सन् २०१३ मार्चको मध्यतिर ढाकामा आयोजित अन्तर्राष्ट्रिय स्थानीय सरकार सम्मेलन सञ्चालन भइरहेको थियो ।
युनाइटेज सिटिज एण्ड लोकल गभर्मेन्ट्स (युसीएलजी–एसिया प्यासिफिक) का महासचिव तथा अष्ट्रेलियाका पूर्वमेयर पिटर वुड्स र म वत्ताका रूपमा सहभागी थियौं । सम्मेलन तत्कालीन प्रधानमन्त्री शेख हसिनाले उद्घाटन गर्नुभएको थियो ।
दोस्रो दिन बिहान मार्च २०, २०१३ मा बंगलादेशका राष्ट्रपति मोहम्मद जिलुर रहमानको सिङ्गापुरमा उपचारका क्रममा निधन भएको दुःखद समाचार आयो । राष्ट्रपतिको निधनसँगै देशभर शोकको वातावरण छायो र सम्मेलनका अन्तिम दिनका कार्यक्रमहरू रद्द गरिए ।
यसै संवेदनशील परिस्थितिमा बंगलादेश नगरपालिका संघका महासचिव तथा सिंग्रा नगरपालिकाका मेयर शामिम अल राजीले हामी अन्तर्राष्ट्रिय प्रतिनिधिहरूलाई आश्वस्त पार्दै भने, ‘चिन्ता नगर्नुहोस्, म तपाईंहरूलाई आज बेगम खालिदा जियासँग भेट गराउँछु ।’
हामी निकै उत्साहित थियौं, किनभने यो अपेक्षित थिएन र अनौठो अवसर पनि थियो ।
जियासँगको त्यो भेट
साँझपख हामी बेगम खालिदा जियाको निवास पुग्यौं । आँगनभरि ठूलो संख्यामा पार्टी कार्यकर्ता र समर्थकहरू भेला थिए ।
उनीहरू केवल खालिदा जियालाई हेर्न, उहाको उपस्थितिमा बस्न र आफ्ना कुरा राख्न आएका थिए । त्यो दृश्यले राजनीति केवल सत्ता र पदको विषय होइन, भरोसा र मानवीय सम्बन्धको गहिरो अभ्यास पनि हो भन्ने अनुभूति दिलायो ।
त्यही बेला मलाई थाहा भयो, जिया त्यससमय घरमै नजरबन्द हुनुहुन्थ्यो । केहीबेरपछि बेगम जिया घरभित्रबाट बाहिर निस्कनुभयो र आँगनमा जम्मा भएको भीडबीचबाट शान्त रूपमा अघि बढ्नुभयो ।
ठाडो शीर, सारीको सप्कोले हल्का ढाकिएको टाउको, गहिरा र सजग आँखा, र गम्भीरताभित्र मिसिएको सौम्य अनुहारले, सम्बोधन गर्नुअघि नै वातावरणलाई शान्त र सम्मानले भरिएको महसुस गरायो ।
उहाँ अलिकति अग्लो स्थानमा राखिएको कुर्सीमा बस्नुभयो र बंगलादेशी भाषामा आफ्ना सहकर्मी तथा समर्थकहरूलाई सम्बोधन गर्नुभयो ।
स्वर कोमल थियो, तर दृढ । करिब दश मिनेटको सम्बोधनपछि पार्टीका सहकर्मीहरूले प्रश्नहरू राखे, जसको उत्तर उहाँले शान्त, सन्तुलित र धैर्यतापूर्वक दिनुभयो ।
शालीनता र निजी कक्ष
यतिकैमा कसैले मेयर शामिमलाई केही कुरा कानमा फुसफुसायो । उनले तुरुन्तै हामीलाई संकेत गरेर भीड चिर्दै घरभित्रको सिँढीतर्फ लगे । हामीलाई माथिल्लो तलामा लगियो ।
केही क्षणमै हामी बेगमको शान्त, सुव्यवस्थित तर गरिमायुक्त निजी कक्षमा पुग्यौं । त्यो कुनै भव्य कार्यालय थिएन, तर त्यहाँ उहाको दशकौंको संघर्ष, नेतृत्व र अनुभवको मौन उपस्थिति थियो ।
यो एउटी यस्ति नेतृको कक्ष थियो, जो बंगलादेशकी तीनपटक प्रधानमन्त्री हुनुभयो, सैनिक शासनविरुद्ध उभिएर लोकतन्त्र पुनःस्थापनाका लागि संघर्ष गर्नुपर्यो, जसले बालिका शिक्षा र संस्थागत विकासमा गहिरो छाप छाड्नुभयो ।
आफ्ना पति राष्ट्रपति जियाउर रहमानको हत्यापछि, एक साधारण गृहिणीबाट राष्ट्रनेतृसम्मको यात्रा तय गरेकी महिला, त्यो यात्राको कथा कोठामा मौन रूपमा बोलिरहेको थियो ।
त्यतिबेला उमेर सत्तरीको हाराहारी भएपनि उहाँको व्यक्तित्व अत्यन्तै प्रभावशाली र गहिरो अनुभूतिले भरिएको थियो ।
मधुरो प्रकाशमा, ठूलो भव्य काठको टेबल वरिपरि गोलाकार रूपमा राखिएका कुर्चीहरू, र त्यसमा बसेकी उहाँको आत्मविश्वासी मुद्रा, दशकौं लामो राजनीतिक संघर्ष र अनुभव झल्काउँदै वातावरणलाई एक प्रकारको गरिमा र शक्ति दिइरहेको थियो ।
उहाँले हामीलाई शान्त र मृदु स्वरमा स्वागत गर्नुभयो । हात्तीका दाँत जस्तो सफा र आकर्षक कप प्लेटमा चिया पस्कियो। कुनै तामझाम थिएन, तर वातावरणमा गहिरो सम्मान र आत्मीयता थियो ।
परिचयको छोटो औपचारिकता पूरा भएपछि, उहाँले सम्मेलनबारे उत्सुकतापूर्वक सोध्नुभयो ।
सधैंझैँ पिटर वुड्सले भन्नुभयो- ‘चाहे सिएरा लियोन होस् वा अस्ट्रेलिया, अमेरिका वा बंगलादेश आफ्ना अधिकारका लागि स्थानीय सरकारको केन्द्रीय सरकारसँग गरिरहेको संघर्ष संसारभरि उस्तै छ ।’
अपूरो सपना र असीम सम्भावना
मैले उहाँलाई सम्झाएँ ‘तपाईंका पति, राष्ट्रपति जियाउर रहमानले सार्कको अवधारणा प्रस्ताव गर्नुभएको थियो । नेपालका राजा वीरेन्द्र संस्थापक मध्ये हुनुहुन्थ्यो नी ।’
उहाँले भन्नुभयो, ‘सार्क स्थापना गर्दा उद्देश्य कुनै द्विपक्षीय विवाद समाधान गर्नु थिएन यसले क्षेत्रीय र सामूहिक हितका लागि सहकार्यको साझा मञ्च निर्माण गर्नु थियो । तर, त्यो भावनाअनुसार यसले काम गर्न सकेन ।’
सार्क प्रभावकारी हुन नसक्नुका दुई स्पष्ट कारण रहेको उहाँको धारणा थियोस् पहिलो, भारत–पाकिस्तानबीचको दीर्घकालीन द्वन्द्व, र दोस्रो, यस क्षेत्रका ठूला मुलुकहरूमा देखिने एकाधिकार र प्रभुत्व जमाउने प्रवृत्ति ।
यद्यपि उहाँ निराश देखिनुहुन्नथ्यो । इच्छाशक्ति, समान सम्मान र सहकार्यको भावना विकास हुन सकेमा सार्कमा आज पनि असीम सम्भावनाहरू रहेको उहाँको विश्वास थियो ।
स्थानीय सरकार र सीमापार सहकार्य
स्थानीय सरकारबीचको सीमापार सहकार्यबारे मैले उहाँको सुझाव मागे । जियाले विपद् व्यवस्थापनलाई सहकार्यको आधार बनाउन आग्रह गर्नुभयो ।
प्रत्येक वर्ष ब्रह्मपुत्र नदीका कारण बंगलादेशमा बाढी र नेपालमा पहिरो तथा जलवायुजन्य जोखिम बढिरहेको सन्दर्भमा नेपाल, भारत र बंगलादेशबीच स्थानीय तहस्तरको सहकार्य अत्यन्त प्रभावकारी हुन सक्ने उहाँको धारणा थियो ।
दक्षिण एशियामा सञ्चालन भइरहेको जिरो वेष्ट इन साउथ एसिया परियोजनाको समन्वय मैले गरिरहेको र त्यसमा ढाका लगायत ७ साझेदार सहर रहेको जानकारी गराएँ ।
तर सम्झौता हुँदा एउटै राजधानी ढाका सहर रहे पनि पछि सरकारले ढाकालाई उत्तर र दक्षिण ढाका शहरमा विभाजन गरेको कुरा उल्लेख गरें । यसमा प्रतिक्रिया जनाउँदै उहाँले भन्नुभयो, ‘यो राजनीतिक निर्णय हो। यदि म फेरि सत्तामा आएँ भने, ढाकालाई पुनः एकीकृत गर्नेछु।’
सम्पूर्ण भेट सम्भव गराउन मेयर शामिम अल राजीको भूमिका रह्यो। उद्देश्यप्रति एकनिष्ठ, शालीन र भद्र व्यक्तित्वका धनी शामिमकै विशेष पहलका कारण सम्मेलनको आयोजना, अन्तर्राष्ट्रिय प्रतिनिधिहरूबीचको समन्वय र खालिदा जियासँगको भेट सम्भव भयो ।
मेयर शामिमले मलाई विशेष रूपमा आमन्त्रण गर्दै नेपाल नगरपालिका संघले स्थानीय सरकारलाई संविधानमा सुनिश्चित गराउन गरेको पैरवी र अनुभव साझा गर्न आग्रह गर्नुभएको थियो ।
साथै बंगलादेश नगरपालिका संघको भूमिका सुदृढ गर्ने विषयमा समेत गहन संवाद भयो । म त्यहाँ धनगढीका पूर्व मेयर खेमराज पाण्डेसँगै सहभागी थिएँ ।
उहाँ बेगम जियाको दलका समर्पित नेता हुनुहुन्थ्यो । शेख हसिनाको राजनीतिक एकाधिकारको विरोधस्वरूप दलले निर्वाचन बहिष्कार गरिरहेको कठिन समयमा पनि उहाँ लोकतान्त्रिक मूल्य र स्थानीय सरकारको सशक्तीकरणप्रति अडिग रहेको देखिन्थ्यो ।
२०१८ जनवरी ७ को बिहान मलाई अचानक खबर आयो, मेयर शमीम हृदयघातका कारण अब यो संसारमा हुनुहुन्न । एकछिन म स्तब्ध भएँ, तर सत्यलाई स्वीकार गर्नु बाहेक कुनै बाटो थिएन। आँखा बन्द गरें ।
हामीले सँगै बिताएका समयहरू सम्झना एकपछि अर्को गर्दै आइपुगे । विभिन्न देशहरूमा आयोजित शहरिकरण सम्बन्धी मञ्चहरूमा उहाँको एउटै सपना थियो, स्थानीय सरकारलाई शक्तिशाली र उत्तरदायी बनाउने ।
पेशागत सम्बन्ध मात्र भए पनि, कुनै विदेशी मित्रको निधनले मलाई यति गहिरो दुःख दिएको यो पहिलो पटक थियो । खालिदा जियाको निधनले फेरि एकपटक मेयर शामिमको स्मृति ताजा बनाइदिएको छ । यो केवल बंगलादेशका लागि मात्र होइन, स्थानीय सरकार र लोकतान्त्रिक आन्दोलनका लागि अपूरणीय क्षति थियो ।
जिया, लोकतन्त्रकी आमा
बंगलादेशमा लोकतान्त्रिक शासन स्थापना र संरक्षणका लागि कहिल्यै सम्झौता नगर्ने दृढ नेतृका रूपमा जिया नाम हो ।
सन् १९८० मा पति जनरल जियाउर रहमानको सैन्य कूको परिणाम स्वरूप हत्या भएपछि बंगलादेश नेसनलिस्ट पार्टीको अध्यक्षको जिम्मेवारी सम्हाल्नुभयो ।
त्यसपछि उहाँले कठिन राजनीतिक परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्दै लोकतन्त्रको पक्षमा निरन्तर संघर्ष गरेको इतिहास छ ।
जियाले पाँच पटक संसद सदस्यमा निर्वाचित र तीन पटक बंगलादेशको प्रधानमन्त्रीको रूपमा देशको नेतृत्व गर्नुभयो ।
लामो समयसम्मको राजनीतिक योगदान, निरन्तर लोकतान्त्रिक आन्दोलन तथा अधिनायकवादविरुद्धको संघर्षका कारण जियालाई बंगलादेशमा ‘लोकतन्त्रकी आमा’ भनेर सम्मानपूर्वक चिनिन्छ ।
खालिदा जियाको राजनीतिक दर्शनको केन्द्रमा बंगलादेशी राष्ट्रवाद रहेको थियो ।
उहाँ राष्ट्रिय सार्वभौमिकता, लोकतान्त्रिक मूल्य–मान्यता र जनताको अधिकारप्रति गहिरो आस्था राख्ने नेतृ हुनुहुन्थ्यो, जसले गर्दा बंगलादेशको राजनीतिक इतिहासमा उहाँको भूमिका अझ महत्त्वपूर्ण बनाएको छ ।
बेगमहरूको युद्ध
पछिल्ला दशकहरूमा बंगलादेशको राजनीति दुई शक्तिशाली महिलाको वरिपरि केन्द्रित रह्यो । देशकी पहिलो महिला प्रधानमन्त्री बेगम खालिदा जिया र सबैभन्दा लामो समय शासन गर्ने प्रधानमन्त्री तथा उनकी प्रमुख प्रतिद्वन्द्वी शेख हसिना ।
सन् १९९० मा सैन्य शासक हुसैन मुहम्मद इरशादलाई सत्ताच्यूत गर्न यी दुई नेतृले हातेमालो गर्दै लोकतन्त्रका लागि ऐतिहासिक जनआन्दोलनको नेतृत्व गरे, जसलाई बंगलादेशमा लोकतन्त्रको जितका रूपमा हेरियो । तर त्यसपछि समयसँगै दुवैबीच गहिरिँदो राजनीतिक प्रतिस्पर्धाले ‘बेगमहरूको युद्ध’ भन्ने शब्द नै प्रचलनमा ल्यायो ।
सैन्य शासक तथा पूर्व राष्ट्रपति जियाउर रहमानकी पत्नी खालिदा जिया र बंगलादेशका संस्थापक नेता शेख मुजिबुर रहमानकी छोरी शेख हसिना दुवै फरक राजनीतिक विरासतबाट आएका नेतृहरू एक समय लोकतन्त्र निर्माणका साझेदार थिए भने पछि तीव्र राजनीतिक प्रतिद्वन्द्वी बनेको इतिहास छ ।
२०२५ डिसेम्बर ३० मा ८० वर्षको उमेरमा खालिदा जियाको निधन हुँदा, जीवनभरकी प्रतिद्वन्द्वी शेख हसिनाले भारतस्थित आफ्नो निर्वासित अवस्थाबाट ‘देशका लागि गहिरो क्षति’ भन्दै श्रद्धाञ्जली अर्पण गरेको खबर आयो । जसले बंगलादेशको राजनीतिमा उनीहरूको जटिल र विरोधाभासी सम्बन्धलाई थप अर्थपूर्ण बनायो ।
त्यो साँझ बेगम खालिदा जियासँग र मेयर शमीमसँग उनका घरमा बिताएको अनुभव मेरो स्मृतिमा सधैं अमिट रहनेछ ।
दुवैजनालाई हार्दिक श्रद्धाञ्जली !
(देवकोटा नेपाल नगरपालिका संघका कार्यकारी निर्देशक हुन् ।)
प्रतिक्रिया 4