+
+
Shares

वित्तीय प्रणालीमा अधिक तरलता भएपछि दीर्घकालीन निक्षेप संकलन गर्दै राष्ट्र बैंक

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १६ गते ११:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा अधिक तरलता समस्या समाधानका लागि ४० अर्ब रुपैयाँ बराबरको १७५ दिने निक्षेप संकलन उपकरण जारी गरेको छ।
  • शुक्रबारसम्म बैंक तथा वित्तीय संस्थाले स्थायी निक्षेप सुविधा मार्फत ६ खर्ब ६९ अर्ब रुपैयाँ केन्द्रीय बैंकमा राखेका छन्।
  • केन्द्रीय बैंकले तरलता व्यवस्थापनका लागि निक्षेप संकलन र स्थायी निक्षेप सुविधा उपकरण प्रयोग गर्दै आएको छ र बैंक दर ६ प्रतिशत तथा स्थायी निक्षेप सुविधा दर २.७५ प्रतिशत रहेको छ।

१६ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले दीर्घकालीन तरलता प्रशोचन उपकरणको प्रयोग बढाउँदै लगेको छ । वित्तीय प्रणालीमा अधिक तरलताको समस्या झनै जटिल बन्दै गएपछि केन्द्रीय बैंकले ६ महिने निक्षेप संकलन उपकरणको प्रयोग बढाएको हो ।

आइतबार बैंकले ४० अर्ब रुपैयाँ बराबरको १७५ दिने निक्षेप संकलन उपकरण जारी गरेको छ । यसभन्दा अघि गत साताको बुधबार पनि बैंकले सोही अवधिको निक्षेप संकलन उपकरण जारी गरेको थियो ।

राष्ट्र बैंकका अनुसार शनिबारसम्म वित्तीय प्रणालीमा करिब ६८ अर्ब तरलता रहेको छ । बैंक तथा वित्तीय संस्थाले अधिक तरलता अल्पकालका लागि स्थायी निक्षेप सुविधा मार्फत केन्द्रीय बैंकमा राख्छन् ।

शुक्रबारसम्ममा बैंक तथा वित्तीय संस्थाले स्थायी निक्षेप सुविधा मार्फत ६ खर्ब ६९ अर्ब रुपैयाँ केन्द्रीय बैंकमा राखेका छन् । यो स्थायी निक्षेप मार्फत केन्द्रीय बैंकमा राखेको पैसाको परिपक्क हुने अवधि  ३ दिन भएकाले पनि केन्द्रीय बैंकले आइतबार दीर्घकालीन अवधिको निक्षेप संकलन उपकरण जारी गरेको हो ।

निक्षेप बढ्नु, कर्जाको माग घट्नु र बैंक वित्तीय संस्थाले स्थायी निक्षेपको प्रयोग बढाउँदा तरलता व्यवस्थापनमा केन्द्रीय बैंकलाई असहज भएको हो । त्यसैले पनि केन्द्रीय बैंकले पछिल्लो समयमा दीर्घकालीन उपकरणको प्रयोग बढाएको हो ।

उक्त निक्षेप संकलबाट बैंक तथा वित्तीय संस्थाले आफ्नो अधिक तरलता केन्द्रीय बैंकलाई दिन सक्छन् । यसमा केन्द्रीय बैंकले थोरै ब्याजदर माग्ने बैंक वित्तीय संस्थालाई प्राथमिकतामा राखेर बाँडफाँड गर्छ ।

केन्द्रीय बैंकले वित्तीय प्रणालीको तरलता अवस्था र अन्तर बैंक ब्याजदर व्यवस्थापनका लागि निक्षेप संकलन, स्थायी निक्षेप सुविधा लगायत उपकरण मार्फत बजारको पैसा खिच्छ । त्यसैगरी प्रणालीमा तरलताको अवस्था कसिलो हुँदा स्थायी तरलता सुविधा, रिपो मार्फत प्रणालीमा पैसा पठाउँछ ।

केन्द्रीय बैंकले वित्तीय प्रणालीमा तरलता पठाउँदा ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा रहेको बैंक दरमा ब्याज लिन्छ भने तरलता खिच्दा करिडोरको तल्लो सीमा स्थायी निक्षेप सुविधा दर बराबरको ब्याज दिन्छ । हाल बैंक दर ६ र स्थायी निक्षेप सुविधा दर २.७५ प्रतिशत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?