२२ मंसिर, काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजमा आफ्नो समूहको मुद्दाहरू पनि समेटिनेमा विश्वास व्यक्त गरेका छन् ।
पोखरेलले पार्टीको एघारौं महाधिवेशनबारे आफ्नो समूहको तर्फबाट तयार पारिएको अवधारणापत्र पार्टी केन्द्रीय कार्यालयमा बुझाएपछि यस्तो बताएका हुन् ।
महाधिवेशनमा पार्टीको तर्फबाट प्रस्तुत हुने दस्तावेजमा आफूहरूले बुझाएको अवधारणापत्रका महत्त्वपूर्ण अंशहरू समेटिनेमा विश्वस्त रहेको उनले बताए ।
विधिसम्मत रूपमा पार्टीको नेतृत्व चयन हुनेमा आफूहरू विश्वस्त रहेको उनको भनाइ थियो ।
‘खासगरी पार्टीलाई सामूहिक नेतृत्व अन्तर्गत कसरी चलाउने, पद्धति र विधि अनुसार कसरी चलाउने, नियन्त्रण र सन्तुलनको कुरालाई कसरी अघि बढाउने भन्ने आदि विषयहरूमा केही दृष्टिकोण सहित अवधारणा प्रस्तुत गरेका छौं,’ पोखरेलले भने, ‘त्यो पार्टीको तर्फबाट प्रस्तुत हुने दस्तावेजमा ती आवश्यकीय अंशहरू समेटिउन् भन्ने हाम्रो उद्देश्य हो । यो कुरा पार्टी अध्यक्षज्यूलाई जानकारी गराइसकिएको थियो । अनुकूल परेन । यहीँ केन्द्रीय कार्यालयमा बुझाएका हौं ।’
प्रतिक्रिया 4