+
+
Shares

बरु हार्न तयार छौं, निर्वाचनबाट भाग्दैनौं : शेखर कोइराला

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १५ गते १५:३६
फाइल तस्वीर

१५ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक वातावरण बनाउन गर्न नसकेको टिप्पणी गरेका छन् ।

मंगलबार मोरङ समाज काठमाडौंको २६औं वार्षिक साधारण सभालाई काठमाडौंमा सम्बोधन गर्दै उनले मुलुकमा निर्वाचन हुने अवस्था बने–नबनेको विषय गम्भीर प्रश्नको रूपमा उभिएको बताए ।

सबै राजनीतिक दलहरूले समानुपातिकतर्फको सूची बुझाइसके पनि शान्ति–सुरक्षाको अवस्था कमजोर रहेकाले निष्पक्ष र भयरहित ढंगले निर्वाचन सम्पन्न हुन्छ कि हुँदैन ? अहम् प्रश्न रहेको उनको भनाइ छ ।

कांग्रेस निर्वाचनबाट नभाग्ने तर हार्न तयार हुने लोकतान्त्रिक पार्टी भएको भन्दै उनले सरकारले त्यसका लागि वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए ।

उनले निर्वाचनमा शान्ति–सुरक्षा कायम गर्ने मुख्य जिम्मेवारी प्रहरी प्रशासनको भएको उल्लेख गर्दै हाल प्रहरीको मनोबल अत्यन्त खस्किएको बताए ।

सेनाले निर्वाचन गराउँदैन भन्नेकुरा सबैले बुझ्न जरुरी रहेको पनि उनको भनाइ छ ।

२०६४ सालको पहिलो संविधान सभा निर्वाचनको स्मरण गराउँदै गम्भीर अपराधका कैदीहरू फरार र हजारौँ हातहतियार समेत समाजमा रहेको भन्दै यही अवस्थामा भयरहित वातावरणमा निर्वाचन हुनेमा उनले शंका व्यक्त गरे ।

‘सबै राजनीतिक दलहरूले समानुपातिकको सूची पठायो पनि । तर वास्तवमा देशमा निर्वाचन हुने अवस्था छ कि छैन ? भन्ने प्रश्न चाहिँ अहम् प्रश्न छ । हामी भाग्दैनौँ निर्वाचनबाट । एउटा लोकतान्त्रिक पार्टी हार्छ, हार्नसक्छ तर निर्वाचनबाट हामी भाग्दैनौं । निर्वाचनका लागि सरकारले केही काम त गर्नुपर्‍यो । शान्ति सुरक्षा त दिनसक्नुपर्‍यो,’ उनले भने ।

२३ भदौमा भएको जेनजी आन्दोलनमाथि प्रहरी दमनको जति निन्दा गरे पनि कम हुने उनले बताए । यद्यपि २४ भदौमा भएको विध्वंसलाई सामान्य रूपमा हेर्न नहुने उनको भनाइ छ । मुख्य प्रशासनिक भवन सिंहदरबारदेखि प्रादेशिक तहका संरचना र नेताका निवासहरू समेत तहसनहस पारिएको उल्लेख गर्दै उनले जेनजीले मात्रै ६ घण्टामा मुलुकलाई खरानी बनाउन नसक्ने टिप्पणी गरे । यो सब कांग्रेस–एमालेको सरकार हटाउनका लागि मात्र हो त ?  उनको प्रश्न छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?