१८ मंसिर, काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन आज भारत भ्रमणमा आउँदै गर्दा फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रो चीन पुगेका छन् ।
उनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेका छन् । भ्रमणका क्रममा म्याक्रोले युक्रेनमा युद्धविरामका लागि चीनसँग सहयोग माग्ने र व्यापार सम्बन्धमा कुराकानी गरेको बताइएको छ ।
समाचार एजेन्सी एएफपीका अनुसार म्याक्रो र उनकी पत्नी ब्रिजेटलाई सी र उनकी पत्नी पेङ लियुआनले ग्रेट हल अफ द पीपुलमा स्वागत गरेका छन् ।
फ्रान्सेली राष्ट्रपति सन् २०१७ मा पद सम्हालेपछि चौथोपल्ट चीन यात्रामा छन् । उनले चिनियाँ प्रधानमन्त्री लि कियाङसँग पनि भेटवार्ता गर्ने बताइएको छ ।
म्याक्रोले युक्रेनमा युद्धविरामका लागि भूमिका निर्वाह गर्न चीनलाई आग्रह गर्दै आएका छन् । यसै साता फ्रान्सका विदेशमन्त्री जां–नोएल बगोले भनेका थिए, ‘चीन हामीजस्तै सुरक्षापरिषद्को सदस्य हो । हामी चाहन्छौं कि चीनले यद्धविरामका लागि रूसमाथि दबाब बनाओस् । विशेष गरी भ्लादिमिर पुटिन युद्धविरामका लागि तयार होउन् ।’
शान्ति वार्ता र सबै देशको क्षेत्रीय अखण्डताको सम्मानको कुरा गर्दै आए पनि चीनले सन् २०२२ मा युक्रेनमाथि रूसले गरेको आक्रमणको आलोचना गरेको छैन ।
पश्चिमा देशहरू चीनमाथि रूसलाई युद्धमा सहयोग पुर्याउन आर्थिक सहयोग र रक्षा उद्योगका लागि महत्वपूर्ण सैन्य उपकरण उपलब्ध गराइरहेको आरोप लगाउँदै आएका छन् ।
प्रतिक्रिया 4