+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

राष्ट्र बैंकमा पनि योगदानमा आधारित पेन्सन, अयोग्य कर्मचारीले नपाउने

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २१ गते २१:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्र बैंकले कर्मचारी विनियमावली २०५८ संशोधन गरी योगदानमा आधारित निवृत्तिभरण योजना लागु गरेको छ।
  • २०८२ साउन १ गतेपछि खुला प्रतियोगिताद्वारा नियुक्त कर्मचारीलाई मासिक तलबबाट ६ प्रतिशत कट्टा गरी बैंकले पनि सोही रकम थपेर कोषमा जम्मा गर्ने व्यवस्था छ।
  • बीस वर्ष वा सोभन्दा बढी सेवा गरेकाले मासिक निवृत्तिभरण पाउनेछन् र अवकाशअघि सेवा छोडेमा जम्मा रकम ब्याजसहित एकमुष्ट उपलब्ध हुनेछ।

२१ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकमा पनि योगदानमा आधारित निवृत्तिभरण (पेन्सन) लागु भएको छ । नेपाल राष्ट्र बैंकले कर्मचारी विनियमावली २०५८ संशोधन गर्दै योगदानमा आधारित निवृत्तिभरण लागु गरेको हो ।

केन्द्रीय बैंकले विनियमावलीमा नियम ११७ क थप गर्दै योगदानमा आधारित निवृत्तिभरण योजना लागु गरेको छ । विनियमावली अनुसार २०८२ साउन १ गते पछिको विज्ञापनबाट खुला प्रतियोगिताद्वारा बैंक सेवामा प्रवेश हुने कर्मचारीलाई यस विनियममा व्यवस्था भए बमोजिम योगदानमा आधारित निवृत्तिभरण प्रदान गरिने छ । योगदानमा आधारित निवृत्तिभरण दिने प्रयोजनका लागि छुट्टै कोषमा लेखाङ्कन गरिने विनियमावलीमा उल्लेख छ ।

त्यसैगरी संशोधित विनियमावलीमा कर्मचारीको मासिक तलबबाट छ प्रतिशतले हुन आउने रकम कट्टा गरी बैंकको तर्फबाट सो कट्टा भएको रकमको शत प्रतिशत रकम थप गरी जम्मा गरिने उल्लेख छ ।

बीस वर्ष वा सोभन्दा बढी समयसम्म बैंकको स्थायी सेवा गरी अवकाश पाएका कर्मचारीले मासिक निवृत्तिभरण पाउने छन् । निवृत्तिभरण पाउन योग्य कर्मचारीले निजको नाममा जम्मा भएको रकम, ब्याज र मुनाफा समेत एकमुष्ट रकम लिने वा निवृत्तिभरण लिने सम्बन्धमा कर्मचारीले वा निजको मृत्यु भएमा निजको हकवालाले छनौट गरे बमोजिम कुनै एक प्रदान हुने व्यवस्था गरिएको छ ।

योगदानमा आधारित निवृत्तिभरण पाउने कर्मचारी निवृत्तिभरण पाउने समयावधि अगावै जुनसुकै कारण बैंक सेवाबाट अलग भएमा निजको नाममा जम्मा भएको रकम ब्याज र मुनाफा समेत एकमुष्ट रकम उपलब्ध हुने व्यवस्था छ । २०८२ साउन १ गते पछि खुला तर्फको विज्ञापनबाट नियुक्त हुने कर्मचारीको हकमा विनियमावलीको उपदान सम्बन्धी व्यवस्था लागु हुने छैन ।

तर, भविष्यमा बैंक सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त भएको कर्मचारीको हकमा निजको तलबबाट कट्टा गरिएको रकम तथा उक्त रकममा प्राप्त भएको ब्याज मात्र उपलब्ध हुने विनियममा उल्लेख छ ।

कुनै कर्मचारीको पारिवारिक निवृत्तिभरण पाउने समयावधि अगावै मृत्यु भएमा निजको नाममा जम्मा भएको रकम ब्याज र मुनाफा समेत इच्छाइएको व्यक्तिले एकमुष्ट पाउनेछ । मृत्यु भएको कर्मचारीले कसैलाई इच्छाएको नभएमा वा इच्छाएको व्यक्तिको समेत मृत्यु भइसकेको अवस्थामा कानुन बमोजिम निजको हकवालालाई त्यस्तो रकम उपलब्ध हुनेछ ।

राष्ट्र बैंक कर्मचारीलाई निवृत्तिभरण उपलब्ध गराउने कार्यलाई सहज तथा दिगो बनाउन बैंकले कोषमा बीमाङ्गीय मूल्याङ्कनको आधारमा नपुग हुने रकम समय समयमा उपलब्ध गराउने व्यवस्था विनियमावलीमा छ ।

कोषको लेखाङ्कन, व्यवस्थापन र सञ्चालन तथा योगदानमा आधारित निवृत्तिभरण सम्बन्धी अन्य व्यवस्था सञ्चालक समितिले निर्धारण गरे बमोजिम हुने केन्द्रीय बैंकले जनाएको छ ।

२०८२ साउन १ गते अघि नियुक्ति लिई बैंकमा कार्यरत कर्मचारी खुला प्रतियोगितात्मक परीक्षाबाट माथिल्लो तहमा नियुक्त भई सेवा निरन्तर गरेमा सुरु नियुक्त हुँदाका बखतको उपदान तथा निवृत्तिभरणको व्यवस्था लागु हुने व्यवस्था विनियमावलीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?