News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ४ अर्ब ३५ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेप राख्ने भएको छ।
- निक्षेप लिन बैंक तथा वित्तीय संस्थाले दुई वर्ष सञ्चालन, न्युनतम पूँजी, कर्जा अनुपात र खुद नाफा जस्ता विभिन्न शर्त पुरा गर्नुपर्नेछ।
- निक्षेपका लागि आवेदन मंसिर २४ गतेसम्म दिनुपर्ने र राष्ट्र बैंकले ब्याजदर उल्लेख गरेर गोप्य सिलबन्दीमार्फत आवेदन आह्वान गरेको छ।
२१ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा ४ अर्ब ३५ करोड रुपैयाँ निक्षेप राख्ने भएको छ । केन्द्रीय बैंकले उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम निक्षेप राख्न लागेको हो ।
बैंकले उक्त रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्न खोजेको हो । केन्द्रीय बैंकले उक्त रकम लिन चाहने बैंक तथा वित्तीय संस्थाले दिने ब्याजदर समेत उल्लेख गरेर लिन चाहेको रकम खुलाइ गोप्य सिलबन्दी मार्फत पेस गर्न आह्वान गरेको छ ।
उक्त ४ अर्ब ३५ करोडमध्ये वाणिज्य बैंकमा ३ अर्ब ४८ करोड, विकास बैंकहरूमा ६५ करोड २५ लाख र फाइनान्स कम्पनीहरूमा २१ करोड ७५ लाख रुपैयाँ निक्षेप राख्नेछ । यसरी निक्षेप राख्दा केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई विभिन्न शर्त पनि तोकिएको छ ।
निक्षेप लिन बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको हुन पर्नेछ । न्युनतम कुल पूँजीकोष कायम भएको हुनु पर्नेछ । कुल कर्जा सापटीको ८ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात ३ प्रतिशत भन्दा धेरै नभएको हुनुपर्नेछ । बैंकले समय समयमा निर्धारण गरे बमोजिमको खुद तरल सम्पत्ति अनुपात पनि कायम गरेको हुनुपर्छ ।
त्यसैगरी कर्जा निक्षेप अनुपात बैंकले समयमा निर्धारण गरेको सीमा भित्र रहेको हुनु पर्छ । अघिल्लो आर्थिक वर्षको नाफा नोक्सान हिसाब अनुसार खुद नाफा गरेको हुनु पर्नेछ । साथै शीघ्र सुधारात्मक कारबाहीमा परेको भए, फुकुवा भएको कम्तीमा ६ महिना पूरा भएको संस्थाले मात्रै उक्त निक्षेप पाउनेछन् ।
निक्षेप लिनका लागि नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ ख बमोजिम कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको हुनु पर्नेछ । समस्याग्रस्त घोषणा भएमा सो फुकुवा भएको ६ महिना अवधि पूरा भएको हुनु पर्ने व्यवस्था छ । उक्त निक्षेप लिने बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणको लागि छुट्याइएको सेयर जारी गरिसकेको हुनु पर्ने राष्ट्र बैंकको सूचनामा उल्लेख छ । उक्त निक्षेपका लागि मंसिर २४ गतेसम्म आवेदन सदिन सकिने केन्द्रीय बैंकले जनाएको छ।
प्रतिक्रिया 4