+
+
Shares

मन्त्रालयलाई मेयरको पत्र : प्रमुख प्रशासकीय अधिकृत सरुवाले धान फल्न समस्या छैन

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २२ गते १७:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धनकुटाको पाख्रिवास नगरपालिकाका मेयर ज्ञानबहादुर गुरुङले प्रमुख प्रशासकीय अधिकृतको छिटोछिटो सरुवामा असन्तुष्टि जनाउँदै संघीय सरकारलाई पत्र लेखेका छन्।
  • मेयर गुरुङले मन्त्रालयलाई पठाएको पत्रमा दैनिक एक/एक जना प्रशासकीय अधिकृत तोकेर पठाउँदा फरक नपर्ने व्यहोरा उल्लेख गरेका छन्।
  • प्रमुख प्रशासकीय अधिकृत विज्ञान कोइरालाको सरुवा भएपछि भूमि मन्त्रालयका शाखा अधिकृत सुनिल पौडेललाई सरुवा गरिएको छ।

२२ मंसिर, काठमाडौं । धनकुटाको पाख्रिवास नगरपालिका मेयर ज्ञानबहादुर गुरुङले प्रमुख प्रशासकीय अधिकृतको सरुवामा असन्तुष्टि जनाउँदै संघीय सरकारसँग असन्तुष्टि पोखेका छन् ।

छिटोछिटो प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरिँदा सेवा प्रवाहमा असर परेको भन्दै नगरपालिकाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई असन्तुष्टिसहित व्यङ्ग्य गरेका हुन् ।

प्रमुख प्रशासकीय अधिकृतको सरुवामा असन्तुष्टि पोख्दै नगरपालिकाका मेयर गुरुङले सोमबार मन्त्रालयलाई पठाएको पत्रमा उल्लेखित भाषाले भने सामाजिक सञ्जालमा चर्चा पाइरहेको छ ।

पालिकाको लेटरहेडमा प्रशासनिक मर्यादा र भाषाशैली विपरित लेखिएको पत्रको चर्चा र आलोचना भइरहेको हो ।

मन्त्रालयले पठाएको सरुवा सूचीको पत्र प्राप्त भएको भन्दै मेयर गुरुङले दैनिक एक/एक जना प्रशासकीय अधिकृत तोकेर पठाएपनि फरक नपर्ने भन्दै घुर्की लगाएका छन् ।

‘पाख्रीबास नगरपालिकामा दैनिक प्रशासनिक र आर्थिक कामकाज हुँदा र नहुँदा यस क्षेत्रमा धान फल्न, दाँही गर्न, थन्क्याउन, बालीनाली लगाउन, गाई–भैंसी ब्याउन, दूध उत्पादन गर्न, सिंचाइ गर्न, फलफूल लगाउन फूल्न र सो को निकासा गरी बिक्रीवितरण गर्न कुनै समस्या नरहेकोले तहाँ मन्त्रालयबाट प्रत्येक महिना/महिनामा वा सम्भव भए दिनदिनै छुट्टाछुट्टै एक/एक जना प्रमुख प्रशासकीय अधिकृतलाई जिम्मेवारी तोकि पठाउँदा पनि फरक नपर्ने व्यहोरा जानकारीका लागि अनुरोध छ,’ मेयर गुरुङले सोमबार मन्त्रालयलाई पठाएको पत्रमा उल्लेख छ ।

मेयर गुरुङले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई लेखेको पत्रको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा समेत पठाएका छन् ।

अस्वाभाविक भाषा प्रयोग गरिएको पत्रबारे बुझ्न खोज्दा मेयर गुरुङको मोबाइल स्वीच्ड अफ रहेको पाइयो ।

पाख्रिवास नगरपालिकाकी उपमेयर नम्रता गौतमले भने आफूलाई उक्त पत्रबारे कुनै जानकारी नभएको बताइन् ।

अनलाइनखबरसँग कुरा गर्दै उनले भनिन्, ‘म अहिले बाहिर छु, कुन पत्र हो थाहा छैन ।’

सामान्यतया १ वर्षमा प्रमुख प्रशासकीय अधिकृतको सरुवा गर्ने परम्परा छ । पालिकामा हाजिर भएको करिब ८ महिनामा प्रमुख प्रशासकीय अधिकृत विज्ञान कोइरालाको सरुवा भयो ।

कोइरालाको ठाउँमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भूमि मन्त्रालयका शाखा अधिकृत सुनिल पौडेललाई सरुवा गरेको छ ।

नगरपालिकाका एक कर्मचारीका अनुसार संघीय सरकारले प्रमुख प्रशासकीय अधिकृतको सरुवा छिटोछिटो गरेको भन्दै रुष्ट भएर मेयर गुरुङले उक्त पत्र लेखेका हुन् ।

८ महिनाअघि कार्यभार सम्हालेका प्रमुख प्रशासकीय अधिकृत कोइरालाको समेत सरुवा भएपछि मेयर गुरुङ संघ सरकारसँग रुष्ट बनेको हुनसक्ने ती कर्मचारीले बताए ।

‘छिटोछिटो सरुवा गरिएको र नगरपालिकाको काममा अप्ठेरो भए भनेर मेयर साबको असन्तुष्टि होला, उहाँकै सचिवायलबाट जारी भएको पत्र हो, पालिकाका कर्मचारी बेखबर छौं,’ एक कर्मचारीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?