News Summary
Generated by OK AI. Editorially reviewed.- प्रजिना लामिछानेले बाल्यकालदेखि सेलेना गोमेजको फ्यान भएर पपस्टार बन्ने सपना पालिन्।
- प्रजिनाले अमेरिका र अष्ट्रेलिया जान नचाहेर नेपालमै बसेर संगीतमा काम गरिन्।
- उनको गीत 'यो शहर' ले २०२२ मा १० लाखभन्दा बढी भ्युज पाउँदै सांगीतिक करियरलाई नयाँ उचाइ दियो।
यो शहर चिसो हुँदैछ
आएर अँगाल न मलाई
तिम्रो चित्र धमिलो हुँदैछ
अघि आई हेर न मलाई …
000
वैदेशिक रोजगारीको सिलसिलामा बुबा कतारमा थिए । आमा घरमै । तर बाह्य कामले गर्दा उनी घरबाहिर गइरहन्थिन् । सो समय ३/४ वर्षकी थिइन् प्रजिना लामिछाने, जो यस समयमा पहिलो नामले मात्र बढी चिनिन्छिन् । चितवन स्थित घरको माहोल त्यस्तो भएकाले प्रजिना प्राय: एक्ली हुन्थिन् । भुलाउन भनेर आमाले प्राय: उनलाई डिज्नी लगाइदिन्थिन्।
त्यहाँ प्रजिनाले हेर्ने शो हुन्थ्यो- विजार्ड्स अफ वेभर्ली प्लेस । शोको अलेक्स रुसो उनको प्रिय पात्र थियो । किनकि त्यो भूमिका सेलेना गोमेजको निभाएकी थिइन् ।
त्यो शो र पात्रका कारण प्रजिना सेलेना गोमेजको फ्यान भएकी थिइन् । त्यसको केही वर्षपछि काठमाडौं आएका बखत दिदीले उनलाई सेलेना गोमेज एन्ड द सिन नेचुरल्ली नामक भिडिओ देखाइन् । त्यसपछि त प्रजिनाको एउटै सपना बन्यो- म पनि सेलेना जस्तै बन्छु । उनले यस्तै भिडिओ बनाउँछु ।
त्यो बेलादेखि अहिलेसम्म प्रजिनाको उक्त सपना हराएको छैन ।
000
चितवनबाट प्रजिनाको परिवार काठमाडौं सर्यो । त्यस बेला प्रजिना ७ कक्षा पढिरहेकी थिइन् । स्वभाविक रूपमा उनका लागि काठमाडौंको परिवेश नयाँ हुन गयो । पहिले स्कुल सानो थियो, काठमाडौंमा ठूलो थियो । पहिले साथीहरू कम थिए, धेरै भए ।
हालैमात्र रजत वर्ष पार गरेको उनको जीवन नै बारम्बार रिस्टार्ट भइरहेको जस्तो देखिन्छ । सायद अब उनको गाडी रोकिनेवाला छैन ।
त्यो वातावरणले प्रजिना अन्तरमुखी हुँदै गइरहेकी थिइन् । यता बच्चा बेला देखेको उनको सपना छँदै थियो । जसलाई उनले बाहिर देखाउन सकिरहेकी थिइनन् । भलै आफूलाई उनले ‘स्टार’ सम्झिरहेकी हुन्थिन् । मनमनै । त्यसलाई मूर्त रूप दिन उनी पढिरहेको स्कुलले भूमिका खेल्यो । स्कुलमा उनीहरूलाई संगीत सिकाइन्थ्यो । कार्यक्रमहरूमा गाउन लगाइन्थ्यो ।
त्यस्तैमा उनको स्कुलमा एउटा कार्यक्रम हुने भयो । जहाँ उनले डुएट गर्ने मौका पाइन् । त्यहाँ उनले गीत गाइरहँदा नतर्कहरू सँगै थिए । दर्शकहरू टन्नै थिए ।
एकअर्थमा उनले सोचेको सपना थियो त्यो । उनी आफैंले पनि मनको सपना मूर्त भएको महसुस गरेकी थिइन् ।
000
१२ कक्षा उत्तीर्ण नहुँदै उनले अमेरिका जाने योजना बुन्न पुगिन् । लहड नै त्यस्तो थियो । उनको कारण भने एउटै थियो- पपस्टार बन्ने । उनले यो आफ्नो सपनाबारे साथीहरूलाई सुनाइरहेकी हुन्थिन् । तर, उनीहरू सामुन्ने गाएर/गरेर भने देखाउँदिन थिइन् ।
१२ कक्षा सकियो । उनी भिषा आवेदन दिन तयार भइन् । त्यहीँबीच उनको मिल्ने एक साथीलाई ईडिभी लट्री पर्यो । प्रजिनाको अमेरिका जाने मन त्यसै मर्यो ।
त्यो समय प्रजिना आफ्नो घरमाथि परनिर्भर थिइन् । एक्लै बस्न आवश्यक पर्ने आधारभूत सीपहरूको उनमा कमी थियो । तर अघिल्लो पटक जे जस्तो भए पनि फेरि उनले विदेश जाने आँटिन् । यस पटक उनको निशानामा अस्ट्रेलिया पर्यो । उनको कुरालाई लिएर आमाले असहमति जनाइरहेकी थिइन् । तर, आमाको मन न हो, प्रजिनाले फकाइन् । र, प्रक्रियालाई अघि बढाइन् ।
त्यो बेला उनका लागि संगीत वैकल्पिक थियो । भ्याएसम्मका कभर गीतहरू गाएर युट्युबमा हाल्ने गर्थिन् । केही राम्रो अवसर मिल्छ कि भनेर संगीत क्षेत्रका अग्रहहरूलाई उनले आफ्नो भिडिओहरू पठाइरहेकी हुन्थिन् । त्यसरी पठाएका मध्ये केहीले उनलाई राम्रै प्रतिक्रिया दिन थाले ।
कतिपयले त संगीतमा लाग्न सहयोग गर्ने वचन पनि दिन भ्याए । अनि विदेश-नेपाल-नेपाल-विदेश बिचको दोधारदोधार बिच अर्कोतिर उनले आफ्नो पहिलो इपी (३ देखि ६ वटा गीत समावेश सिंगल र अल्बमको बीचको) निकाल्ने काम पनि थालेकी थिइन् ।
यसैबीच उनले ठूलो निर्णय लिइन्- विदेश नजाने । नेपालमै बसेर संगीत गर्ने ।
000
नेपाल बस्ने भएपछि उनी स्नातकमा भर्ना भइन् । तर, संगीतमै केही गर्ने भनेर रोकिएको उनको संगीतमा नै भने काम भइरहेको थिएन । इपीको प्रोडक्सन पनि रोकिएसरह थियो । नेपाल बस्ने निर्णय लिनुअघि ज-जसले संगीतमा लाग्न सहयोग गर्ने बताइरहेका थिए, उनीहरू पनि पछाडि सरिरहेका थिए । नचिन्ने जस्ता भइरहेका थिए ।
त्यहीबीच कोभिड महामारी आयो । लकडाउन भयो । बाहिर जान सक्ने अवस्था भएन । व्यक्तिगत रूपमा समेत उनका लागि त्यो समय निकै कठिन थियो । तर उनी सिर्जनात्मक भइन् । र गीतहरू लेख्न थालिन् । ‘हामी’, ‘यो शहर’, ‘डन्ट ह्याभ टू’, ‘शब्दहरू’ त्यही समयमा उनले लेखेका गीतहरू हुन् ।
त्यो वातावरणले प्रजिना अन्तरमुखी हुँदै गइरहेकी थिइन् । यता बच्चा बेला देखेको उनको सपना छँदै थियो । जसलाई उनले बाहिर देखाउन सकिरहेकी थिइनन् ।
त्यस्तैमा लामै समय लगाए पनि उनले इपीको काम सक्छिन् । नाइन्टिन । यो इपीमा ‘एक्सपेक्टेस’, ‘दोज् डेज्’, ‘ऋतु’, ‘घोस्ट’ गरी जम्मा चार गीत छन् । ती सुन्दा उनमा पश्चिमा संगीतको भयंकर प्रभाव देखिन्छ । यी गीतहरू उनले १७ वर्ष हुँदा लेखेकी थिइन् । १९ वर्षको हुँदा रिलिज भएको थियो । इपीको नाम नाइन्टिन हुनु कारण त्यहीँ थियो । तर, इपी सोचे जस्तो सफल भएन ।
यद्यपि त्यसको केही समयपछि अर्थात् २०२२ मा उनले आफ्नो पहिलो हिट सिङ्गल ‘यो शहर‘ रिलिज गरिन् । २ मिनेट ५३ सेकेन्ड लामो यो गीत पनि सुरुमा चलेको थिएन । तर पछि एक महिनामा नै गीतलाई १० लाख बढी भ्युज प्राप्त भएको थियो ।
000
‘यो शहर’ले उनको सांगीतिक करियरलाई अर्को तहमा पुर्याएको थियो । कुनै बखत समय प्रतिकूल नभएर अमेरिका/अष्ट्रेलिया नउडेकी प्रजिनाले संगीतमा स्थिर उडान भरेको यही गीत पछि हो ।
आज ‘यो शहर’ साँच्नै उनले भनेजस्तै चिसो भइरहेको छ । कुरुप भइरहेको छ । जब उनका कोही फ्यानहरू ऐकान्तिक महसुस गर्छन्, अथवा ‘लो’ महसुस गर्छन् – यो शहर सुरु भइहाल्छ । यसको प्रमाण सामाजिक सञ्जालमा प्रशस्तै पाइन्छ ।
त्यसयता प्रजिनाले भारतीय पपस्टार बादशाह, नेपाली गायक वाङ्देन शेर्पा लगायतका कलाकारहरूसँग सहकार्य गरिसकेकी थिइन् । विशेषत: इन्डी शैलीको प्रशंसकका लागि उनी खुराक हुन् । उनको पातलो लाग्ने स्वर निकै प्रेमिल सुनिन्छ । जसले पछिल्लो पुस्तालाई हुरुक्कै पारेको छ ।
बाल्यअवस्थामा उनले देखेको ‘पपस्टार’ बन्ने सपना केकति पूरा भयो, अब त्यसको मूल्यांकन गर्ने जिम्मा दर्शकले पाइसकेका छन् । उनका लागि त त्यो सपना स्कुलमा मञ्चमा उभिएर गाउँदा नै भएको थियो । अब आश्यक त्यसमा रमाइरहने हो ।
हालैमात्र रजत वर्ष पार गरेको उनको जीवन नै बारम्बार रिस्टार्ट भइरहेको जस्तो देखिन्छ । सायद अब उनको गाडी रोकिनेवाला छैन ।
साँच्ची, उनी उडानमा छिन् । पन्छी झैं ।
प्रतिक्रिया 4