News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा अधिक भएको ५० अर्ब रुपैयाँ तरलता खिच्न ८४ दिन अवधिको निक्षेप संकलन उपकरण जारी गरेको छ।
- राष्ट्र बैंकले वित्तीय प्रणालीमा करिब ७९ अर्ब तरलता रहेको र दीर्घकालीन निक्षेप उपकरणको प्रयोग बढाएको जनाएको छ।
- केन्द्रीय बैंकले ब्याजदर करिडोर अनुसार बैंक दर ६ प्रतिशत र स्थायी निक्षेप सुविधा दर २.७५ प्रतिशत कायम गरेको छ।
३ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा अधिक भएको ५० अर्ब तरलता खिच्ने भएको छ । अधिक तरलता खिच्नका लागि केन्द्रीय बैंकले बुधबार ८४ दिन अवधिको निक्षेप संकलन उपकरण जारी गरेको हो ।
पछिल्लो समयमा केन्द्रीय बैंकले छोटो अवधिका भन्दा पनि दीर्घकालीन निक्षेप उपकरणको प्रयाग बढाउँदै आएको छ । यसै साता पहिलो दिन आइतबार मात्रै केन्द्रीय बैंकले तरलता खिच्नका लागि ५० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण प्रयोग गरेको थियो।
राष्ट्र बैंकका अनुसार मंगलबारसम्म वित्तीय प्रणालीमा करिब ७९ अर्ब तरलता रहेको छ । बैंक तथा वित्तीय संस्थाले अधिक तरलता अल्पकालका लागि स्थायी निक्षेप सुविधा मार्फत केन्द्रीय बैंकमा राख्छन् । स्थायी निक्षेप मार्फत राखेको रकम धेरै भएकाले पनि बैंकले दीर्घकालीन निक्षेप संकलन गर्न थालेको हो ।
यसमा केन्द्रीय बैंकले थोरै ब्याजदर माग्ने बैंक वित्तीय संस्थालाई प्राथमिकतामा राखेर बाँडफाँड गर्छ । केन्द्रीय बैंकले वित्तीय प्रणालीको तरलता अवस्था र अन्तर बैंक ब्याजदर व्यवस्थापनका लागि निक्षेप संकलन, स्थायी निक्षेप सुविधा लगायत उपकरण मार्फत बजारको पैसा खिच्छ । त्यसैगरी प्रणालीमा तरलताको अवस्था कसिलो हुँदा स्थायी तरलता सुविधा, रिपो मार्फत प्रणालीमा पैसा पठाउँछ ।
केन्द्रीय बैंकले वित्तीय प्रणालीमा तरलता पठाउँदा ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा रहेको बैंक दरमा ब्याज लिन्छ भने तरलता खिच्दा करिडोरको तल्लो सीमा स्थायी निक्षेप सुविधा दर बराबरको ब्याज दिन्छ । हाल बैंक दर ६ र स्थायी निक्षेप सुविधा दर २.७५ प्रतिशत रहेको छ ।
प्रतिक्रिया 4