१९ मंसिर, काठमाडौ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल बिहीबार गुन्डु पुगेको खबर आमचासोकै विषय बन्यो । उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य र सुरेन्द्र पाण्डे अनि सचिव योगेश भट्टराईलाई साथमा लिएर पोखरेल ओलीको अस्थायी निवास गुन्डु पुगेका थिए ।
एउटै पार्टीका नेताहरूबीचको यो भेटघाट राष्ट्रिय चासोको विषय बन्नुमा भने एमालेभित्र विकसित संघर्ष मूल कारण हो । आगामी साता काठमाडौंमै हुने एघारौं महाधिवेशनबाट तेस्रोपटक अध्यक्ष हुने तयारीमा ओली छन् भने उनलाई रोक्न पोखरेल अघि सरेका छन् ।
त्यसैले ओलीलाई भेट्न पोखरेल गुन्डु पुगेको खबर आम सरोकारको विषय बन्यो । स्रोतका अनुसार पोखरेलसहितका नेताहरूले ओलीसँग महाधिवेशन केन्द्रित कुराकानी गरेका छन् । ‘महाधिवेशनकै विषयमा छलफल भयो, प्रतिनिधि विवाद मिलाउनेबारे कुरा भयो,’ एक शीर्ष नेता भन्छन्, ‘धनकुटा र ओखलढुंगामा प्रतिनिधि चयनको प्रक्रिया फेरि शुरु गर्न भनिएको छ । अरु ठाउँमा पनि विवाद छ । त्यसैबारे कुराकानी भयो ।’
यी दुई जिल्ला सहित खोटाङ, चितवन, दाङ, डोटी र बझाङमा प्रतिनिधि छनोटको विवाद छ । केही जनसंगठनमा पनि विवाद देखिएको छ । नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघको विवाद बढ्दै जाँदा शुक्रबार केन्द्रीय मूख्यालय च्यासलमै कार्यकर्ताबीच कुटाकुट नै भयो ।
ओलीसँगको भेटमा स्वयं पोखरेलको आफ्नै पनि गुनासो थियो । पार्टीको संस्थागत निर्णयबाटै स्थापना गरिएको नीति तथा अनुसन्धान प्रतिष्ठानबाट प्रतिनिधि नल्याइएको, तर भर्खरै खोलिएको नेशनल भोलिन्टेयर फोर्सबाट प्रतिनिधि आउने निर्णयमा संगति नमिलेको कुरा पोखरेलले उठाएका थिए ।
‘प्रतिनिधि चयनको प्रक्रियामा समस्या देखियो, कतिपय निर्णयमा संगति देखिएन,’ ती नेता भन्छन्, ‘नेतृत्व हडप्न जे पनि गर्ने भन्ने हुँदैन, यसबारे अध्यक्षसँग कुरा राखिएको छ ।’
यिनै विषयका कारण ईश्वर पोखरेल सहितका नेताहरू गुन्डु पुग्नु एमाले पंक्तिका निम्ति चासोकै विषय थियो, र बन्यो । किनकि प्रतिनिधि चयनको निर्णयले ओली–पोखरेल, एमाले पंक्ति र मुलुककै भविष्यलाई पनि प्रभाव पार्नेछ ।

अझ ओली र पोखरेलको विगत पृष्ठभूमिले पनि पछिल्ला घटनाक्रमप्रति चासो बढ्दो छ । विशेषगरी गत १४ असार यता पोखरेलले जस्ता प्रश्न ओलीसामु राखे, त्यसले एमाले पंक्ति तरंगित छ ।
एमालेका तत्कालीन महासचिव मदन भण्डारीको जन्मोत्सवको अवसर पारेर १४ असारमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा फर्कने निर्णय गर्दा पोखरेलले सार्वजनिक मञ्चबाटै स्वागत गरेका थिए । सक्रिय राजनीतिमा भण्डारीलाई स्वागत गर्दै पोखरेलले नेतृत्व परिवर्तनको आवाज उठाउनेहरूको कुरा सुन्नुपर्ने बताएका थिए ।
त्यही दिनबाट पोखरेलले ओलीलाई बिदा लिन निरन्तर आग्रह गर्दै आएका छन् । गत १ साउनको सचिवालय बैठकबाट पोखरेलले औपचारिक रुपमै ओलीलाई नेतृत्व हस्तान्तरणको प्रस्ताव राखेका थिए ।
पोखरेलले राखेको प्रस्तावको बदला ओलीले विद्या भण्डारीको सदस्यता नवीकरण नहुने निर्णय सुनाए । पार्टीको विधान संशोधन गरेर आजीवन एमाले अध्यक्ष हुने बाटो खोले ।
तर ओलीको निर्णयबाट न विद्या रोकिइन्, न ईश्वर । बरू थप संगठित हुँदै विद्याको साटो ईश्वर अगाडि बढे । महाधिवेशन प्रतिनिधिको पूर्वसन्ध्यामा पोखरेलले बक्तव्य जारी गर्दै अध्यक्ष पदको उम्मेद्वारी घोषणा गरे ।
मिडियामा अन्तर्वार्ता र फेसबुकमार्फत् वक्तव्य जारी गरेर विद्या भण्डारीले पोखरेललाई समर्थनको सन्देश दिइन् । अहिले ओलीविरुद्ध प्रतिस्पर्धा गर्ने टीम निर्माणकै तयारीमा पोखरेल जुटेका छन् । जसलाई विफल बनाउन ओली सचिवालय सक्रिय छ ।

मिल्दो पृष्ठभूमि
७४ वर्षका ओलीलाई तेस्रोपटक अध्यक्ष बनाउन विधान संशोधन गर्दा नेताहरूले ‘पार्टी एकता र राष्ट्रियता’लाई देखाएका छन् । उनीहरूका अनुसार देश र एमालेलाई बलियो बनाउन अझै ओलीको नेतृत्व आवश्यक छ ।
यही तर्कका आधारमा ओली पक्षमा उभिएका नेताहरूले ईश्वर पोखरललाई पछि हट्न आग्रह गरिरहेका छन् । उनीहरूको अर्को निष्कर्ष छ– गुन्डुमा ओलीले तयार पार्ने सूची अनुमोदन गर्नुको विकल्प छैन ।
तर पोखरेल पक्षका नेताहरूले भने जेनजी आन्दोलनपछि ओलीले नेतृत्वबाट बिदा लिनु नै पार्टी र देशको हितमा रहेको बताइरहेका छन् । सँगै, ईश्वर पोखरेलले एमालेको नेतृत्व गर्नुलाई स्वभाविक मान्नुपर्ने उनीहरूको तर्क छ । कतिपय त पोखरेलको निर्णय असाध्यै ढिलोगरी आएको टिप्पणी गर्छन् ।
पोखरेलको पृष्ठभूमि हेर्दा यस्तो टिप्पणी स्वभाविक पनि लाग्छ । अहिले २८ वर्ष मुनिका जेनजीहरूले देशको राजनीतिक कोर्स बदले जस्तै किशोरवयमै पोखरेलले पञ्चायती सत्ताविरुद्ध नेतृत्वदायी र संघर्षपूर्ण भूमिका निर्वाह गरेका थिए ।
देशको क्रान्ति अगाडि बढाउने भनेर सीपी मैनालीसँग पैदल हिंडेर चीन पुग्दा उनका उमेर २७ वर्ष थियो । झापा विद्रोह र मालेका संस्थापक सीपीसँग पोखरेल चीन जाँदा उनको राजनीतिक हैसियत केन्द्रीय सदस्य थियो ।
२०३२ सालमा गठित कोर्डिनेशन केन्द्रमा पोखरेल एक वर्षपछि नै केन्द्रीय सदस्य भएका थिए । अर्थात् झण्डै पाँच दशकदेखि ईश्वर पोखरेल केन्द्रीय नेताको हैसियतमा छन् ।
पञ्चायती व्यवस्थाको अन्त्य, राजतन्त्रको बिदाइ हुँदै गणतन्त्रसम्मको यात्रामा पोखरेल नेतृत्वदायी भूमिकामै छन् । केन्द्रीय नेतृत्वमा रहेको समय हेर्दा ईश्वर पोखरेल भन्दा केपी ओली जुनियर हुन् ।
२०२८ सालको झापा विद्रोहबाट जेल परेका ओली पञ्चायतको अन्त्यतिर मात्र केन्द्रीय सदस्य मनोनीत गरिएका थिए । ‘जेल बस्दा केपी ओलीले नेताहरूसँग सम्बन्ध बनाएका थिए । त्यसैआधारमा चौथो महाधिवेशनअघि सिधै केन्द्रीय कमिटीमा मनोनीत भए,’ एक पूराना नेता भन्छन्, ‘त्यसबेला मदन भण्डारीको विश्वास जित्नु ओलीको जीन्दगीमा महत्त्वपूर्ण मोड हुन पुग्यो ।’

उनका अनुसार मदन भण्डारीको विश्वास जितेकै कारण ओली प्रजातान्त्रिक राष्ट्रिय संघको संस्थापक अध्यक्ष बन्न पाए । काठमाडौका रैथाने केशव स्थापितलाई महासचिव राखेर ओली अध्यक्ष भएका थिए ।
युवा संघको नेतृत्व पाउँदा ओलीले देशभर युवाहरूबीच फैलिने अवसर पाए । २०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको सरकार बन्दा ओली गृहमन्त्री भए । पहिलो कम्युनिस्ट सरकारमै ओली गृहमन्त्री बन्नुमा युवा संघको नेतृत्व लिएको पृष्ठभूमिले पनि काम गर्यो ।
गृहमन्त्री बन्नुको कारण कारण भने पार्टीभित्रको शक्ति–सन्तुलन नै थियो । ‘चौथो महाधिवेशनमा मदन भण्डारीको विश्वास जितेका केपी ओली मदन भण्डारीको हत्या भएपछि माधव नेपालसँग नजिक हुनुभयो,’ एक नेता भन्छन्, ‘त्यसबेलासम्म संस्थापनको विश्वास जितेर लाभ लिने नीतिमा उहाँ देखिनुभयो ।’
२०५४ सालमा वामदेव गौतमले एमाले विभाजन गर्नुको पछाडि ओली पनि एक कारण रहेको कतिपयको विश्लेषण छ । यद्यपि पार्टी विभाजन रोक्न नसक्नुमा तत्कालीन महासचिव माधव नेपालकै निर्णय क्षमता प्रमुख कारण थियो । सातौ महाधिवेशनपछि चाहिँ केपी ओलीले नेतृत्वविरुद्ध चुनौती दिन थाले । २०५९ सालमा सम्पन्न सातौं राष्ट्रिय महाधिवेशनमा ओलीले पार्टी लोकतान्त्रिकरणको प्रस्ताव ल्याएका थिए ।
मूल नेतृत्वको भूमिका घटाउनेगरी ल्याइएको त्यो प्रस्ताव पारित भएन, फिर्ता भयो । तर महाधिवेशन पछि उनै ओलीलाई संयोजक बनाएर कार्यदल गठन भयो । कार्यदलको सिफारिस बमोजिम आठौं महाधिवेशन पछि एमाले बहुपदमा गयो ।
यो महाधिवेशनपछि भने ओली बिस्तारै माधवबाटै किनारामा परे । ओली निकट नेताहरू त्यसबेला माधव नेपाललाई प्रदीप नेपाल र ईश्वर पोखरेलले सहयोग गर्थे । प्रदीप र ईश्वरको साथ पाएरै माधवले ओलीलाई पेल्ने गरेको गुनासो उनीहरूले गर्दै आएका छन् ।
‘ईश्वर पोखरेल सचिवालयको सचिव, संगठन विभगको प्रमुख अमृत बोहोरा र प्रचार विभाग प्रमुख प्रदीप नेपाल,’ ओली निकट अर्का एक नेता भन्छन्, ‘उनीहरू मिलेर पार्टी चलाउँथे, केपी ओलीलाई नजिक जान पनि दिँदैनथिए ।’
२०६५ सालमा सम्पन्न आठौं राष्ट्रिय महाधिवेशनमा झलनाथ खनालसँग ओलीले प्रतिस्पर्धा गरे, तर जित्न सकेन । ओलीलाई माधव नेपालले खुलेर समर्थन गरेनन्, तर वामदेव गौतम र ईश्वर पोखरेल खनालको टीममै बसे । यो महाधिबेशनसम्म आइपुग्दा राष्ट्रिय राजनीति र पार्टी निर्णयहरूमा ओली–पोखरेलबीच एकप्रकारको दुरी बनिसकेको थियो ।
किनभने ओलीले संस्थापनलाई चुनौती दिन थालेको धेरै वर्ष भइसकेको थियो भने पोखरेल सदाबहार संस्थापनसँग रहे । खनालको टीमबाट महासचिव जितेका पोखरेलले संस्थापन रोज्नु एकप्रकारले उनको परिचय नै हो ।
कोके, माले, एमाले हुँदै अहिलेसम्म पोखरेल संस्थापन कित्तामै छन् । सीपी मैनाली (२०३७ सालसम्म), झलनाथ खनाल (२०३७–२०४६), मदन भण्डारी (२०४६–२०५०) , माधव नेपाल (२०५०–२०६४), झलनाथ खनाल (२०६४–०७१) र केपी ओली (२०७१ सालपछि) भएर पार्टी नेतृत्व चल्दा सधै ईश्वर पोखरेल संस्थापन भए ।
अर्थात् ओली संस्थापनतिर लाग्दा पोखरेलसँग सहकार्य भयो, ओली इतरतिर उभिँदा पोखरेलसँग संघर्ष गर्नुपर्यो । ओलीसँग पछिल्लो सहकार्यको थालनी भने २०६६ सालमा प्रचण्ड सरकार ढलेसँगै शुरु भएको निकटस्थहरू बताउँछन् ।
तत्कालीन प्रधानसेनापतिलाई हटाउने प्रचण्डको निर्णयलाई झलनाथ खनालले साथ दिएपछि ईश्वर पोखरेलले विस्तारै कित्ता परिवर्तन थालेका थिए । यद्यपि नवौं महाधिवेशनको अन्तिम समयमा मात्र उनी ओलीको पक्ष प्रष्ट खुले, र ओलीकै प्यानलकै महासचिव बनेर महाधिवेशनमा प्रतिस्पर्धा गरे ।
अपमान अनि संघर्ष
नवौं महाधिवेशनमा ओलीलाई अध्यक्षमा समर्थन जनाउँदा ईश्वर पोखरेलले दशौं महाधिवेशनबाट पार्टीको नेतृत्व लिने बचन पाएका थिए । त्यसैबेला वामदेव गौतमले प्रधानमन्त्रीको आश्वासन पाएका थिए ।
विद्यादेवी भण्डारी, प्रदीप नेपाल र सुवास नेम्वाङहरूको साथ ओलीलाई पहिलेबाटै थियो । वामदेव र ईश्वरले पनि कित्ता फेरेर समर्थन जनाउँदा ओलीले अध्यक्ष जिते पनि ।
तर अध्यक्ष जितेपछि ओलीले महाधिवेशन अघि गरेका सबै वचन बिर्सिए । जसरी पनि प्रधानमन्त्री हुने विकल्पहरूमा दौडिए । माओवादीको कहिले समर्थन लिएर र कहिले पार्टी एकता नै गरेर ओली प्रधानमन्त्री भए ।
२०७४ सालको चुनावमा माओवादीसँग गठबन्धन र लगत्तै पार्टी एकताको निर्णय गरे । आलोपालो प्रधानमन्त्री र दुई अध्यक्षको सहमति अनुसार ओलीले एमालेलाई माओवादीमा मिसाएका थिए । जब प्रधानमन्त्रीमा आलोपालोका सहमति सार्वजनिक भयो, त्यसपछि नेकपालाई विघटनमा लैजाने परिस्थिति सिर्जना गरियो ।

२०७७ सालमा नेकपाको विघटन भयो, एमाले फुट्यो । माधव नेपाल र झलनाथ खनालहरूले पार्टी फुटाएको केही महिना पछि दशौं महाधिवेशन भयो । पूर्व सहमति बमोजिम ईश्वरलाई ओलीले नेतृत्व हस्तान्तरण गरेनन् ।
२०७८ मंसिरमा सम्पन्न दशौं महाधिवेशनमा ओलीले आफू सहित पदाधिकारी र केन्द्रीय सदस्यहरूको सूची बन्दसत्र हलमा पढेर सुनाएका थिए । दशौं महाधिवेशन अघि ईश्वर पोखरेलले अध्यक्ष बन्नेगरी अगाडि बढ्ने संकेत पनि गरेका थिए । तर पार्टी संकटमा रहेको विशेष परिस्थिति देखाउँदै दुर्ईपटक महासचिव भइसकेका ईश्वर पोखरेललाई वरिष्ठ उपाध्यक्ष बन्न भनियो । उनी वरिष्ठ उपाध्यक्ष बने ।
पोखरेलले सार्वजनिक रुपमा नभनेपनि ओलीको शैलीप्रति खुलेर प्रशन्नता देखाएनन् । दशौं महाधिवेशन पछिका गतिविधि र अभिव्यक्तिहरूबाट त्यो बुझ्न सकिन्छ । तत्कालीन नेकपाकालमा त पोखरेलको हुर्मत नै लिने काम भयो ।
माओवादीसँग एकता गर्दा पोखरेलले महासचिव पद नै गुमाएका थिए । महासचिव पोखरेललाई सचिवालय सदस्यमा सीमित गरेर विष्णु पौडेललाई महासचिव बनाइएको थियो । २०७४ सालको चुनावपछि ओली नेतृत्वमा बनेको सरकारमै पनि ईश्वर पोखरेलको सम्मान हुनेगरी भूमिका दिइएको थिएन ।
यिनै घटनाक्रममा पूर्वराष्ट्रपति विद्या भण्डारीले नेतृत्व परिवर्तनको एजेण्डा अगाडि बढाउँदा पोखरेलले खुलेर साथ दिए । नेतृत्व नछोड्ने आकांक्षामा ओलीले भण्डारीसँगको लामो मित्रतालाई तोडे । जसकारण ओलीसँगै पोखरेलले प्रतिस्पर्धा गर्नुपर्ने परिस्थिति सिर्जना भएको छ ।
प्रतिक्रिया 4