News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले खोला-नदी आसपासका सुकुमवासी बस्ती खाली गर्ने क्रममा मनोहराको श्री सरस्वती आधारभूत विद्यालय भत्काएको छ।
- बालाजुस्थित बुद्धज्योति उद्यान र बाल कल्याण आधारभूत विद्यालयहरू क्रमशः तरुण र युवक माविमा स्थानान्तरण गरिएका छन्।
- काठमाडौं महानगरपालिकाले यी विद्यालयहरू मर्ज गर्ने तयारी गरिरहेको छ र स्थानान्तरणलाई अस्थायी व्यवस्था भनेको छ।
२१ वैशाख, काठमाडौं । सोमबार बिहान १० बजे । श्री सरस्वती आधारभूत विद्यालय मनोहरामा अध्ययनरत विद्यार्थी र शिक्षकहरू मध्यपुर थिमि नगरपालिका–१ को सामुदायिक भवनमा भेला भए ।
विद्यार्थीहरू एकअर्कालाई सोधिरहेका थिए, ‘हाम्रो स्कूल किन भत्काएको ?’ त्यसको जवाफ कसैसँग थिएन । सरकारले खोला-नदी आसपासका सुकुमवासी बस्ती खाली गर्ने क्रममा मनोहराको आधारभूत विद्यालय पनि भत्काएको थियो ।
विद्यालय भवन भत्किएपछि पढ्नका लागि उनीहरू सामुदायिक भवनमा भेला भएका हुन् । १५ वैशाखबाट भर्ना र २१ गतेबाट पठनपाठन सञ्चालन गर्ने सरकारको निर्णयअनुसार नै उनीहरू भेला भएका थिए । तर पढ्ने कक्षा कोठा थिएन ।

सोमबार बिहान हामी पुग्दा शिक्षकहरू कोठाको व्यवस्थापनमा जुटिरहेका थिए । कोही टेन्ट टाँगिरहेका थिए, कोही डेस्क-बेञ्च मिलाउँदै थिए । विद्यार्थीहरू पनि आफैं डेस्क-बेञ्च बोकिरहेका थिए ।
कतिपय अभिभावक विद्यार्थी भर्ना गर्न सामुदायिक भवनमै आइपुगेका थिए । ‘निजीमा पढाउन सक्दैनौं । कोठा नजिकैको विद्यालय हो, यही विद्यालयमा पढाउँछौं’ अभिभावक तिकमाया श्रेष्ठले भनिन्, ‘मेरा नानी-बाबु ६ र ७ कक्षामा पढ्छन् । टाढा लैजान सकिंदैन ।’
प्रधानाध्यापक इन्दिरा महत नगरपालिकासँग समन्वय गरिरहेकी थिइन् । बहुकक्षा सञ्चालन गर्ने गरी उनले दुई कोठा तत्कालका लागि सञ्चालनमा ल्याइन् ।
‘विद्यार्थीको पढाइ रोकिनुभएन । बहुकक्षा सञ्चालन गरेर भए पनि पढाउँछौं’ उनले भनिन्, ‘नगरपालिका र वडाध्यक्षसँग समन्वय गरिरहेकी छु ।’

केही कक्षाको लागि भने सामुदायिक भवनको प्राङ्गणमा नै टेन्ट टाँगिएको छ । प्राङ्गणमा नै डेस्क-बेञ्च राखेर पढाउने तयारी विद्यालयले गरेको छ ।
भर्ना र पढाइको लागि उनलाई अभिभावक र विद्यार्थीको बारम्बार फोन पनि आइरहेको छ । ‘बच्चा अन्यत्र जान मानेका छैनन् । वडा नम्बर १ मा यो एउटा मात्र सामुदायिक विद्यालय हो । मर्ज गर्न पनि समस्या छ । विद्यार्थी टाढा जाने अवस्था छैन’ उनले भनिन्, ‘सामुदायिक भवनमा पनि बच्चा हामीले बोलाएको होइन । आफैं आएका हुन् ।’
८ कक्षासम्म पढाइ हुने यो विद्यालयमा २७५ जना विद्यार्थी छन् । तर हाल भर्नाको लागि १७० जना आइपुगेका छन् । १५ जना शिक्षक यो विद्यालययमा कार्यरत छन् । विद्यालय भवन भत्काएपछि शिक्षक, अभिभावक र विद्यार्थी मारमा परेका छन् ।

‘भत्काउनुअघि सूचना दिएको थिएन । सरकारी भवन नै हो, केही हुन्न भन्ने थियो । प्रहरीले नै सामान निकालेपछि भत्काउने रहेछ भन्ने थाहा भयो,’ प्रधानाध्यापक महतले भनिन् ।
कतिपय सामग्री निकाल्न समेत नपाएको गुनसो उनले गरिन् । ‘सीसी क्यामेरा, राउटर झिक्नै पाइएन । लाइब्रेरीको किताब पुरियो’ उनले भनिन्, ‘धन्न विद्यार्थीको नयाँ किताब भने सार्न भ्याइयो ।’
सामुदायिक भवन नजिकै छ वडा कार्यालय । त्यही कार्यालयमा अहिले विद्यार्थीको किताब राखिएको छ ।

अभिभावक मीनकुमारी मगर कक्षा ३ मा पढ्ने छोरो पुर्याउन आएकी थिइन् । ‘काम गर्ने ठाउँ र स्कूल नजिकै छ । ल्याउन-लैजान पनि सजिलो हुन्छ,’ उनले भनिन् ।
२०६२ सालमा निर्मित विद्यालय भवन सरकारले नै डोजर लगाएर भत्काएपछि पठनपाठन प्रभावित हुन पुगेको हो ।
०००
काठमाडौं महानगरपालिका–१६ बालाजुस्थित बुद्धज्योति उद्यान आधारभूत विद्यालय भवनमा पनि डोजर चल्यो । अहिले यो विद्यालयलाई तरुण माविमा स्थानान्तरण गरिएको छ । १२० विद्यार्थी रहेको यो विद्यालयमा ११० जना विद्यार्थी भर्ना भइसकेका थिए । तर विद्यालय भवन भत्किएपछि विद्यार्थी तितरबितर भएका छन् ।

‘तरुण माविबाट पठनपाठन सुरु गरेका छौं । महानगरबाट पनि स्थानान्तरण भनेर पत्र आएको छ’ प्रधानाध्यापक शान्तराम श्रेष्ठले भने, ‘आज ४० जना विद्यार्थी आएका छन् ।’
विद्यालयको सामग्री पनि तरुणमै सारिएको उनले बताए । विद्यालयको १६ कोठे भवन थियो । तर सरकारले भत्काएपछि अन्यत्रै आश्रय लिन विद्यालय बाध्य भएको हो । २०५३ सालमा स्थापना भएको यो विद्यालयमा १४ जना शिक्षक-कर्मचारी कार्यरत छन् ।
०००
सरकारले भत्काएको बालाजुकै बाल कल्याण आधारभूत विद्यालय पनि युवक माविमा सारिएको छ । यो विद्यालयमा १२० जना विद्यार्थी अध्ययनरत थिए ।
‘सबै सामग्री युवक माविमा राखेका छौं । शिक्षक-कर्मचारीले त्यहीं गएर हाजिर गरेका छौं’ प्रधानाध्यापक अर्जुन मुडभरीले भने, ‘विद्यार्थी पनि यही स्कूलमा आउँछन् ।’
अहिले स्थानान्तरण मात्र गरिएको उनले बताए । ‘अर्को व्यवस्था नभएसम्म स्थानान्तरण गरिएको हो’ उनले भने । २०४९ सालमा स्थापना भएको यो विद्यालयमा ११ जना शिक्षक-कर्मचारी कार्यरत छन् ।
तर, काठमाडौं महानगरपालिकाले भने विद्यालय मर्जमा लैजाने तयारी रहेको बताएको छ । ‘एउटालाई तरुणमा अर्कोलाई युवक माविमा व्यवस्थापन गरेका छौं । अब मर्जको प्रक्रियामा जान्छ’ काठमाडौं महानगरपालिका प्रवक्ता नवीन मानन्धरले भने ।

प्रतिक्रिया 4