News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा अधिक भएको ५० अर्ब रुपैयाँ तरलता ८४ दिनका लागि खिच्ने निर्णय गरेको छ।
- केन्द्रीय बैंकले शनिबारसम्म वित्तीय प्रणालीमा करिब ६२ अर्ब रुपैयाँ तरलता रहेको जनाएको छ।
- राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि निक्षेप संकलन र स्थायी निक्षेप सुविधा उपकरण प्रयोग गर्ने जनाएको छ।
३० कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा अधिक भएको ५० अर्ब तरलता खिच्ने भएको छ । अधिक तरलता खिच्नका लागि केन्द्रीय बैंकले आइतबार निक्षेप संकलन उपकरण जारी गरेको हो । ८४ दिने अवधिका लागि यो तरलता खिच्न लागेको हो ।
पछिल्लो समयमा केन्द्रीय बैंकले छोटो अवधिभन्दा पनि दीर्घकालीन निक्षेप उपकरणको प्रयाग बढाउँदै आएको छ । गत बुधबार मात्रै केन्द्रीय बैंकले प्रणालीबाट १७५ दिनका लागि २१ अर्ब ४५ करोड रुपैयाँ खिचेको थियो ।
राष्ट्र बैंकका अनुसार शनिबारसम्म वित्तीय प्रणालीमा करिब ६२ अर्ब तरलता रहेको छ । बैंक तथा वित्तीय संस्थाले अधिक तरलता अल्पकालका लागि स्थायी निक्षेप सुविधा मार्फत केन्द्रीय बैंकमा राख्छन् । स्थायी निक्षेप मार्फत राखेको रकम धेरै भएकाले पनि केन्द्रीय बैंकले दीर्घकालीन निक्षेप संकलन गर्न थालेको हो ।
यसमा केन्द्रीय बैंकले थोरै ब्याजदर माग्ने बैंक वित्तीय संस्थालाई प्राथमिकतामा राखेर बाँडफाँड गर्छ । केन्द्रीय बैंकले वित्तीय प्रणालीको तरलता अवस्था र अन्तर बैंक ब्याजदर व्यवस्थापनका लागि निक्षेप संकलन, स्थायी निक्षेप सुविधा लगायत उपकरण मार्फत बजारको पैसा खिच्छ । त्यसैगरी प्रणालीमा तरलताको अवस्था कसिलो हुँदा स्थायी तरलता सुविधा, रिपो मार्फत प्रणालीमा पैसा पठाउँछ ।
केन्द्रीय बैंकले वित्तीय प्रणालीमा तरलता पठाउँदा ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा रहेको बैंक दरमा ब्याज लिन्छ भने तरलता खिच्दा करिडोरको तल्लो सीमा स्थायी निक्षेप सुविधा दर बराबरको ब्याज दिन्छ । हाल बैंक दर ६ र स्थायी निक्षेप सुविधा दर २.७५ प्रतिशत रहेको छ ।
प्रतिक्रिया 4