News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेको महाधिवेशन मंसिर २७ गतेबाट हुँदैछ र वरिष्ठ नेता ईश्वर पोखरेल अध्यक्ष पदका लागि प्रतिस्पर्धामा उत्रिएका छन्।
- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको समर्थनमा पोखरेलले एमाले नेतृत्वमा प्रतिस्पर्धा गर्ने तयारी गरेका छन्, जबकि अध्यक्ष केपी शर्मा ओली पुनः उम्मेदवार छन्।
- पोखरेलले महाधिवेशनमा प्रतिस्पर्धा स्वस्थ र लोकतान्त्रिक रूपमा हुनुपर्ने र पार्टीमा गुटबन्दी र अस्वस्थ प्रतिस्पर्धा रोक्नुपर्ने बताउँछन्।
एमालेको नेतृत्व चयनका लागि मंसिर २७ गतेबाट महाधिवेशन हुँदैछ । जेनजी आन्दोलनबाट सत्ताच्यूत भएको दलभित्र नेतृत्व परिवर्तनको माग तीब्र छ । तर अध्यक्ष केपी शर्मा ओली नै तेहेरिन खोजेपछि वरिष्ठ नेता ईश्वर पोखरेलले प्रतिस्पर्धामा उत्रिने घोषणा गरेका छन् ।
एमालेले सदस्यता नै नवीकरण नगरिदिएपछि बाहिरै रहेको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी समेतको समर्थनमा पोखरेल मैदानमा उत्रिएका छन् ।
एमालेको आगामी महाधिवेशन, पार्टी भित्र खुम्चिइरहेको आन्तरिक लोकतन्त्र र जेनजी आन्दोलनपछिका राजनीतिक घटनाक्रमदेखि चुनावको प्रसंगसम्मका विषयमा पोखरेलसँग अनलाइनखबरको ‘ओके पडकास्ट’ मा बसन्त बस्नेतले गरेको विस्तृत कुराकानी :
महाधिवेशन यही मंसिरमा आउँदै छ । अध्यक्षमा लड्दै हुनुहुन्छ तपाईं ?
हैन, हामीले प्रतिस्पर्धाको कुरालाई अगाडि बढाएका छौं।
प्रतिस्पर्धाको कुरालाई अगाडि बढाउन मात्रै अध्यक्ष लड्नु भएको कि जित्नकै लागि ?
प्रतिस्पर्धा गरिसकेपछि त स्वतः यो त भनिरहनै परेन नि !
अहिले अध्यक्षमा केपी ओली हुनुहुन्छ। तपाईंहरू जसले जिते पनि, जे गरे पनि, उहाँ त हार्दै हार्नुहुन्न हैन ?
हामीले पार्टीमा लोकतान्त्रिक विधि र प्रणालीलाई पार्टीमा स्वीकार गरेका छौं। प्रतिस्पर्धाको कुरालाई स्वाभाविक र सहज ढंगले लिनुपर्छ।
तर लिनुहुँदैन नि त! तपाईंका अध्यक्ष केपी ओलीले अस्ति भनिसक्नुभयो कि, ‘माधव नेपालले पनि प्रतिस्पर्धा गर्नुभयो, भीम रावलले पनि प्रतिस्पर्धा गर्नुभयो। अब मसँग प्रतिस्पर्धा गर्नेको अवस्था के भयो ?’ त्यस्तो अवस्था चाहिँ नहोस् भनेर उहाँले लगभग खुलेआम चुनौती दिनुभएको छ हैन ?
हैन, त्यस्तो पनि होइन। त्यहाँ बैठकमा भएको कुरा के हो भने– हामीले प्रतिस्पर्धा गर्दाका दुईटै अनुभव छन्।
एउटा अनुभव के छ भने – प्रतिस्पर्धा गर्छु भन्ने तर त्यसको परिणामलाई स्वीकार गर्न नसक्ने। परिणाम स्वीकार गर्न नसक्ने प्रवृत्तिले कहाँ पुर्याउँछ त भन्दा विग्रहमा पुर्याउँछ।
अर्को चाहिँ प्रतिस्पर्धा गर्ने, परिणाममा जे होस्, त्यसलाई स्वीकार गर्ने। यदि पराजित भयो भने पनि त्यसलाई स्वीकार गर्ने, त्यही अनुसार सहज ढंगले लिने। विजयी बने त भइहाल्यो हैन? तर यो चिज हाम्रो अलिकति छलफल भएको हो। अध्यक्षले पनि यही विषयमा अलिकति ध्यानाकर्षण गराउनु भएको थियो बैठकमा।
यसमा ध्यानाकर्षण गराउनुपर्ने विषय कहाँ छ र? तपाईंका प्रतिस्पर्धी पार्टी हेर्नुहोस् न, कांग्रेसमा हेर्नुहोस् अरू पार्टीमा। त्यहाँ प्रतिस्पर्धा हुन्छ, जित्नेले जितेको, हार्नेहरूले पनि आफ्नो जिम्मेवारी अनुसार काम गर्दै बसिहाल्छन् हैन? त्यहाँ विग्रह अथवा यस्ता डर हुन सक्छन्, यस्ता सम्भावना हुन सक्छन् भनेर कहिल्यै छलफल हुँदैन। तपाईंहरूकै पार्टीमा चाहिँ किन यस्ता अन्तरविरोधहरू या प्रतिस्पर्धाहरू चाहिँ अलि सत्रुतापूर्ण ढंगले हुने गरेको ?
नेपाली कांग्रेसभित्र के-के हुन्छ भन्ने कुरा मलाई त्यति थाहा छैन। तपाईंले अलि थाहा पाएर बोल्नुभयो, ठिकै छ। तर हाम्रो भित्रको कुरा के हो भने– हाम्रो अनुभवमा आधारित भएर त्यहाँ छलफल चलेको हो। त्यो भनेको के हो भने– प्रतिस्पर्धा गर्ने, प्रतिस्पर्धाबाट प्राप्त भएको परिणामलाई सहज ढंगले स्वीकार गर्न नसक्ने हामीले भोगेका छौं।
अर्को चाहिँ, प्रतिस्पर्धा गर्ने, जे परिणाम आउँछ त्यसलाई स्वीकार गर्ने, अलि ‘अनकम्फर्टेबल’ जस्तो भए पनि स्वीकार गर्ने । यस्तो स्थिति चाहिँ हामीले भोगेका छौं। यो हामीसित दुई खाले अनुभव छन्। यही प्रसङ्गमा हामीले छलफल गर्यौँ। अध्यक्षले पनि त्यसैमा जोड दिएर भन्नुभएको हो।

प्रतिस्पर्धा गर्दाका रमाइला अनुभव चाहिँ के छन् ? माधव नेपाल र भीम रावल त एकछिनलाई छोड्दिउँ। उहाँहरू गइ पनि सक्नुभयो।
अब, मलाई लाग्छ, माधव नेपाल प्रतिस्पर्धाबाट जानुभयो भन्ने मलाई लाग्दैन । माधव नेपाल २०७१ सालमा सम्पन्न भएको नवौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्षको उम्मेदवार हुनुहुन्थ्यो। उहाँ पराजित हुनुभयो त्यसपछि पनि त उहाँ त रहनुभयो नि ! त्यही प्रतिस्पर्धाको परिणामबाट उहाँ बाहिरिनुभयो भन्ने मलाई लाग्दैन । पछिल्ला समयमा अन्तरविरोधहरूको ठिक ठाउँको व्यवस्थापन भएन, विभिन्न कारणले।
त्यो कारणले उहाँका आफ्ना सोचहरू, चिन्तनहरू, उहाँका जुन खालका मान्यताहरू थिए, ती कुराहरू अगाडि बढ्न नपाएपछि उहाँ अलगिने स्थिति बन्दै गयो । अब हामीसित दुवै खाले अनुभव छन्। पहिले पनि हामीले आठौँ महाधिवेशनमा पनि प्रतिस्पर्धा गर्यौं। त्यति मात्रै होइन, भूमिगत बेलामा पनि प्रतिस्पर्धा हुन्थ्यो कतिपय पदहरूमा । त्यो परिणामलाई त हामीले स्वीकार गरेका हौँ नि !
अहिले चाहिँ अहिले के समीक्षा गर्नुहुन्छ? के कारणले प्रतिस्पर्धालाई सहज ढंगले लिन छाडियो त?
कस्तो भने, यो पोलिटिक्सको मात्रै कुरो होइन। अर्गनाइजेसनको मात्रै कुरो पनि होइन। मलाई के लागेको छ भने, यो एउटा संस्कारको कुरा पनि हो।
प्रतिस्पर्धाको राजनीतिलाई भन्न जति सजिलो छ, त्यसलाई जिन्दगी/जीवनमा उतार्नको लागि, त्यसलाई लागु गर्नको लागि त्यति नै अप्ठ्यारो पनि हुँदो रहेछ मान्छेहरूलाई। यो संस्कार र संस्कृतिसित गाँसिएको कुरा पनि हो।
लोकतान्त्रिक विधि, लोकतान्त्रिक प्रणाली, प्रतिस्पर्धाको राजनीति भन्न त भन्ने, तर साँच्चै आइपर्यो भने त्यसलाई स्वीकार गर्न कठिन हुने।
यो कसले केपी ओलीले नगरेको ?
केपी ओलीको मात्रै कुरा होइन। यो हाम्रो आम रूपमा पोलिटिकल कल्चरको रूपमा राम्रो स्थापित नभइसकेको कारणले पनि हामीले भोग्नु परेको हो ।
अस्ति भर्खरै केही महिनाअगाडि कतिपय प्रदेशमा महाधिवेशनहरू भए । ती प्रदेशको अधिवेशनहरू पनि त्यति ‘साउन्ड वे’ मा गएको जस्तो हामीले देखेनौँ नि त!
अब, तपाईं देख्नुभएन। त्यस्तो केही नभएको पनि हुन सक्छ।
लुम्बिनी उदाहरण दिऊँ एकैछि लाई।
हैन, त्यसमा मलाई त्यस्तो लाग्दैन। कुनै स्पेसिफिक प्रदेशको मात्रै कुरा होइन। कतिपय ठाउँमा प्रतिस्पर्धाको कुरा गर्दा अस्वस्थ्य स्थितिचाहिँ भएको हो । त्यसलाई करेक्सन पनि गरिएको छ।
तपाईंको बुझाइमा चाहिँ यो मंसिर २७ मा हुन लागेको महाधिवेशनमा जो नेतृत्वको प्रतिस्पर्धा हुँदै छ, तपाईं अध्यक्षमा लड्दै हुनुहुन्छ। यो चाहिँ तपाईंले अलिकति संस्कारजन्य रूपमै अगाडि बढ्ला, धेरै तिक्तताहरू, इरिटेसन नहोला भन्ने ठान्नु भएको छ?
के हुन्छ, मलाई थाहा छैन। मेरो तर्फबाट भन्नुपर्ने हो भने, यो प्रतिस्पर्धाको राजनीतिमा मैले बुझेरै यसमा आफूलाई तत्पर बनाएको हो। एउटा कुरा यो हो।
दोस्रो कुरा के हो भने, सिम्प्ली सोच्नुहोस् न, जस्तो भनौँ, प्रतिस्पर्धा भयो, परिणाम नेगेटिभ आयो, परिणाम जित्न सकिएन, के फरक पर्छ त ? मलाई एमाले भइरहन कसैले रोक्दैन। केही नभएर म एउटा सिभिलियन भएर, नागरिक भएर बस्न मलाई कसैले रोक्दैन। तर मेरो प्रतिबद्धता के हो भने– म सम्बन्धित भएको यो आन्दोलन, यो पार्टीलाई नोक्सान गर्ने, कमजोर बनाउने कुनै पनि कुरा गर्दिन।
तपाईं पूर्व राष्ट्रपति विद्या भण्डारीको समर्थनमा अध्यक्षको उम्मेदवार बन्दै हो?
मेरो उम्मेदवारी घोषणा गरिसकेपछि अब विभिन्न व्यक्तिहरूले, विभिन्न सम्मानित नागरिकहरूले, मेरो पार्टीका विभिन्न तहका नेताहरूले समर्थन गर्नुहुन्छ। त्यसमा के फरक पर्यो र? पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी जो हाम्रो नेकपा एमालेको दुई पटकको केन्द्रीय उपाध्यक्ष हुनुहुन्थ्यो, अनि उहाँले समर्थन गर्ने कुरालाई के अन्यथा मान्नु ? त्यो ठिक छ नि त, स्वाभाविक हो, राम्रो कुरा हो।
भनेपछि हामीले के बुझ्नु पर्यो भने– विद्या भण्डारी एमाले नेतृत्वमा फर्किन चाहनुहुन्थ्यो । ८१ सालको असोज-कार्तिकतिर म र मेरो सहकर्मी सइन्द्र राईसँग एउटा अन्तर्वार्ता दिँदै उहाँले ‘एमालेमा म अध्यक्ष बन्ने सम्भावना टरिसकेको छैन’ भनेर बोल्नु भएको थियो। त्यसलाई हामीले हेडलाइन नै चलाएका थियौँ त्यो बेला। उहाँको त अहिले तपाईंको पार्टी अध्यक्षले त सदस्यतै नरहेको अवस्थामा उहाँलाई पुर्याइदिनुभयो, नवीकरण भएको सदस्यता पनि खारेज गर्दिनुभयो। भनेपछि तपाईंको यो जुन बिन्दुमा उम्मेदवारी आउँदै छ, यो तपाईंको आफ्नो आन्तरिक चाहना बस आइरहेको उम्मेदवारी भन्दा पनि विद्या भण्डारीलाई छेक्न जाने ओलीको प्रयासका विरुद्धको कोसिस हो ?
होइन, त्यसलाई त्यसरी चित्रित गर्नु पनि हुँदैन। सिम्प्ली कुरा के बुझौँ भने– विद्या भण्डारी, हाम्रो पूर्व राष्ट्रपतिजी, त्योभन्दा पहिले उहाँ दुई पटक पार्टीको केन्द्रीय उपाध्यक्ष । २०३७ सालको पार्टी सदस्य उहाँ एउटा किशोरी अवस्थादेखि नै पार्टी आन्दोलनसित सम्बन्धित हुनुभयो।
उहाँ यहीँ जन्मनुभयो भने पनि हुन्छ, पार्टीमै यहीँ हुर्कनुभयो। र अब बाँकी समयको आफ्ना अनुभव र ऊर्जालाई पनि म यही आन्दोलनमा समर्पित गर्छु भनेर पवित्र चाहनाले उहाँ आउँछु भन्नुभयो भने त्यो उहाँको चाहनालाई रोक्नु हुँदैन भन्ने मेरो मान्यता हो । मैले हिजोदेखि पार्टीमा राखेको कुरा पनि यही हो।
यदि आउनुहुन्न थियो, ठिक छ। म आउँदिन भन्न पनि पाउने हुनुभयो। म आउँछु, म पार्टीमा जोडिएरै भूमिका खेल्न चाहन्छु भन्नुभयो भने त्यसलाई अन्यथा लिनु हुँदैन भन्ने मेरो मान्यता हो। जहाँसम्म उहाँलाई अहिले पनि म यो तपाईंको कार्यक्रम मार्फत, जसरी उहाँलाई पार्टी सदस्यता दिनु हुँदैन भनेर रोक्ने काम भयो, त्यो गलत भयो। त्यो आज स्थापित नभए पनि यो गलत हो। कुनै न कुनै दिन त्यो चिज चाहिँ स्थापित हुन्छ।

उहाँ फेरि एमालेको संगठन सदस्यता उहाँको नवीकरण हुने अवस्था छ?
होइन, यो च्याप्टर क्लोज भएकै छैन नि !
तर अध्यक्षले त यो त सधैँको लागि बाटो बन्द भयो भनेर भनिसक्नुभयो त !
सधैँको लागि त केही हुँदैन। जिन्दगी हुँदैन सधैँको लागि। मेरो जिन्दगी, स्वयं अध्यक्षको जिन्दगी, कसैको जिन्दगीको पनि सधैँको लागि तपाईंले के बुझ्नुभयो र भन्नुभयो ? सधैँको लागि भन्ने कुरै कहाँ हुन्छ ?
तर एमालेको पोहोरको कास्कीको अधिवेशनमा बोल्दै उहाँले भन्नुभएको थियो, ‘१५-२० वर्ष त मेरै हो। अब जुँगा पनि कालो हुँदै गएको छ, घोप्टो घोप्टो हुँदै गएको छ, स्वास्थ्य पनि राम्रो भइराख्या छ। सबै कुरा भइराख्या छ। देशले यतिखेर खोजिराख्या छ।’
उहाँको एउटा सबैले अलि अनौठो मानेको, आश्चर्य मानेको कुरा के हो भने– उहाँ स्वस्थ भएर गतिशील भएर लाग्नुभएको छ। मान्छेले त्यही देख्छन्, त्यही अनुभूति गर्छन्, हैन ? त्यसकारणले उहाँले आफ्नो त्यो स्थितिलाई अलिकति विम्बात्मक ढंगले भन्नुभएको होला, त्यसमा अब के टिप्पणी गर्नु ?
तपाईं त केपी ओलीसँग उहाँको कतिपय मूल्य मान्यताको एउटा जोडतोडले प्रतिरक्षा गरिरहेको नेता, उहाँको अघिल्लो क्याबिनेटमा तपाईं स्वयं आफै उपप्रधानमन्त्री/मन्त्री भएर बसेको नेता, सँगै यो बीचमा लामै यात्रा पनि गर्नुभयो केपी ओलीसँग तपाईंले। यो बिन्दुमा आएर तपाईंको किन दुईटा किनारामा देखिने अवस्था सिर्जना भएको हो?
यो त्यति प्रिय सुनिएन। दुईटा किनारा भन्ने कुरै होइन। हामी एमालेकै नेतृत्व पंक्तिमा छौँ।
किनारा भएर त के भयो त, एउटै नदी त हो।
प्रतिस्पर्धाको एउटा प्रसङ्गको सन्दर्भमा तपाईंलाई त्यस्तो लाग्ला। तर त्यो दुईटा किनारा भन्दा जुन मिनीङ्ग तपाईंले एकदम सम्प्रेषण गर्न खोज्दै हुनुहुन्छ, त्यस्तो म ठान्दिन। कुरो के हो भने– वास्तवमा हामी त एउटै पार्टीको आन्दोलनको नेतृत्वदायी तहमा बसेका मान्छे हौँ। त्यसमा के कुरा भयो र ?
हामी एउटै ‘कज’ को लागि यहाँ अगाडि बढेका छौँ। खाली त्यो ‘कज’ मा पुग्ने सिलसिलामा यसरी जाउँ भन्ने विषयमा केही कुराहरू नमिलेको हुन सक्छ। त्यही आधारमा दुईटा किनारा भनेर चित्रण गरिदिनु चाहिँ भएन।
बुझियो, तपाईंको उम्मेदवारी चाहिँ अलि परिस्थितिजन्य बाध्यता रहेछ। विद्या भण्डारी जसरी आउन खोज्नु भएको थियो, रोकियो उहाँलाई। अब कोही त उठ्नु पर्यो। एमालेमा निर्विकल्प भन्ने कोही र केही छैन भन्ने स्थापित गर्न पनि कोही त उभिनु पर्यो। त्यसका लागि तपाईं उभिनु भएको रहेछ।
कोही न कोही उभिनु पर्यो भन्ने हिसाबले पनि म ‘कोही न कोही’ अन्तर्गत परेको होइन। म एउटा चाहिँ मेरो उम्मेदवारी चाहिँ ‘भाएबल क्यान्डिडेसी’ को रूपमा यसलाई बुझ्नु पर्यो। किनभने मेरो इतिहास, मेरो निष्ठा, मेरो निरन्तरता, मेरो क्रियाशीलता, मेरो जिम्मेवारीले स्वाभाविक छ। म त्यो डिजर्भ गर्थे। त्यो के ठूलो कुरा हो ?
‘भाइबल क्यान्डिडेसी’ हो। फिजिबल चाहिँ कति हो?
अब फिजिबल नभए त ‘भाइबल’ पनि हुँदैन नि ! फिजिबल भएरै ‘भाइबल’ भएको हो।
तपाईं अहिलेको एमालेको केन्द्रीय नेतृत्वमा रहेको नेता मध्ये सबैभन्दा पुरानो मध्येको प्रमुख हुन्छ। ‘कोर्डिनेसन केन्द्र’ जो बन्यो विगतको एमालेको पूर्व रूप ‘माले’, ‘माले’ को पूर्व रूप ‘कोर्डिनेसन केन्द्र’। त्यसको संस्थापक मध्ये एकजना हुनुहुन्छ।
म तपाईंलाई अलिकति जानकारी गराउँ। २०३२ साल वैशाखमा पढाइ छोडेर म भूमिगत काममा लागेको मान्छे। त्यो भूमिगत काम भनेको झापा सङ्घर्षबाट अभिप्रेरित भएर म ग्रामीण क्षेत्रका जनतालाई सचेत बनाउने, सङ्गठित गर्ने अभियानमा हिँडेको हो। पढाइ छोडेर, घर छोडेर।
त्यसबेला वैशाखमा म हिँडेँ, वैशाख २४ र २५ गते ‘कोर्डिनेसन केन्द्र’ को गठन भयो। म भर्खर भूमिगत हिँडेको हुनाले म त्यो भेलामा उपस्थित हुन सकिनँ। त्यसकारणले मेरो चाहिँ पृष्ठभूमि त्यहाँ हो।
मैले २०२७ सालमा ‘पूर्व कोशी प्रान्तीय कमिटी’ (नेपाल कम्युनिस्ट पार्टी मनमोहन अधिकारीले नेतृत्व गरेको) बाट पार्टी सदस्यता पाएको हो । २०२७ साल जुन बेलामा मैले भर्खर एसएलसी दिएर बसेको थिएँ, त्यसबेला पार्टी सदस्य पाएको र २०३२ सालमा म भूमिगत हिँडेको। तर त्यस्तो बेलामा २०३३ सालमा ‘कोर्डिनेसन केन्द्र’ लाई पुनर्गठित गर्ने सिलसिलामा म ‘कोर्डिनेसन केन्द्र’ को सदस्य भएको हो। त्यस बेला म २३ वर्षको मात्रै थिएँ। र त्यसपछि म निरन्तर छु। अब सबभन्दा पुरानो भन्नु भन्दा पनि मेरो पृष्ठभूमि त्यो हो।
अब तुलना को-कोसित कहिले-कहिलेको प्रसङ्गमा गर्नुहुन्छ, त्यो त तपाईंको कुरा हो । म चाहिँ त्यसबेलादेखि हिँडेको हो। २०३५ साल पुस ९ देखि ११ सम्म भएको यो ‘कोर्डिनेसन केन्द्र’ ले आयोजना गरेको राष्ट्रिय सम्मेलनबाट बनेको नेकपा (माले) को संस्थापक केन्द्रीय सदस्य हुँ म।
पछि ‘माले’ र ‘मार्क्सवादी’ एकीकरण हुँदा ४७ सालपछि, म ‘कोर्डिनेसन केन्द्र’ बाट आएको मान्छे, म नेकपा एमालेको पनि संस्थापक केन्द्रीय सदस्य हुँ। मेरो पृष्ठभूमि त्यो हो। अब को सित दाँजेर सबैभन्दा पुरानो, म… मैले त आफूलाई पनि दाँजेको छैन, सबैभन्दा पुरानो हो कि होइन थाहा छैन, तर म चाहिँ मेरो पृष्ठभूमि त्यो हो।
यति पुरानो विरासत छ तपाईंको। तपाईंले नै आफैँले पनि भन्नुभयो। तपाईंको पार्टी मन्त्रीमा त धेरैलाई यो कुरा राम्ररी हेक्का पनि छ। त्यसैकारण अहिले नेपाली एमालेको वरिष्ठ उपाध्यक्ष भएर तपाईं रहनुभएको हो, त्यसै विरासतको लिगेसीको आधारमा समेत। अहिले चाहिँ किन तपाईं अलि पछि– दुईवटा, तीनवटा शीर्ष नेताहरूको छायामा परेको जस्तो तपाईंलाई लागेन– माधव नेपाल, झलनाथ खनाल अनि केपी ओली ?
अब, तपाईंहरूले के देख्नुभयो ? देखेको आधारमा टिप्पणी गर्नुभयो। मैले यसमा के भन्ने? म छायामा परेको छैन। आफ्नो परिभाषित जिम्मेवारीमा आफ्नो योग्यता अनुसार क्रियाशील हुने कोसिस गरिरहेको मान्छे हुँ म।
शीर्ष नेतृत्वमा चाहिँ तपाईंले यसपल्ट मात्र दाबी गर्नुभयो?
परिस्थिति जस्तो बन्छ, त्यही परिस्थिति अनुसार मैले आफूलाई प्रस्तुत गर्नुपर्छ।
अब यो बेला तपाईंले शीर्ष नेतृत्वमा दाबी गर्दै गर्दाखेरि, जेन्जी मुभमेन्ट पछि त्यतिखेरको प्रधानमन्त्री तपाईंको पार्टीको अध्यक्ष केपी ओली सत्ताच्युत बन्नुभयो। अहिले एमालेका कतिपय मान्छे के ठान्छन् भने– जसरी उहाँ सत्ताच्युत बन्नुभयो, त्यसरी नै उहाँलाई थपक्क लगेर फेरि पनि राख्ने दिन आउँछ भनेर उहाँहरू भनिराख्नु भएको छ।
राख्ने दिन भनेको कहाँ ?
फेरि सत्तामा फर्काउने दिन पनि आउँछ। राज्यसत्तामा, पार्टी सत्तामा हैन। पार्टी सत्तामा त उहाँ अहिले पनि छँदै हुनुहुन्छ आजका मितिसम्म। राज्यसत्तामा पनि उहाँले राख्ने दिन आउँछ। केपी ओली नै निर्विकल्प हुनुहुन्छ भनेर पार्टीको एउटा तप्काले हल्ला गरिराख्या छ। ‘भोलेन्टियर्स फोर्स’ पनि बनेको छ। अब तपाईंले त्यो बेलामा तपाईं चाहिँ प्रतिस्पर्धा गर्दै हुनुहुन्छ।
तपाईंले एउटा शब्द प्रयोग गर्नुभयो– ‘निर्विकल्प’ भन्नुभयो। यो निर्विकल्प केही हुँदैन। निर्विकल्प भनेर कसैले कुनै चिजको बारेमा पनि दाबी-प्रतिदाबी गर्नु चाहिँ हास्यास्पद कुरा हो।
निर्विकल्प हुँदैन। हो, मानौँ कसैको केही विशिष्ट योग्यताहरू हुन सक्छन्, क्षमताहरू विशेष हुन सक्छ, तर निर्विकल्प भन्ने चिज, त्यो टर्मिनोलोजी नै प्रयोग गर्ने कुरा चाहिँ हास्यास्पद छ के कसैको बारेमा।
अहिले उहाँलाई राजनीतिमा सान्दर्भिक बनाउन खोजिँदै गर्दाखेरि तपाईंले चाहिँ होइन, यो बेला प्रतिस्पर्धाबाट उहाँ पराजित पराजित हुन अनिवार्य छ भन्दै हुनुहुन्छ नि त?
पराजित हुनु पनि भनिन। हामी एउटा यो परिवर्तिन सन्दर्भमालाई बुझेर हामीहरूले प्रतिस्पर्धाको राजनीतिलाई प्रोत्साहित गर्नुपर्छ भन्न खोज्या हो।

अहिले त्यो ‘भोलेन्टियर्स फोर्स’ भनेर जो बनेको छ नि भर्खरै, त्यो तपाईंलाई कस्तो लागेको छ?
यसमा दुईटा कुरा छन्। हाम्रो नेकपा एमालेको स्थापित अभ्यास के हो भने– हामीहरू स्वयंसेवकको युद्ध दस्ताहरू बनाउँदै आएका पनि हौँ। जस्तो पाँचौँ महाधिवेशनमा त्यो हामीले स्वयंसेवक जसको प्रदीप नेपालले अगुवाइ गर्नु ‘पिपुल्स भोलिन्टियर्स’ भनेर बनाउनु भयो, हैन ? बनाएका थियौं, हैन? ..त हामीहरू विभिन्न, जस्तो प्राकृतिक विपत्ति परेको बेलामा – भूकम्प, आगलागी, बाढी, पहिरो पीडित जनतालाई राहत दिनको लागि राज्यका निकायहरू त आफ्नो ठाउँमा छन्।
कति गर्छन्, कति गर्न सक्दैनन्। तर हाम्रो पनि कर्तव्य हो, पोलिटिकल पार्टीको पनि कर्तव्य हो, एमालेको पनि कर्तव्य हो। त्यो कर्तव्य पूरा गर्नुपर्छ भनेर आफ्नो सङ्गठित शक्तिलाई त्यो काममा पनि हामीले प्रयोग गर्ने गरेको हो। हामीले विगतमा पनि गर्दै आयौँ। यस्ता कुराहरू हुन्।
तर एउटा कुरा के हो भने– अहिले लिएको राजनीतिक कार्यदिशासित नमिल्ने गरी कुनै पनि कुराहरू हामीले अभ्यास गर्नु हुँदैन। समानान्तर सत्ता हो कि जस्तो ढंगले देखाउने हिसाबले पनि जानु हुँदैन। त्यसमा कतिपय नामका कुराहरू आउँछन्, कामका कुराहरू आउँछन्, त्यसको ‘कम्पोजिसन’ का कुराहरू आउँछन्। त्यो चिजलाई ख्याल गर्नुपर्छ भन्ने कुरा हाम्रो यो भोलन्टियर्स बनाउने सिलसिलामा संक्षिप्त रूपमा कुराकानी भइरहँदा पनि हामीले यो विषयमा छलफल गरेका थियौँ।
अनि के छलफलको के निष्कर्ष निस्कियो ?
छलफल वास्तवमा त्यो त्यसमा कुनै विमति नै रहेन कि– वास्तवमा राजनीतिक कार्यदिशासित मेल नखाने हिसाबले अलिकति हाम्रो यो समानान्तर सत्ता हो कि जस्तो ढंगले देखिने गरी गर्नु हुँदैन भन्ने कुरामा त्यसमा कुनै विमतिको कुरै भएन। र अहिले नामैको कुरामा पनि त्यो खालको कुरा नगर्ने कि भन्ने कोणबाट पनि कुरा उठ्या हो।
तर किन त्यो कुरा लागू भएन?
ठिक छ नि त, आउने दिनमा फेरि त्यसको रिभ्यु गरौँला नि।
पहिले तपाईंले ‘युथ फोर्स’ बनाउनु भएको थियो नि?
हो। त्यो ‘युथ फोर्स’ विधिगत रूपमा, सचेतनापूर्वक त्यो नाम र त्यो कामलाई अलिकति परिवर्तन गर्नुपर्छ भनेर हामीले त्यसलाई हटाएका थियौं।
त्यो हटाउन पनि तपाईंलाई निकै महाभारत परेको थियो नि ?
कुनै पनि कुराहरू प्रारम्भ गर्न जति सजिलो हुन्छ, त्यो प्रारम्भ गरिसकेको कुरालाई फेरि त्यसलाई व्यवस्थित ढंगले बैठान गर्न त त्यति नै अप्ठ्यारो पनि हुन्छ।
त्यो देख्नुहुन्छ तपाईं ? यो ‘भोलेन्टियर्स’ भनेर जसका विरुद्धमा भनेर बनाइएको छ, त्यो त्यसका विरुद्धमा प्रयोग नभएर पार्टीभित्रकै प्रतिस्पर्धीहरूको विरुद्धमा महाधिवेशनमा प्रयोग हुने हो कि ?
त्यस्तो हुँदैन, हुन पाउँदैन, हुन दिइँदैन। त्यो के हो भने, त्यो स्थापना गरेको घोषणा गर्दै खेरि पनि भनिएको छ। के भनिएको छ भने– जनतामाथि आइपरेका आपत-विपतहरूमा, पार्टीमाथि आइपरेका आपत-विपतहरूमा त्यसले स्वयंसेवी भएर काम गर्छ भनेर भन्या छ।
तर अहिले कुन विपत् आइपरेको छ र यो बनाउनु पर्यो ?
अब यत्रो पार्टीका नेताहरूको, हाम्रो जननिर्वाचित प्रतिनिधि संस्थाहरूका अफिसहरू, घरहरू जलेका छन्। राज्यका प्रहरी चौकीहरू कतिपय तहसनहस भएका छन्। त्यो ठाउँमा हाम्रा स्वयंसेवक साथीहरूले गरेर सघाउनु भा छ नि !
तर यसको उद्देश्य चाहिँ अलि ‘रिटालिएट’ गर्ने उद्देश्यले पो बन्यो कि भन्ने पनि सोच्नु…?
मान्छेले शंका गर्छन्। हामी त्यस्तो हुन दिन्नौँ। त्यो गर्ने हाम्रो उद्देश्य होइन।
यो महाधिवेशन कस्तो हुन्छ ? यसको स्वरूप कस्तो हुन्छ? तपाईंहरू विगतमा के छ भन्दाखेरि कुनै एउटा ‘लिस्ट’ बाँड्न नपाइने भन्या छ, त्यो भनेको त्यो अन्ततः गुटबन्दी हो भन्या छ। तर ‘लिस्ट’ त बाँडिन्छ महाधिवेशनमा। तपाईंको पनि आफ्नो टिम बन्ला। तपाईंको बाट को उपाध्यक्ष लड्छ, महासचिव को लड्छ, अरू पदमा को-को उठ्ने छन् भन्ने त्यसको एउटा खाका त आउला।
यसमा हामी महाधिवेशन सञ्चालनको लागि ‘कोड अफ कन्डक्ट’ जे बन्छ, त्यो ‘कोड अफ कन्डक्ट’ द्वारा निर्देशित भएर जान्छौं। त्यसलाई कसैले पनि उल्लङ्घन गर्नु हुँदैन।
तर हामीले सौराहामा देखेका थियौँ, यो भन्दा अघिल्लो महाधिवेशनमा। तपाईंहरूले नारायणगढमा भव्यताका साथ त्यो उद्घाटन गर्नुभयो। सौराहामा जाँदाखेरि त्यो अनिर्णयको बन्दी भएर चाहिँ दिनौँ-दिनौँ जस्तो पर्खिने, घण्टौँ-घण्टौँ बस्ने र अन्तिममा चाहिँ एउटा ‘लिस्ट’ तयार हुने, त्यो ‘लिस्ट’ नै लगभग बन्द सत्रमा पढेर सुनाइने अवस्था बनेको हामीले देख्या होइन र?
त्यसबेला तपाईंहरूले देख्नुभयो, भएकै कुरा देख्नुभयो होला। तर त्यसबेलाको स्थिति के थियो भने– वास्तवमा हामी एउटा विशेष अवस्थामा थियौँ। पार्टीलाई नयाँ ढंगले पुनर्व्यवस्थित, पुनर्गठित गर्नुपर्ने आवश्यकता थियो। त्यस्तो बेलामा एउटा सहभागी साथीहरूको, प्रतिनिधि बनेर आउनुभएका साथीहरूको एउटा मानसिकता थियो ।
अब हामी सर्वसम्मतले जानुपर्छ भनेर सिङ्गै हलले बोलिराख्या थियो। त्यस्तो बेलामा पनि प्रतिस्पर्धा गर्न चाहने साथी प्रतिस्पर्धा गर्न तत्पर हुनुभयो। उहाँलाई अप्सन पनि दिइयो। प्रतिस्पर्धा गर्ने कुरामा उहाँ आफू तत्पर छु भनिसकेपछि प्रतिस्पर्धाको अप्सन अगाडि बढ्यो।

एउटा कुरा उठेको थियो नि, ७० वर्ष उमेर हद र दुई वर्ष कार्यकाल। यो कुरा त तपाईंहरूको विधानले बकाइदा स्थापित गरेको कुरा थियो। अहिले त यो संशोधन भइसक्यो, र त्यो पनि कुनै व्यक्तिको इच्छा अनुकूल हुने गरी त्यो संशोधन भएको छ। यो कुरा त तपाईंले उठाउनु भएको थियो र उठाउँदै अब यो नेतृत्वमा बस्ने कि नबस्ने भन्ने प्रश्न उठ्दा खेरि ठिकै छ अब केपी ओलीले उहाँलाई तपाईंलाई जवाफ दिनुभयो कि ठिकै छ अब उहाँ चाहिँ ७० कटिसक्नु भएको छ, उहाँ अब प्रतिस्पर्धा गर्नुहुन्छ/हुन्न नि त। म बस्नु हुन्न नेतृत्वमा भनेर तपाईंलाई कटाक्ष पनि गर्नुभएको मलाई याद छ के। तपाईंलाई अहिलेको विधानले त रोक्दैन, तर तपाईंलाई नैतिक प्रश्न हो जस्तो लाग्छ कि लाग्दैन ?
नैतिक प्रश्न होइन। संस्थागत ढंगले चल्ने परिपाटीमा, संस्थागत रूपमा जे निर्णय हुन्छ, त्यसलाई पालन गर्नुपर्छ। एउटा कुरा यो हो ।
मेरो मान्यता, हामीले यो भन्दा अगाडि वास्तवमा पार्टी जीवनको लोकतन्त्रीकरणको कुरा चाहिँ तपाईंलाई एउटा फ्र्याङ्क्ली भन्न चाहन्छु। हाम्रो पार्टी अध्यक्ष केपी शर्मा ओली, नेकपा एमालेभित्र पार्टी जीवनको लोकतन्त्रीकरणको बारेमा त्यसको प्रबल ढंगले पक्षपोषण गर्ने, त्यसका मान्यताहरूलाई अगाडि ल्याउने, त्यसको व्याख्या विश्लेषणको अगुवाइ गर्ने नेताको रूपमा मान्छेले चिन्छन्, पार्टी पंक्तिले चिन्छ, हैन र? उहाँले सातौँ राष्ट्रिय महाधिवेशन २०५९ सालमा, त्यही बेलामा उहाँले पार्टी जीवनको लोकतन्त्रीकरणसम्बन्धमा आफ्ना अवधारणाहरू अगाडि सार्नुभयो ।
त्यसबेला उहाँको त्यो अवधारणाले स्थान त पाएन, तर वास्तवमा त्यही आधारमा पछि एउटा कार्यदल बन्यो। त्यो कार्यदलको संयोजक स्वयं केपी ओली हुनुहुन्थ्यो, हामी त्यसका सदस्य थियौं। र त्यो कार्यदलले जुन सर्वसम्मतले प्रतिवेदन तयार गर्यो, त्यही प्रतिवेदनको आधारमा आठौँ राष्ट्रिय महाधिवेशन (२०६४-६५ को) मा हामीले त्यो पार्टी जीवनको लोकतन्त्रीकरणको कुरालाई एक्सेप्ट गर्यौँ सर्वसम्मतले र पछि बहुपदीय संगठनात्मक संरचना त्यसपछि प्रारम्भ भयो।
मैले के भन्न खोजेको भने– त्यसको एउटा इतिहास छ, ऐतिहासिक पृष्ठभूमि छ। र त्यही सिलसिलामा हामीले दुई कार्यकालको कुरा पनि गर्यौं। दुई कार्यकाल किन जरुरी छ हाम्रो जस्तो देशमा, हाम्रो जस्तो एउटा प्रतिस्पर्धाको राजनीतिको पक्षपोषण गरेको कम्युनिष्ट पार्टीमा नेतृत्वमा दुई कार्यकाल किन आवश्यक छ भन्ने बारेमा हामीले त्यहाँ बडो जोडदार ढंगले तर्क गर्यौं।
त्यही सिलसिलामा ७० वर्ष उमेर हद पनि राख्नुपर्छ भन्ने कुरा अगाडि आएको थियो। तर पछि हाम्रै बीचमा छलफल हुँदाखेरि ७० वर्ष भन्ने कुरा चाहिँ अब मान्छेको सरदर आयु पनि बढिराख्या छ, यसको त्यति ‘पोलिटिकल मिनिङ्ग’ हुँदैन कि भन्ने कोणबाट कुरा उठ्या हो। तर दुई कार्यकालको बारेमा चाहिँ यो आवश्यक छ, कमसेकम एउटा प्राक्टिस गर्नु आवश्यक छ भन्ने हामीलाई लागेको हो । तर अस्तिको महाधिवेशनमा यो दुइटै चिज नराखौँ भन्ने हिसाबले बहुमत साथीहरूले भनिसकेपछि त्यो चिज हट्यो।
मेजोरिटी साथीहरूले भन्नुभयो कि उहाँहरूले भन्न आउने अवस्था बनेको हो खास?
मैले त तपाईं सित औपचारिक जवाफ दिँदा ‘मेजोरिटीले त्यो दुइटै व्यवस्था चाहिँ हटायो’ भन्ने कुरा भन्नु पर्यो नि !
तपाईं अझै अध्यक्ष हुनुभयो भने यो कायम गर्नुहुन्छ?
अब अध्यक्ष हुँदाखेरि म चाहिँ दुई कार्यकालको पक्षमा अहिले पनि छु। वास्तवमा, तपाईं भन्नुस्, एउटा विशिष्ट स्थिति भन्दा बाहेक एउटै व्यक्ति एउटा पदमा एक पटक गर्छ, उत्साहका साथ। दोस्रो पटक पनि ठिक-ठिकै गर्ला। तेस्रो पटक त गर्न त्यति सहज पनि हुँदैन, रुचि पनि नहुनुपर्ने जस्तो लाग्छ के मलाई।
तपाईंले भनेको विशिष्ट भन्ने स्थिति चाहिँ अहिले आएको छ भन्छन् त ?
अब केलाई विशिष्ट भन्ने?
‘जेन्जी’ आन्दोलनले यस्तो देशमा उथलपुथल गरायो। राजनीतिक पार्टीहरू, पार्टी भन्ने कुरा कस्तो… संविधानको स्थायित्वको बारेमा प्रश्न उठाइदियो भन्ने छ। तर्क त यसरी भा छ त।
पार्टी भन्ने कुरा कस्तो रैछ भने नि, संस्थागत ढंगले चल्ने चिज हो। विधि र पद्धतिबाट चल्ने कुरा हो। यो कोही नेताको विशेष क्षमता भयो भने केही केही प्लस होला, अतिरिक्त। तर होइन भनेदेखि त के हो भन्नु होला भने– त्यो त विधिले चलाउने, संस्थागत परिपाटीबाट चल्ने, पद्धतिबाट चल्ने, त्यस्तो पो हो त।
अहिले संस्थागत चलेको छैन, पद्धतिगत छैन अहिले ?
हामी संस्थागत ढंगले चलाउने कुरा गर्छौं, पद्धतिगत ढंगले चलाउने गर्छौं। तर मैले खाली कुन कुरामा जोड दिन खोज्या भने– एउटै व्यक्ति उहाँ हुनु भएन भने के होला भन्ने ढंगले जुन कुरा गरिन्छ नि, यो उठान नै मलाई त्यति स्वाभाविक लाग्दैन के।
कसैको… उहाँ हुनुभएन भने के होला भन्ने ढंगले तपाईंको पार्टीमा त अहिले बा स्थापित हुनुभएको छ। बा हुनुभएन भने के होला भनेर छोराछोरीले सोच्नु त स्वाभाविक हो नि।
छोराछोरी पुस्ताका व्यक्तिहरूले पाको नेता देखेपछि सम्मान भावका साथ भनेका हुन सक्छन्।
उहाँ ‘बा’ हो कि होइन खासमा ?
‘बा’ लागेरै भनेका होलान् नि त, ‘बा’ जस्तो लाग्या होला, अनि भन्या होलान्। ती ‘बा’ भन्नेहरूलाई सोध्नुपर्छ ‘बा’ को हो भनेर।
मनमोहन अधिकारी पनि तपाईंको पार्टीको अध्यक्ष हुनुहुन्थ्यो है।
हुनुहुन्थ्यो।
उहाँलाई कसैले ‘बा’ भन्दैनथियो के।
त्यही त।
बुढो, रेस्पेक्टेड हुनुहुन्थ्यो। उमेरले पनि बुढो, पाको हो। त्यतिखेर एमाले चाहिँ युवाहरूकै पार्टी थियो के खासगरी। त्यही ३५ देखि ४५/५० सम्मका नेताहरूले नेतृत्व गरिरहेको पार्टी थियो त्यो बेला। र मनमोहन अधिकारी अलिकति पाको मान्छे त्यसको अध्यक्ष हुनुहुन्थ्यो। हेर्दै ‘बा’ जस्तो लाग्ने के मनमोहन अधिकारी, होइन? तर पनि कसैले ‘बा’ भन्दैनथियो।
मैले के जवाफ दिनु र यसमा।
तपाईंले जवाफ दिनु पर्यो नि यो कहाँबाट भित्रियो ‘बा कल्चर’ तपाईंको पार्टीमा ?
देखिरहनु भा छ। ‘बा’ भन्ने कुरा पनि सोसियली, कल्चरली हामीसित गाँसिएकै कुरा हो, हैन ? तर पार्टी भित्र पोलिटिकल रिलेशन, पार्टी रिलेशन भन्ने भन्दा पनि बाउ-छोराछोरीको रिलेसन जस्तो हुन थाल्यो भने त्यसले अर्कै, अर्कै ठाउँतिर पुर्याउँछ कि जस्तो लाग्छ मलाई।

सम्मान गरेर कसैले ‘बा’ भन्छन्, हो चि मिन्हलाई अंकल भन्थे । त्यस्तो हामीले प्राक्टिस नदेखेको होइन। तर एउटा कुरा के छ भन्दाखेरि– तपाईंहरूको पार्टी भनेको प्रश्नोत्तरको कल्चरलाई विश्वास गर्ने पार्टी । महासचिव नै त्यतिखेरको शक्तिमान महासचिव सीपी मैनालीदेखि मदन भण्डारीसम्म भए पनि, उसलाई समेत ‘इक्वल फुटिङ्ग’ मा बसेर प्रश्न गर्न सकिन्छ भनेर भन्ने पार्टी हो नि तपाईंको पार्टी, हैन ? त्यो पार्टीमा अचानक आयो ‘बा कल्चर’।
‘बा’ भन्दा प्रश्न गर्न नपाउने होइन। तर पार्टीका अफिसियल पोजिसनहरूमा पनि त्यो यो खालको रिलेसन अलिकति हावी हुन थाल्यो भने के होला भन्ने एउटा स्वाभाविक प्रश्नहरू उठ्छन्।
त्यसकारणले अब सामाजिक सांस्कृतिक हिसाबले भन्ने कुरा, फिलिङ त्यस्तो हुने एउटा कुरा हो। तर अब त्यही नै हावी हुने स्थिति बन्यो भने पोलिटिकल रिलेसन भन्दा पनि रिलेसन अर्कै-अर्कै हुने स्थिति हुन्छ कि भन्ने लाग्छ।
अहिले कस्तो देखिन्छ भने, ‘जेन्जी मुभमेन्ट’ पछाडि धेरै नेताहरूको चाहिँ अब बिदा हुनुपर्छ, हरेक पार्टी भित्र पुस्तान्तरण हुनुपर्छ भन्ने कुरा आइराख्या छ। केपी ओलीबाट तपाईंमा आउँदाखेरि पुस्तान्तरण हुन्छ एमालेको?
पुस्तान्तरण त हुँदैन। म उहाँभन्दा तीन वर्ष जति कान्छो हुँ। पुस्तान्तरण त कसरी भयो र, हैन? तर हस्तान्तरणको कुरा हुन्छ।
अहिले एमालेलाई पुस्तान्तरण होइन, हस्तान्तरण चाहिएको हो?
होइन। सके पुस्तान्तरण गरे पनि हुन्छ। नत्र भने हस्तान्तरण त हुनु आवश्यक छ भन्ने लागेको हो।
एमालेमा अहिले यो दुईटै परिस्थिति छैन हो?
परिस्थिति आवश्यक हो भने ‘परिस्थिति छैन’ भनेर होइन, बनाउनु पर्छ।
त्यो परिस्थिति बनाउन कसरी सक्नुहोला र ? खै । तपाईंहरूको अहिले प्रतिनिधि छनोट गर्ने काममै यत्रो गुटबन्दी भइराख्या छ, हामी समाचार छापिरहेका छौं। कति जना मान्छेलाई इतर गुटमा भएकै कारणले उसलाई प्रतिनिधि आउनै नदिने खालको छेकबार लगाइराखिएको छ। थाहा पाइराख्नु भएको छ तपाईंहरूले?
प्रतिस्पर्धाको राजनीतिमा अस्वस्थता त्यसरी पनि प्रकट हुन्छ । त्यसलाई हामीले जहाँ-जहाँ ‘प्रब्लम’ देखा परेको छ, त्यो देखा परेको ठाउँमा त्यसलाई समाधान गर्ने गरी साथीहरूले पहल पनि गर्दै हुनुहुन्छ।
तपाईं अध्यक्ष हुनुभयो भने विद्या भण्डारीले तुरुन्तै एमालेको संगठित सदस्यता पाइहाल्नु हुन्छ ?
मैले अघि मेरो वक्तव्यमा पनि भनेको छु । त्यो विषय भनेको ‘नट येट फाइनल’। यो चाहिँ टुङ्गिसकेको विषय होइन। एउटा एउटा चरणमा भयो, तर यो विषय त वास्तवमा यति ठूलो विषय बन्नुपर्ने विषय नै थिएन। तर यो विषय बन्यो। म चाहिँ के भन्न चाहन्छु भने– उहाँको यो सदस्यता प्राप्त गर्ने मुद्दा पार्टीभित्र चाहिँ अझै एजेन्डाको रूपमा रहनेछ।
ए, यो च्याप्टर क्लोज भएको छैन।
च्याप्टर क्लोज भाको छैन।
यो बीचमा ‘जनताको बहुदलीय जनवाद’ देखि के हुन्छ भन्ने खालका प्रश्नहरू पनि उठे। खासगरी एमाले र माओवादीको बीचमा एकता भएर ७४ सालमा जुन वाम गठबन्धन भयो, ७५ मा त एकता नै भयो। त्यो बेला ‘जनताको जनवाद’ आयो। त्यसदेखि निरन्तर कहिँ न कहिँ यसमा प्रश्नहरू छन्। अहिले बीचमा दुई दलीय सिस्टममा जानुपर्छ भन्ने खालका चिजहरू पनि झन्डै-झन्डै आए। प्रतिस्पर्धालाई कहिँ न कहिँबाट ‘लिमिट’ त्यसको एउटा ‘क्याप’ राखिदिने कुराहरू पनि आए। यी सब चिजहरूलाई जनताको बहुदलीय जनवादको कोणबाट तपाईं कसरी हेरिराख्नु भाको छ?
जनताको बहुदलीय जनवाद भनेको यो पहिलो कुरा त– सक्रियता, पहलकदमी, जनसेवा, प्रतिस्पर्धा र श्रेष्ठता हासिल गर्ने रोड म्याप हो यो। यो चारवटा कुराको पक्षपोषण नगर्ने हो भने ‘जबज’ वादी हुन सकिँदैन। त्यो भनेको फेरि म दोहोर्याउँछु– सक्रियता चाहियो, पहलकदमी चाहियो, जनसेवाको भावना हुनुपर्यो, र प्रतिस्पर्धा गर्नु पर्यो र त्यो गरिएको प्रतिस्पर्धामा श्रेष्ठ स्थापित हुनुपर्यो। हामीले श्रेष्ठ बन्ने अधिनायकवादी शैलीले होइन, यो बाटोबाट श्रेष्ठ बन्ने भन्ने जबजले रेखाङ्कन गरेको चिज हो। यसमा आधारित भएर जानुपर्छ ।
अर्को भनेको जनताको बहुदलीय जनवादका दुईटा कुरा छन्। एउटा यसको सैद्धान्तिक पक्ष छ दार्शनिक पक्ष छ। अर्को कार्यक्रमिक र कार्यनीतिसँग सम्बन्धित प्रश्न छ। हामीले कुन प्रसङ्गमा कुराहरू उठाउँछौँ, त्यो कुरा बुझ्न जरुरी हुन्छ।
जस्तो सैद्धान्तिक पक्ष/दार्शनिक पक्ष भनेको मैले बताइहालेँ। यसको द्वन्द्व सर्वत्र छ। यो द्वन्द्व प्रकृतिमा पनि छ, मानव समाजमा पनि छ, पोलिटिक्समा छ, पोलिटिकल सिस्टममा छ। जब द्वन्द्व सर्वत्र छ भने यो द्वन्द्वलाई विधिसम्मत ढंगले प्रकट हुन दिनुपर्छ।
द्वन्द्वलाई विधिसम्मत ढंगले प्रकट हुन दिएन भने यसले एउटा विस्फोटक रूप लिन्छ र त्यसले ठूलो क्षति पुर्याउँछ। त्यसकारणले द्वन्द्वलाई प्रकट हुन दिनुपर्छ, विधिसम्मत ढंगले। भने, यो दार्शनिक निचोडमा आधारित भएर यो प्रतिस्पर्धाको कुरालाई हामीले स्वीकार गरेको। यो पोलिटिकल सिस्टममा छ, पोलिटिकल पार्टीहरूमा छ भनेपछि यसलाई विधिसम्मत ढंगले प्रकट हुन दिनुपर्छ। यसलाई थुनेर, छेकेर, यसलाई प्रकट हुन नदिने हो भने यसले विस्फोटको रूप लिन्छ र नोक्सान गर्छ भन्ने मान्यताको आधारमा हो।
हामीले अहिले जनताको बहुदलीय जनवादको कुरा गरिरहँदा पनि प्रतिस्पर्धाको राजनीति ‘विथ इन द पार्टी एन्ड आउटसाइड द पार्टी’ हामी चाहिँ प्रतिस्पर्धाको पोलिटिक्सलाई स्वीकार गरेर आएका हौँ। भनेपछि त यो प्रतिस्पर्धासित गाँसिएको कुरामा फेरि प्रतिस्पर्धामा श्रेष्ठ कसरी बन्ने? यो ‘फाइफुइ’ लगाएर, ‘हाक्कहुक्क’ गरेर होइन। सक्रिय बन, पहलकदमी लेऊ, जनसेवा गर, प्रतिस्पर्धा गर र श्रेष्ठ बन।
त्यही त, तपाईंले त द्वारिकलाल चौधरीसहितको एउटा लिस्ट नै देखिसक्नुभयो नि त। उहाँहरूलाई त अहिले त… मैले दुईटा शब्द भनौँ न, ‘फाइफुइ’ र ‘हाक्कहुक्क’ गर्ने कुरा… त्यो त उहाँहरू प्रतिनिधि बन्नै बाट रोकिएको हो र त्यस्ता धेरै मान्छेहरू। यी त उदाहरण भयो, हैन? तपाईं मैदानभित्रै आउन पाउनु भएन भने त कसरी खेल्न सक्नुहुन्छ ?
एउटा कुरा के हुन्छ भने पार्टीभित्र पनि अब मर्यादा, विधि त पालन गर्नैपर्छ। मर्यादित ढंगले चल्न सक्नुपर्छ। कतिपय ठाउँमा विधिसम्मत नभएको, मर्यादाको सीमा नआएको पनि हुन सक्छ। तर यी सबै कुराहरू मुद्दा बनेर पार्टीमा छलफल हुन सक्छन्, छलफलका विषय हुन सक्छन्।
उहाँहरू प्रतिनिधि भएर फेरि आउन सक्ने अवस्था बन्छ ?
हैन, अहिले अब पार्टीले, संस्थागत कमिटीले एउटा कुरा उठाइसकेपछि अब के गरेर निर्णय गर्या छ… त्यस्तो हुँदा खेरि कति ठाउँमा हामीले पनि सुनेको छौँ, अहिले प्रतिनिधि बन्न लागेका, ठिक बन्न लागेका साथीहरूलाई त्यहाँ प्रदेश कमिटीमा भएका, जिल्ला कमिटीमा भएका साथीहरूको समेत पनि सदस्यता नवीकरण नभएको भनेर रेकर्ड माथि पठाए पठाउनेहरूले। भनेपछि यो अस्वस्थ खालको कुरा हो, त्यो गलत कुरा हो, त्यो विरोधको विषय हो त्यो।
यो कुराहरू महासचिव अन्तर्गत हेरिन्छ, हैन? संगठनका कुराहरू।
महासचिव भनेको पार्टीको ‘एक्जिक्युटिभ सेन्टर’ हो। त्यसकारणले महासचिवसित त ठोक्किने हो।
तर पनि तपाईं दुई कार्यकाल महासचिव बसेर आउनुभएको मान्छे हो नि त तपाईं, त्यस्तो नेता हो नि।
हो, हो।

तपाईंलाई त अनुभव होला नि यसमा यस्ता-यस्ता कुरामा कसरी पक्षपात हुन सक्छ? कसरी रोक्नुपर्छ?
पक्षपात हुन खोज्छ, तर पक्षपात हुन दिनु हुँदैन। यो त पार्टीभित्रको ‘बिजनेस’ हो नि । यो कुनै ‘वैरी’ जस्तो कुरा त भएन, पार्टीभित्रको ‘बिजनेस’ हो। भनेपछि त यसमा अस्वस्थता देखाएर त पार्टी त उँभो लाग्दैन नि।
यो कुरा उठ्छ ? यो महाधिवेशन अगाडै कुरा उठ्न सक्छ?
जब बैठक हुन्छ, बैठकमा त कुरा उठिहाल्छ नि।
कहाँ उठ्छ? सचिवालयमा ?
सचिवालयमा उठ्छ। केन्द्रीय कमिटी हो भने त्यहाँ उठ्छ, होइन भने सचिवालय बस्यो भने त्यहाँ उठ्छ।
किन निषेधको तहमा गइरहेको छ यो प्रतिस्पर्धाको राजनीति ?
मलाई त्यस्तो निषेधकै कुरामा समग्र गयो भन्ने त होइन। कहिँ-कहिँ त्यो टेन्डेन्सी देखिएको हुन सक्छ।
कसरी रोक्ने ?
खबरदारी गर्नुपर्छ।
कसरी गर्नु छ?
बैठकमा कुरा उठ्छ, उठाउनु पर्छ।
निर्णय उल्टाउन सक्नुहुन्छ?
त्यो त यदि तथ्यले, तर्कले त्यस्तो कुरा गर्यो भने त उठ्छ, किन हुँदैन? सच्चिन्छ नि।
अब राजनीतिकै कुरा गरौँ न। तपाईं केपी ओली प्रधानमन्त्री भएको बेलामा तपाईं र पूर्णबहादुर खड्का (कांग्रेसका नेता) को बीचमा आलोपालो नेतृत्व गर्ने गरी उच्चस्तरीय राजनीतिक संयन्त्र समेत बनेको थियो। भनेको हर तरहले तपाईं त अस्तिसम्म केपी ओलीको नेतृत्वको सरकारलाई पार्टीको नेताको हिसाबले सहयोग गर्ने ठाउँमै हुनुहुन्थ्यो नि त, हैन?
त्यसलाई कसरी बुझौँ भने– दुईटा पार्टीको ‘ब्रोडर अन्डरस्ट्यान्डिङ्ग’ थियो। त्यसको आफ्नो लजिक थियो। त्यो लजिक के थियो भने मुलुकमा ‘क्राइसिस’ आयो, पोलिटिकल इनस्टेबिलिटी निरन्तर भयो, र ‘म्याजिक नम्बर’ वालाहरूको चलखेल ज्यादा हुन थाल्यो। पोलिटिकल स्ट्याबिलिटी दिऊँ भन्ने उद्देश्य राखेर यो चिज गरेको हो, हैन? तर त्यसलाई सञ्चालन गर्न पार्टी भित्रको एउटा मेकानिजम बनाउनु पर्छ भनेर दुई पार्टी बीचको संयन्त्र बनेको थियो। त्यसरी बुझ्नु पर्यो।
तपाईंको यो अध्यक्षको उम्मेदवारी दिने अवस्था बनिसकेपछि अध्यक्ष केपी ओलीसँग प्रत्यक्ष संवाद भएको छ कि छैन?
किन नहुनु? अध्यक्षसित मैले केही दिनअगाडि नै ‘वान टू वान’ बसेर कुराकानी गरेको हो ।
के भन्नुभयो उहाँले?
अब मैले भनेको कुरा उहाँ र मेरो ‘पर्सनल’ भएका कुराहरू यहाँ मैले ‘पब्लिक कन्जम्पसन’ को लागि किन भन्ने?
तर अध्यक्षताको उम्मेदवारीसँग जोडिएका पनि केही प्रसङ्ग त पक्कै उठे होलान्।
मैले त बैठकमै, सचिवालयको बैठकमै कुरा उठाएको छु नि।
के भन्नुभयो त उहाँले?
उहाँले त्यही अघि हाम्रो छलफल चल्यो नि– प्रतिस्पर्धा गर्न पाइन्छ, स्वस्थ प्रतिस्पर्धा। तर प्रतिस्पर्धा गर्दाका परिणामहरू हाम्रा दुवै खाले छन्। एउटा प्रतिस्पर्धा गरेर पराजित भइसकेपछि अब विभाजनको पक्षमा गएको, अर्को प्रतिस्पर्धा गरेर पनि परिणाम जस्तोसुकै आएपनि एकताको पक्षमा रहेको भन्ने हिसाबले ती कुरा हाम्रो छलफल चल्यो।
तपाईं के एमालेभित्र अहिले वाम एकताको पक्षधर हो कि होइन? जो नेपाली कम्युनिस्ट पार्टी बनेको छ, पहिला तपाईँहरूसँग एकचोटी जोडिसकेको छ, एकता भएको छ। अहिले उनीहरू छुट्टै राजनीति गरिरहेका छन् ?
वामपन्थी एकता भन्दा पनि कामपन्थी एकताको आवश्यकता छ। त्यो भनेको– मुद्दामा आधारित, ‘इस्यु’ मा आधारित एकता। इस्यु, मुद्दा, विषय मिले भने सहकार्य हुँदै जान्छ । भोलि मोर्चा पनि बन्न सक्ला। तर विषय र काम मिलेका छैनन् भने त वाम-वाम भनेर मात्रै…।
एउटा कोरियाको प्रसङ्ग छ । यति धेरै कम्युनिस्ट पार्टी रे कि किम इल सुङले भनेका छन्, ‘आइतबारे कम्युनिस्ट पार्टी, सोमबारे कम्युनिस्ट पार्टी, मंगलबारे/शुक्रबारे कम्युनिस्ट पार्टी’ भनेको जस्तो भयो। त्यसबेला कोरियन वर्कर्स पार्टी कम्युनिस्ट पार्टीकै नाममा थियो।
पछि दिक्क भएर त्यो कम्युनिस्ट नराखेर वर्कर्स पार्टी राखेको हो भन्नुभएको छ। नेपालमा पनि त्यस्तै खालको कुरा त होइन। तर हामीले देख्यौँ नि, कम्युनिष्ट पार्टीको नाममा, वामपन्थीको नाममा के-के कर्म, कुकर्म विगतमा भयो । त्यसकारणले वामपन्थी एकता भन्नुभन्दा पनि कामपन्थी एकता गर्नुपर्छ। त्यो काममा आधारित, विचारमा आधारित … ।
तपाईं मोर्चाबन्दीको पक्ष त हैन?
इस्युले एक ठाउँमा ल्याउने हो, इस्युले टाढा पुर्याउने हो।
अब तपाईंको प्रतिस्पर्धा आउन पनि धेरै छैन। दुई हप्ता जतिमा त तपाईंको महाधिवेशन पूरा भइसकिएको हुनेछ। तपाईंको देखाइमा नि, केपी ओलीसँग सङ्गत पनि लामै गर्नुभयो। उहाँको मेरिट के हुन्? डिमेरिट के हुन्?
मेरिट पनि भएर नै उहाँ यो ठाउँमा रहनुभएको हो । उहाँको इच्छाशक्ति देख्छु मैले, इच्छाशक्ति, दृढता, तर्क गर्ने क्षमता मलाई मन पर्छ। तर कतिपय कुरा – अर्काको कुरा सुन्ने, अरू साथीहरूका कुरा सुन्ने मामलामा अलि भनेअनुसार छैन भन्ने आम टिप्पणी छ ।
भनेको उहाँ एकदम सुन्ने मान्छे हो कि सुन्दै नसुन्ने मान्छे हो ?
खास सन्दर्भमा सुन्ने हो, खास सन्दर्भमा सुन्न नचाहने हो भन्छन् मान्छे।
नेता त त्यस्तै हुनुपर्यो नि, हैन? सबै कुरा सुनेर पनि भएन, सुन्दै नसुनेर पनि भएन?
तर के हुन्छ भने एउटा विधि र पद्धति अनुसार सुन्नुपर्छ। त्यो चिज कमजोर भयो भनेदेखि वास्तवमा सुन्न त सुनिएको हुन्छ। आफूलाई प्रिय-प्रिय लाग्ने कुरा सुन्ने, अप्रिय लाग्ने कुरा नसुन्ने स्थिति भो भने त राम्रो हुँदैन।
यो संसारभरिका मान्छेको साझा मानवीय कमजोरी होइन यो?
साझा मानवीय कमजोरी तर ‘मुभमेन्ट’ लाई ‘लिड’ गर्ने मान्छेहरूले त्यो कमजोरीको हवाला दिएर उम्कन सक्दैन।
छ वर्ष प्रधानमन्त्री बन्नुभयो केपी ओली । पछिल्लो समयको लामो अवधिसम्म प्रधानमन्त्री बन्ने उहाँ नै हो ?
संविधान जारी भयो ०७२ सालमा, ०८२ साल गणना गर्ने हो भने यो १० वर्षमा ६ वर्ष प्रधानमन्त्री हुनुभयो।
राजनीतिको केन्द्रमै रहनुभयो उहाँ सत्तामा बसे पनि, प्रतिपक्षमा बसे पनि, हैन?
एमाले केन्द्रमा रह्यो, एमालेको नेता भएको कारणले उहाँ पनि केन्द्रमा हुनुभयो।
अलिकति रक्षात्मक, ‘डिफेन्सिभ’ जस्तो बनिराख्ने एमालेलाई उहाँले ‘लाइमलाइट’ मा त ल्याएकै हो नि, हैन?
उहाँको निश्चित खालका कामहरूको बारेमा, उहाँको कार्यकालमा भएका राम्रा कुराहरूको बारेमा, ती त हाम्रो आन्दोलनका, पार्टीका सम्पत्ति हुन्, त्यसको रक्षा गर्नुपर्छ।
त्यो ‘लाइमलाइट’ मा ल्याउन सक्ने, खासगरी राजनीतिलाई ‘रियाक्टिभ’ भन्दा पनि अगाडि लगेर ‘फोरफ्रन्ट’ मा राख्न सक्ने क्षमताका लागि फेरि एकपल्ट केपी ओलीलाई भन्छन् नि त ?
त्यस्तो पनि होइन। पहिलो पटक प्रधानमन्त्री हुँदा उहाँको प्रतिष्ठा, इज्जत, लोकप्रियता जुन ठाउँमा थियो, दोस्रोमा पनि केही रह्यो। त्यसपछि त स्थिति त्यस्तो रहेन । पछिल्लो पटक झन्-झन् स्थिति बिग्रियो। अब वास्तवमा उहाँले प्राप्त गर्नुभएको लोकप्रियताको रक्षा गर्नु आवश्यक छ।
उहाँले गरेका राम्रा कुराहरूको संरक्षण गर्नुपर्ने आवश्यकता छ। त्यसको लागि अब पदमै बसेर मात्रै हुन्छ भन्ने म ठान्दिनँ। उहाँ यो पार्टीको, यो आन्दोलनको संरक्षक बन्ने, अभिभावक बन्ने, सम्मानित व्यक्ति भएर बन्ने र उहाँले एउटा गार्जियनशिप दिनुपर्ने आवश्यकता छ।

तर ‘बा’ बन्ने, अभिभावक संरक्षक चाहिँ नबन्ने भन्ने अवस्था छ नि त, हैन?
अब तपाईंले ‘बा’ सित टाँस्नुभयो। उहाँ अबको अवस्थामा संरक्षक र अभिभावक बन्नु आवश्यक छ।
तर अघि तपाईंले दिएको औपचारिक जवाफ भन्नुभयो नि, त्यस्तै, बहुसङ्ख्यक महाधिवेशन प्रतिनिधिले ‘हैन उहाँ नै हो अध्यक्ष’ भनेर भोट हाल्दिए भने के गर्ने?
महाधिवेशनको ‘सुप्रिमेसी’ लाई त कसैले चुनौती दिन सक्दैन ।
एमालेमा छिट्टै कुनै पनि खालको गुटफुट, विभाजन त हुँदै छैन ?
हुँदैन। किन हुन्छ? असली एमाले जो हो, त्यो गुटफुट, विभाजनको पक्षमा कहिल्यै जान सक्दैन।
अघि तपाईंले नै भन्नुभयो– सुरुको प्रधानमन्त्री काल केपी ओलीको र दोस्रो कार्यकालसम्म पनि उहाँको एकदम सुरुको उत्तम, बीचको पनि सन्तोषजनक, त्यसपछाडिको अलिकति कमजोर रह्यो भन्नुभयो नि। यो कुरा किन तपाईंले बीचको अवधिमा समीक्षा गर्नुभएन?
हामीले नगरेकै चाहिँ त होइन। तर एउटा कुरा साँचो म भन्न चाहन्छु, हाम्रो पार्टीमा यस बीचमा समीक्षात्मक कुराहरू कम हुन थालेका छन्।
त्यो किन त्यस्तो भयो? कसले प्रोत्साहन गरेन या किन त्यस्तो भयो?
यो सबै अब मैले यहाँ फलानाले भन्नुभन्दा पनि अब जेसुकै कारणले होस्, समीक्षात्मक कुराहरू अलि कम भएको भन्ने आम बुझाइ छ।
समीक्षा गर्ने कुरालाई कसरी ‘डिस्करेज’ गर्यो होला नि?
यो पनि समीक्षाकै बेलामा छलफल गर्ने विषय हुन्छ।
यो महाधिवेशन केन्द्रित छलफललाई थोरै हामी अब त राष्ट्रिय राजनीतिको विषयमा ल्याउँ। ‘जेनजी मुभमेन्ट’ पछाडिको राजनीतिलाई कसरी हेर्नुभएको छ?
जेनजी (नवयुवा समूह) ले जुन माग राखेका थिए– भ्रष्टाचार नियन्त्रण, सुशासनका कुरा, यो सामाजिक सञ्जाल माथि प्रतिबन्ध हटाउनुपर्ने भन्ने कुरा। यी कुराहरू त जायज थिए। तर त्यो जायज कुरामाथि एउटा षड्यन्त्रपूर्ण ढंगको घुसपैठ भयो र त्यसले एउटा विध्वंस मच्चाउने काम गर्यो । भदौ २२ गतेसम्मको अवस्था र त्यसपछिको अवस्थामा त धेरै हेरफेर भएको छ। संसद् भङ्ग भयो। संविधान पनि अलि-अलि घाइते भयो। राजनीतिक दलहरू एउटा अप्ठ्यारो पोजिसनमा पुगे।
बनिरहेको सरकार रहेन, अन्तरिम सरकार बन्यो। भनेपछि त धेरै चिजहरू परिवर्तन भाछ। यसका बारेमा समीक्षा गरिनुपर्छ। किन यस्तो भयो? यस पछाडिका कारणहरू के हुन्? यसको कारण खोजिनुपर्छ।
यो किन यस्तो भयो त तपाईंहरूको नेतृत्वमा सरकार थियो? शक्तिशाली गठबन्धन थियो?
यसमा समीक्षा गरिनुपर्छ भनेर मैले एउटा मोटो, स्थूल जवाफ दिएँ । जो-जो नेतृत्वमा हुन्छ, जस पाइयो भने पनि जसको ठूलो भाग उसैको अगाडि जान्छ। अपजस आयो भने पनि त्यसको पनि ठूलो भाग उसैको अगाडि जान्छ। हामी नेतृत्वमा थियौँ। वास्तवमा यो समीक्षा गरिनुपर्छ, कमजोरी भएका छन्। यो कमजोरी के-के भए भनेर एकदम ठण्डा दिमागले छलफल गर्नुपर्छ र निष्कर्षमा पुग्नुपर्छ। यसरी निष्कर्षमा पुग्दा कसैलाई पनि नोक्सान हुँदैन।
कांग्रेस एमाले आलोपालो सत्ता सहकार्य गरेको एक वर्ष भर्खर बित्दा-बित्दै देशले अभूतपूर्व संकट कसरी सामना गर्न पुग्यो?
यो विषय अलिकति फर्केर हेर्नुपर्ने जरुरी छ। त्यो खालको समीकरण र त्यो समीकरणलाई टिकाउनको लागि गरिएका त्यस बीचका अभ्यासहरू के कस्ता रह्यो भनेर फर्केर हेर्नुपर्छ।
त्यो समीक्षा गर्ने क्रममा हामी संविधान र प्रणालीको बारेमा पनि समीक्षा गर्छौँ?
स्वाभाविक छ, आउँछ नि त! अहिलेको संविधानमै किटानी व्यवस्था ‘हरेक १० वर्षपछि रिभ्यु गर्ने’ भनेकै छ। संवैधानिक प्रबन्ध छ त्यो। त्यसकारणले विषयले पनि घचघच्यायो, समय अवधिले पनि हामीलाई गर्ने द्वार खोल्यो। भनेपछि त गर्न सकिने हो नि त।
त्यो समीक्षा आधारभूत रूपमा कहाँ हुन्छ? केन्द्रीय कमिटीमा, महाधिवेशनमा या कुन फोरम हो त्यो समीक्षा गर्ने?
त्यो पार्टीका औपचारिक, वैधानिक फोरमहरूमा हुन्छ।
तपाईंको डकुमेन्ट आउँछ होला नि त्यसमा त?
मैले हिजोको वक्तव्यमा भनेको छु। अब हामी कसरी अगाडि जाने भन्ने सन्दर्भमा राजनीति, सङ्गठनात्मक एउटा विचारको हिसाबले प्रस्तुत हुन्छौं ।
तपाईंलाई के लाग्छ, देशमा अहिले ४२ प्रतिशतभन्दा बढी युवा जनसंख्या छ। देश भित्र होस् या बाहिर होस्। त्यो नेपाली युवा जनसंख्या हो। ‘डेमोग्राफिक डिभिडेन्ड’ यतिखेर हाम्रो देशमा हुनेछ। यस्तो ठूलो अवसरलाई तपाईंहरूले सदुपयोग गर्न सकेको देखिएन नै । पार्टीलाई किन तपाईंहरू युवातिर फर्काउन चाहनुहुन्न?
हामीले हाम्रो आधारभूत तहमा ४० प्रतिशत युवाहरूको कुरा गरेका छौं । त्योभन्दा माथि ३३ प्रतिशतको कुरा गरेका छौं । त्योभन्दा माथि २० प्रतिशत भनेका छौं । अहिले हाम्रो महाधिवेशनको प्रतिनिधिमा पनि जस्तो १२०० मा चार जना हुन्छ भने, दुईटा खुला, एउटा महिला, एउटा ‘४० मुनिका’ मापदण्ड राखेका छौं ।
हामी यसमा अत्यन्त सचेत छौँ र युवा पुस्तालाई नेतृत्वमा प्रमोट गर्नुपर्छ भनेर महाधिवेशनको प्रतिनिधि बनाएका छौँ, एक। दोस्रो कुरो, महाधिवेशन प्रतिनिधि बनिसकेपछि स्वाभाविक छ, नेतृत्वमा आउने चान्स पनि बढ्छ। हाम्रो संसदीय दलमा हेर्नुहोस्, प्रमुख सचेतक कुन उमेरको हुनुहुन्छ, सचेतक कुन उमेरको हुनुहुन्छ? हामी त प्राक्टिस गर्ने कोसिस गरिराका छौँ । पुगेको छैन भने अझै थप्नुपर्छ ।
मैले त्यही कारणले भनेँ, हाम्रो महाधिवेशन यस्तो प्लेटफर्म हो, जहाँ प्रतिनिधि हरेक १२०० मा चार जनामध्ये एक जना ४० मुनिको अनिवार्य हुनैपर्छ। एकजना महिला अनिवार्य हुनैपर्छ। फेरि अर्को ८०० मा एकजना हुँदा खेरि महिला हुनैपर्छ। भनेपछि त हामीले त क्लियर कुरा गरेको छौँ।
तपाईंलाई पनि ठुलै थ्रेट छ। युवा बाहुल्य धेरै वटा पार्टीहरू नयाँ-नयाँ जन्मिराखेका छन्। तपाईंहरू मालेबाट एमाले बन्दै गर्दा सब नेताहरू ३८-४० वर्षका हुनुहुन्थ्यो। सब युवै-युवाको पार्टी थियो। अहिले तपाईंहरू बुढो हुनुहुन्छ, तर तपाईंहरू कसैले पनि छोड्नु भएको छैन। नयाँ आउने यो ‘रिक्रुटमेन्ट’ को ठाउँ अहिले बल्ल-बल्ल अलिकति खोले जस्तो कुरा गर्नुभयो। तर त्यो बेसिकली त्यो कठिनै छ। जनप्रतिनिधिहरू आउने कुरामा पनि त्यस्तै अवस्था छ।
वैधानिक व्यवस्थाले नै रोकिएको अवस्थाभन्दा बाहेक हर कोही हर कोहीसित प्रतिस्पर्धा गर्न सक्छ । प्रतिस्पर्धा गर्न त पाइयो । प्रतिस्पर्धाको कुरालाई हामीले ओपन गरेकै छौँ। नेतृत्वको बारेमा पनि हामीले भनेको कुरा के हो भने– दुई धार र तीन तरेलीबाट नेतृत्व निर्माण गर्नुपर्छ। दुई धार भनेको – ‘क्यारियर पोलिटिसियन’ हरूको एउटा धार, अर्को पोलिटिक्स बुझेका विषय विज्ञहरूको ‘कम्बिनेसन’ चाहिन्छ।
तीन तरेली भनेको – पाको पुस्ता (६० माथिका), ६० देखि ४०, ४० मुनिका । यो गर्नैपर्छ। हामीले त सङ्गठनात्मक प्रस्तावमा यही मान्यता अनुसार अगाडि बढाइराखेका छौँ।
‘तीन तरेली’ अलिकति युनिक शब्द ल्याउनुभयो । तर निर्णय गर्ने ठाउँमा त्यही पुरानै होइन?
नेतृत्वमा आउनु भएपछि त उहाँहरू पनि डिसिजन मेकिङ्गमा त भूमिका खेल्नुहुन्छ नि त ।
यसपालि तपाईंलाई चुनावमा जान किन यत्रो अनकनाहट? के भएको हो एमालेलाई ?
संसद् विघटन असंवैधानिक काम हो भन्ने हाम्रो बुझाई हो। हाम्रो निर्णय हो, निष्कर्ष हो। अब मुलुकलाई अब ‘लिक’ बाट तल झरेको सिचुएसनबाट ठाउँमा ल्याउनको लागि संसद् पुनर्स्थापना हुनुपर्छ, एक। हाम्रो रोडम्याप त्यो हो।
दोस्रो, संसद् पुनर्स्थापनाको कुरा गरिरहँदा अहिले जेनजी लगायतका आम नागरिकहरूका मागहरू छन्, कतिपय प्रणालीसित गाँसिएका कुराहरू छन्। त्यसलाई सम्बोधन गर्न संविधान संशोधन गर्नुपर्यो। संविधान संशोधन गर्ने वैधानिक प्लेटफर्म भनेको संसद् हो। संसद् पुनर्स्थापना गरेपछि त्यहाँ कुरा गर्ने, एक। के-के विषयमा संशोधन गर्ने, छलफल गर्नुपर्यो। त्यसपछि त्यो संसद् पुनर्स्थापना भएपछि सम्भव भएसम्म सर्वपक्षीय सरकार बनाउने भन्ने कुरा, तेस्रो कुरा अर्ली इलेक्सन गर्ने। हाम्रो रोडम्याप यो हो।
अब जहाँसम्म ‘चुनावमा जाँदैन’ भन्ने हाम्रो एउटा ‘कन्डिसनल’ कुरा थियो – चुनाव भन्ने, जेलबाट भागेका धेरै अपराधीहरू बाहिर छन् । अनि हतियारहरू कब्जा गरिएको छ, लाख भन्दा बेसी गोली गठ्ठा कब्जा भएको छ, लगेको छ। त्यो छैन। सीमा हदबन्दी गरेको छ।
नेताहरूलाई पोलिटिकल पार्टीहरूसित राम्रो रिलेसन छैन। सुरक्षा निकायको रूपमा रहेको महत्त्वपूर्ण नेपाल प्रहरीको मनोबल गिराउने कुरा गरेको छ। तर पनि नेपाल प्रहरीका मान्छेहरू उच्च मनोबलका साथ अगाडि बढ्ने गरेको त छन्, तर उनीहरूको भौतिक र मानवीय कुराहरूमा समस्या रहेको छ।
त्यसमा ध्यान दिऊँ न। त्यो कुरा कुरा नगरिकन ‘चुनाव-चुनाव’ भनेर मात्रै चुनाव गर्छौँ कि चुनाव कुरा मात्रै गर्छौँ भन्ने परेको हो।
अहिले चुनाव भैराको छ कि कुरा मात्रै भइरहेको छ ?
अहिले चुनाव गर्छु भनेर सरकारले भन्दै छ। चुनाव गर्नको लागि हामी यी कुराहरू पूरा गर्नुपर्छ, गर भन्ने कुरा हो। तर हामी चुनावबाट बाहिरिन खोजेको होइन।
सरकारले पनि त गर्छु भनिरहेको छ ?
गर्छु भनेको त देखिनु पर्यो ।
तपाईं अझै पनि आश्वस्त होइन, चुनाव समयमा हुन्छ भन्ने कुरामा ?
अहिले जुन स्पिरिटमा कुरा भएको छ र सबै दलहरू चुनावतिर आकर्षित भएका छन्, चुनाव हुन्छ भन्ने मलाई लाग्छ। अर्को कुरा – संसद् पुनर्स्थापनाको कुरा सम्मानित सर्वोच्च अदालतको विषय बनेको छ। त्यसमा न्यायालयमा भएको कुराप्रति पोलिटिकली छिटाकसी गर्नु पर्ने आवश्यक छैन। त्यो अदालतले फैसला गर्ने विषय हो ।
अहिले तपाईंहरूबाट एउटा प्रस्ताव आइराछ नि– सर्वपक्षीय सरकार बनाउनु पर्छ भन्ने।
अब ‘मूभमेन्ट’ जेन्जीबाट केही फोर्सेजहरू त देखिए, जेनजीलाई प्रतिनिधित्व गर्ने कुराहरू पनि देखिए, अनेक कुराहरू आए। यस्तो हो भने संविधान संशोधन गर्ने र निर्वाचन गराउनको लागि त्यो खालको सरकार बनाउँदा उपयुक्त हुन्छ भने गरौँ भनेको हो।
त्यस्तो सम्भावना छ?
त्यस्तो खोजौँ। त्यस्तो सम्भावना छ भने गरौँ, हामी ओपन छौँ।
अहिले विभिन्न पात्रहरू बजारमा चर्चामा छन् नि, पूर्व-न्यायाधीशहरू, पूर्व-प्रधानन्यायाधीशहरू। उनीहरूलाई अहिले पनि हुन त पूर्व-प्रधानन्यायाधीशकै नेतृत्वमा सरकार छ। तर योभन्दा अझै राम्रो पूर्व-प्रधानन्यायाधीश खोजेर त्यसमा दलका प्रतिनिधि पनि रहने, नागरिक समाज रहने, जेन्जीका मान्छे पनि रहने… त्यस्तो सरकार बनाउनु पर्छ भन्ने प्रस्ताव तपाईंलाई
कसैलाई दिमागमा राखेर यो प्रस्ताव ल्याइयो भनेर बुझ्नु भएको हो भने…म चाहिँ त्यो बुझ्दिनँ।
तपाईंकै पार्टीबाट लगभग त्यो मान्छेको नाम दिमागमा राखेर…?
मेरो पार्टीबाट न छलफल भाको छ न के कुरा भाको छ।
कल्याण श्रेष्ठको नाम आको छ कि छैन, सिधा कुरा गरौँ न।
मेरो पार्टीमा छलफलको विषय समेत भाको छैन यो कल्याण श्रेष्ठको नाम। छलफल भाको छैन अहिलेसम्म।
त्यो जुन छ-बुँदे भनेर केपी ओलीको नाममा बाहिर आइराको छ, मानव अधिकार अलायन्सको प्रतिनिधि सँग भेट हुँदाखेरि राखिएको त्यो एजेन्डाहरू, त्यो चाहिँ कहाँबाट आएको हो त?
छ-बुँदे प्रस्तावको बारेमा हामीले कमिटीमा पनि छलफल गरेका थियौं पछि। के हो भन्दा उहाँले व्याख्या गर्नुभएको थियो। मैले अघि भने नि– एउटा संसद् पुनर्स्थापना गरेर संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने र सबैलाई मान्य हुने हिसाबले सर्वदलीय सरकार बनाउने र चुनाव चाँडो गर्ने भन्ने एउटा स्टेपिंग उहाँले बताएको हो ।
त्यही कुरालाई लिपिबद्ध गरेर चाहिँ एकदम बाहिर आएको हो। तर कुनै अघि नाम लिएका सम्मानित अन्य व्यक्तित्वको बारेमा हाम्रो कमिटी बैठकमा कहिँ कतै छलफल भएको छैन।
एमालेमा छलफल भएको छ कल्याण श्रेष्ठको बारेमा ?
एमालेको कोही नेताले कुरा गर्नुहोला। अनि इन्फर्मल्ली कोही कतै कसैसित, त्यो म जान्दिनँ। तर ‘एमाले’ भनेर जुन कमिटीगत संस्थागत कुरा हुन्छ, त्यहाँ छलफल भएको छैन।
ईश्वर जी, युवाहरूले जे भए पनि एउटा विद्रोह गरे। शासनमा ठिक भइरहेको छैन। यहाँ कुशासन चलेको छ। यहाँ नेपोटिजम चलेको छ। नेपोबेबीहरूको राज भयो राज्यमा। अब नेताका छोराछोरी भएपछि अथवा प्रतिष्ठित व्यक्तिका छोराछोरी भइसकेपछि या नातेदार भइसकेपछि उसले जे पनि गर्न सक्ने, अर्को सामान्य मान्छेले चाहिँ त्यही कुरा गर्नको लागि विधि पद्धति भित्रकै, संविधान कानुन भित्रकै, ऐन भित्रको कुरा गर्न पनि कत्रो धेरै फाइल बढाउँदै जानुपर्ने, फाइल बढाउँदा स्टेप-स्टेपमा घुस खुवाउँदै जानुपर्ने, आम मान्छेले यत्रो दुःख पाउनु पर्ने, तर नेताको भएबापत चाहिँ ‘प्रिभिलेज्ड’ हुने। यो सिस्टम तोड्नु पर्छ भन्दा खेरि तपाईंहरूले किन टाउको दुखेको?
हामीले टाउको दुखेको छैन। टाउको दुख्दैन। म तपाईंलाई भन्छु– एउटा त के हो भने कुनै पनि विषयमा कुनै पनि प्रसङ्गमा सोलो-डोलो प्रश्न पनि गर्नुहुन्न, सोलो-डोलो उत्तर पनि हुँदैन। जस्तो सोलो-डोलो सबै त्यस्तो भो। अब नेताका छोराछोरी या कुनै सम्पन्न परिवारका छोराछोरीले राम्रो स्कुलमा पढे, राम्रो लुगा लाए, राम्रो ठाउँमा गए… त्यो के विरुद्धको विषय हुनुपर्छ र ? उनीहरूको के दोष? त्यो दोष त होइन। है।
अर्को मैले के भन्न चाहन्छु भने– सुशासन दिने कुरा, शिक्षा र स्वास्थ्यका कुरा, सार्वजनिक यातायातका कुरामा हाम्रो ध्यान पुग्नु पर्यो। त्यो पुग्या छैन भनौँ न।
त्यो पुग्या छैन नि त। यत्रो वर्ष तपाईंहरूले केन्द्रमा, प्रदेशमा, स्थानीय तहमा सरकारहरू चलाउँदा-चलाउँदा, गठबन्धनहरू गर्दा-गर्दा पनि आम मान्छेले यो पाएन नि त। छटपटी त यसमा होइन र भनेको ?
त्यसमा के हो भने पुगेको छैन भन्नु… जति हुनुपर्थ्यो त्यति हुन पा छैन, त्यो भन्न सकिने भो। हिजोको स्थितिसित तुलना गरौँ त। हिजोको स्थिति र आजको स्थितिमा परिवर्तन त छ नि ! तर अझै अपेक्षा गरे अनुसार भएन, हुनुपर्ने जति भएन भन्न सकिन्छ।
त्यो असन्तुष्टि स्वाभाविक रूपमा युवाहरूले जाहेर गरे, होइन?
मैले अघि पनि सुरुमा भने– युवाहरूले उठाएको जुन कुरा छ, त्यो युवाहरूले उठाएको कुराप्रति मेरो चाहिँ पोजिटिभ छु। त्यो के हो भने– उनीहरूले सुशासनको कुरा उठाए, भ्रष्टाचार अन्त हुनुपर्छ भन्ने कुरा उठाए, सामाजिक सञ्जाल माथि प्रतिबन्ध, त्यसलाई नियन्त्रण गरिनु हुँदैन भन्ने कुरा उठाए। यो चिज त जायज कुरा हो नि। त्यो उनीहरूको जायज कुरामा अवाञ्छित तत्वहरूको प्रवेश भएर एउटा विध्वंसको स्थिति पैदा भयो भन्न खोजेको हो नि ।
तपाईंको आफ्नो घर पनि जल्यो।
मेरो घर जल्यो। अरू धेरै साथीहरूको जल्यो। मलाई चाहिँ मेरो घर जलेकोमा एउटा कुरा अरू भन्दा पनि मेरो सम्पूर्ण पोलिटिकल प्रोपर्टी जति थियो, त्यो पोलिटिकल प्रोपर्टी नष्ट भयो।
त्यो भनेको के डकुमेन्ट्सहरू भन्नुभयो?
डकुमेन्ट्सहरू। मैले जुन बेलादेखि कम्युनिस्ट आन्दोलन लागे, त्यसबेलादेखिका सङ्ग्रहित चिजहरू समाप्त भए ।
तपाईंको घर जल्दै गर्दा, उत्पात र विध्वंस अराजकहरूको शिकार बन्दै गर्दाखेरि, एउटा कुरा कतै लाग्छ कि लाग्दैन– अघि तपाईंले भन्नुभयो नि, ‘नेताहरूलाई व्यक्तिगत मात्रै सोच्ने छुट छैन’ भन्नुभयो नि, त्यस्तै त्यो ‘हिस्ट्रीले कहिलेकाहिँ यो सब चिजहरूलाई प्युरिफाई गर्ने मौका दिएको छ’ भनेर लाग्छ कि लाग्दैन?
के हुन्छ भने– विकासको एउटा गति अगाडि बढिसकेपछि निश्चित बिन्दुमा पुगेपछि त्यो बिन्दुमा देखा परेका समस्याहरूलाई निराकरण गर्नको लागि पनि कतिपय ‘जर्क’ हरू आउँछन् भनेर भन्छन्।
त्यो जर्क त आयो नि, हैन ?
अब त्यसबाट थुप्रै लेसनहरू, शिक्षाहरू लिनुपर्छ हामीले।
यसबाट एमालेले के लेसन लिएको छ खासगरी?
हामीले सुशासनको कुरा, भ्रष्टाचारसँग सम्बन्धित विषयमा सुशासन दिने सम्बन्धमा र जनताको स्वार्थलाई हमेशा संवेदनशील ढंगले हेर्नुपर्छ, बुझ्नुपर्छ, सम्बोधन गर्नुपर्छ भन्ने कुरालाई नयाँ अवस्थामा त्यसले हामीलाई शिक्षा दिएको छ।
एमाले त्यसैको लागि खुलेको थियो, हैन? समानता, न्याय यस्तो-यस्तो थियो नि!
अहिले त्यही उद्देश्यको लागि नै हो कि तर मानिसहरूका चाहना, नागरिकहरूका चाहना, आवश्यकता त परिवर्तन भइरहन्छन् नि। परिवर्तित चाहना, परिवर्तित आवश्यकतालाई सायद बुझ्न ढिलो भयो भने पनि धक्का सहनुपर्छ।
अहिलेको यो धक्काले कुन शिक्षा दिएको छ ? हामीले नेतृत्वमा टालटुलै सुधार गरेर होइन कि हामीले आमूल परिवर्तन नै गर्नुपर्छ भन्ने ठान्नु भएको छ ?
जहाँ-जहाँ प्रोब्लम छन्, प्रोब्लम भएका ठाउँमा सुधार गर्नुपर्छ।
अहिले सुधार कि आमूल परिवर्तन चाहिएको हो?
त्यो सुधारै हो नि। त्यो आमूल परिवर्तन भन्नुस्, सुधार भन्नुस्, के भयो, त्यो त्यही हो।
आमूल परिवर्तन भन्ने/सुधार भन्ने पहिला-पहिला एमालेको शब्द हो के। आमूल परिवर्तन त ‘टेक्टोनिक शिफ्ट’ भन्छन् क्यारे, हैन?
आमूल परिवर्तन गर्नुपर्छ। त्यो पुरानो चिज यथास्थितिमा रहनु हुँदैन, रह्यो भने अगाडि बढ्न सक्दैन भन्न खोजेको कुरा हो।
संविधान संशोधन हुन सक्छ, हुनुपर्छ?
हुनुपर्छ।
प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री उठाउनुभएको थियो नि एकचोटी। त्यो उठाउनुहुन्छ फेरि?
हैन, यस्तो नि। हामीले कहिल्यै पनि त्यसलाई आफ्नो विषय बनाएर उठाएनौँ। तर त्यो बहस छलफलको विषय भयो भने हामी छलफल गर्छौं।
त्यो बहसमा सहभागी बन्न चाहनुहुन्छ कि ?
सहभागी त किन नहुने? हुन सकिन्छ। तर त्यो प्रत्यक्ष निर्वाचित कार्यकारी हाम्रो जस्तो ‘जिओ पोलिटिकल सिचुएसन’ भएको, यो भूराजनीतिक संवेदनशीलताको भारी बोकेर हिँडेको अवस्थामा त्यो चिजका जोडघटाउ राम्ररी बुझ्नुपर्छ।
तपाईंको पार्टीको महाधिवेशनबाट त्यो जोडघटाउ बुझ्न सक्ने नेतृत्व आउँछ? तपाईंको पार्टीमा के भनिन्छ भने– केपी शर्मा ओली चाहिँ यो चाहे राजनीतिक होस्, चाहे भूराजनीतिक कोणबाट, बढ्ता चाहे तारोमा बन्ने कुरामा, चाहे सान्दर्भिक बन्ने कुरामा उहाँ नै अगाडि हुनुहुन्छ। एमालेले लामो समय पछाडि यस्तो नेता पाको हो। कतिपय कुरा उहाँका कमजोरी होलान्, तर कमजोरी सहित पनि केपी ओली चाहिँ त्यो त्यस्तो खालको ‘टर्च लाइट फोकस’ बोकेर हिँड्ने मान्छे हो। त्यस्तो मान्छे एमालेमा अर्को छैन अहिले हाललाई भन्छन् के।
कोही जस्तो कोही हुँदै हुँदैन नि। कोही जस्तो कोही हुँदैन। कोही त कोही मात्रै हो नि। म जस्तो तपाईं हुनुहुन्न, तपाईं जस्तो म छैन। तपाईंका केही क्षमताहरू, विशिष्टता छन्। मसित त्यो छैन। मसित केही होलान्, तपाईँसित हुन्न। त्यो त स्वाभाविक हो नि। त्यसलाई अस्वाभाविक रूपमा लिनु हुँदैन। त कमजोरीका पाटा पनि या राम्रा कुरा पनि दुइटै त्यस्तो हुन सक्छ ।
अहिले नयाँ सरकार बनाउने प्रस्तावमा धेरै अगाडि बढ्नुहुन्न। यो सरकार हुँदाहुँदै तपाईंको एउटा प्रस्तावको रूपमा आएको हो, तर त्यसलाई धेरै एमालेले पुस गर्दैन। तपाईंहरू चुनावमा जानुहुन्छ ?
त्यो चुनावमा प्रस्तावको जानु… प्रस्तावको रूपमा आएको पनि होइन। कहिँ कुनै कर्नरमा छलफल भयो होला, कसैले कुरा उठायो होला।
सुशीला कार्की नेतृत्वको सरकारले चुनाव गराउँछ?
चुनाव गराउँछु भनेको छ। हामी ‘चुनाव गर्नको लागि यो-यो कुरा गर’ तिमी चुनाव गराउँछु भनेको हो भने यी काम गरेर चुनाव गराउने काममा अगाडि बढ भनेका छौं ।
तपाईंहरू विकल्प खोज्ने पक्षमा होइन।
विकल्प किन भन्ने? विकल्प त हरेकको हुन्छ। तर अहिले चुनाव गराउँछु भनेर आएको सरकार छ भने यो-यो-यो कुराहरू पूरा गरेर चुनावमा जाउ, तिमीले चुनाव गराउनै चाहेको हो भनेर भन्या छौँ हामीले।
एमाले बाधक बन्दैन, साधकै बन्छ, सहयोगै गर्छ ?
एमाले बाधक किन बन्छ ? निर्वाचन लोकतान्त्रिक विधि हो, प्रणाली अन्तर्गतको विषय हो। त्यो बाधक किन बन्छ ? बन्दैन।
एमाले चुनावमा जान्छ कि जाँदैन भन्ने जुन चुनावी संशयको बादल, फाटिसक्यो। एमाले चुनावमा जान्छ।
एमाले चुनावमा जान्छ । चुनावमा जान्छ र चुनावमा जान्छ। तर चुनाव गर्नुभन्दा अगाडि चुनावसित गाँसिएका यी मुद्दाहरू सरकारले सम्बोधन गर्नुपर्छ।
अहिले चुनावलाई कसैबाट खतरा छ ?
यो जुन वातावरण छ, यो वातावरण त भनौँ न– एकछिन नमान्नुस्, नेताहरूको गतिविधिमा सीमा हद तोकिनु यहाँभन्दा ठूलो मजाक के हो ?
दोस्रो कुरा, त्यो अपराधीहरूलाई जो जेलबाट भागेका छन्, तिनीहरूलाई नियन्त्रणमा लिने कुरा गम्भीर विषय हो कि होइन ? हतियारहरू जो बाहिर लुटिएका छन्, प्रहरी सङ्गठनलाई मजबूत बनाउने खालका कुरा गर्नुपर्छ कि पर्दैन ? त्यसमा ध्यान देउ। यी चिजहरू पूरा गर पो भन्न खोज्या त।
सरकारले पनि त्यही त भन्दै छ नि। नेताहरूबाट खासगरी त्यो २३ र २४ भदौको घटनासँग सम्बन्धित कतिपय व्यक्तिहरूलाई सीमा हद तोक्नुपर्ने आवश्यकता देखियो। उहाँहरूलाई जाँचबुझ आयोगले बोलाएर सोधपुछ गर्नु उसको अधिकार हो। अधिकारसम्पन्न जाँचबुझ आयोग भनेर उहाँले भन्छन् त।
यस्ता गफ नगरे हुन्छ। किनभने एमालेको कोही नेता पनि अपराध गर्यो भनेर डाँडो काटेर जान्छ ? अनि एमालेको अध्यक्षलाई सीमा हद तोकेर चाहिँ राख्ने खालका कुरा यो के गर्न खोज्या?
व्यक्तिलाई चाहिँ एउटा कानुनको हदमा त सबैलाई सोच्नु पर्यो नि। कुनै पार्टीको सभापति जेलमा होला, कुनै पार्टीको नेता कता होला, हैन?
कुनै कुरा जनरल नगरौँ न। जस्तो भनौँ, अदालतले के भन्या छ? न्यायालयले जे भन्या छ, त्यो कुरा गर्नुपर्यो कि परेन? अब अहिले मान्नुस्, झ्वाँक चल्यो। मन्त्रीजीहरूका अभिव्यक्तिहरू अलि पहिले, आजकल त अलि त्यस्ता अभिव्यक्ति आउन छोड्या छन्।
अनि मन्त्री भएर यतिबेला संवेदनशील क्षणमा सरकारमा छन्। बोल्छन् जे पाए त्यही। यो त तरिका भएन । दोस्रो कुरो, पार्टीको नेता, एउटा रिपुटेड पार्टीको नेताहरूको बारेमा, प्रमुख नेताको बारेमा सीमा हद तोकेर राख्ने कुरा, पासपोर्ट ‘सिज’ गर्ने कुरा, के मजाक गरेको ? यो गलत कुरा हो। यसले के त भन्दा विद्वेष र बदलाको भावना देखिन्छ, विद्वेषपूर्ण व्यवहार देखिन्छ। यस्तो गर्नु हुँदैन भन्न खोज्या हो।
२३ भदौमा तपाईंको पार्टी अध्यक्ष/प्रधानमन्त्रीले गरेका निर्णयहरू या गर्न नसकेका निर्णयहरू सही थिए त ?
२३ गते पनि को मन्त्रिपरिषद्को बैठकले गरेका निर्णय तपाईं सबै सम्झनुहुन्छ? त्यतिखेर एउटा आयोग बनाउने कुरा गरिएको छ, दुख व्यक्त गरिएको छ… छ नि, नगर्या त होइन।
तर राति सञ्चारमन्त्री (त्यतिखेरका प्रवक्ता) पृथ्वी सुब्बा गुरुङले बाहिर आएर बोलेका टिप्पणी सुन्दा खेरि जोकोही मान्छेलाई अलिकति अतिरञ्जित अवस्थामा पुर्याउँछ नि त्यसले।अब केपी ओलीले छोडेको छोड्न पनि पर्दैन, अहिले राजीनामा दिन आवश्यक छैन भनेर भन्नुभएको थियो। जबकी तपाईँकै पार्टीका कतिपय नेताले अब छोड्नुपर्छ, यस्तो बेलामा पनि धेरै संवेदनशील घडी भयो, धेरै ठूलो क्षति पनि भयो, र जुन अवस्था सिर्जना भएको छ, यसमा चाहिँ छानबिन पनि गर्नुपर्छ, त्यस्तो कमिटी र मार्ग प्रशस्त गर्नुपर्छ भनेर पार्टीभित्र भनिएको थियो। सुरक्षा निकायका प्रमुखहरूले प्रधानमन्त्रीलाई मार्ग प्रशस्त गर्नको लागि सुझावहरू दिएका थिए, तर ती कुराहरूलाई मतलब गरिएको थिएन।
बहस छलफलको विषय थियो त्यसबेला। कोही साथीहरूले यस्तो बेलामा मार्ग प्रशस्त गर्नुपर्छ भनेर पनि भन्नुभाथ्यो, हैन? कोही साथीहरूले यतिबेला छोड्नु हुँदैन भन्ने कुरा पनि थियो। एउटा हाम्रो बीचमा बहस छलफल थियो। मलाई के लाग्छ भने, त्यो बहस छलफलमा अलि सङ्गठित ढंगले त्यसलाई त्यो छलफल आयोजना गरेको भए हामी उपयुक्त निष्कर्षमा पुग्थ्यौँ, सन्तुलित निष्कर्षमा पुग्थ्यौँ।
तपाईंहरूसँग परामर्श भएको थियो ?
परिस्थिति पनि त्यस्तो थिएन। परामर्श अलिअलि भो। अब त्यस्तो छलफल राम्रो…
तपाईंहरू त संयन्त्रमै हुनुहुन्थ्यो नि त त्यो भएर।
हैन, संयन्त्रमा भएपनि संयन्त्र नै त्यसबेला असजिलो अवस्थामा थियो।
कस्तो असजिलो अवस्था?
असजिलो भनेको अब त्यो घटना घटे, को कता छ, को कता छ को स्थिति भयो।
तर पहलकदमी लिन चुकियो भन्ने त तपाईंलाई भएको छ ?
पहलकदमी लिन जति लिनु पर्थ्यो, भएन भनेर भन्न पाइयो। २३ दिउँसोपछि पछि त एउटा घुसपैठ भयो । जब कि जेन्जी भाइबहिनीहरूले नै अब हाम्रो आन्दोलनमा घुसपैठ भएको छ, हामी साथीहरू सबै फिरौँ भनेर वक्तव्य निकालेका थिए।
वक्तव्य त निकाले, तर आन्दोलन त्यस्तै त हुन्छ नि। धेरै मान्छे जब हेर्ने नेपाली नागरिकहरू आउने कुरा भयो, उनीहरूले आफ्नो जेन्जी नाम एउटा ‘टर्मिनोलोजी’ राखेपनि त्यता आम मान्छे आउनु त स्वभाविक भएन? खासगरी धेरै हत्या, हिंसा, हताहती भइसकेपछि त आम मान्छे, तिनका अभिभावक र वरपर छरछिमेक सबै मान्छे बोल्नु स्वाभाविक भएन?
यसको जी त्यो पक्ष पनि होला कि। तर जुन ढंगले त्यसबेला त्यो संसद् भवन माथि प्रवेश गरेर, त्यहाँ प्रवेश गरेर तोडफोड गर्ने कुराको प्रयत्न गरियो नि, त्योसित थुप्रै प्रश्नहरू आएका छन् अहिले डिटेलमा किन जाने?
अब तपाईंहरू महाधिवेशनमा जाँदै हुनुहुन्छ। यी सबै कुरा त्यहाँ समीक्षा पनि गर्ने, पार्टीको आन्तरिक जीवनमा कहाँ कमी-कमजोरी भयो भन्ने कुरा पनि तपाईंलाई लिएर जाने यही हो?
हो। हामी त त्यो महाधिवेशनको थलो भनेकै समीक्षाको कुरा पनि हो, योजना निर्माण गर्ने थलो पनि हो नि।

नेतृत्वमा चुनौती दिने हो, यस पाली प्रतिस्पर्धा गर्ने हो ?
चुनौती दिने भन्दा अलि अर्को ‘हार्ड’ सुनियो। प्रतिस्पर्धाको कुरा हुन्छ। प्रतिस्पर्धा गर्नु हाम्रो पार्टी जीवनमा अस्वाभाविक कुरा होइन, स्वाभाविक कुरा हो।
त्यो स्वाभाविक कुराले स्वाभाविक परिणाम लिएर आउँछ भन्ने अपेक्षा राखौँ ?
स्वाभाविक कुराले स्वाभाविक परिणाम ल्याउनुपर्छ हामीले।
के परिवर्तन आउँछ एमालेको आन्तरिक जीवनमा तपाईं अध्यक्ष बन्नुभयो भने?
मैले वक्तव्यमा पनि केही कुरा उल्लेख गरेको छु। त्यसमा त्यो धेरै सविस्तार नजाऔँ। वास्तवमा पार्टी विधि पद्धति अनुसार चलाउने कुरामा हाम्रो सबैको ध्यान जानुपर्छ, जोड दिनुपर्छ। संस्थागत परिपाटीबाट चाहिँ जानुपर्छ र जनताको बहुदलीय जनवादको विचारबाट निर्देशित भएर अगाडि बढ्नु पर्छ।
तपाईंले त्यो ट्र्याकमा राख्नुहुन्छ पार्टीलाई?
हामी सबैले मिलेर राख्नु पर्छ।
तपाईंको टिम छिट्टै घोषणा हुन्छ? ‘यो हो हाम्रो टिम’बाट?
टिम घोषणा भन्दा अहिले प्रतिस्पर्धाको कुरा आको छ, त्यसपछि हेर्नु न, हामी छलफल गर्दै छौँ।
प्रतिक्रिया 4