News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल राष्ट्र बैंकले राष्ट्रिय सहकारी बैंकको वित्तीय अवस्था कमजोर र सुशासनको कमीका कारण समस्या झनै जटिल भएको बताएको छ।
- सहकारी बैंकको आर्थिक वर्ष २०८१/८२ मा सञ्चित नोक्सान ४ अर्ब २५ करोड पुगेको र पूँजी कोष ०.८२ प्रतिशत मात्र रहेको छ।
- राष्ट्र बैंकले सहकारी बैंकलाई ५ अर्ब १५ करोड कर्जा नोक्सानी गर्न भनेकोमा बैंकले ४ अर्ब ८६ करोड नोक्सानी व्यवस्था गरेको छ।
४ मंसिर, काठमाडौं । राष्ट्रिय सहकारी बैंकको समस्या झनै जटिल बन्दै गएको छ । नेपाल राष्ट्र बैंकको नियमन तथा सुपरीवेक्षणको दायरमा पुगेको बैंकको वित्तीय अवस्था झनै कमजोर देखिएको हो ।
सहकारी संस्थाबाट नै निक्षेप लिने र उनीहरूलाई नै कर्जा दिने सहकारी बैंकमा सुशासनको कमीका कारण वित्तीय अवस्था रुग्ण अवस्थामा पुगेको नेपाल राष्ट्र बैंकका एक अधिकारले बताए ।
‘राजनीतिलाई आधार बनाएर सहकारी चलाउने तथा कमी कमजोरी लुकाउने र त्यसका लागि सहकारी बैंकलाई प्रयोग गर्न सञ्चालन समिति र व्यवस्थापनको मिलेमतो हुने अभ्यासले संस्था समस्यामा पुगेको देखिन्छ,’ केन्द्रीय बैंकका ती अधिकारीले भने,‘बैंकको दायरा भित्र आएपछि आवश्यक अनुमन तथा निरीक्षण गर्दा समेत राजनीतिक दबाब आउँथ्यो ।’
बैंकले बिनाधितो व्यक्ति वा समूहलाई ऋण दिएको उनले बताए । बैंकले कर्जा दिँदा समेत राजनीतिक शक्ति केन्द्रलाई अनुशरण गरेकाले पनि डिफल्ट बढेको ती अधिकारीको भनाइ छ । संस्था भित्रका बेथिति पहिचान भएपछि संस्थाकै प्रकृति अनुसार आवश्यक सुधार नीति निर्देशनको तयारीमा केन्द्रीय बैंक रहेको उनले बताए ।
आगामी केही दिनमा नै सहकारी बैंकका लागि विस्तृत निर्देशन आउने जानकारी उनले दिए । ‘सहकारी बैंकलाई समस्याग्रस्त घोषणा गरेर व्यवस्थापन जिम्मा लिई काम गर्नु पर्थ्यो,’ ती अधिकारीले भने,‘समस्या देखाएर भन्दा पनि समाधान तर्फ लाग्दा बैंकले अटेरी गरेको जस्तो देखियो, केन्द्रीय बैंकले संस्था बचाउन खोजेको हुनाले देखिएका समस्यालाई समेत सहज रुपमा लिँदै समाधान गर्न खोजेको छ ।’
राजनीतिक पृष्ठभूमि सहितका सहकारी अभियन्ता नेतृत्वमा जाने र पदीय जिम्मेवारीको दुरुपयोग गरेका कारण संस्था समस्यामा आएको हो । संस्थामा भएका अस्वभाविक गतिविधिलाई आगामी साधारणसभाबाट सुधार गर्न बुँदागत रुपमा केन्द्रीय बैंकले निर्देशन दिइसकेको उनले बताए ।
उनका अनुसार आर्थिक वर्ष २०८१/८२ मा सहकारी बैंकको सञ्चित नोक्सान ४ अर्ब २५ करोड छ । साथै कर्जाका प्रकृति अनुसार पूर्ण नोक्सानी व्यवस्थापन समेत कायम गर्न केन्द्रीय बैंकले निर्देशन दिएपनि सो अनुसार अझै नगरेको ती अधिकारीको भनाइ छ ।
राष्ट्र बैंकले सहकारी बैंकको पूँजी कोष ८ प्रतिशत तोकेको छ । त्यसमा पनि प्राथमिक पूँजी कोष ४ प्रतिशत कायम गर्नु पर्न व्यवस्था गरेको छ । तर, गत आर्थिक वर्षमा बैंकको कुल पूँजी कोष ०.८२ प्रतिशत मात्र छ । त्यसैगरी प्राथमिक पूँजी कोष ०.३४ प्रतिशत मात्र छ । गत आवमा बैंकको कुल पूँजी कोष ७.१८ प्रतिशतले नकारात्मक छ ।
अघिल्लो आवमा यस्तो अनुपात ४.६५ प्रतिशत नकाात्मक थियो । बैंकको पूँजी कोषलाई आधार मान्ने हो भने कर्जा लगानी गर्ने अवस्था नै छैन । तर पनि बैंकले कर्जा लगानी रोकेको अवस्था छैन ।
गत आर्थिक वर्षमा सहकारी बैंकलाई राष्ट्र बैंकले ५ अर्ब १५ करोड ६२ लाख रुपैयाँ कर्जा नोक्सानी गर्न भनेको छ । तर, बैंकले ४ अर्ब ८६ करोड ८२ लाख रुपैयाँ बराबरको कर्जा नोक्सानी व्यवस्था गरेको छ ।
बैंकले २ अर्ब ५६ करोड रुपैयाँ एकल हानी नोक्सानी र २ अर्ब ३० करोड सामूहिक हानी नोक्सानीका लागि छुट्याएको छ । गत आवमा बैंकले १३ करोड २० लाख रुपैयाँ असल कर्जामा, ८१ लाख रुपैयाँ सुक्ष्म निगरानी, १५ करोड कमसल, २९ करोड शंकास्पद र खराब कर्जा नोक्सानी व्यववस्था बापत ४ अर्ब ५१ कराेड ६६ लाख रुपैयाँ छुट्याएको छ ।
गत आर्थिक वर्षमा बैंकको गैर बैंकिङ सम्पत्ति एक अर्ब ५२ करोड २१ लाख रुपैयाँ बराबरको छ । अघिल्लो आवमा बैंकको यस्तो सम्पत्ति एक अर्ब ११ करोड ३२ लाख रुपैयाँ बराबरको थियो । गत आवमा ४० करोड ८९ लाख रुपैयाँ थप भएको छ ।
गत आवमा बैंकको नोक्सानी ६९ लाख २१ हजार रुपैयाँ छ । त्यसैगरी सो अवधिको वितरण योग्य नाफा ४ अर्ब २७ करोड ५७ लाख रुपैयाँ ऋणात्मक छ ।
प्रतिक्रिया 4