News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले सुकुमवासी बस्ती भत्काएर भूमिहीनलाई सुरक्षित स्थानमा सार्न स्क्रिनिङ र होल्डिङ सेन्टर सञ्चालन गरिरहेको छ।
- ७० वर्षीया मिनाकुमारी बस्नेतको घर भत्किँदा उनको नागरिकता समेत पुरिएको छ र उनले नागरिकता खोज्न संघर्ष गरिरहेकी छिन्।
- मिनाकुमारीले डोजर चल्दा सामान निकाल्न नपाएको र सुरक्षाकर्मीले कपाल र हात समातेर बाहिर तानेको बताइन्।
१६ वैशाख, काठमाडौं । बुधबार थापाथलीको सुकुमवासी बस्तीमाथिको आकाश धुम्मिएको थियो । बस्तीका ध्वस्त संरचनाहरूलाई व्यवस्थित गर्न ‘सरकारी सिपाही’हरू तल्लीन थिए । आकाशबाट सिमसिम पानी पर्न थालेको थियो । भत्किएका छरपस्ट संरचनाले सरकारी कामकाजको शैलीलाई गिज्याइरहेको थिए ।
सोही बस्तीमाथिको आकाशझैँ धुम्मिएको अनुहार लिएर छटपटाइरहेकी थिइन्, ७० वर्षीया मिनाकुमारी बस्नेत । उनका नजरले सरकारले बस्तीका भग्नावशेष पन्छाउन पठाएका कर्मचारीलाई पछ्याइरह्यो । झिनो आशासहित आफ्ना टहरामा उनीहरूको प्रवेश कुरेर बसिरहिन्, उनी ।
मिनाकुमारीको एक मात्र आशा थियो- बस्तीमा डोजर चल्दा पुरिएको नागरिकता भेटियोस् । उनलाई थाह छ– नागरिकताबिना यो देशमा बाँच्न सकिँदैन ।
सरकारले नदी किनारमा बसोबास गर्दैआएका भूमिहीन सुकुमवासीलाई सुरक्षित ठाउँमा सार्न भनेर स्क्रिनिङ गर्दैछ । यसका लागि होल्डिङ सेन्टरमा राखेर सरकारले छानबिन गर्दैछ । तर, मिनाकुमारीका लागि भने त्यस्ता होल्डिङ सेन्टरको ढोका अहिलेसम्म खुला भएको छैन । किनभने उनको नागरिकता धूलिसात् पारिएको सुकुमवासी बस्तीको भग्नावशेषको कुनै गर्भमा पुरिएको छ । त्यो नागरिकताको प्रतिलिपि समेत उनीसँग छैन ।

अभिशाप बनेको शनिबार
शनिबारको त्यो बिहान मिनाकुमारीका लागि त्रासदीपूर्ण रह्यो । आइतबार मात्रै बस्ती भत्काइने हल्ला सुनेकी उनले यति चाँडै होला ठानेकी थिइनन् । त्यसैले आफ्ना झिटिझाम्टा बाँध्न अझै कम्तीमा एक दिन पाइनेमा उनी विश्वस्त थिइन् । तर, डोजर उनले सोचेभन्दा चाँडै सुकुमवासी बस्तीमा पसेर गर्जियो । उसैपनि उनी कम कान सुन्ने, सरकारको एकतर्फी माइकिङको उनले भेउ नै पाएकी थिइनन् ।
आफू एक्लै रहेको र बिरामी शरीरले सामान निकाल्न नसकेको भन्दै केही समय कुरिदिन उनले सुरक्षाकर्मीसँग अनुनय-विनय गरिन् । तर, उनको कारुणिक आवाज सुन्ने धैर्य र संवेदना ती बर्दीधारीमा देखिएन ।
मिनाकुमारीका अनुसार त्यहाँ उपस्थित एक महिला सुरक्षाकर्मीले उनको कपाल र हात समातेर बाहिर तानेकी थिइन् । ‘मजस्तै आमाले नै जन्माएकी छोरी होलिन्, तर त्यसरी तान्दा उनले अलिकति पनि दया देखाइनन्,’ कारुणिक स्वरमा उनले भनिन् ।
यसरी अलापिरहेकी उनी बुधबार दिउँसो थापाथलीको सुकुमवासी बस्तीमा जो पुग्थे, आफ्ना चिथोरिएका हात देखाउँथिन् । दुखेको मन बिसाउने प्रयत्न गर्थिन् । ‘यी मलाई सबै चिथोरिदिए । सामान निकाल्न पनि भित्र जान दिएनन् । पापीहरू…,’ उनी सबैसँग भनिरहिन् ।
हुनपनि बस्तीमा डोजर चलेको दिन (शनिबार) तानातानमा उनको हात चिथोरिएर घाउ अझैँ पुरिएको थिएन ।

‘लगाइरहेको कपडा च्यातिए । भएको एकजोर जुत्ता पनि कता हरायो कता ? उनलाई पत्तो समेत पाइनँ,’ उनले दुखेसो पोख्दै भनिन् । बर्दीधारीले जकडेर वरै राखी उनले दुखजिलो गरेर बनाएको झुपडीमा डोजर बज्रिरह्यो । उनले आँखै अगाडि आफ्नो ओत ध्वस्त भएको दृश्य देखिरहिन् ।
भत्किएको घरभित्रै मिनाकुमारीका लाउने लुगा, ओढ्ने ओछ्यान र औषधि पुरिएका थिए । पछि निकालिएका सबै सामग्री पनि फोहोर थिए । दुर्गन्धित पानीले भिजिसकेका थिए ।
‘सबैथोक गन्हायो, अब केही काम लाग्दैन, फाल्दे भन्छन्,’ रित्तो हात र भत्किएको मन लिएर बसेकी उनी भन्छिन्, ‘सबैभन्दा दुःख त, मेरो नागरिकता पनि यहीँ पुरियो ।’
२० वर्षको बसोबास, निमेषभरमै उठीबास
भोजपुरबाट सुरु भएको मिनाकुमारीको जीवनयात्रामा काठमाडौंको एउटा सुकुमवासी बस्तीमा आएर अल्पविराम लागेको छ । उनलाई लाग्छ– यसरी बिचल्लीमा पर्ने आफू मात्र छैन, बरु राजधानीका ती तमाम सुकुमवासी श्रमिक छन्, जसको श्रममा यो ‘कंक्रिटको जंगल’ थोरै भएपनि हराभरा भएको छ ।
मिनाकुमारीका लागि १० वर्षको बसोबास र सम्झना सरकारी सनकका कारण माटोमा मिल्यो । त्यही भग्नावशेषछेउमा उनले आफ्नो विगत कोट्याइन् ।
उनको भनाइअनुसार मिनाकुमारीले आफ्नो युवावस्था धरान, झापा र इटहरीका कारखानामा हातले कपडा बुन्दै गुजारेकी थिइन् । परिबन्धले घुमाउँदै उनलाई काठमाडौं ल्याइपुर्यायो । कारखानाका काममा हातखुट्टा थाक्न थालेपछि उनले विकल्प खोज्न थालिन् ।
जीवनमा पढ्ने-लेख्ने मौका नपाएकी मिनाकुमारीका लागि अन्य सहज विकल्प थिएनन् । ज्यामी काम, रोडा बोक्ने र घर सफा गर्ने जस्ता कष्टकर श्रम नै जीवन धान्ने आधार बन्यो । यो कमाइबाट उनले कोठाभाडा तिर्नसम्म पुग्थ्यो । सँगै आफ्नो र आमा धनकुमारीको जीवन चलाउन भ्याएकै थियो ।
सीतापाइलाको एउटा सानो कोठाबाट सुरु भएको थियो । काठमाडौं बसाइका क्रममा आमाको मृत्यु भयो । त्यो उनको जीवनको सबैभन्दा ठूलो बज्रपात थियो । आमा बित्दा उनी सीतापाइलाबाट पुलचोक सरिसकेकी थिइन् । पुलचोककै सानो कोठामा आमा गुमाएपछि पशुपतिमा अन्तिम संस्कार र दाहसंस्कार र क्रियाकरम समेत उनले एक्लै गरिन् । कारण, उनलाई साथ दिने यो ठूलो राजधानी सहरमा कोही पनि थिएनन् ।

त्यही वियोगको एक वर्षपछि एकजना साथीको सहारामा उनी थापाथलीको सुकुमवासी बस्तीमा आइपुगेकी थिइन् । अरूले नरुचाउने दुर्गन्धित खोलाको किनारलाई उनले आफ्नो ‘घर’ बनाएकी थिइन् ।
तर, अहिले ७० वर्षको उमेरमा उनीसँग न त बस्ने घर छ, न त आफ्नो अस्तित्व पुष्टि गर्ने आधिकारिक कागज नै । घर भत्किँदा उनको नागरिकता पनि सँगै पुरियो ।
बस्ती भत्किएको केही दिनपछि फेला परेको भिजेको र च्यातिएको कागजलाई सरकारले स्वीकार गर्न मानेन । ‘आफ्नो घर र सम्पत्ति भए यो दुर्गन्धमा को बस्थ्यो र ?,’ एकाएक आँशुले मिनाकुमारीका गह भरिए ।
नागरिकता पुनर्प्राप्तिका लागि अपनाउनुपर्ने प्रक्रियाबारे उनी अनभिज्ञ छिन् । जन्मथलो भोजपुर पुग्नु अब उनको बर्गतभित्र पर्दैन । जन्मथलो भोजपुर पुग्दा समेत उनलाई चिन्ने कोही भेटिने छैनन् । त्यहाँ आफ्नो पुस्ताका कोही नरहेको उनको बुझाइ छ । बेसहारा उनलाई जटिल कर्मचारीतन्त्र छिचोल्न सहज हुने देखिन्न । ध्वस्त सुकुमवासी बस्तीको भग्नावशेषमा नागरिकता हराएपछि उनी आफ्नै देशमा ‘अनागरिक’ बन्नुपर्ने भयमा देखिइन् ।
‘के म पशु हो र ?’
शनिबार डोजर चल्न थालेपछि हतासिँदै मिनाकुमारीले झिटीगुन्टा बाँध्न खोजिन् । तर, बर्दीधारीले त्यो पनि गर्न दिएनन्, अँठ्याएर बाहिर ल्याए । अँठ्याउँदै गर्दा उनले भनेको सुनेकी थिइन्–डोजरमुनि पुरिने हो कि निस्किने ?
त्यो आवाजले उनको दिल नराम्ररी रन्थनिएको छ । उनको आत्मसम्मानमा गहिरो चोट परेको छ । ‘आफ्नो ज्यानको माया मलाई छैन र ? म पशु हो र ?,’ उनी भक्कानिइन् ।
एकातिर बस्ती भत्काइरहेको आक्रोश, अर्कोतर्फ अपमानजनक व्यवहार । आक्रोशित मुद्रामा उनले सुरक्षाकर्मीलाई भनिन्, ‘एउटी आमामाथि यस्तो आरोप लगाउन लाज लाग्दैन ?’
आफ्नो चिथोरिएको अवस्थामा कपाल समाइरहेका प्रहरीसँगको सवाल जवाफ सम्झँदा पनि मिनाकुमारी विह्वल सुनिन्छिन् ।
यद्यपि, उनको यो निराशा आजको मात्रै भने होइन । आमा मृत्युशैयामा हुँदा नै छोरीको एक्लोपन देखेर चिन्तित थिइन् । अगाडिको जिन्दगी छोरीले कसरी बाँच्छे भन्ने चिन्ता अन्तिम श्वास लिँदा पनि सुनाइरहन्थिन् । त्यो कुराले मिनाकुमारीको मन कम्ती पिल्सिएको रहेनछ ।
‘अब बाँच्ने विचार छैन आमा, म कसको लागि बाँच्ने र ?,’ आमाको जिज्ञासामा त्यसबेला आफूले भनेको स्मरण गर्छिन् ।

आज त्यही उत्तर मिनाकुमारीको मनमा फेरि आइरहेको छ । आमाको जे चिन्ता थियो, त्यसपछिका जीवनका दिनमा उनले त्यही भोग्दैआइन् । ‘सरकारले डोजर चलाउँदा त्यहीँ डोजरले मलाई बागमतीमा फालिदएहुन्थ्यो जस्तो लाग्छ बाबु,’ उनले सुनाइन् ।
‘लडेको ढुंगाले त बास पाउँछ, हामी त मान्छे’
आफ्नो वृद्ध शरीरलाई ओताउनका लागि भए पनि उनी अहिले एउटी पुरानो साथीको घरमा आश्रय लिइरहेकी छन् । तर, सेवा निवृत्त सेनाकी पत्नी रहेकी ती साथीको घरमा कति दिन पाहुना बस्नु भनेर उनको मनले प्रश्न सोधिरहेको छ । आफ्नै मनले त्यो आश्रय क्षणिक हुन्छ भनिरहेकाले उनी हराएको नागरिकता खोजिरहेकी छन् ।
नागरिकता खोज्नु कारण पनि छ । सरकारले झुपडी भत्काएपछि स्क्रिनिङको लागि लग्यो । र, नागरिकता खोजियो । नागरिकता साथमा नभएपछि ‘जसरी पनि खोजेर ल्याउनुपर्ने’ उर्दी सरकारी कर्मचारीको छ ।
त्यसैले भिजेकै टुक्रा भएपनि भेट्थेँ कि भनेर लागिपरेकी छिन् । बुधबार आकाशे पानी छल्दै भएपनि खोजिरहेकी भेटिइन् । मंगलबारदेखि नै उनी यसैगरी खोजिरहेकी रहिछन् । बरु अन्य भिजेका कागजात भेटिए, ती कागजका टुक्रा पनि जतनसाथ राखेको पोको उनले देखाइन् ।

बस्तीका भग्नावशेष हेर्न आउनेहरूलाई आफ्नो दुखेसो सुनाइरहेकी उनी दुई हजारको कोठा पाए बरु भाडामै बस्ने बताइरहेकी छन् । सरकारले नागरिकताका कारण बस्न नदिए अब ज्यामी काम गरेरै दुई हजार भाडा तिर्ने सोच उनको छ ।
बुधबार हामी पुग्दा उनी छिमेकीसँग यही बिलौना गरिरहेकी थिइन् । उनीसँगै यही बस्तीमा बस्ने गरेकी छिमेकी साथी अनिता राई अर्को सुकुमवासी परिवारसँग मिलेर फ्ल्याटमा बसिरहेकी छिन्, जसको भाडा १६ हजार छ । यद्यपि, कमाइको बाटो नै धरापमा परेका बेला १६ हजार उनका लागि निकै ठूलो रकम हो ।
अनिताका यी कुरा सुनेपछि मिनाकुमारी हतार हतार आफूलाई सहयोग गर्न भन्छिन् । अनितासँग कुरा गर्दै आफू नागरिकता खोज्न आएको कुरा गर्छिन् । यसले अनिताको आँखामा पनि आक्रोश बलेको छ ।
मिनाकुमारीले दुःख पोख्दा अनिताले आक्रोश पोख्दै भन्दै थिइन्, ‘नागरिकता खोइ भनेर सोध्नेलाई तिम्रो सरकारले पुरिदियो भनेर उल्टै सोध्न सक्नुभएन ?’


प्रतिक्रिया 4