+
+
Shares

डोजरले भत्कायो सोमबहादुरको सानो संसार

२२ वर्षअघि गाउँमा खनिएको सडकले थातथलो खोसेपछि सुकुमवासी बनेर सोमबहादुर मनोहरा किनारमा आइपुगे । हरेक वर्ष उनले आँसु र पसिनाले खडा गरेको सानो संसारमा बाढी पस्दा पनि उनी उठिरहे । यसपटक त राज्य नै खनियो ।

कौशल काफ्ले शंकर गिरी कौशल काफ्ले, शंकर गिरी
२०८३ वैशाख १५ गते १९:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मनोहराको सुकुमवासी बस्तीमा सरकारी डोजरले २२ वर्षदेखि बसोबास गर्दै आएका दलित सोमबहादुर विकको छाप्रो भत्काएको छ।
  • सोमबहादुरले विस्थापनपछि उपचार नगरेको खुट्टाको गहिरो घाउसँगै आर्थिक अभाव र सामाजिक विभेदको पीडा व्यक्त गरे।
  • सरकारले लालपुर्जा नदिई विस्थापन गर्दा विस्थापितहरूले आशा र आत्मसम्मान गुमाएको सोमबहादुरले बताए।

डोजर बज्रिनुअघि मनोहराको सुकुमवासी बस्तीमा निसास्सिँदो सन्नाटा छाएको थियो । वर्षौँदेखि मनको कुनामा गुम्सिएको विस्थापनको डर अब यथार्थमा बदलिंदै थियो, त्यो पनि आफ्नै आँखा अगाडि ।

बस्तीमा जब हतियारधारी सुरक्षाकर्मीको घेरासहित सरकारी डोजरहरू प्रवेश गरे, ६४ वर्षीय सोमबहादुर विकको सातो गयो । उनी हतासिँदै आफ्नो छाप्रोभित्र पसे र जे हात लाग्यो त्यही बाहिर फाल्न थाले ।

लुगाफाटा, भाँडाकुँडा, ओढ्ने–ओछ्याउने- २२ वर्ष लगाएर सजाएको उनको संसार एकैछिनमा खुला आकाशमुनि छरपस्ट भयो ।

हतार–हतार सामान निकाल्ने क्रममा सोमबहादुरको खुट्टामा केले काट्यो, उनले पत्तो नै पाएनन् । पछि हेर्दा रगत तपतप बगिरहेको थियो । तर, मनको घाउसामु खुट्टाको घाउले उनलाई दुखाएन । उनी निरन्तर सामान निकाल्न लागिरहे । आइतबार राज्यको डोजरले उनको ओत लाग्ने छाप्रो क्षणभरमै भग्नावशेषमा बदलिदियो ।

सोमबार, आफ्नो २२ वर्षे स्मृति पुरिएको भग्नावशेष नियाल्न पुगेका सोमबहादुरको खुट्टाको घाउ अझै आलो थियो । गहिरो चोट लागे पनि उनले न मलमपट्टी गरेका थिए, न कुनै प्राथमिक उपचार ।

‘घाउको उपचार गराउनुभएको भए हुन्थ्यो नि ?’ हाम्रो जिज्ञासामा सोमबहादुरले एउटा कारुणिक यथार्थ बोले, ‘मरौँ भन्दा त दबाई किनेर खाने पैसा छैन बाबु, यो दबाई कताबाट गर्नु ?’

छाप्रोको भग्नावशेषसामु टोलाइरहेका सोमबहादुरसँग अब माटो र इँटाको थुप्रोमात्र छन् । एकसरो मैलो कपडा, खुट्टामा पुरानो जुत्ता र त्यही जुत्ताले छोपेको घाउ- जसलाई उनी सरकारी विस्थापनको नमेटिने ‘चिनो’ ठान्छन् ।

‘अब के गर्नु… ?’ सोमबहादुरका आँखा रसाए, गला अवरुद्ध भयो ।

सोमबहादुरलाई लाग्छ, दलित समुदायमा जन्मिनु र गरिब हुनु नै राज्य र समाजबाट पेलिनुको मुख्य कारण हो । जडीबुटीमा आरन चलाएर जीविका चलाउँदै आएका सोमबहादुरको मन पटकपटक यसैगरी रोएको छ ।

विकासले खोसेको थातथलो

त्यसो त, सोमबहादुर काठमाडौंका रैथाने होइनन् । नुवाकोटको शिवपुरी गाउँपालिका–२ मा उनको पाँच-छ रोपनी जग्गा थियो । पुर्ख्यौली भनिए पनि त्यसको लालपुर्जा थिएन, तर उनीहरू त्यहीँ खनजोत गर्थे । त्यसबाहेक गाउँलेको खेत कमाएर र अरूको काम गरेरै उनको परिवार पालिएको थियो ।

तर, गाउँमा विकासको नाममा सडक पुग्यो । त्यही सडकले सोमबहादुरको गरिबीमाथि पहिलो डोजर चलायो । ‘जनताका लागि विकास गर्ने भन्दै हामीजस्ता गरिबलाई उठाइदियो । एकपटक मात्र हो र ? सडकले तीनपटकसम्म मेरै जग्गा काट्यो । त्यसपछि त सबै सकियो, रुने-कराउने आधार पनि रहेन,’ उनले विगत सम्झिए ।

सामाजिक विभेदको लामो समय सिकार भएको यो दलित परिवारलाई ‘आर्थिक रूपमा माथि उठ्ने सपना’ देख्नसमेत गाह्रो थियो ।

नुवाकोटबाट विस्थापित भएर उनी काठमाडौं पसे । मच्छेगाउँ हुँदै कलङ्की पुगे । सार्वजनिक जग्गा हडपेर बस्ने उनको कुनै रहर थिएन, आत्मसम्मानले दिँदैनथ्यो । तर, आर्थिक अभावका सामु उनको आत्मसम्मानले घुँडा टेक्यो ।

साना तीनवटा बच्चाको भोको पेट भर्नु थियो । कोठा भाडा तिर्न सकेनन् । अन्ततः फाराम भरेर आजभन्दा २२ वर्षअघि, वैशाख १९ गते उनी मनोहराको किनारमा सुकुमवासी बनेर आइपुगे ।

‘सुकुमवासी हो कि होइन, पहिचान गर्ने फाराम भरायो । माघमा फाराम भरेँ, वैशाख १९ गते मनोहरा (अहिले सरकारले भत्काएको ठाउँ) मा आएर बसेँ । यो २२ वर्षअगाडिको कुरा हो,’ उनले भने ।

‘घाउको उपचार गराउनुभएको भए हुन्थ्यो नि ?’ हाम्रो जिज्ञासामा सोमबहादुरले एउटा कारुणिक यथार्थ बोले, ‘मरौँ भन्दा त दबाई किनेर खाने पैसा छैन बाबु, यो दबाई कताबाट गर्नु ?’

मनोहराको सुकुमवासी बस्तीमा छिर्दा उनीसँग एउटा पकाउने भाँडो र केही ओढ्ने-ओछ्याउनेबाहेक केही थिएन । सम्पत्तिका नाममा केही नभए पनि मनमा आत्मविश्वास र केही आशा बोकेर उनी सोही बस्तीमा अडिए ।

पहिलो वर्षमै पानीले डुबायो । तर पनि हार मानेनन् । मनोहरामा बस्दाबस्दै जडीबुटीमा आरन थापे । बिहान उठेर आरनतिर हिँड्ने, बेलुका आएर खाना पकाउने, बच्चाहरूलाई हुर्काउने गर्न थाले ।

दिनको केही सय रुपैयाँ- जे आउँथ्यो त्यही जोड्थे । त्यसबाटै कहिले माटो किनेर घरमा हाल्थे, कहिले केही बनाउँथे ।

जति दुःख गरे पनि बर्सेनि बाढी आउँथ्यो । सबथोक डुबाउँथ्यो । उनी फेरि उठ्थे । यसरी नै बिते- हप्ता, महिना हुँदै कैयौँ वर्ष ।

सोमबहादुर बाढीले जतिपटक बगाए पनि उठिरहे । तर यसपटक बाढी होइन, राज्य खनियो ।

सोमबहादुरको सुस्केरा- छोराहरू पनि सुकुमवासी नै रहनेभए !

ती दिन सम्झँदा सोमबहादुरको गला भारी हुन्छ । बोल्न सक्दैनन् । आफू सुकुमवासी भएकै कारण आफ्ना बच्चाहरूलाई राम्ररी खान दिन नसकेको ग्लानि उनमा छ । खाजामा पनि बासी भात र चिया खुवाएरै छाक कटाए । हदै सके, तीन जना बच्चालाई दस रुपैयाँको चिउरा–दालमोठ किनिदिएर स्कुल पठाउँथे ।

‘मैले यो जुनीमा के गरेँ र ? कामी, दलित भनेर सबैले हेपेकै छन् । अलिअलि जोडेको घरटहरा पनि कतै देखिसहेनन् । म त सुकुमवासी भएँ भएँ, छोराहरू पनि सुकुमवासी नै रहने भए,’ सोमबहादुरका आँखा रसाए ।

हामीले उनीसँग कुरा गर्दैगर्दा पछाडि मनोहरा सुकुमवासी बस्तीकै सरस्वती आधारभूत विद्यालयमा डोजर चलिरहेको थियो । स्कुलको संरचना बिस्तारै माटोमा मिल्दै थियो, जसलाई लिएर पनि उनी भावुक सुनिए ।

कारण- सोमबहादुरका जेठो छोरा पनि यही विद्यालयमा पढेका हुन् । कक्षा आठसम्म जसोतसो त्यहाँ पढाएपछि एउटा कोरियन संस्थाले छोरालाई लगेर पढाइदियो । कुनै संस्थाले छोरालाई पढाएको यो कुरा उनलाई ‘भाग्यवश परेको चिठ्ठा’ लाग्छ । त्यसबाट छोरो एघार कक्षासम्म पुग्यो । एघारचाहिँ जसोतसो पढाए ।

‘तर बाउले मात्र कति थाम्ने ? बाह्र पनि पढ् भनेर भन्न सकिनँ,’ उनले भने, ‘त्यसपछि छोरो आफैँ काम गर्छु भनेर हिँड्यो । पोखरा गयो । टेलिकमको टावरमा के-के काम गर्‍यो । दिनको दुई सय रुपैयाँ कमाउँथ्यो रे ।’

जेठा छोराकै प्रसङ्गले भावुक सुनिएका सोमबहादुरले थपे, ‘त्यति थोरै पैसा पाएर पनि खुसी भएर गयो । किनभने बाउको बोझ हलुका होस् भन्ने उसलाई थियो । यसरी आठ वर्ष काम गर्‍यो । अनि त्यहाँ पनि ठेकेदार बदलियो रे, काम नै गयो । अहिले यतै ज्यामी काम गर्छ ।’

अन्य सन्तानको हकमा पनि आफूले केही गर्न नसकेको पछुतो यो बुढेसकालमा सोमबहादुरसँग छ । नियतिसँग लड्दालड्दै आफूले हार खाइसकेको उनले बताए ।

नेताका आश्वासन र भत्किएका विश्वास

सुकुमवासी बस्तीका ती २२ वर्षमा उनले धेरै नेताका वाचा सुने । दस वर्षे जनयुद्धको अन्तिमकालतिर आर्मी आउँथ्यो, घरमा चक्कु राख्न पनि दिन्नथ्यो । यसो गर, त्यसो नगर भनेर उर्दी जारी हुन्थ्यो ।

त्यसपछि सोही पार्टीका सरकारहरू बने । एकपटक बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला थापाथलीको सुकुमवासी बस्ती भत्कियो । त्यसबेला थापाथलीका केही सुकुमवासी मनोहरामा थपिएको सम्झना उनलाई छ ।

‘करिब १८–१९ परिवार यहाँ आएजस्तो लाग्छ । हामी बस्तीले नै केही रुपैयाँ चन्दा उठाएर चिउरा–दालमोठ लगेर दियौँ । सुकुमवासी भइसकेपछि एकले अर्कालाई सहयोग गर्नुपर्दैन र ? हामी त हृदय भएका मानिस,’ अनौपचारिक कुराकानीका क्रममा सोमबहादुर पोखिइरहे, ‘तैपनि सबैले हामीलाई नै अपराधीजस्तो गर्छन् । हेप्छन् । गरिब र दलित दुवै एकैपटक हुनु कति गाह्रो !’

‘मैले यो जुनीमा के गरेँ र ? कामी, दलित भनेर सबैले हेपेकै छन् । अलिअलि जोडेको घरटहरा पनि कतै देखिसहेनन् । म त सुकुमवासी भएँ भएँ, छोराहरू पनि सुकुमवासी नै रहने भए,’ सोमबहादुरका आँखा रसाए ।

जति दुःख झेले पनि नेताले आश्वासन दिन छाडेनन् । पुराना दलबाट वाक्क भएका उनले पछिल्लो समय सुनेको आश्वासन हो- रवि लामिछानेको । लामिछानेले चुनावका क्रममा ‘सुकुमवासी बस्तीमा डोजर चले छाती थाप्न आउँछु’ भनेको उनलाई झलझली याद छ । त्यसमाथि प्रधानमन्त्री बालेनले झापा पुगेर ‘लालपुर्जा नै बाँड्छु’ भनेपछि झन् आशा पलाएको थियो ।

रास्वपा पार्टी सभापति र प्रधानमन्त्री बनेका नेताबाटै यसरी आश्वासन आएपछि फेरि एकपटक नेतालाई पत्याए । तर, नयाँ बनेको सरकारले लालपुर्जा त कता हो कता, सोधीखोजी पनि गर्न चाहेन, सीधै डोजर पठायो ।

‘कुख्यात अपराधीलाई झैँ’ रातारात उठाएर बल्ल छानबिन गर्छु भनेको कुरा पनि सोमबहादुरलाई निको लागेको छैन ।

आत्मसम्मानको अन्तिम लडाइँ

सरकारसँग रिसाएका र अपमानित महसुस गरेका सोमबहादुरलाई अब सरकारको आशमा गएर बस्नु छैन । आत्मसम्मानमा चोट पुगेको बुढेसकाललाई थप दुःख दिनु छैन ।

बिहे गरेर दिएकी छोरीकै कोठामा बस्छन्, दिनभर आरन चलाएर जीविका चलाउँछन् । सरकारले राख्ने भनेको ठाउँबाट भक्तपुर आएर आरन चलाएर गरिखान उनलाई झन् गाह्रो पर्छ । त्यसैले आरन चलाउने, पार्टी प्यालेसदेखि अरूका घरमा ज्यामी काम गरेर जसोतसो टिक्ने उनको योजना छ ।

‘पहिला पो एक्लो थियौँ । अब त एउटा छोरा मसँग हुन्छ । छोरीको कोठामा बसेर बाउछोराले आरन र ज्यामी काम गर्‍यौँ भने कसो नटिकौँला ? आज लगे पनि सरकारले त फेरि कुन बेला लात हान्छ, के थाहा ?’ सोमबहादुरले भने, ‘यदि सकिँदै सकिएन भने यो जीवनको मलाई के मतलब र ? कहिलेकाहीँ त औषधि (विष) खाइदिऊँ जस्तो लाग्छ… ।’

मजदुरी काम गर्ने सुकुमवासीलाई मजदुरी बिक्ने सहरबाट टाढा लगेर सरकारले अर्को गल्ती गरिरहेको सोमबहादुरलाई लाग्छ । अहिलेसम्म छोराको बिहे पनि गर्न नसकेका उनलाई सरकारको पछि लागेर जाँदा झन् गरिरहेको श्रम पनि खोसिने डर छ ।

‘२९ वर्षको जेठो छोराको बिहे गर्न पनि सकिनँ । हामीलाई कसले दिन्छ छोरी ? जग्गा छैन, सम्पत्ति छैन, लालपुर्जा छैन,’ उनले भने ।

बस्ती भत्किएपछि उनी सोमबार घरका केही इँटा निकाल्न सकिन्छ कि भनेर आएका रहेछन् । सँगसँगै भेट्नु थियो— आजसम्म आश्वासन दिएका नेता । तर, उनले न नेता भेटे, न इँटा पाए । सत्ता/प्रतिपक्ष कुनै कित्ताका नेता त्यहाँ देखिएनन् । आफूले बटुल्न चाहेका इँटाका टुक्रा पनि धुलाम्य थिए ।

त्यसमाथि आइतबार परेको पानीले अधिकांश छिमेकीका सबै सामान भिजेको दृश्यले सोमबहादुरलाई मन झन निथ्रुक्क बनायो । बरु सरकारले केही हप्ताको मात्रै समय दिएर राम्रोसँग संवाद गरेको भए यस्तो हाहाकार देख्नु नपर्ने आकलन उनको थियो ।

यसरी आफ्नो जीवनकालमा सरकारकै गतिविधिका कारण फेरि निराश हुँदै फर्किएका सोमबार एक्लै विलाप गर्दै हिँडिरहे, ‘अब त्यही छोरीको कोठामा बस्छु । बाँचुन्जेल आरन चलाउँछु । नसकेको दिन… छोराहरूले ज्यामी गरेर खालान् नि !’

लेखक
कौशल काफ्ले

काफ्ले अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

शंकर गिरी

शंकर गिरी फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?