालेको ११औं महाधिवेशन यही २७, २८, २९ मंसिरमा हुँदैछ । भक्तपुरको सल्लाघारीमा महाधिवेशन उद्घाटन हुनेछ भने भृकुटीमण्डपमा बन्दसत्र गर्ने तय भएको छ ।
महाधिवेशन अन्तर्गत प्रतिनिधि छनोट केही जिल्लामा बाहेक टुंगिइसकेको छ । यो बेला पार्टीको मुख्यालय च्यासलमा नेताहरूको चलहपहल छ । नेतारू भेटघाट र संवादमा केन्द्रित देखिन्छन् ।

प्रतिक्रिया 4