नेकपा एमालेले आसन्न महाधिवेशनको तयारी तीव्र गतिमा अगाडि बढाइरहेको छ । महाधिवेशनको व्यवस्थापकीय पक्ष, अतिथि सत्कार र प्रतिनिधि चयनको अवस्थाबारे बुझ्नका लागि अनलाइनखबरका रघुनाथ बजगाईंले अतिथि सत्कार समितिकी सदस्य सुनिता बरालसँग गरेको कुराकानी :
महाधिवेशनको तयारीअन्तर्गत अहिले के कस्ता गतिविधि भइरहेका छन् ?
महाधिवेशनको तयारीका लागि विभिन्न उपसमितिहरू गठन गरेका छौँ । मूल आयोजक समितिबाहेक व्यवस्थापनको हिसाबले विभिन्न उपसमितिहरूले आ-आफ्नो काम गरिरहेका छन् ।
मूलतः मञ्च व्यवस्थापन समिति, अतिथि सत्कार समिति, आवास र स्वयंसेवक व्यवस्थापन लगायतका समितिहरूले आ–आफ्नो ढंगले काम गरिरहेका छन् । प्रचार समितिले पनि आफ्नो काम गरिरहेको छ । महाधिवेशन विशेष लोगो र जिंगल सार्वजनिक गर्ने लगायतका कामहरू गरिरहेको छ ।
तपाईं सदस्य रहनुभएको अतिथि सत्कार उपसमितिले चाहिं के गरिरहेको छ?
अतिथि सत्कार उपसमितिअन्तर्गत हामीले विदेशमा रहेका र हामीले निम्तो गर्नुपर्ने व्यक्तिहरूलाई भौतिक रूपमा भेटेर नभई उहाँहरूको शुभकामना सन्देश माग्ने हिसाबले सबैलाई निमन्त्रणा पठाइसकेका छौँ । नेपालमा रहेका विदेशी नियोगहरूलाई पनि निमन्त्रणा पठाइएको छ र उहाँहरूलाई सम्भव भएसम्म उपस्थितिका लागि अनुरोध गरिएको छ । त्यस्तै, नेपालका राष्ट्रिय दलहरू र विशेष गरी कम्युनिस्ट विचारधारा बोकेका दलहरूलाई निमन्त्रणा दिएका छौँ। यो क्रम जारी छ ।
धेरै मानिस उतार्ने भन्नुभएको छ । सार्वजनिक यातायातमा बाधा पुग्ला नि ?
व्यवस्थापनका लागि हामीले स्वयंसेवक व्यवस्थापन अन्तर्गत विशेष तालिम (ओरिएन्टेसन) दिएर टोली तयार गर्दैछौँ । यसमा मञ्च व्यवस्थापन र बाहिरबाट आउने सहभागीहरूका लागि सडकको ‘मेन लेन’ सुचारु राखेर ‘साइड लेन’ बाट सहज पहुँच सुनिश्चित गर्ने काममा स्वयंसेवकहरू परिचालन हुनेछन् ।
उद्घाटन सत्रमा कति जना सहभागी हुने अनुमान छ, र व्यवस्थापनको तयारी कस्तो छ ?
लाखौँको सङ्ख्यामा उपस्थिति गराउने हाम्रो तयारी छ । बागमती प्रदेशका अधिकांश जिल्लाहरूबाट र देशभरबाट पनि ठूलो सङ्ख्यामा नेकपा एमालेका हरेक सदस्य, शुभचिन्तक र एमालेले राम्रो गरोस् भन्ने अपेक्षा राख्ने नेपाली नागरिकहरू महाधिवेशनमा एउटा उत्सवमा रूपमा सहभागी हुन चाहन्छन्। यसकारण पचासौं हजार सङ्ख्या गन्नलाई पुग्छ भन्ने हाम्रो अनुमान छ ।
पत्र नै पठाएर जिल्ला-जिल्लाबाट पनि महाधिवेशनको उद्घाटन सत्रमा सहभागी गराउने योजना हो ?
पत्र त आम रूपमा सम्पूर्ण नेपाली नागरिकलाई पठाएका छौं । विदेशीहरूलाई विशेष अतिथिका रूपमा पठाउने विशेष नै भएपनि आम रूपमा हाम्रो महाधिवेशन सबैले थाहा पाउनुपर्छ र यसमा चासो, चिन्ता र सरोकार प्रकट हुन पाउनुपर्छ । जिल्लाबाट आएका प्रतिनिधि मार्फत्, निर्वाचन क्षेत्रबाट छनोट भएर आएका प्रतिनिधि मार्फत भन्ने कुरामा एमाले असाध्य संवेदनशील भएर र सुक्ष्म रूपमा निमन्त्रणा वितरण गर्ने काम गरेको छ ।
उद्घाटन स्थलमा र बन्द सत्र स्थलमा अरू के के काम हुँदैछन् ?
महाधिवेशनको उद्घाटन हामीले सल्लाघारीको खुला चौरमा ठिक दिनको १ बजे गर्ने तयारी गरेका छौँ ।
मञ्च व्यवस्थापन समितिले आफ्नो काम अब सम्पन्न हुने चरणमा छ। बन्द सत्रको हल भने हामीले प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपको खाली ठाउँमा पार्टिसन गरेर बनाउने तयारी गरेका छौँ ।
बन्द सत्र मूलतः निर्वाचनसँग सम्बन्धित काममा केन्द्रित हुने भएकाले निर्वाचनका लागि सहज हुने खालको हल र कार्यकक्षहरू बनाउने तयारीमा छौं ।
मूलतः स्टेज बनाउने र स्टेजसँगको एउटा निश्चित दूरी पछाडि सहभागीहरू बस्ने व्यवस्था गर्छौं । स्टेजको दुई तर्फबाट पार्टीका नेताहरू आवतजावत गर्नेछन् । पार्टी सचिवालयको आगामी बैठकले स्टेजमा पार्टीको को को नेताहरू बस्ने र अरू बाहिरबाट बोलाएका अतिथिहरूलाई कसरी राख्ने भन्ने निर्णय नै गर्छ ।
पार्टीले बनाएको अतिथि सत्कार समितिले आउने अतिथिहरूलाई एउटा निश्चित ठाउँबाट ‘रिसिभ’ गर्ने र मञ्च सम्म पुर्याउने र उहाँहरूलाई आसन ग्रहण गराएर फर्किने तयारी गरेका छौ ।
महाधिवेशन प्रतिनिधिहरूको अन्तिम सङ्ख्या कति पुग्ने भयो ?
अहिलेसम्म करिब २,२६५ प्रतिनिधिहरू छनोट भइसक्नुभएको छ। यसमा मनोनीत हुने करिब १०० जनाको सङ्ख्या जोड्दा लगभग २३०० देखि २४०० नबढ्नेगरी प्रतिनिधिहरू महाधिवेशनमा सहभागी हुने योजना छ।
सुरक्षा व्यवस्थापनका लागि प्राविधिक तयारी के छ ?
हामीले राज्यसँग सहयोग माग्ने हो र राज्यका निकायहरूलाई नै विश्वास गरेका गर्ने हो । आवश्यक जानकारी गराइसकेका छौँ। साथै, आन्तरिक रूपमा एमालेका स्वयंसेवकहरू तयार गरेका छौं । उहाँहरूलाई व्यवस्थापकीय काम र भिडभाड व्यवस्थापनमा परिचालन गर्ने तयारी छ। अरू अत्यावश्यकीय कामहरूमा पनि उहाँहरूले सघाउनुहुनेछ ।
विद्युतीय मतदानको अभ्यास अघिल्लो महाधिवेशनमा पनि भएको थियो । यसपटक के छ तयारी ?
यस पटक पनि हामी विद्युतीय माध्यमबाट नै मतदान गर्ने भनेका छौँ । समय व्यवस्थापन र प्रविधिको उपयोगमा पनि एमाले अब्बल नै छ । दशौं महाधिवेशनमा पनि हामीले विद्युतीय मतदान गराएका थियौं । निर्वाचन टोलीले आवश्यक भोटिङ मेसिन बुक गर्ने, प्रतिनिधिहरूको नाम इन्ट्री गर्ने र वैधानिक व्यवस्था अनुसारको पदीय संरचना (कुन पदमा कति जना निर्वाचित हुने) को काम सुरु गरिसकेको छ।
त्यसैले नोमिनेसन परेका आधारमा त्यहाँ इन्ट्री गरेर निर्वाचनको कामलाई अगाडि बढाउने कुरा हुन्छ।
अघिल्लो पटक विद्युतीय मतदानको स्लिप पनि गणना गरिएको थियो। यस पटक के हुन्छ ?
त्यो कुरा निर्वाचन समितिले पार्टी नेतृत्वसँग गरेको छलफलको र समन्वयको आधारमा निर्णय हुन्छ । यसमा पूर्ण अधिकार निर्वाचन आयोगसँगै हुन्छ । कसैले शंका गर्दा पुनः निश्चित गरौं भन्न मात्रै त्यसो गरिएको हो । विद्युतीय माध्यमबाट गरिएको मतदान पारदर्शी नै हुन्छ। यससम्बन्धी निर्णय तत्कालीन आवश्यकताको आधारमा हुन्छ । अहिले त्यस्तो केही निर्णय गरिएको छैन।
महाधिवेशनकै तयारीका क्रममा विधान संशोधन वा राजनीतिक प्रस्तावबारे कुनै तयारी छ ?
महाधिवेशन अगाडि सम्भवतः मंसिर २५ गते पार्टी सचिवालयको बैठक बस्ला। त्यसले आवश्यक व्यवस्थापकीय र अन्य कुराहरूमा आवश्यक निर्णय गर्नेछ।
हामी भर्खरै विधान अधिवेशन सम्पन्न गरेर आएका छौँ । विधान अधिवेशनपछि बसेको केन्द्रीय कमिटीको बैठकमा केही राजनीतिक विषयहरू आएका छन्, जुन भदौ २३/२४ पछिको परिस्थितिबाट सिर्जना भएका हुन्।
त्यो भनेको युवा पुस्तालाई समेट्ने विषय पनि हो ?
हजुर । केन्द्रीय कमिटीले स्वामित्व लिएको ती प्रस्तावहरू विधान संशोधनकै पाटो भएकोले बन्द सत्रको प्रारम्भमा पास गर्नुपर्ने अवस्था छ। त्यो बाहेकका थप विषय भएमा पार्टी सचिवालयले निर्णय गरेर अगाडि बढ्ने सन्दर्भ हुन्छ।
त्यो भनेको पदाधिकारीको संख्या लगायतका विषय पनि होला ?
अहिले त्यो छलफलको विषय होइन । यसबारे मलाई धेरै जानकारी छैन । व्यवस्थापकीय सन्दर्भमा अरू पार्टीहरूका नेताहरूदेखि विदेशी नियोगका अतिथिहरूमध्ये कसलाई वक्ता बनाउने र कसरी सत्कार गर्ने लगायतका विषयहरू हुन्छन् । पार्टी सचिवालय बैठकले निर्णय गरेअनुसार उपसमितिहरूले यसमा तयारी गर्छन् ।
प्रतिक्रिया 4