१९ मंसिर, सुर्खेत । नेकपा एमालेको केन्द्रीय नेतृत्व चयन गर्ने महाधिवेशनका लागि कर्णालीबाट प्रतिनिधि चयन टुंगिएको छ।
४७ हजार संगठित सदस्य रहेको कर्णालीबाट ११३ जना प्रतिनिधि चयन भएका छन् । तर प्रतिनिधि चयनमा अपनाइएको शैली र छनोट भएका पात्रहरुलाई लिएर अहिले असन्तुष्टि बढ्दो छ । प्रतिनिधि छनोट गर्दा विधि र पद्धति मिचेर ‘गोजीका मान्छे’ छानिएको, सर्वसम्मतिको नाममा आन्तरिक प्रतिस्पर्धामा रोक लगाएको र पार्टीभित्रको फरक समूहलाई निषेध गरिएको आरोप उनीहरुले लगाएका छन् ।
‘जेनजी विद्रोहपछि अहिले परिस्थिति फेरिएको छ । ढाइ महिनापछि हुँदै गरेको निर्वाचनको संघारमा सङ्गठनलाई छियाछिया बनाइएको छ । यसले कस्तो परिणाम आउँछ भन्न सकिँदैन,’ एमाले केन्द्रीय सदस्य ठम्मर विष्टले अनलाइनखबरसँग भने, ‘परिवार र गुट भन्दा माथि उठ्न सकेको देखिएन ।’
प्रतिनिधि छनोटमा गरिएको मनपरीले एमाले कर्णालीलाई पुन: ०७९ तिर धकेलेको विष्टको बुझाइ छ । ‘०७९ मा हामीले कर्णालीबाट प्रतिनिधि सभामा एउटा सिट पनि जित्न सकेनौँ’, उनले भने, ‘हामीले भोटर नभएर हारेको हैन । पार्टीभित्रको परिवारवाद र गुटको राजनीतिले हारेका थियौँ । त्यही प्रवृत्ति दोहोरिँदैछ ।’
एमाले–१, का इन्चार्ज विष्टले आफ्नो क्षेत्रको प्रतिनिधि छनोट प्रक्रियामा ‘नोट अफ डिसेन्ट’ नै लेखेका छन् । छनोट समितिको संयोजक हुँदाहुँदै आफूलाई नै बाइपास गरेर प्रतिनिधि छनोट गरिएको उनको आरोप छ ।
छनोट भएका अधिकांश प्रतिनिधिहरू स्थायी कमिटी सदस्य तथा कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल निकट छन् । ‘महाधिवेशनको सर्वोच्चतालाई लत्त्याएर प्रतिनिधिहरूको सार्वभौम अधिकार अपहरण गरिएको छ,’ विष्टले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

विष्टले छनोट भएका व्यक्तिहरूप्रति भन्दा पनि छनोटको प्रक्रियाप्रति विमति राखेको बताएका छन् । उनले नेता कँडेल नै पार्टीलाई एकताबद्ध बनाउनुको साटो छिन्नभिन्न बनाउन उद्धत रहेको गम्भीर आरोप समेत लगाएका छन् । यसबारे पार्टी केन्द्रमा औपचारिक रिपोर्टिङ गर्ने विष्टले बताए ।
भ्रष्टाचार आरोपीदेखि फ्लोर क्रस गर्नेसम्म
डोल्पाबाट ८ जना प्रतिनिधि छानिएका छन् । प्रतिनिधि छनोट भएका नन्दसिंह बुढा कर्णाली प्रदेश सरकारका पूर्व मन्त्री हुन् । कहिले फ्लोर क्रस त कहिले भ्रष्टाचार मुद्दाले चर्चामा आइरहने बुढा प्रदेशको राजनीतिमा विवादास्पद पात्र हुन् ।
बुढामाथि ‘नक्कली विद्यालय’ खडा गरी भ्रष्टाचार गरेको आरोप छ । गत असारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित चार जनाविरुद्ध मुद्दा दायर गरेको थियो । राजनीतिक स्वार्थका लागि पार्टी र गुट परिवर्तन गरिरहने बुढा पछिल्लो समय ओली समूहमै फर्किएका छन् ।
सुरुमा एमालेमा ओली समूहमा रहेका उनी पछि एमाले विभाजन हुँदा माधव नेपालको पार्टी नेकपा एकीकृत समाजवादीमा आबद्ध भए । एमालेमै हुँदा उनले माओवादीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई जोगाउन ‘फ्लोर क्रस’ गरे । र, आफ्नो मन्त्री पद ६ महिना लम्बाए ।
तत्कालीन एमाले संसदीय दलका नेता यामलाल कँडेलले ‘फ्लोर क्रस’ गर्नेहरूले राजनीतिक अपराध गरेको बताउँदै आएका थिए । गत २०७९ को चुनाव अघि एकीकृत समाजवादी त्यागेर पुन: एमालेमै फर्किए ।

कँडेलले राजनीतिक अपराधी भनेका तीनै नन्दसिंह अहिले कँडेलकै गुटबाट प्रतिनिधि प्रतिनिधिमा छनोट भएका छन् । २०७४ मा डोल्पा (क) बाट प्रदेश सभामा निर्वाचित भएका उनलाई कँडेलले नै प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनाएका थिए ।
नन्दसिंह सँगै ‘फ्लोर क्रस’ गरेका अर्का विवादास्पद पात्र हुन्, कालिकोटका कूर्मराज शाही । शाहीले पनि महेन्द्र शाही नेतृत्वको प्रदेश सरकारलाई बचाउन ‘फ्लोर क्रस’ गरेका थिए । पछि नेकपा एकीकृत समाजवादी गएका उनी ०७९ को चुनाव अधि पुन: एमालेमै फर्किए ।
प्रदेश सरकारका पूर्व मन्त्री समेत रहेका शाही पनि कालिकोटबाट खुलातर्फ महाधिवेशन प्रतिनिधि छनोट भएका छन् । जिल्लाबाट शाही लगायत ९ जना प्रतिनिधि छनोट हुँदा अर्को पक्षले चर्को असन्तुष्टि जनाउँदै नेतृत्वको कार्यशैलीप्रति आक्रोश पोखिरहेका छन् ।
प्रतिनिधि छनोटमा सबैभन्दा चर्चा र विवादको विषय तिनै पूर्व मन्त्री कूर्मराज बनेका छन् । पार्टीको निर्णय विपरीत जाने नेतालाई सम्मानसहित प्रतिनिधि बनाइएको तर लामो समय योगदान गरेका युवा नेतालाई पाखा लगाइएको भन्दै कार्यकर्ता पङ्क्तिमा असन्तुष्टि चुलिएको देखिन्छ ।

युवा नेताहरूलाई सुनियोजित रूपमा निषेध गरिएको भन्दै कालिकोटको सान्नी त्रिवेणी गाउँपालिकाकी उपाध्यक्ष समेत रहेकी एमाले प्रदेश कमिटी सदस्य पार्वती सिंहले नेताहरूले ‘निषेधको पर्खाल’ लगाएको आरोप लगाएकी छिन् । नेतृत्वले छलफल नै नगरी एकतर्फी रूपमा प्रतिनिधि घोषणा गरेको उनको आरोप छ ।
‘आम कार्यकर्ताको भावना बिपरीत भागाभाग गरेर सामाजिक सञ्जाल मार्फत प्रतिनिधिको लिस्ट पेस गरियो । यो प्रवृत्तिले जिल्लाको हाम्रो पार्टी कसरी बलियो हुन्छ ? चिन्ता यही विषयको हो !’ सिंहले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन् ।
०६१ सालदेखि अनेरास्ववियुको राजनीतिबाट पार्टीमा सक्रिय सिंहले आफ्नो दुई दशक लामो राजनीतिक लगानीलाई नेतृत्वले अवसर मात्रै देख्ने आँखाले हेरेको गुनासो गरिन् ।
प्रदेश अध्यक्षकै जिल्लामा विवाद
महाधिवेशन प्रतिनिधि छनोटको विषयलाई लिएर एमाले कर्णाली प्रदेश अध्यक्ष गुलावजंग शाहकै जिल्लामा विवाद चुलिएको छ । एमालेकै अर्को समूहले विधि र प्रक्रिया मिचेर होटेलको बन्द कोठाबाट एकलौटी ढङ्गले प्रतिनिधि छनोट गरेको आरोप लगाएको छ ।
अध्यक्ष शाहले नै गृह जिल्लामा आफू निकट व्यक्तिहरूलाई मात्रै अगाडी सारेको केही सङ्गठित सदस्यहरूको आरोप छ । यसअघि पार्टीको जिल्लाको अधिवेशनमा भीमबहादुर सेनको विरुद्ध लडेकाहरूलाई प्रतिनिधि छनोटको छलफलमै समावेश नगरेको उनीहरूले बताएका छन् ।
सदरमुकामको एक होटेलको बन्द कोठामा बसेर एकलौटी रूपमा तयार पारेको प्रतिनिधिको सूचीले चार हजार सङ्गठित सदस्यहरूको अधिकार कुण्ठित गरेको एमाले सल्यानका सङ्गठित सदस्य घनश्याम पुन बताए । पुनले एक प्रेस विज्ञप्ति जारी गर्दै नेतृत्वको कार्यशैलीलाई ‘सङ्गठन र कार्यकर्तामाथिको खुला हमला’ भनेका छन् ।
‘कुनै विधि र मापदण्डविना पदाधिकारीको तोक आदेशका भरमा डमी निर्वाचन समिति बनाएर फर्जी कागजात तयार पारी प्रतिनिधि छनोट गरिनु लोकतन्त्रको उपहास हो’ पुनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पारदर्शिता, समय सीमा र केन्द्रीय निर्देशनको उल्लङ्घन गर्ने यस्तो कार्य स्वीकार्य छैन ।’
केन्द्रीय सङ्गठन विभागले ११ औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्न स्पष्ट पाँच बुँदे निर्देशन दिएको छ । तर सल्यानमा भने कुनै सूचना, भेला वा बैठक नै नगरी गुपचुप रूपमा प्रतिनिधि चयन गरेको आरोप लागेको छ ।
सङ्गठित सदस्य पुनले उक्त छनोट प्रक्रिया अवैध भएकाले रद्द गर्न समेत माग गरेका छन् । केन्द्रीय निर्देशनअनुसार मतदाता–सूची प्रकाशित गरी कार्यकर्ताको सहभागितासहित पुन: निर्वाचन प्रक्रिया सञ्चालन गर्नुपर्ने, सङ्गठन विरोधी गोप्य सौदाबाजीमा संलग्नहरूलाई पार्टी विधानअनुसार कडा कारबाही गर्नुपर्ने उनको माग छ ।
एमाले सल्यानले शनिबार ८ जना महाधिवेशन प्रतिनिधिको नाम सर्वसम्मत चयन गरेको थियो । जसमा जिल्ला कमिटी अध्यक्ष भीमबहादुर सेन, उपाध्यक्ष ओजबहादुर बुढाथोकी, सचिव पुष्पाकुमारी बुढाथोकी र उपसचिव गणेशमान सिंह नै प्रतिनिधि छनोट भएका छन् ।
दैलेखमा गुटकै लडाइँ, विभाजित बन्दै कार्यकर्ता
दैलेखमा एमालेका नेताहरूको बाहुल्यता छ । एक पोलिट ब्युरो सदस्य सहित ६ जना केन्द्रीय सदस्य दैलेखबाटै छन् । यी सबै केन्द्रमा ओली समूहकै भए पनि प्रदेशमा भने स्थायी कमिटी सदस्यद्वय यामलाल कँडेल र गोरख बोगटी समूहमा विभाजित छन् ।
पोलिटब्यूरो सदस्य लक्ष्मी पोखरेल, केन्द्रीय सदस्यहरू विष्णु रिजाल, धर्मराज रेग्मी, राजबहादुर बुढा, विनोद कुमार शाह, मिना सिंह रखाल र सूर्यकुमारी श्रेष्ठ छन् । जिल्लामा विष्णु र विनोद बोगटी समूहका नेताको रूपमा चिनिन्छन् । अरू सबै कँडेल निकट नेताहरू हुन् ।
यति धेरै नेताहरू भएको दैलेखमा २० जना प्रतिनिधि छान्न भने तीन दिन लाग्यो । सर्वसम्मत प्रतिनिधि छनोट गरिएको भनिए पनि आन्तरिक रूपमा भने नेता–कार्यकर्तामा ठुलो असन्तुष्टि रहेको एक नेताले बताए । ‘तीन दिन ठुलै रस्साकस्सी चल्यो । अन्तिममा जिल्ला इन्चार्ज लक्ष्मी कमरेडले केन्द्रको निर्देशन भन्दै आफ्नै निर्णय लाद्नु भयो,’ एक जिल्ला कमिटी सदस्यले भने, ‘भित्र चर्को असन्तुष्टि छ । केन्द्रको निर्देशन भनेपछि नेताहरूलाई विरोध गर्ने छुट छैन । तर असन्तुष्टि चर्को छ ।’
दुई निर्वाचन क्षेत्र रहेको दैलेखमा क्षेत्र नम्बर १ मा प्रदेश उपसचिव तथा पूर्व जिल्ला अध्यक्ष रवीन्द्रराज शर्माको दबदबा रहेको नेताहरू बताउँछन् । क्षेत्र नम्बर २ मा जिल्ला इन्चार्ज समेत रहेका पोलिट ब्युरो सदस्य पोखरेल हाबी भएको देखिन्छ ।
क्षेत्र नम्बर १ बाट प्रदेश उपसचिव शर्मा, जिल्ला समन्वय समितिका पूर्वप्रमुख प्रेमबहादुर थापा, नैनसिंह खत्री र हिमालयजंग शाह चयन हुँदै गर्दा केही पाका नेताहरू भने छुटेका छन् । सुर्खेतमा निजी विद्यालय सञ्चालन गर्दै आएका खत्रीको पार्टीमा खासै योगदान छैन । तर शर्माले जिल्लामा दु:ख गरेका नेताहरूलाई पाखा लगाउँदै उनलाई प्रतिनिधि बनाएको आरोप छ ।
खत्री प्रतिनिधि छानिँदै गर्दा आकाङ्क्षी रहेका नारायण नगरपालिकाका मेयर लोमन शर्मा, पूर्व मेयर रत्न खड्का, मीनबहादुर बुढा, गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसी पन्छाइए । शर्माले भूगोलमै नबसेका नैनसिंह खत्रीलाई च्यापेको आरोप छ ।
क्षेत्र नम्बर २ को प्रतिनिधि छनोटको राजनीति झनै पेचिलो बन्यो । यहाँ जिल्ला इन्चार्ज पोखरेल, केन्द्रीय सदस्य रिजाल, शाह र बुढाबिच आ–आफ्ना निकटलाई प्रतिनिधि छान्न तँछाडमछाड नै भयो । ८ जना प्रतिनिधि छनोटका लागि ५९ जना आकाङ्क्षी थिए ।
यो क्षेत्रमा विशेष गरी महिला र युवातर्फको प्रतिनिधि छनोटमा ठुलो विवाद चल्यो । विनोद शाहले आफ्नी पत्नी लक्ष्मी शाहलाई महिला तर्फ प्रतिनिधि बनाउन चाहन्थे । तर जिल्ला इन्चार्ज पोखरेलले आफ्नै गृह नगर दुल्लुकी विष्णु थापालाई प्रतिनिधि बनाए । युवा प्रतिनिधि छनोटमा पनि ठुलो विवाद पछि पोखरेल निकट सुशील थापा चयन भएका छन् ।
उपेक्षामा युवा, पुरानैको दबदबा
एमालेले नव युवाहरूलाई पार्टीमा प्राथमिकता दिन महाधिवेशन प्रतिनिधि छनोट गर्दा एक निर्वाचन क्षेत्र एक युवा अनिवार्य गरेको छ । ४० वर्ष मुनिका युवाहरूको सहभागिता सुनिश्चित गरे पनि कर्णालीमा भने त्यसको व्यापक दुरुपयोग भएको युवासंघ कर्णाली प्रदेशका अध्यक्ष जीवन शाही बताउँछन् ।

‘पार्टीले युवा सहभागिता सुनिश्चित गरे पनि त्यसको व्यावहारिक प्रयोग हुन् सकेन । जानुपर्ने फ्रेस युवा थियो । तर पटक पटक पार्टीको लाभ लिएकाहरू नै छनोटमा परे’ अध्यक्ष शाहीले अनलाइनखबरसँग भने, ‘उनीहरू प्राविधिक रूपमा हेर्दा ४० मुनिका युवा नै हुन् । तर व्यवहारिक रूपमा हेर्दा उपयुक्त पात्र होइनन् ।’
डोल्पामा मात्र एमाले जिल्ला अध्यक्ष नै ४० मुनिको कोटाबाट प्रतिनिधिका रूपमा छनोट भएका छन् । उनका अनुसार कर्णालीमा युवाको कोटाबाट छनोट भएकाहरू यसअघि नै परीक्षण भइसकेका, लामो समयदेखि पार्टी राजनीतिमा सक्रिय रहेका र नेताहरूकै आसेपासेहरू हुन् । ‘एकाध बाहेक सबैजसो युवा कोटाबाट आएकाहरू नेताहरूका आफन्त र आसेपासे हुनुहुन्छ,’ अध्यक्ष शाहीले भने ।
दैलेख २ बाट ४० वर्ष मुनिको क्लस्टरबाट सुशील कुमार थापा छनोट भएका छन् । थापा ०७४ मै एमालेबाट कर्णाली प्रदेश सभाका सांसद भइसकेका व्यक्ति हुन् । उनी पार्टीकै प्रदेश कमिटीमा छन् । दैलेख क्षेत्र नम्बर १ बाट युवातर्फ छानिएका जनकप्रसाद न्यौपाने नारायण नगरपालिका ६ का वडाध्यक्ष हुन् ।
जबकि यी दुई निर्वाचन क्षेत्रमा ४० भन्दा बढी फ्रेस युवाहरू महाधिवेशन प्रतिनिधिको दाबेदार थिए । ‘हामी जस्तो युवाहरूले अवसर पाउन पहिला गुट मिल्नु पर्छ, भूगोल, जात, परिवार मिल्नुपर्छ,’ महाधिवेशन प्रतिनिधिका एक दाबेदार युवा भन्छन् ।
सल्यानमा पार्टी जिल्ला पदाधिकारी र जुम्लामा पूर्व वडाध्यक्षलाई नै युवा प्रतिनिधि बनाइएको छ । रुकुम पश्चिममा भने युवातर्फ प्रकाश खड्का चुनावबाटै निर्वाचित भएर आएका युवा हुन् । उनी विद्यार्थी नेता हुन् । अन्य क्लस्टरमा समेत युवाहरूलाई उपेक्षा गरिएको भन्दै कर्णालीमा युवाहरूले विरोध गरिरहेका छन् ।
युवाको भावनालाई आत्मसात् गर्न नसक्ने हो भने पार्टी अझ ठुलो दुर्घटना हुने युवा नेताहरूको चेतावनी छ । अझ भनौँ जेनजी समूहका त कुनै पनि युवा प्रतिनिधि छनोटमा पर्न सकेका छैनन् ।
प्रदेशका १० जिल्लामा १२ वटा निर्वाचन क्षेत्र छन् । १२ वटा निर्वाचन क्षेत्रबाट १२ जना र प्रदेश जिफन्टबाट एक युवा सहित १३ जना युवा महाधिवेशन प्रतिनिधिमा छनोट भएका छन् ।
यो प्रदेशबाट १८ जना दलित, ३३ जना महिला र ४९ जना खुल्ला तथा अन्यबाट प्रतिनिधि छनोट भएको एमाले प्रदेश अध्यक्ष गुलावजंग शाहले जानकारी दिए ।
मजदुर सङ्गठन जिफन्टबाट सात जना, प्रदेश पार्टी कमिटीबाट पाँच प्रतिनिधि छनोट भएका छन् । जिल्लागत प्रतिनिधिहरूमा सुर्खेत २१, दैलेख २०, सल्यान ८, रुकुम पश्चिम ६, जाजरकोट १२, डोल्पा ८, कालिकोट ८, जुम्ला, हुम्ला र मुगुबाट ६/६ जना प्रतिनिधि छनोट हुनेछन् ।
प्रतिक्रिया 4