१५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले १५ औं महाधिवेशनका क्रममा सभापति शेरबहादुर देउवा सक्रिय हुनसक्ने गरी औपचारिक निर्णय गरेको छ ।
सानेपामा सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकबाट कांग्रेसले पार्टीलाई कार्यवाहकको जिम्मा लगाएर बसिरहेका देउवा फेरि सक्रिय हुन सक्नेगरी औपचारिक निर्णय गरेको हो ।
कांग्रेसले १५ औं महाधिवेशनका क्रममा आवश्यकताअनुसार केन्द्रीय प्रतिनिधि खटाउँदा सभापति देउवा सक्रिय हुनसक्ने मार्ग खुला राखेर निर्णय गरेको छ ।
‘१५ औं महाधिवेशनसँग सम्बन्धित कार्यको सिलसिलामा आवश्यकताअनुसार केन्द्रीय प्रतिनिधि पार्टी सभापति/कार्यवाहक सभापतिले खटाउनसक्ने छन्,’ बैठकले गरेको निर्णयमा भनिएको छ ।
बैठकले नयाँ र नवीकरण क्रियाशील सदस्यताको सूची केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत गर्दा सभापति देउवाको सक्रियताको सम्भावना खुला रहनेगरी निर्णय गरेको छ ।
‘केन्द्रीय सभापति/कार्यवाहक सभापतिले क्रियाशील सदस्यता ‘केन्द्रीय छानबिन समिति’ बाट सहमति भइ प्राप्त भएका नयाँ र नवीकरण सदस्यताको सूची केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत गरी केन्द्रीय कार्यसमितिबाट अनुमोदन गर्नुपर्ने छ,’ निर्णयमा भनिएको छ ।
कांग्रेसको निर्णयमा १५ औं महाधिवेशनका लागि आवश्यक पर्ने समितिहरू गठन गर्दा आवश्यक परामर्श सभापति देउवा वा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गर्ने उल्लेख छ ।
प्रतिक्रिया 4