+
+
Shares
यात्रा :

सुनको बिछ्यौनामा बसेको पोखरी

तल ईवा खोलाले भने बादलको पछ्यौरी ओढेको छ । टाढा–टाढाका पहाडहरू कुनै ध्यानस्थ ऋषि झैं लाग्छन् । लाग्छ, हामी बादल माथि हिंडिरहेछौं ।

प्रकाश थाम्सुहाङ प्रकाश थाम्सुहाङ
२०८२ पुष १५ गते १४:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २०८२ भदौ २२ गते झापा, इलाम र पाँचथरका साथीहरू सिदिङ्वा गाउँपालिका तिम्बुङ पोखरी यात्रामा निस्किएका थिए।
  • तिम्बुङ पोखरीको पानी कहिल्यै सुक्दैन भन्ने विश्वास छ र यो स्थान जीवनको प्रतीक मानिन्छ।
  • यात्रामा स्थानीयहरूले सहयोग गरेका थिए र तिम्बुङ पोखरीको आध्यात्मिक र प्राकृतिक महत्व उल्लेखनीय रहेको छ।

पूर्वीय दर्शनको इतिहासमा एक ख्यातनाम दार्शनिक थिए– चार्वाक । उनको चर्चित दर्शन छ– ‘ऋण मागेर भए पनि घ्यू खाऊ’ ।

लाग्छ, संयोगले म उनको अनुयायी हुँ । मलाई यात्रा मनपर्छ । नयाँ–नयाँ ठाउँ घुम्नु मेरो रुचिको विषय हो । यात्राको क्रममा पाइने अलौकिक अनुभूति र अनुभवहरूले हृदय मखलेल हुन्छ । मस्तिष्कले जीवन्त बोध गर्छ । यसैकारण म यात्रामा लाग्ने खर्च ऋण गरेर भए पनि जुटाउँछु ।

कुनै बखत अरू मित्र साथै संस्थाहरूको सदाशयले नि:शुल्क यात्रा गर्ने अवसर जुर्छ । गत वर्ष श्रीजङ्गा गाउँपालिका, ताप्लेजुङ र ट्रेक ८५८६ को हार्दिक निम्तोमा कञ्चनजंघा बेसक्याम्प नजिक पुगेको थिएँ । यात्रा त बेसक्याम्पसम्म थियो, तर शरीरले साथ दिएन ।

बेसक्याम्प नपुग्नुको थक्‌थक् मनमा अझै बसेको थियो । तर जसै सिदिङ्वा गाउँपालिकाले फेरि तिम्बुङ पोखरी यात्राको लागि मलाई सम्झियो, म उत्साहित भएँ । मन केही हलुका भयो ।

मुन्धुममा वर्णित पवित्र स्थल तिम्बुङ पोखरीको यात्रा अलौकिक हुनेमा म विश्वस्त थिएँ । बेला बेला बन्दुक झैं पड्किन्छ पोखरी, सुनेको थिएँ । यी रहस्यमयी कारणहरूले गर्दा तिम्बुङ पोखरी यात्रा गर्न थप उत्साहित भएको थिएँ । याक्थुङ लिम्बू भाषामा बन्दुकलाई ‘तिम्बक’ भनिन्छ । तिम्बकबाट अप्रभंश हुँदै तिम्बुङ भयो, जान्नेसुन्नेहरू बताउँछन् । साम्बा, फेदाङ्माहरूले मुन्धुम गाउँदा तिम्बुङ पोखरीको प्रसङ्ग आउँछ । तिम्बुङ पोखरी जीवनको प्रतीक हो । त्यसकारण पोखरीको पानी कहिल्यै सुक्नु हुन्न । र सुक्दैन भन्ने पनि विश्वास छ ।

अन्तत: २०८२, भदौ २२ गते झापा, इलाम र पाँचथरका साथीहरू भेला भएर तिम्बुङ पोखरीको यात्रामा निस्कन्छौं । हामीलाई यातायातको व्यवस्था आयोजकबाटै भएको छ । मेची राजमार्ग भएर जानुपर्छ तिम्बुङ पोखरी । पाँचथरको गणेशचोकबाट ताप्लेजुङ जाने बाटो छाडेर दाहिने लाग्नुपर्छ । गणेशचोकबाट परेवा डाँडाहुँदै पुगिन्छ पाँचथरको थर्पु बजार । विगतमा सिनाम जाँदा होस् या कञ्चनजङ्घा बेसक्याम्प जाँदा; यो बाटोबाट यात्रा गरेको कारण यहाँको भूगोलसँग म परिचित छु । गाडीको झ्यालबाट चियाउँदा देखिन्छ गाउँलेको शान्त जीवन, फाट्टफुट्ट देखिने रैथाने संरचनाका घरहरू ।

प्रकृतिसँग नजिक त गाउँको जीवन छ । यद्यपि, मानिसहरू शहरकेन्द्रित हुँदैछन् ।

बर्खायाम उत्सर्गमा भएको कारणले होला हरियाली देखिन्छ । बारीमा मकै पाकेर थन्काइसकेको बेला छ । कतै बारीमा हलगोरु नारिएका छन् । हुनसक्छ, अर्को बालीको तयारीमा छन् कृषकहरू । खेतमा धानले गाँज फेरिसकेको छ । पछि मङ्सिरमा धान पाकेर लहलह झुल्दा कति मनमोहक देखिन्छन् होला यी खेतहरू । तल गड्गडाउँदै बगिरहेछ काबेली । ईवा खोला पनि काबेलीमै मिसिन्छ । प्रकृतिसँग नजिक त गाउँको जीवन छ । यद्यपि, मानिसहरू शहरकेन्द्रित हुँदैछन् । गाउँमा अहिले सडक पुगेको छ । बिजुली बत्ती, सञ्चार पुगेको बेला छ । टिकटक, फेसबुक, इमो, एक्स आदिसँग गाउँ परिचित छ । दुईदशक अघिसम्म यी सबै कल्पना बाहिरका कुरा थिए । तर गाउँबाट शहरतिरको बसाइँसराइ निरन्तर छ । त्यसो त होमोसेपियन्स मानिसका इतिहास पढ्दा एक ठाउँदेखि अर्को ठाउँ बसाइँसराइ गरेको देखिन्छ । दार्शनिकहरूले यसैकारण जीवन गतिशील छ भने होलान् ।

थर्पु बजारसम्म पक्की सडकको आरामदायी यात्रापछि कच्ची सडकको यात्रा शुरु हुन्छ । ईवा खोला तरेपछि टेक्छौं ताप्लेजुङ जिल्ला । यहींबाट शुरु हुँदोरहेछ सिदिङ्वा गाउँपालिका पनि । गाडीमा हामी विभिन्न उमेर समूहका आठ जना यात्रु छौं । हामी सबैको गन्तव्य तिम्बुङ पोखरी हो । इलाममा बसेर भिडियोग्राफीमा भविष्य खोजिरहेका मिलन निरौला र उनका दुई भाइ, इलामकै फुटसल व्यवसायी रोशन राई, झापाका कलाकार इन्द्र बेकामे, पर्यटनकर्मी प्रशान्त गिरी, पाँचथरका पत्रकार डेविड ओझा सहयात्रीहरू । मीठा र रोचक गफहरूले बाटो कटेको पत्तो भएको छैन ।

हामी साप्लाखु बजार पुग्छौं । यो बजार सिदिङ्वा गाउँपालिकाको केन्द्र पनि रहेछ । साप्लाखु बजारबाट बायाँ बेसक्याम्प जाने बाटो रहेछ । हामी दायाँ मोडिन्छौं । गाउँको कच्ची र केही साँघुरो सडक । गाउँको यस्ता सडकसँग अभ्यस्त भएको कारण मलाई कुनै भय र पीर छैन । अहिले सडक नपुगेको कुनै गाउँ छैन । फेरि २०७२ को संविधान निर्माण पछि स्थानीय तह बलिया भए । अनि किने डोजर र सडक पुर्‍याए जताततै । सडक पुगेपछि उत्तिसका रूखहरूले पनि बजार र मूल्य पायो । सडक किनारमा गोलियाका थुप्रोहरू देखिनुको कारण यो पनि हो । पर्यावरणविद्हरू भन्छन्— यसो हुँदा बाढीपहिरोको जोखिम बढ्यो । सम्भवत: यसै कारण यी डोजरलाई कवि भुपाल राई कोलम्बस बिम्ब दिंदै व्यङ्ग्य गर्छन् । कहिले ओरालो, कहिले उकालो, अनेकौं घुम्ती र नागबेली छिचोल्दै हामी मिचिम, कालीखोला अवस्थित ‘द रेडपाण्डा गेस्टहाउस’ पुग्छौं । साँझ गहिरिंदैछ । आजको रात हामीले यतै बास बस्नुछ । यो गेस्टहाउस मित्र अमिर राईले निर्माण गरेका रहेछन् । गाडीबाट ओर्लंदै गर्दा भाइहरूलाई भन्छु– गेस्टहाउस त भव्य रहेछ ।

अहिले सडक नपुगेको कुनै गाउँ छैन । २०७२ को संविधान निर्माण पछि स्थानीय तह बलिया भए । अनि किने डोजर र सडक पुर्‍याए जताततै ।

भाइहरूको सामूहिक जवाफ आउँछ– हो दाइ, हो । अनि हामी सबै जना उन्मुक्त हाँसो हाँस्छौं ।

(यात्रामा बोलक्कड रोशन राई निस्किए । सम्भवत: उनको तर्कसँग आजित भएर भाइहरूले ‘हो दाइ, हो’ थेगो निकाले । हामीले ‘वर्ड अफ दि टुर’ हो दाइ होमा सहमति गर्‍यौं ।)

कालीखोलाबाट हाम्रो पैदल यात्रा शुरु हुन्छ । बिहानको नास्ता पछि हामी हिंड्न तरखर गर्छौं । आकाश पूरै धुम्मिएको छ । पानी छिट्याउन  थालिसकेको छ । पानी  पर्न थालेसँगै इन्द्र बेकामे र मेरो अनुहार निन्याउरो भएको छ । भयो के भने, हामी दुईको छाता गाडीबाट कतै झरेर हिजै हराएको छ । हामी ओतविहीन भएका छौं । नयाँ छाता इन्द्रले दमकबाट किनेर ल्याएका थिए । छाता हुन्छ सोचेर रेनकोट बोकिनँ । इन्द्रसँग रेनकोटको सुरुवाल मात्र रहेछ । सुरुवाल मात्र किन बोकेका होलान् ? गम्दै ओरालो झर्दैछु । मिचिममा भएको एक मात्र पसलमा छाता किन्नलाई सोध्छौं । दुर्भाग्य छाता सकिएको रहेछ । पसलमै भेटिन्छन् एक भाइ । उनी उराङ (चौरीको एक प्रजाति) लाई भारी बोकाएर तिम्बुङ पोखरी र मिचिम ओहोरदोहोर गर्दारहेछन् । भाइले ओढ्नलाई प्लास्टिक दिन्छन् । पारिको अर्को पसलमा हाम्रा लागि छाता फोनबाट सोधिदिन्छन् । अप्ठ्यारो परेको बेला उनको सहयोगले द्रविभूत हुन्छु । लाग्छ, गाउँमा मानवता मरेको छैन । गाउँ यस्तै आत्मीयताले जीवन्त छ ।

कालीखोला तरेपछि पूरै ठाडो उकालो शुरु हुन्छ । शायद हिंड्न जान्नु पनि ठूलो कला हो । अझ उकालोमा कसरी हिंड्ने अनुभव चाहिंदो रहेछ । उकालोमा ज्यान तान्नै सकस, ओरालोमा ज्यान थाम्न सकस । यद्यपि, यात्राको रोमाञ्चकता यसैमा छ । पानी थामिंदै, कहिले पर्दै गर्छ । यहाँ जुका पनि लाग्दोरहेछ । पानी परेको बेला जुका सक्रिय हुने हो । जुका टिपेर साध्य छैन । उनीहरूसामु आत्मसमर्पण गरिदिएको छु । कतै पढेको थिएँ जुकाले खराब रगत मात्र चुस्छन् । म निश्चिन्त पनि छु ।

उचाइ बढ्दै जाँदा हिंडाइमा पनि कठिनाइ हुँदैछ । वातावरण, बोटबिरुवा पनि फरक हुँदै जाँदो छ । लेकमा हिउँले खाएका धूपी र केही पोथ्रा झाडीहरू मात्र देखिन्छन् । गम्छु— अझ माथि त नागी मात्र होला ।

बिहानको खाना खान हामी डडुवा पुग्छौं । गाउँ त हामीले धेरै तल छाडिसकेका छौं । यहाँ भण्डारी दाइले खोलेको लालीगुराँस होमस्टे रहेछ । डाँडामा एक मात्र घर । चौंरी र बाख्रा पालन गर्दै बसेका भण्डारी दाइले निगुरो, मालिङ्गोको टुसासँग मिठो खाना खुवाए । खाना खाएर सुस्ताउँदा तल–तल, पारितिर आँखा डुलाउँछु । कतै झरना झरिरहेको, कतै घना जङ्गल, कतै नागी त कतै धानको सुरम्य फाँट । अहिले विदेश मेगासिटीका मानिसहरू त्यसै प्रकृतितिर फर्क अभियानमा लागेका रहेनछन् । इजरायलका चिन्तक युवाल नोहा हरारी भन्छन्– निकट भविष्यमा प्रविधिले मानिसको विनाश गर्छ ।

कल्पिन्छु, मेशिन र प्रविधि भन्दा टाढा भण्डारी दाइ जस्तो जीवन बाँच्दा पृथ्वीको पनि आयु  बढ्छ होला ।

उचाइ बढ्दै जाँदा हिंडाइमा पनि कठिनाइ हुँदैछ । अक्सिजन पनि कम हुँदै जान्छ रे ! त्यसैले होला हिमाल चढ्नेहरूले अक्सिजन सिलिण्डर  बोकेका । वातावरण, बोटबिरुवा पनि फरक हुँदै जाँदो छ । औलको तुलनामा लेकको बिरुवा फरक लाग्दैछ । लेकमा हिउँले खाएका धूपी र केही पोथ्रा झाडीहरू मात्र देखिन्छन् । गम्छु— अझ माथि त नागी मात्र होला । बाटो कालीखोला माथिको जस्तो पूरै ठाडो उकालो छैन । अघि बिहान प्लाष्टिक ओत दिने भाइले हामीलाई बाटोमा भेट्छन् । उराङ हिंड्दा  घाँटीमा बाँधिदिएको घण्टीको टङ्–टङ् आवाजले एकान्तमा वेग्लै संगीत सृजना गर्दैछ । यो संगीतले हाम्रो थकान मेट्छ । पिठ्युँमा भारी बोकेर गन्तव्य पुग्न विवश उराङको जत्था देखेर मनमा विचार खेल्छ । हामी पनि त उराङ नै हौं । जीवन यात्रामा नियतिको भारी बोकेर गन्तव्यमा पुग्न विवश एक उराङ ।

साँझ पर्न लाग्दा हामी नुनथला पुग्छौं । आजको यात्राको बिसौनी यहींनिर हो । नुनथलामा गाउँपालिकाले बनाएको व्यवस्थित गेस्टहाउस रहेछ । निजी एक चांैरी गोठ पनि रहेछ । गोठ साथै गेस्टहाउस पूरै खचाखच छ । तिम्बुङ पोखरी महोत्सवको कारण भीड स्वाभाविक लाग्छ । त्यसो त अहिले तिम्बुङ पोखरी घुम्न आउने पर्यटक वा तीर्थालुको संख्या क्रमश: बढोत्तरी हुँदै गरेको सिदिङ्वा गाउँपालिकाका अध्यक्ष मानबहादुर राई बताउँछन् । ठाउँ–ठाउँमा गोठ, होमस्टे सञ्चालनले यात्रामा खाना, बासको असुविधा हटेको रहेछ ।

तल ईवा खोलाले भने बादलको पछ्यौरी ओढेको छ । टाढा–टाढाका पहाडहरू कुनै ध्यानस्थ ऋषि झैं लाग्छन् । लाग्छ, हामी बादल माथि हिंडिरहेछौं ।

नुनथलामा भेटिन्छन् मित्र निरोज कट्टेल । उनी लेखक हुन् । उनको पुस्तक ‘२०२८, झापा विद्रोहको अन्तरकथा’ पठनीय छ । उनी पर्यटन कार्यालय काँकडभिट्टाका कर्मचारी पनि हुन् । आधा यात्रापछि उनीसँगको भेटले मन प्रफुल्ल हुन्छ । उचाइको कारण होला नुनथलामा जाडो छ ।

पैदल यात्राको दोस्रो दिन हामी नुनथलाबाट बिहानै हिंड्न तयार हुन्छौं । आजको हाम्रो गन्तव्य ठूलोभञ्ज्याङ हो । घाम डुब्नुअघि त्यहाँ पुग्ने हाम्रो लक्ष्य छ । उचाइको कारण अब जंगल भेटिन छाडेको छ । एकाध देखिने धूपीका रूखहरू पनि चट्याङ र हिउँका कारण होला घिडघिडोमा देखिन्छन् ।

आज मौसम खुलेको छ । माथि हिमालमा पोखिएको घामको सुनौलो लाली अलौकिक देखिएको छ । तल ईवा खोलाले भने बादलको पछ्यौरी ओढेको छ । टाढा–टाढाका पहाडहरू कुनै ध्यानस्थ ऋषि झैं लाग्छन् । लाग्छ, हामी बादल माथि हिंडिरहेछौं । यस्तो अद्भुत दृश्य हेर्दै हामी सुस्तरी हिंड्दैछौं । फेरि उचाइमा फटाफट हिंड्नु हाम्रो लागि असम्भव कुरा हो । पोखरीतालमा भेटिन्छ चौंरी गोठ । गोठ एक लिम्बू भाइको रहेछ । उनले चौंरीको दूध हालेको मिठो चिया पकाएर दिए । चौंरीको दूध खाने रहरलाई दुई घुट्कीमा सीमित राखें । सुनेको थिएँ चौंरीको दूध पचाउन गाह्रो हुन्छ । बिहानको खाना खान हामी पाङ्दुवा पुग्छौं । पाङ्दुवामा खान बस्न सुविधा भएको गोठ रहेछ । बिहानको मौसम विपरीत पानी सिमसिम पर्न थालेको छ । जाडो बढेको छ । अँगेनाको वरिपरि बसेर ज्यान तताउने प्रयासमा छौं । पेट अघाएर होला ज्यानमा आलस्य बढेको छ । कि आज यतै बसौं ? साथीहरूलाई प्रस्ताव राख्छु । मेरो प्रस्ताव बहुमतले फेल गरिदिन्छन् । अब हिंड्नुको विकल्प रहेन ।

एकाध घण्टा हिंडेपछि दोबाटे पुग्छौं । दोबाटेबाट बायाँतिर तावानागी र दायाँतिर ईवानागी पर्दोरहेछ । दोबाटेमै भेटियो पालिकाले निर्माण गरेको होमस्टे । होमस्टे सञ्चालन हुन भने बाँकी रहेछ । दोबाटेबाट ढुंगा छापिएको बाटो शुरु हुन्छ । बाटो तल–माथि देखिन्छन् सुनपातीका पोथ्राहरू । सुनपाती सुगन्धित हुन्छ । जसलाई कोइलामा हालेर धुपको रूपमा प्रयोग गरिन्छ ।

तिम्बुङ पोखरी क्षेत्र जडीबुटीको खानी पनि रहेछ । यहाँ बिखुमा, पाँचऔंले, पदमचाल, एक्लेभिर, खोखिम, कुड्की आदि महत्वपूर्ण जडीबुटी पाइँदो रहेछ । यात्रामा ढुङ्गाले छापेको बाटोमुनि पानी छङछङ बग्दै गरेको थुप्रै ठाउँमा सुन्यौं । कुनै ठाउँ त ढुङ्गाको थुप्रो भिरबाट भित्रभित्रै बगेको पानीको आवाज मात्र सुनिन्छ । कतै मनभित्र डर उब्जिन्छ । ठूलो भञ्ज्याङ पुग्न लाग्दा साना साना एकाध झाडीहरू पनि देखिन छाडे । तर सुन्दर ठाउँलाई अझ मनमोहक बनाउन गुलाबी रंगको कस्तुरे फूलले कुनै कसर छाडेको थिएन । यो फूललाई कस्तूरी मृगले मन पराउँछ रे ! त्यसैले यो फूलको आसपास कस्तूरी मृग सुस्ताउँदो रहेछ । कस्तूरी आराम गर्ने कस्तुरे फूल ढकमक्क फुलेको छ ।

रातभरिको हावाहुरी र पानी पछि बिहान कल्पना विपरीत आकाश खुल्यो । यही मौका छोपेर पोखरी जान लम्कियौं । ठूलो भञ्ज्याङबाट तिम्बुङ पोखरी एक किलोमिटर मात्र रहेछ । अन्तत: एकदिनको मोटर यात्रा र दुई दिनको पैदल यात्रापछि तिम्बुङ पोखरी पुग्यौं । अपेक्षा गरे अनुसार पोखरी सुन्दर र स्निग्ध लाग्यो । पोखरी सुनै सुन माथि बसेको भन्ने किंवदन्ती रहेछ । हुन पनि उहिले चार पश्चिमा विदेशीले पोखरी खोलेर सुन निकाल्न खोज्दा ज्यान गुमाएका रहेछन् । निकास कोतरेको डोब अझै थियो । निकासबाट पानी भूमिगत बगेर धेरै तल मात्र निस्कंदो रहेछ ।

पोखरीको पानी सफा र कञ्चन रहेछ । मित्र बिनाम माबो सुनाउँछन्– यहाँको सफाइकर्मी चरा छ । पोखरीमा झर्ने पातहरू चराले सफा गर्छ । नभन्दै एउटा सानो चरा देखियो । करिब ४ हजार ३५० मिटरको उचाइमा यो चरा कहाँबाट आएको होला !

सुन्दर ठाउँलाई अझ मनमोहक बनाउन गुलाबी रंगको कस्तुरे फूलले कुनै कसर छाडेको थिएन । कस्तूरी मृग आराम गर्ने कस्तुरे फूल ढकमक्क फुलेको छ ।  हिमालको फेदमा बसेको तिम्बुङ पोखरी ईवा खोलाको मुहान पनि रहेछ । तल ईवा खोलाबाट उडेर आउने भुइँकुहिरोसँग पोखरीले लुकामारी खेल्दै गरेको दृश्य साँच्चै अलौकिक देखिन्छ । पोखरी माथि ढुंगाको पहरा, पहरा माथि फुलेको केन्जो फूल । आँखाले देखुन्जेल नागी, नागीमा चरिरहेका चौंरीका बथान हेर्न छिनछिनमा बहने चिसो सिरेटोले कुनै अवरोध गरेको छैन ।

भनिन्छ भाकल माग्दा पुर्‍याउने तीर्थस्थल हो तिम्बुङ पोखरी । कुनै पनि आध्यात्मिक ठाउँहरूमा पुग्दा मनले वेग्लै शान्ति अनुभव गर्छ । तिम्बुङ पोखरीको आध्यात्मिक महत्व त छँदैछ, प्राकृतिक रूपले पनि सुन्दर रहेछ । पोखरीमा बन्दुक पड्किएको चाहिं सुनिएन । बन्दुक पड्किएको बेलामौका मात्र सुनिन्छ रे ! ताप्लेजुङ खेबाङ निवासी मित्र बिनाम माबो भन्छन्– तिम्बुङ पोखरीमा बन्दुक पड्किएको सुनिनु अनिष्टको संकेत हो ।

कुनै पनि सुन्दर कुरालाई आँखाले हेर्ने, मनले अनुभूत गर्ने हो । शायद ज्यादा रोमाञ्चित भएँ क्यार, मुखबाट बोली फुत्कियो– अद्भुत, अद्भुत ! साथीहरूको एकमुष्ट आवाज सुनियो– हो दाइ, हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?