२१ मंसिर, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनको जगमा बनेको सरकारले जेनजीको भावना विपरीत कुनै पनि निर्णय नगर्ने बताएका छन् ।
जेनजी आन्दोलानकर्मीहरूको मानव अधिकारको सम्बन्धमा गृह मन्त्रालय, महान्यायाधिवक्ताको कार्यालय, नेपाल प्रहरी तथा जेनजी आन्दोलनका अगुवाहरूबीच आइतबार गृह मन्त्रालयमा भएको छलफलमा उनले जेनजीकै भावना प्रतिकूल हुने कुरा सोच्नै नसकिने बताएका हुन् ।
उनले भने, ‘जेनजी भाइबहिनीहरूले उठाउनु भएको माग र गराउनु भएको ध्यानाकर्षणबारे मन्त्रालय र यस अन्तर्गतका निकायहरू अझै बढी जिम्मेवार र सजग ढंगबाट प्रस्तुत हुनेछ ।’
२३ र २४ भदौको घटनालाई एउटा ‘लेन्स’ बाट सरकारले नहेरेको मन्त्री अर्यालको भनाइ थियो ।
सबै नवपुस्तालाई आफूले गल्ती नगरेको भए बरु प्रहरी प्रशासनलाई अनुसन्धानमा सघाएर अघि बढ्न आग्रह गर्दै उनले पक्राउ परेकाको हकमा सरकारले को कति निर्दोष हो त्यसको अझै सत्यतथ्य बुझेर थप निष्कर्षमा पुग्ने बताए ।
जेनजी अगुवाहरूले राखेका सरोकारका विषयलाई सकारात्मक रूपमा आफूले लिएको भन्दै मन्त्री अर्यालले समाधानका लागि पहलकदमी लिने बताए ।
छलफलमा जेनजी युवाहरूले आन्दोलनमा सहभागी भएको बहानालाई प्रमाण मानेर देशैभरिका युवाहरूलाई धमाधम पक्राउ गरिएको प्रति मन्त्री अर्यालको ध्यानाकर्ण गराएका थिए ।
कतिपयले मुद्दासमेत खेपेर कोही जेल नै चलान भएको अवस्थामा गृह प्रशासनले सबै आन्दोलनकर्मीलाई अपराधीकरण गर्न लागेकोबारे उनीहरूले मन्त्री अर्यालको ध्यानाकर्षण समेत गराएका थिए ।
छलफलमा जेनजी अगुवाहरूको तर्फबाट १० जना प्रतिनिधि, महान्यायाधिवक्ता सविता भण्डारी, गृह सचिव रामेश्वर दंगाल तथा प्रहरी प्रमुख दानबहादुर कार्की र मन्त्रालयका शान्ति सुरक्षा महाशाखाका पदाधिकारीहरू समेत उपस्थिति रहेको थियो ।
प्रतिक्रिया 4