१६ मंसिर, धनगढी । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका कैदीबन्दी र लुटिएका हतियारका कारण चुनाव नबिथोलिने बताएका छन् ।
गृह मन्त्रालयले मंगलबार धनगढीमा आयोजना गरेको सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री अर्यालले फरार कैदीबन्दी पक्राउ गर्ने र लुटिएका हतियार बरामद गर्ने क्रम जारी रहेको जानकारी गराए । उनले चुनावसम्म सबै नियन्त्रणमा लिइसक्ने दाबीसमेत गरे ।
हतियार र फरार कैदीबन्दीको विषयमा पटक—पटक कुरा उठ्ने गरेको बताउँदै अर्यालले उक्त विषयलाई अतिरिञ्जित बनाउन नहुने बताए ।
‘फरार कैदीबन्दी फिर्ता ल्याउने र लुटिएका हतियार बरामद गर्ने क्रम पछिल्लो दिनमा वृद्धि भएको छ । फरार कैदीबन्दी र बाहिर रहेका हतियारको कारणले चुनाव बिथोलिँदैन,’ मन्त्री अर्यालले भने, ‘यो कारणले निर्वाचन नै बिथोलिने हामीले हुन दिँदैनौँ । तीनलाई हामीले फिर्ता ल्याएरै छाड्छौँ भन्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’
४ हजार ५५२ कैदीबन्दी र बालबन्दी फिर्ता हुन बाँकी, हतियार कति ?
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका ४ हजार ५५२ कैदीबन्दी र बालबन्दी फिर्ता हुन बाँकी रहेको जानकारी उनले गराए ।
उनले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग सम्बन्धी जघन्य प्रकृतिका कसुरका फरारको संख्या भने कम रहेको दाबी गरे । फरार अवस्थामा रहेका कैदीबन्दीलाई पक्राउ गर्न विशेष रुपमा अभियान चलाइरहेको पनि उनले बताए ।
लुटिएका हतियारमध्ये अहिलेसम्म ७२७ थान बरामद गरेर फिर्ता गरिसकेको भन्दै उनले केही संख्यामा मात्र बाहिर रहेको उल्लेख गरे । मन्त्री अर्यालले सुरक्षा संवेदनशीलताका कारण लुटिएका हतियारको संख्याबारे भन्न नमिल्ने गरेको उल्लेख गरे ।
सुरक्षा गोष्ठीमा प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीले फरार कैदीबन्दी र लुटिएका हतियारका कारण भयरहित वातावरणमा चुनाव हुनेमा आशंका गरेका थिए । उनीहरुले गरेको आशंकाको जवाफ दिँदै गृहमन्त्री अर्यालले सोही कारण चुनाव बिथोल्न नदिने बताएका हुन् ।
सुरक्षा गोष्ठीमा राजनीतिक दलले शान्तिपूर्ण तरिकाले गर्ने कार्यक्रमहरुमा विभिन्न किसिमले अवरोध भइरहेको सन्दर्भमा समेत प्रश्न उठेको थियो । त्यसको जवाफमा मन्त्री अर्यालले सरकार राजनीतिक दललाई बिना बाधा, अवरोध कार्यक्रम तथा अन्य गतिविधि गर्न दिने विषयमा प्रतिबद्ध रहेको बताए ।
‘निर्वाचन र सुरक्षासँग सम्बन्धी विषयमा विशिष्ट अतिथि र अतिथि ज्यूले केही ध्यानाकर्षण पनि गर्नुभएको छ । खास गरेर राजनीतिक दलका गतिविधिहरुमा कुनै पनि किसिमको हस्तक्षेप नहोस् भनेर ध्यानाकर्षण गराउनुभएको छ,’ उनले भने, ‘त्यसमा नेपाल सरकार, गृह मन्त्रालय प्रतिबद्ध छ । हाम्रो म्यान्डेड नै चुनाव गराउने हो । त्यसका लागि शान्ति सुरक्षा दिनुपर्छ । अहिंसात्मक र शान्तिपूर्ण रुपमा हुने राजनीतिक गतिविधिलाई नेपाल सरकारले सहजीकरण गर्छ । दण्डहीनताको अवस्था आउन दिँदैन ।’
प्रतिक्रिया 4