एमालेको एघारौं महाधिवेशनका चटारो छ । नेतृत्व चयनका लागि नेताहरूबीच आन्तरिक प्रतिस्पर्धाको तयारी भइरहेको छ । जेनजी आन्दोलनपछि यति धेरै नेतृत्व परिवर्तनको माग उठे पनि एमालेमा पुरानै नेता र अहिले भइरहेको नेतृत्व पंक्ति पदमा दोहोरिने कोसिस भइरहेको छ । नयाँ पुस्ताका नेताहरू माथिल्लो पदमा पुग्ने र केन्द्रीय कमिटीमा पनि नयाँ प्रवेश गर्ने ढोका एकदमै साँघुरो छ ।
एमाले केन्द्रीय सदस्य विष्णु रिजालले लामो समयमा रहेको नेतृत्व पंक्तिमा भइरहेको जाम हटाउनुपर्ने विचार व्यक्त गरेका छन् । केन्द्रीय सदस्य रिजालसँग अनलाइनखबरले गरेको कुराकानी :
एमालेको एघारौं राष्ट्रिय महाधिवेशन हुँदैछ । प्रतिनिधि पनि छनोट भइसकेका छन्। यसपटकको महाधिवेशनको विशेषता के हुनेछ ?
हामी पार्टीको एघारौं राष्ट्रिय महाधिवेशनको संघारमा छौं । मंसिर १३ गते देशैभरि हाम्रा प्रतिनिधिहरू चयन भएका छन्। दुई वटा जिल्लाधनकुटा र ओखलढुंगामा रहेको विवाद पनि हिजो सहमतिका साथ समाधान भएको छ। जिल्ला कमिटी, प्रदेश कमिटी, जनसंगठन, सम्पर्क मञ्च, विशेष कमिटीहरू र प्रवासबाट गरी २१०० भन्दा बढी प्रतिनिधिहरू चयन भइसकेका छन्।
अब हाम्रो ध्यान पार्टीको २७ गते आयोजना हुने उद्घाटन सत्र र २८ र २९ गते आयोजना हुने बन्द सत्रमा केन्द्रित छ।
हामीले भदौको २० देखि २२ गतेसम्म दोस्रो विधान महाधिवेशन आयोजना गरेर नीति र विधानको बारेमा टुंगो लगाइसकेका छौं ।
विधानमा केही आवश्यक परिमार्जन गर्नुपर्ने भयो भने हामी महाधिवेशनमा पनि त्यो विषयमा छलफल गर्छौं। अन्यथा, हाम्रो मुख्य काम भनेको नेतृत्व चयन हो।
नेतृत्व चयन कसरी हुन्छ ?
नेतृत्व चयनका दुईवटा प्रक्रिया छन्, पहिलो, सर्वसम्मतर दोस्रो, सर्वसम्मत कायम हुन नसक्दा लोकतान्त्रिक अभ्यासबाट नेतृत्व चयन। सर्वसम्मतीको पनि कोसिस हुन्छ। सर्वसम्मतीको सम्भावना कम रह्यो भने हामी निर्वाचनमार्फत नेतृत्व चयन गर्छौं।
अहिले सम्पूर्ण पार्टी पङ्क्ति यसैमा केन्द्रित भएको छ। कतिपय आफ्ना खालका छलफल हुने, आफ्नो प्रतिनिधित्वका लागि लबिङहरू हुने, नेतृत्व कसरी निर्माण हुने भनेर छलफल हुने यस्ता अनौपचारिक ढंगका महाधिवेशन प्रक्रियाहरूमा अहिले साथीहरू सक्रिय हुनुहुन्छ।
तपाईंले विधान केही संशोधन पनि हुन सक्छ कि भन्ने जस्तो संकेत गर्नुभयो। के यो पदाधिकारीहरू र केन्द्रीय सदस्यहरूको आकांक्षी एडजस्टमेन्टको लागि पहिले नै कायम रहेका पदहरू फर्काउन लागिएको हो ?
म एउटा कुरा तपाईंलाई जानकारी गराउँछु। हाम्रो पार्टीको नवौं केन्द्रीय कमिटीको बैठक बसेको थियो, दोस्रो विधान अधिवेशनभन्दा अगाडि। त्यसमा विधानमा के कस्तो संशोधन गर्नुपर्ला भनेर केन्द्रीय कमिटीमा छलफल हुँदाखेरि, केन्द्रीय कमिटी सदस्यको हैसियतले मैले एउटा लिखित प्रस्ताव राखेको थिएँ ।विधान महाधिवेशनसम्बन्धी व्यवस्था नै खारेज गरौँभन्ने मेरो चाहिँ प्रस्ताव हो।
किनभने विधानले पार्टी बनाउने होइन, पार्टीले विधान बनाउने हो। विधान भनेको तत्काल उत्पन्न भएका समस्याहरूलाई गतिशील ढंगले समाधान गर्ने एउटा दस्तावेज हो, कुनै एउटा अपरिवर्तनीय विषय होइन।
अघिल्लो महाधिवेशनका प्रतिनिधिले पछिल्लो महाधिवेशनको नीति र विधान प्रयोग गर्ने कुरा यसै पनि संगतिपूर्ण हुँदैन। त्यसमा पनि महाधिवेशनको बेला उत्पन्न हुने समस्यालाई महाधिवेशनपूर्वको मानसिकताले हामीले समाधान गर्न सक्दैनौँ भन्ने मेरो मत थियो।
यद्यपि, त्यो विधान महाधिवेशन तयारीको बैठक थियो। अब कतिपय कमरेडहरूलाई अलिकति अस्वाभाविक लागे पनि मैले धेरैतिरका अभ्यासहरू हेरेर यो विधान महाधिवेशनसम्बन्धी व्यवस्था नै खारेज गरौं र विधानको कुरा र नेतृत्व निर्माणको कुरालाई हामीले अलग गरेर लैजान सकिंदैन, एउटै महाधिवेशनमा लिनुपर्छ भन्ने मेरो मत थियो।
अहिले फेरि हामी महाधिवेशनको संघारमा भएको बेलामा विधान परिमार्जनको विषय आएको छ। मेरो विचारमा विधान परिमार्जन हुन्छ। हामीले पहिला नै केन्द्रीय कमिटी सानो प्रस्ताव गर्नुपर्थ्यो, सानो बनाउनुपर्थ्यो, पदाधिकारीहरू कम बनाउनुपर्थ्यो। त्यसो हुँदा नेताहरूले, प्रतिनिधिहरूले एक खालको मानसिकता बनाएर आउँथे।
अब एउटा अभ्यास हामीले गरिसक्यौं-३०१ जनाको केन्द्रीय कमिटी, त्यसमा १० प्रतिशत मनोनयन अनि २० प्रतिशत अन्य पार्टीहरूबाट आएका व्यक्तिहरूलाई समावेश गर्ने भनेर।
अहिले ३५४ जनाको केन्द्रीय कमिटी छ। त्यसैगरी १९ जना पदाधिकारीको व्यवस्थाछ । ४५ जनाको स्थायी समिति छ ।९९ जनाको पोलिटब्युरो छ।
यहाँ यसरी चाहिँ व्यवस्थापन हुन्छ, नेताहरूको यसरी गर्न सकिन्छ भन्ने व्यक्तिको आफ्नै करिअर प्लान र नेताहरूको पनि एउटा मानसिकता बनेको बेला फेरि यी निकायहरू घटाउँदा र कतिपय निकाय हटाउँदाखेरिभ्याकुम सिर्जना हुन्छ। बीचमा सिर्जना हुने रिक्तता र अन्योलले पार्टीमा एक प्रकारको गत्यावरोध पैदा गर्छ।
त्यसले गर्दा मेरो विचारमा यो महाधिवेशनबाट पदाधिकारीको सङ्ख्या १९ नै पुर्याउनुपर्छ । स्थायी कमिटीको अहिलेको व्यवस्था नै कायम राखेर त्यसलाई ४५ बाट बरु अलिकति घटाएर ३३-३५ गर्दा पनि हुन्छ।
पोलिटब्युरोको व्यवस्था हामीले राख्नुपर्छ । केन्द्रीय कमिटीको सङ्ख्या पनि ३०१ पुर्याउनुपर्छ। यसो गर्यो भने समाधानमा सजिलो हुन्छ भन्ने लाग्छ ।
मैले थाहा पाएअनुसार चाहिँ अहिले शीर्ष नेताहरूको बीचमा पनि यस विषयमा छलफल, राय परामर्श भइरहेको छ। र हामी सम्भवतः हाम्रो पार्टीको महाधिवेशनको बन्द सत्रको सबभन्दा पहिलो सुरु काम २८ गते बिहानको सबभन्दा पहिलो काम विधान संशोधन हुन्छ।
महाधिवेशनमा प्रतिनिधि चयनदेखि नै एक प्रकारको टकराव जस्तो पनि देखियो र केही नेताहरूले उम्मेदवारी घोषणा गरिसक्नु पनि भएको छ। महाधिवेशनमा प्यानलगत प्रतिस्पर्धा नै हुनेर माथिदेखि तलैसम्म एउटा खालको विभाजन आउने जस्तो पनि देखिन्छ नि ?
हामीसँग विभिन्न खालका अनुभव छन्। महाधिवेशनका अनुभवहरू त्यति सुखद छैनन्। हामीसँग मदन भण्डारीजस्तो नेताको नेतृत्वमा गरेको पाँचौं महाधिवेशन लोकतान्त्रिकीकरणको अभ्यासलाई उन्नत स्तरमा लिएर सर्वसम्मतबाट सुखद परिणाम निकालेको अनुभव छ ।
त्यसयताका महाधिवेशनहरू कुनै न कुनै रूपमा हाम्रा लागि त्यति सुखद रहन सकेका छैनन्। छैटौं महाधिवेशनमा हामीले एक खालको प्रतिस्पर्धा गर्यौं, पार्टी विभाजनको तहमा पुग्यौं । सातौं पछि पनि एक खालको शिथिलता आयो। आठौं पछिको अवस्थामा चाहिं हामीले धेरै सकसपूर्ण ढंगले त्यो बीचको पाँच वर्षको अवधि गुजार्नुपर्यो भने नवौं महाधिवेशनपछि दशौंमा आइपुग्दा हाम्रो पार्टी सग्लो रहेन।
दशौंको महाधिवेशन एउटा विशिष्ट अवस्थामा भएको थियो। पार्टी विभाजन भएको थियो, पार्टीका विरुद्ध घेराबन्दी थियो। सर्वसम्मतबाट नेतृत्व चयन गरौं भन्दा हामीले त्यसमा सहमति जुटाउन सकेनौं । भीम रावल त्यसमा अध्यक्षको प्रत्याशी हुनुभयो र पछि उहाँ चाहिँ पार्टीमा रहन सक्ने स्थिति बनेन।
अहिले ११औँ महाधिवेशनमा यी सबै अनुभवहरूबाट शिक्षा लिएर यसलाई स्वस्थ, लोकतान्त्रिक र मैत्रीपूर्ण ढंगले अगाडि बढाऊँभन्ने हाम्रो कोसिस छ।
अब निर्वाचन भन्नेबित्तिकै आन्तरिक होस् वा बाह्य होस्, केही तिक्तताका प्रश्नहरू त आइहाल्दा रहेछन्। अहिले पनि नेताहरूको बीचमा कतिपय दुर्वचनहरू नबोले हुन्थ्यो जस्तो, कतिपय आफ्नै साथीहरूलाई छेडखानी नगरे हुन्थ्यो जस्तो विषयहरू पनि बाहिर आइरहेका छन्।
तर पनि अब अनुभवी नेताहरू, पार्टीको निर्माणदेखि सुरुदेखि नै संलग्न भएको नेताहरू नै यो प्रतिस्पर्धामा सामेल हुने भएको हुनाले उहाँहरूले आउन सक्ने परिणाम र त्यसका प्रभावहरूलाई पनि थेग्न सकिन्छ भन्ने ठानेरै यो निर्णय लिनुभएको होला।
वास्तवमा आजको अवस्थामा भन्दा केपी ओलीको नेतृत्वमा हामी सर्वसम्मत जान सक्ने अहिले पनि म सम्भावना देख्छु। किन भन्दाखेरि, ईश्वर कमरेड स्वयंले एउटा निर्णायक भूमिका खेलेर केपी ओलीलाई नेतृत्वमा ल्याउनका लागि हिजो भूमिका खेलेको हामीले देखेकै छौं ।
अहिले पनि केपी ओलीलाई मानेर जान सक्ने/नसक्ने उहाँसँग कुनै त्यस्तो अप्ठ्यारो स्थिति होइन। के कारणले उहाँहरूको चित्त बुझेन, बसेर कुराकानी गर्दा गर्न सकिन्थ्यो होला, समाधान गर्न अझै पनि सकिन्छ कि जस्तो लाग्छ। तर पनि अब त्यो सम्भावना क्षीण हुँदै गएको छ । हामीले नेतृत्व चयनमा सर्वसम्मत कायम गर्न नसकेपछि निर्वाचनबाट आउने परिणामलाई हामीले सर्वसम्मत रूपमा स्वीकार गर्नुपर्छ।
भर्खरै जेनजी आन्दोलन भयो । जेनजी आन्दोलनमा कतिपय उठेका एजेन्डाहरूमध्ये यो पार्टीहरूको नेतृत्वप्रति नरुचाइएको जस्तो पनि देखिन्थ्यो नि । त्यसकै कारणले अहिले नेतृत्व परिवर्तन हुनुपर्छ, अझ नयाँ पुस्तामै जानुपर्छभन्ने बाहिर पनि एउटा प्रकारको जबरजस्त दबाब र आवाज उठिरहेको सन्दर्भमा पुरानै नेतृत्व, पुरानै पदाधिकारीहरूको सेट आउँदै गर्दा नयाँ पुस्ताका व्यक्तिहरु कहिले कसरी एमालेमा प्रवेश गर्ने र माथिल्लो तहमा आइपुग्ने त ?
म यसलाई दुईवटा कोणबाट हेर्छु। पहिलो कुरा, जेनजी आन्दोलनले छोएको नेतालाई अगाडि सार्न हुन्न भन्ने हो भने एमालेमा कोही नेता नै पाइँदैन। आज हाम्रो नेतृत्व तहमा रहेका कुनै पनि नेताहरू त्यो जेनजीले गरेको अराजकता, आगजनी र आक्रमणबाट पृथक हुनुहुन्न, उहाँहरू अछूत हुनुहुन्न।
पार्टीका अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, महासचिव, सचिव, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटीका थुप्रै नेताहरू चाहिँ त्यसबाट पीडित हुनुभएको छ। घरबारविहीन हुनुभएको छ।
उहाँहरूलाई हरेक ढंगले आक्रमण गर्ने कोसिस भएको छ। यो एउटा पाटो हो। यो एउटा सधैं उही कुरा उही रूपमा बदलिँदैन। त्यो कुनैसंगठित, कुनै दृश्य आन्दोलन थिएन। एउटा नेताहरूलाई आक्रमण गर्ने, बदनाम गर्ने जुन कोसिस भयो, त्यो एउटा पाटो भयो।
दोस्रो कुरा चाहिं अबनेतृत्व निर्माण एउटा लामो प्रक्रियाबाट गुज्रनु पर्दो रहेछ। खासगरी यो स्थापित पार्टीहरू, लामो इतिहास भएका पार्टीहरूमा नेतृत्वमा नयाँ मान्छे, युवा पुस्ताको मान्छे पुग्नलाई चाहिँ त्यति सहज छैन ।
नयाँ बनाएका पार्टीहरूले आज बनाएर आजै नेतृत्व चयन गर्ने गरेका पार्टीहरूको एउटा कुरा हो, तरकांग्रेस, एमाले जस्ता पुराना, धेरै लामो इतिहास बनाएका पार्टीहरूमा चाहिँ नयाँ व्यक्तिहरूलाई नेतृत्वमा जान त्यति सहज छैन।
एउटा लामो प्रक्रिया पार गरेर मात्रै त्यहाँ पुग्न सकिन्छ। मेरो यसमा के भनाइ छ भन्दाखेरि, मूल नेतृत्वको सवालमा हामी खुल्ला नै हुनुपर्छ। किन भन्दाखेरि पार्टीको मुख्य नेतृत्व गर्ने कुरा कुनै पुस्ताले अथवा कुनै क्षेत्रले, कुनै भेगले, कुनै लिङ्गले, कुनै आरक्षणले त्यहाँ पुग्दैन। त्यो चाहिँ लाखौंमध्ये, करोडौंमध्ये एक जना हुने हो। तर त्यो तलको टिम जुन बन्छ रत्यो टिममा रहेको जुन’जाम’ छ, त्यो चाहिँ खुलाउनुपर्छ।
त्यो कसरी खुल्छ त ? यसपाली त्यस त्यो जाम खुल्ने सम्भावना छ ?
मेरो आफ्नो विचारमा त्यो जाम हामीले खुलाउनुपर्छ। किनभने नेता बुढो भएसँगै पार्टी पनि बुढो बनाउन मिल्दैन। मुख्य नेतृत्वको विषयमा मैले अघि भने, हामी त्यसमा उदार हुनैपर्छ, खुल्ला हुनैपर्छ। त्योबाहेकको चाहिं खुलाउनुपर्छ । कुनै कमरेड चौथो महाधिवेशनदेखि केन्द्रीय कमिटीमा अहिले पनि हुनुहुन्छ । अब उहाँहरूलाई हामीले कति दुःख दिइरहने ? पाँचौं महाधिवेशनदेखिका कमरेडहरू केन्द्रीय कमिटीको सदस्य मात्रै भएर आज पनि बस्ने स्थिति छ भने, त्यो चाहिँ निरन्तरता र त्याग हो कि त्यो चाहिँ जाम हो ? त्यो कुरा हामीले खुलाउनुपर्छ।
अर्को कुरा, अहिले नेकपा एमालेमा अवसरको वितरणमा अन्तरविरोध छ । पदले पद आकर्षण गर्ने अभ्यास अहिले हाम्रोमा बढी बनेको छ । जस्तो: म स्थायी कमिटी सदस्य भएँ, म पदाधिकारी भएँ भने मेरो सांसदको टिकट, मेरो भोलि जिते भने मन्त्री पद पक्का हुन्छ भन्ने मानसिकताले काम गरेको छ।
पार्टी काम र राजकीय कामलाई हामीले बराबर महत्व दिने, पार्टी काम र राजकीय काममा चाहिं शक्ति विन्यास गर्ने कुरालाई पनि हामीले अब आफ्नो एजेन्डा बनाउनुपर्छ। एउटा मानिसलाई कति चोटी सांसद मन्त्री बनाउने अथवा कति चोटी नै प्रधानमन्त्री बनाउने ? एउटा मानिसलाई कति चोटी केन्द्रीय कमिटीको सदस्य, पोलिटब्युरो, स्थायी कमिटीरपदाधिकारी बनाउने भन्ने कुरामा हामीले एउटा मापदण्ड बनाएनौंभने यो पार्टीमा चाहिं जाम खुल्दैन । यो जुन जाम भएको छ, यो जामलाई हामीले खुलाउनुपर्छ।
तपाईंले जाम खुलाउने कुरा गर्नुभयो तर यहाँ त जाम खुलाउने भन्दा पनि नेतृत्वको वरिपरि पुगेर कुनै हस्तक्षेप नगरिकन आफूले पद लिने र त्यो पद प्राप्ति हुन्छ भने नेतृत्वको विरुद्ध प्रश्न नै नउठाउने जस्तो खालको शैली पो विकास भएको देखिन्छ त एमालेमा ?
निरपेक्ष रूपमा त्यस्तो भएको भए अहिले जो कमरेडहरूले हामी चुनाव लड्छौं भन्नुभएको छ, उहाँहरूले पनि चुनाव लड्नुहुन्थेन होला। निरपेक्ष रूपमा त त्यो होइन। प्रवृत्तिगत ढंगले तपाईंले भनेको कुरा एमालेमा अलिकति बढी छ । रिझाएर नेतृत्वमा जाने, बिझाएर होइन, रिझाएर नेतृत्वमा जाने भन्ने चाहिँ मानसिकता देख्छु म दोस्रो तहका नेताहरूमा।
त्यो भनेर नेतृत्वलाई असहयोग गर्नुपर्छ, नेतृत्वलाई चाहिं असफल पार्न लाग्नुपर्छ भनेको होइन। मूल नेतृत्व जो हुन्छ, पाँच वर्ष त्यसको नेतृत्वमा हामी पूर्ण रूपमा एक मन, एक लयका साथ होमिनुपर्छ।
साथसाथै पार्टीमा नेताहरू भएपछिएउटा आफ्नो पहिचान पनि स्थापित गर्नुपर्छ र आफ्नो योग्यता पनि स्थापित गर्नुपर्छ। कार्यकर्ताले आज दोस्रो तहका नेताबाट योग्यता स्थापित भएको हेर्न चाहेका छन्।
प्रतिक्रिया 4