News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीको अधिक तरलतालाई दीर्घकालीन व्यवस्थापन गर्न राष्ट्र बैंक ऋणपत्र जारी गरेको छ।
- ऋणपत्र २५ अर्ब रुपैयाँ बराबरको एक वर्षमा परिपक्व हुने र वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीले लगानी गर्न सक्ने छ।
- ऋणपत्रमा न्यूनतम ५ करोड रुपैयाँ लगानी गर्नुपर्ने र अर्धवार्षिक रूपमा ब्याज भुक्तानी हुने केन्द्रीय बैंकले जनाएको छ।
१४ पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीको अधिक तरलतालाई दीर्घकालीन व्यवस्थापन सुरु गरेको छ ।
केन्द्रीय बैंकले राष्ट्र बैंक ऋणपत्र मार्फत वित्तीय प्रणालीको तरलता खिच्ने काम सुरु गरेको हो ।
केन्द्रीय बैंकका अनुसार २५ अर्ब रुपैयाँ बराबरको उक्त ऋणपत्र एक वर्षमा परिपक्व हुनेछ । ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८२ क’ नामको ऋणपत्रमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीले लगानी गर्न सक्छन् ।
बोलकबोल माध्यबाट ब्याजदर निर्धारण हुने उक्त ऋणपत्रका लगानीकर्ता अर्धवार्षिक रूपमा ब्याज भुक्तानी पनि केन्द्रीय बैंकले जनाएको छ ।
न्यूनतम ५ करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा नि:शेष भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन गर्न सकिने उक्त ऋणपत्र बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने छ ।
ऋणपत्रको स्वीकृत बोल रकम सम्बन्धित बोलवालाको लगानी पोर्टफोलियो हुने भएकाले उक्त रकमलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न पाइने छैन ।
तर, यस बैंकको निर्देशन बमोजिम कायम राख्नुपर्ने वैधानिक तरलता अनुपात र खुद तरल सम्पत्ति अनुपातमा उक्त रकम गणना गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ ।
ऋणपत्र निष्कासन मितिमा काउन्टरपार्टीको खातामा पर्याप्त मौज्दात नभए त्यस्ता काउन्टरपार्टीको स्वीकृत बोल रकम रद्द गरी त्यसको २.५० प्रतिशत दरले हर्जाना सहित ६ महिनासम्म खुला बजार कारोबार तथा ब्याजदर करिडोर अन्तर्गत कुनै पनि बोलकबोलमा सहभागी हुन बन्देज लगाइने केन्द्रीय बैंकले जनाएको छ ।
प्रतिक्रिया 4