+
+
Shares
एमालेमा पुस्तान्तरण बहस :

पुरानै नेता पदीय भर्‍याङ चढ्न खोज्दै, कसरी पाउँछन् नयाँले पालो ?

यसपटक पदाधिकारीमै रहेका सबैले फेरि दोहोरिने वा अहिलेको भन्दा माथिल्लो तहमा उक्लिने कोसिस गरिरहेका छन् । पटक-पटक स्थायी कमिटी,पोलिटब्यूरो र केन्द्रीय कमिटीको सदस्य भएकाहरू नै यसपटक पनि केन्द्रीय कमिटीमै बस्ने कोसिस गरिरहेका छन्

सन्त गाहा मगर सन्त गाहा मगर
२०८२ मंसिर १८ गते २२:२९
Listen News
0:00
0:30
🔊

मंसिर १८, काठमाडौं । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले आफ्नो पार्टी जेनजी पुस्ताको ‘रियल लिडर’ भएको बताए । एमाले कहिल्यै जेनजीको मागका विरुद्ध नजाने पौडेलको भनाइ थियो ।

तर जेनजी उमेर समूहकालाई आसन्न एघारौं महाधिवेशनबाट एमालेको केन्द्रीय कमिटीमा पुग्न सहज देखिँदैन । एमाले विधान अनुसार पार्टी सदस्य बन्न कम्तीमा १८ वर्ष उमेर पूरा भएको हुनुपर्दछ । सदस्य बनेपछि कम्तीमा १० वर्ष पार्टीमा काम गरेकाले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिन पाउँछ ।

महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुँदैमा केन्द्रीय कमिटी सदस्यमा उठ्ने योग्यता पुग्दैन । त्यसका लागि कम्तीमा केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश कमिटी, केन्द्रीय विभागको सदस्य वा जिल्ला कमिटीको पदाधिकारी र जनसंगठनको केन्द्रीय पदाधिकारी भएर एक कार्यकाल काम गरेको हुनुपर्दछ ।

त्यो भन्दामाथि पोलिटब्यूरो कमिटी, स्थायी कमिटी र केन्द्रीय कमिटीको पदाधिकारी बन्न केन्द्रीय कमिटीमा एक कार्यकाल काम गरिसकेको हुनुपर्दछ ।

एमाले केन्द्रीय सदस्य हेमराज राई दलको नेतृत्वमा पुग्न जोस–जाँगरसँगै अनुभवको पनि खाँचो पर्ने बताउँछन् । उनी भन्छन्, ‘दर्शन, सिद्धान्त, समाज र पार्टीको इतिहास बुझेकै व्यक्ति नेतृत्वमा देखापर्नुपर्दछ भन्ने कम्युनिस्ट पार्टीको मान्यता हुन्छ ।’

महाधिवेशनमा युवाको प्रतिनिधित्व सुनिश्चित गर्न एमालेले प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट हरेक चार मध्ये एक जना ४० वर्षभन्दा कम उमेरका हुनै पर्ने व्यवस्था गरेको छ । तर यस्तो प्रावधान पनि जेनजीलाई नेतृत्वमा पुर्‍याउन पर्याप्त देखिँदैन । माथिल्लो पदमा एउटै व्यक्ति दोहोरिने र लामो प्रक्रियाबाट गुज्रनु पर्ने प्रावधानले गर्दा नयाँले अवसर पाउन कठिन हुने गरेको एमाले नेता–कार्यकर्ताको गुनासो छ ।

यसपटक पदाधिकारीमै रहेका सबैले फेरि दोहोरिने वा अहिलेको भन्दा माथिल्लो तहमा उक्लिने कोसिस गरिरहेका छन् । पटक-पटक स्थायी कमिटी,पोलिटब्यूरो र केन्द्रीय कमिटीको सदस्य भएकाहरू नै यसपटक पनि केन्द्रीय कमिटीमै बस्ने कोसिस गरिरहेका छन्

दशौं महाधिवेशनपछि बनेको वर्तमान केन्द्रीय पदाधिकारीमा अध्यक्ष लगायत पुरानै अनुहार दोहोरिएका छन् । नवौं महाधिवेशनबाट निर्वाचित १२ मध्ये ९ जना दशौं महाधिवेशनमा पदाधिकारीमै दोहोरिए । नदोहोरिएका पदाधिकारीमध्ये उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भुसाल एमालेमा छैनन् भने सचिव भीम आचार्य स्थायी कमिटी सदस्य छन् ।

२०७१ सालमा सम्पन्न नवौं महाधिवेशनबाट माधवकुमार नेपाललाई पराजित गरेर अध्यक्ष बनेका केपी शर्मा ओली चितवन महाधिवेशनबाट अध्यक्षमा दोहोरिए । उनी तेस्रो पटक नेतृत्व लिने तयारी छन् । यसका लागि ७० वर्षे प्रावधान र एउटा पदमा दुई पटक भन्दा बढी बस्न नपाउने प्रावधान विधानबाट हटाइसकिएको छ ।

अध्यक्षमा उम्मेदवारी घोषणा गरेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आठौं र नवौं महाधिवेशनबाट महासचिव बनेका थिए । २०३३ सालमा कोअर्डिनेसन केन्द्रको केन्द्रीय कमिटी सदस्य बनेका उनी पछिल्लो पाँच दशकदेखि केन्द्रीय कमिटीका विभिन्न जिम्मेवारीमा छन् ।

अहिलेका उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य नवौं महाधिवेशनमा पनि उपाध्यक्ष नै थिए । आठौं महाधिवेशनमा उपमहासचिव रहेका विष्णु पौडेल, माओवादी केन्द्रसँग एकतापछि बनेको नेकपाका महासचिव थिए । महासचिव शंकर पोखरेल र उपहासचिव विष्णु रिमाल नवौं महाधिवेशनमा उपमहासचिवमा पराजित भएका थिए ।

त्यस्तै, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुरुङ यसअघि सचिव थिए । नवौं महाविधेशनबाट सचिवमा निर्वाचित गोकर्ण विष्ट र योगेश भट्टराई दशौं महाधिवेशनमा त्यही पदमा दोहोरिएका हुन् । माओवादीबाट आएका उपाध्यक्ष रामबहादुर थापा, सचिव लेखराज भट्ट र निलम्बित सचिव टोपबहादुर रायमाझी नेकपा विभाजनपछि एमालेमा बसेका पदाधिकारी हुन् ।

अध्यक्ष ओली पक्षधर नेताहरूले ‘मेरो होइन माटोको बोली, फेरि एकपटक केपी ओली’ भन्न थाले पनि एमालेमा पुस्तान्तरणको बहस जारी छ । तर नेतृत्व परिवर्तन मूल नेतृत्वको मात्र की सबैको भन्नेमा चाहिं नेताहरूका आ-आफ्नै तर्क छन् ।

एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे आफू पहिलादेखि नै नेतृत्व परिवर्तनको पक्षमा रहेको र जेनजी आन्दोलनपछि त्यो अझै अपरिहार्य बनेको बताउँछन् । जुनसुकै पार्टीमा दोस्रो तेस्रो वरीयताका नेता परिवर्तन हुनुले तात्विक फरक नपर्ने पाण्डेको भनाइ छ । उनी भन्छन्, ‘नेतृत्व परिवर्तन भनेकै एक नम्बरको नेता फेरिनु हो ।’

अर्का उपाध्यक्ष गुरु बराल भने राजनीतिमा को कतिपटक कुन पदमा बस्यो भन्नुभन्दा पनि नेतृत्व क्षमतालाई प्रधान मान्नुपर्ने बताउँछन् । ‘राजनीतिमा नेतृत्व दिन सक्दा र संगठनात्मक क्रियाशीलता रहँदासम्म उही नेतृत्वले निरन्तरता पाउनु स्वाभाविक हो,’ बराल भन्छन् ।

पार्टी कमिटीलाई समावेशी बनाउन प्रतिनिधि छनोट होस् वा केन्द्रीय कमिटीको उम्मेदवार विधानमा महिला, दलित, श्रमिक, अल्पसंख्यक, आदिवासी जनजाति र अपाङ्गगता भएकालाई १० को सट्टा ७ वर्षको अनुभवले पुग्ने व्यवस्था गरिएको छ ।

नेतृत्व चयन लोकतान्त्रिक प्रक्रियाबाट हुने भएकाले कुन नेता कति पटक एउटै पदमा दोहोरियो भन्ने कुरा महत्त्वहीन भएको कतिपय नेताहरूको भनाइ छ ।

अर्काथरी नेताहरू भने पटक राजकीय सत्ता र पार्टी सत्तामा बसेकाहरूसँग आम नेता–कार्यकर्तालाई प्रतिस्पर्धा गर्न सहज नहुने बताउँछन् । उनीहरूका अनुसार त्यही भएरै उमेर हद र निश्चित पटकभन्दा बढी दोहोरिन नपाउने प्रावधान चाहिएको हो ।

तर नेताहरूले विधानलाई आफू अनुकूल व्याख्या र संशोधन गर्ने गरेको तथ्य जगजाहेर छ । एमाले केन्द्रीय सदस्य रचना खड्का पार्टी महाधिवेशनलाई समग्र आन्दोलनसँग जोडेर हेर्नुपर्ने बताउँछिन् ।

उनी भन्छिन्, ‘अध्यक्ष को बन्ने भन्ने हिसाबले सोच्नु भनेको पुस्तान्तरणको बहसलाई साँघुरो पार्नु हो । परिवर्तन नीति, नेतृत्व र कार्यशैलीमै खोजेका हौं ।’

लेखक
सन्त गाहा मगर

गाहा मगर अनलाइनखबर डट कमका एसोसिएट एडिटर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?