News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा एक खर्ब १७ अर्ब तरलता भएपछि ४० अर्ब निक्षेप संकलनमार्फत खिच्ने निर्णय गरेको छ।
- अर्थतन्त्र सुस्त र कर्जाको माग कम भएकाले अधिक तरलता समस्या देखिएको र रेमिट्यान्सले निक्षेप बढाएको छ।
- केन्द्रीय बैंकले निक्षेप संकलन र स्थायी निक्षेप सुविधा मार्फत तरलता व्यवस्थापन गर्दै बैंक दर ६ र स्थायी निक्षेप सुविधा दर २.७५ प्रतिशत कायम गरेको छ।
२ वैशाख, काठमाडौं । वित्तीय प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले ४० अर्ब खिच्ने भएको छ । प्रणालीमा एक खर्ब १७ अर्ब तरलता पुगेपछि केन्द्रीय बैंकले ५६ दिने अवधिका लागि निक्षेप संकलन मार्फत ४० अर्ब खिच्न लागेको हो ।
केन्द्रीय बैंकका अनुसार मंगलबारसम्ममा वित्तीय प्रणालीमा एक खर्ब १७ अर्ब अधिक तरलता रहेको छ । त्यसका साथै परिपक्व भएको निक्षेप संकलन र स्थायी निक्षेप सुविधाले प्रणालीमा थप तरलता बढेको हो । बैंक तथा वित्तीय संस्थाले अधिक तरलता भएको अवस्थामा अल्पकालका लागि स्थायी निक्षेप सुविधा मार्फत केन्द्रीय बैंकमा राख्छन् ।
अर्थतन्त्र सुस्त भएसँगै कर्जाको मागमा अपेक्षा अनुसारको सुधार नआउँदा अधिक तरलताको समस्या देखिएको हो । साथै रेमिट्यान्स आप्रवाहमा आएको निरन्तर सुधारले वित्तीय प्रणालीमा निक्षेप बढ्ने क्रम पनि कायमै छ । वैशाख महिनाको सुरुवातमा बैंकहरूले त्रैमासिक ब्याजदर समेत निक्षेपकर्तालाई भुक्तानी गरेकाले पनि तरलता बढेको हो ।
निक्षेप संकलन उपकरणमा केन्द्रीय बैंकले थोरै ब्याजदर माग्ने बैंक वित्तीय संस्थालाई प्राथमिकतामा राखेर बाँडफाँट गर्छ । बैंकले वित्तीय प्रणालीको तरलता अवस्था र अन्तर बैंक ब्याजदर व्यवस्थापनका लागि निक्षेप संकलन, स्थायी निक्षेप सुविधा लगायत उपकरण मार्फत बजारको पैसा खिच्छ । त्यसैगरी प्रणालीमा तरलताको अवस्था कसिलो हुँदा स्थायी तरलता सुविधा, रिपो मार्फत प्रणालीमा पैसा पठाउँछ ।
केन्द्रीय बैंकले वित्तीय प्रणालीमा तरलता पठाउँदा ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा रहेको बैंक दरमा ब्याज लिन्छ भने तरलता खिच्दा करिडोरको तल्लो सीमा स्थायी निक्षेप सुविधा दर बराबरको ब्याज दिन्छ । हाल बैंक दर ६ र स्थायी निक्षेप सुविधा दर २.७५ प्रतिशत रहेको छ ।
प्रतिक्रिया 4