+
+
Shares

वित्तीय प्रणालीको अधिक तरलताले पैसाको मूल्य घट्दै, निक्षेप बढेको बढ्यै 

केन्द्रीय बैंकले नियन्त्रण नगरेको खण्डमा अहिलेको अधिक तरलता ब्याजदर झनै तल आउने पक्का छ । 

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २३ गते १८:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वित्तीय प्रणालीमा अधिक तरलताका कारण बैंक तथा वित्तीय संस्थामा निक्षेप राखेको पैसाको मूल्य घट्दो क्रममा छ।
  • नेपाल राष्ट्र बैंकका अनुसार फागुनको मूल्यवृद्धि ३.६२ प्रतिशत र बचतको अधिकतम ब्याजदर २.७५ प्रतिशत छ।
  • बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ७९ खर्ब ४५ अर्ब र कर्जा लगानी ५८ खर्ब ७८ अर्ब पुगेको छ।

२३ वैशाख, काठमाडौं । बैंक तथा वित्तीय संस्थामा निक्षेप राखेको पैसाको मूल्य घट्दो क्रममा छ । वित्तीय प्रणालीमा भएको अधिक तरलताका कारण ब्याजदर घट्दो क्रममा भएकाले पैसाको मूल्य घटेको हो ।

सामान्यतया पैसाको मूल्य घट्न नदिन बजारको मूल्यवृद्धि अनुसारको ब्याजदर हुनुपर्छ । नेपाल राष्ट्र बैंकका अनुसार फागुनको मूल्यवृद्धि ३.६२ प्रतिशत छ । त्यसैगरी बचतको अधिकतम ब्याजदर २.७५ प्रतिशत छ ।

यो पनि केन्द्रीय बैंकले ब्याजदर करिडोरको तल्लो सीमा तोकेको हुनाले कायम भएको हो । केन्द्रीय बैंकले नियन्त्रण नगरेको खण्डमा अहिलेको अधिक तरलता ब्याजदर झनै तल आउने पक्का छ ।

नेपालका सन्दर्भमा बैंक तथा वित्तीय संस्थाले निक्षेपमा दिने ब्याजदर भन्दा मूल्यवृद्धि धेरै भएकाले पैसाको मूल्य घटेको अर्थशास्त्री डा. रमेश पौडेलले बताए ।

‘मूल्यवृद्धिमा आउने उतारचढाव र ब्याजदरमा आउन उतारचढावले पैसाको मूल्य घटेको वा बढेको निर्धारण गर्छ,’ पौडेलले भने, ‘अर्थशास्त्रको सिद्धान्त अनुसार बचतको ब्याजदर थोरैमा पनि मुद्रास्फीति बराबर हुनुपर्छ, त्योभन्दा कम भएको खण्डमा पैसाको मूल्य घट्छ ।’

वित्तीय प्रणालीमा पैसाको आपूर्ति बढेको र माग अर्थात् बजार नबढेकाले अधिक तरलताको अवस्था आएको पौडेलको भनाइ छ ।

पछिल्लो समय वित्तीय प्रणालीमा करिब ११ खर्ब रुपैयाँ थुप्रिएको छ । अहिलेको अवस्थाबाट सुधार गरी पैसाको मूल्य बढाउन लगानी विस्तार गर्नुपर्ने उनको सुझाव छ । सरकारले वित्तीय क्षेत्रको अधिक तरलता परिचालन गर्ने संयन्त्र विकास गर्नुपर्ने उनले सुझाए ।

वित्तीय प्रणालीमा निक्षेप थपिनु सकारात्मक भए पनि लगानी नबढ्नु नकारात्मक रहेको केन्द्रीय बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले बताए ।

वित्तीय क्षेत्रको स्रोतलाई पूँजी निर्माणमा लैजानुपर्छ, व्यवसाय विस्तार र पूँजी निर्माण स्रोत परिचालन गर्नुपर्छ ।

‘वित्तीय क्षेत्रमा उपलब्ध स्रोत परिचालन गर्नुको सट्टा अपरिचालन गर्नु दु:खद हो,’ थापाले भने, ‘वित्तीय क्षेत्रको अधिक तरलता परिचालनका लागि सरकारले नीतिगत व्यवस्था सहित परिचालन गर्नुपर्छ, त्यो स्रोत विकास निर्माण र रोजगार सिर्जनामा परिचालन गर्नुपर्छ ।’

सरकारले गम्भीर भएर वित्तीय क्षेत्रको स्रोत परिचालनका लागि पनि शासकीय सुधारका १ सय कार्यसूची जस्तै ५० सूत्रीय कार्ययोजना ल्याउनुपर्ने थापाको भनाइ छ ।

‘सरकारले शासकीय सुधारसँगै अर्थतन्त्रका लागि पनि कार्ययोजना बनाएको खण्डमा अर्थतन्त्रलाई पनि राम्रो हुने भयो, यो वित्तीय स्रोत पनि परिचालन हुने र रोजगारी पनि सिर्जना हुने भयो,’ उनले भने ।

उनका अनुसार वित्तीय क्षेत्रको स्रोतलाई पूँजी निर्माणमा लैजानुपर्छ, व्यवसाय विस्तार र पूँजी निर्माण स्रोत परिचालन गर्नुपर्छ ।

वित्तीय प्रणालीमा अधिक तरलता हुँदा बचतकर्ताले पनि पाउनुपर्ने प्रतिफल पनि पाउन नसकेको थापाको भनाइ छ । ‘खाइनखाइ भविष्यमा चाहिन्छ भनेर राखेको पैसा मुद्रास्फीति हुँदा त्यसको मूल्य कम हुँदै जाने, त्यसको क्षतिपूर्तिका रूपमा रहेको ब्याजदर पनि प्राप्त नहुने हुँदा अन्याय भएको छ,’ उनले भने, ‘अर्थतन्त्रमा गम्भीर सुधार गर्नुभएन, दिशानिर्देश गर्नुभएन, निर्देशन दिनुभएन भने, अब जे छ त्यसमा सहजता त हुन्छ तर परिवर्तन त आउँदैन ।’

सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत अर्थतन्त्रको गम्भीर सुधार गर्छ भन्ने अपेक्षा रहेको उनले बताए । ‘बजेटमा पनि समेटिएन भने त फेरि गाह्रो हुन्छ,’ उनले भने, ‘शासकीय सुधारले मात्रै पुग्दैन, आर्थिक सुधार पनि गर्नुपर्छ जसले अर्थतन्त्रमा नयाँ दिशा दिन्छ ।’

नेपाल राष्ट्र बैंकका अनुसार बुधबारसम्ममा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ७९ खर्ब ४१ अर्ब पुगेको छ । यो निक्षेप देशको कुल गार्हस्थ उत्पादन (जीडीपी) भन्दा २० प्रतिशतले धेरै हो ।

राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार चालु आवको जीडीपी ६६ खर्ब हुने प्रारम्भिक अनुमान छ । अर्थतन्त्रले अपेक्षित गति नलिनु, रेमिट्यान्स तथा निर्यातमा उच्च सुधारले वित्तीय प्रणालीमा निक्षेप थपिएको छ । वित्तीय प्रणालीमा थपिएको निक्षेपले पैसाकै मूल्य घटाएको छ ।

बैंक तथा वित्तीय संस्थामा बचत राखेको पैसाले गर्ने आम्दानी अधिक तरलताका कारण घटेको हो । वित्तीय प्रणालीमा निक्षेप बढेको बढ्यै हुँदा केन्द्रीय बैंकले दीर्घकालीन ऋणपत्रदेखि अल्पकालीन स्थायी निक्षेप सुविधासम्म प्रयोग गरेर १० खर्ब ९ अर्ब रुपैयाँ खिचेर राखेको छ ।

वित्तीय क्षेत्रको कुल निक्षेप र कर्जा लगानीको अवस्था हेर्दा पनि कर्जाको माग बढ्न नसकेको स्पष्ट हुन्छ । यो अवधिमा बैंक तथा वित्तीय संस्थाको औसत कर्जा निक्षेप अनुपात ७३.२३ प्रतिशत छ ।

त्यसका लागि केन्द्रीय बैंकको वर्षिक अर्बौं खर्च लाग्ने गरेको छ । गत आवमात्र केन्द्रीय बैंकले तरलता व्यवस्थापन गर्न १० अर्ब खर्चेको थियो ।

बैंकहरूले पुराना कर्जा डिफल्ट दर बढे पनि नयाँ कर्जामा सचेत हुँदा  कर्जा लगानी अपेक्षित नबढेको हो । लगानी सुस्त हुँदा वित्तीय प्रणालीमा पैसा थिग्रिएको हो । तर, वित्तीय प्रणालीमा बढेको निक्षेप आर्थिक गतिविधिमा सुधार आएर भने होइन । सुस्त आर्थिक गतिविधिमा पनि निक्षेप निरन्तर बढ्नु अर्थतन्त्रका लागि सकारात्मक मानिदैन ।

चालु आव २२ वैशाखसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ७९ खर्ब ४५ अर्ब पुगेको छ । तर, उक्त अवधिमा बैंक तथा वित्तीय संस्था कुल कर्जा लगानी ५८ खर्ब ७८ अर्ब छ । केन्द्रीय बैंकको तथ्यांक अनुसार वाणिज्य बैंकको कुल निक्षेप ७१ खर्ब ६५ अर्ब र विकास बैंक तथा फाइनान्स कम्पनीको ७ खर्ब ८१ अर्ब हो ।

वित्तीय क्षेत्रको कुल निक्षेप र कर्जा लगानीको अवस्था हेर्दा पनि कर्जाको माग बढ्न नसकेको स्पष्ट हुन्छ । यो अवधिमा बैंक तथा वित्तीय संस्थाको औसत कर्जा निक्षेप अनुपात ७३.२३ प्रतिशत छ ।

बैंक तथा वित्तीय संस्थाको यस्तो अनुपात ९० प्रतिशतसम्म पुग्न सक्छन । चालु आव फागुनसम्म बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ४.४ प्रतिशत अर्थात् २ खर्ब ४३ अर्ब ५४ करोडले बढेको केन्द्रीय बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?