+
+
Shares

भ्युज र भाइरलको होडबाजीमा पशुमाथि यस्तो अत्याचार ?

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २३ गते १७:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कुमार घर्ती मगरले फेसबुकमा गोरुलाई यातना दिने भिडियोहरू पोस्ट गर्दै आएका छन् र कमेन्टमा सुझाइएका उपायहरू कार्यान्वयन गर्ने गरेको स्वीकार गरेका छन्।

फेसबुकको कन्टेन्ट नीति अनुसार पशुप्राणीलाई हानी गर्ने, पिट्ने वा क्रूरता देखाउने फोटो भिडियोहरू राख्न पाइँदैन । फेसबुकले त्यस्ता कन्टेन्ट र त्यस्ता कन्टेन्ट हाल्ने अकाउन्टलाई आफ्नो नीति अनुसार कारवाही पनि गर्न सक्छ ।

तर, फेसबुकमै भाइरल हुने भूत चढेपछि कसको के लाग्छ ? अहिले धेरैजसो यही चक्करमा अनेक हर्कत गर्न थालेका छन् । तर, तिनीहरूले गर्ने हर्कतको शिकार बन्नुपरिरहेको छ, अवोध पशुप्राणी ।

कसैले कुकुरलाई रक्सी खुवाएको भिडियो बनाउने गरेका छन्, कसैले जोतिरहेको गोरूलाई यातना दिएको ।

जस्तो उदाहरणका लागि प्यूठानका कुमार घर्ती मगरले बनाउने भिडियो हेर्नुहोस् ।

धेरै भिडियोहरूमा उनले बारीमा जोत्न ठीक पारिरहेको गोरूलाई यातना दिँदै गरेको देखिन्छ । एउटा भिडियोमा उनले दुई वटा लठ्ठीको बीचमा गोरुको पुच्छर राखेर च्यापिदिन्छन् ।

अर्कोमा गोरुको शरीरभरी माटो दलिदिन्छन् । त्यस्तै अर्कोमा गोरुको नाक ठ्याप्पै बन्द गरिदिएर श्वास फेर्न रोकिदिन्छन् ।

पोस्ट गरेको भिडियो हेर्दा के देखिन्छ भने उनको एउटा गोरु जोत्न सुरु गर्नेबित्तिकै थचक्कै बसिदिन्छ । यही कुराको भिडियो बनाएर मगरले फेसबुकमा पोस्ट गर्ने गर्छन् । अनि उनको भिडियो हेर्नेले कमेन्ट गर्दै यस्ता गोरुलाई कसरी तह लगाउने भनेर अनेक उपाय सुझाउँछन् ।

कमेन्टमा आएका यिनै उपाय कार्यान्वयन गर्दै मगरले फेरि अर्को भिडियो बनाउँछन् ।ती कम‍ेन्टमा सिकाइएअनुसार नै उनले अवोध गोरुलाई सजाय सास्ती दिने गरेको आफैंले पनि स्वीकार गरेका छन् ।

उनले गोरुलाई यातना दिने खालका हर्कत गर्ने गरेको देखिन्छ ।

उनका भिडियोमा निकै भ्युज आउने गरेका छन् । जस्तो:- गोरुको शरीरभरि कमेरो दलिदिएको भिडियोमा १० लाख बढी भ्युज आएको छ । उक्त भिडियोमा उनले क्यामेरा समाइरहेको मान्छेलाई निर्देशन दिँदै ’यसो गर्नू, उसो गर्नू’ पनि भनिरहेका छन् ।

यी यस्ता हर्कतहरूबाट उनी रमाइलो मानिरहेका छन् । थप यस्ता पीडादायी हर्कतहरू सुझाउन भनिरहेका हुन्छन् । उनका पछिल्ला भिडियोहरू हेर्दा नियतवश नै उनले पशुलाई आघात पुर्‍याइरहेको देखिन्छ ।

गाउँघरतिर गोरु प्रयोग गरेर खनजोत गर्नु सामान्य हो । तर, उनले ती गोरुहरूलाई जसरी पीडा दिइरहेका छन्, त्यसले भने उनी परपीडक समान हुन् भन्ने देखाउँछ । किनकि गोरुले काम नगर्नुलाई उनी ’नाटक’ मान्छन् ।

पछिल्लो समयमा नेपालमा फेसबुक मनिटाइजेसन सजिलो भएपछि अनेकन् खालका कन्टेन्ट हाल्ने, भ्युजका लागि जे पनि गर्ने प्रवृत्ति देखिएको छ ।

कुमार पनि त्यसैको लहडमा लागेको उनको फेसबुक प्रोफाइल हेर्दा अनुमान गर्न सकिन्छ । उनी आफैंले पनि फेसबुक मनिटाइजेसन अन भएको, त्यसबाट केही रकम आएको र उनको प्रोफाइालको इन्साइट हालेका छन् ।

तर, पशुअधिकार कर्मीहरू उनको यस्तो हर्कत गैरकानूनी हुने बताउँछन् । नियमवस यदि पशुप्राणीलाई दुःख दिने काम कसैले गर्छ भने उसलाई प्रचलित कानुन अनुसार दण्ड सजाय हुने पशु अकिकारकर्मी वरिष्ठ अधिवक्ता पदमबहादुर श्रेष्ठ बताउँछन् ।

श्रेष्ठका अनुसार पशु क्रूरता निवारण ऐन, २०७३ अनुसार पशुलाई क्रूर व्यवहार गर्ने, यातना दिने वा अनावश्यक पीडा दिने कार्यमा संलग्न व्यक्तिलाई ३ महिनासम्म कैद वा ५,००० रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ । पशुलाई क्रूरतापूर्वक हत्या गरेमा सजाय अझ कडा हुन सक्छ, जसमा जरिवाना र कैद दुवै लागू हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?