News Summary
Generated by OK AI. Editorially reviewed.- स्न्याक्स उद्योग विश्वव्यापी रूपमा करोडौं मूल्यको ठूलो उद्योग बनेको छ र मानिसहरूले दिनमा मुख्य खानाभन्दा बढी क्यालोरी स्न्याक्सबाट लिन्छन्।
- स्न्याक्सको इतिहास हजारौं वर्ष पुरानो छ र सबैभन्दा पुरानो स्न्याक पपकर्न मानिन्छ।
- अमेरिकामा आधा वयस्कले दैनिक तीन वा बढी स्न्याक्स खान्छन् र यो ट्रेन्ड विश्वका अन्य देशहरूमा पनि बढ्दो छ।
भुटेको बदाम, चिप्स, मिठाइहरू, चकलेट, कुकिज, दुनोट, केक, मिठो होस् वा नुनिलो, विश्वमा स्न्याक्सका धेरै प्रकारहरू छन् । हजारौं वर्षदेखि मानिसहरू स्न्याक्स खाँदै आएका छन्, तर आजकल यो एउटा ठूलो उद्योग बनेको छ जसको वार्षिक मूल्य करोडौंभन्दा पनि बढी छ ।
अहिले धेरै मानिसहरू दिनमा वा रातमा मुख्य खानाको तुलनामा स्न्याक्सबाटै बढी क्यालोरी लिन्छन् । तर यो ठूलो उद्योग बन्नुको पछाडि केवल हाम्रो भोक वा समयको कमी मात्र जिम्मेवार छैन । खाना बनाउने कम्पनीहरूको चतुर मार्केटिङले पनि हाम्रो आहारमा स्न्याक्सलाई समावेश गर्न महत्वपूर्ण भूमिका खेलेको छ ।
सबैभन्दा पुरानो स्न्याक कुन हो ?
क्याम्ब्रिज इङ्लिस डिक्सनरी अनुसार, स्न्याक भनेको ‘खानाहरूबीचमा लिइने अलिकति खाना वा अतिरिक्त खाना’ हो । अर्थात्, स्न्याक अनिवार्य रूपमा जंक फुड मात्र हुनु पर्दैन, वा प्याकेटमा तयार भएको कम पौष्टिक खाना मात्र हुनुपर्छ भन्ने होइन ।
ब्रिटिस फुड इतिहासकार तथा लेखिका डा. एनी ग्रे भन्छिन्, ‘आजको समयमा हामी स्न्याकलाई निकै नराम्रो मान्छौं । हामी सामान्यतया स्न्याक फुडलाई यस्तो चीज मान्छौं जसलाई हामी सजिलै उठाएर खाना खाइरहेकै बीचमा खान्छौं ।’ तर स्न्याक भन्नेबित्तिकै अस्वस्थ र पाकेटबन्द खानेकुरा हो भन्ने बुझाइ गतल भएको उनको भनाइ छ ।
स्न्याकिङ कुनै नयाँ कुरा नभई धेरै पुरानो बानी रहेको ग्रे बताउँछिन् । तर के तपाईंलाई थाहा छ कि हजारौं वर्षअघि मानिसहरूले स्न्याक्समा के खान्थे ?
डा. ग्रेका अनुसार, सबैभन्दा पुराना स्न्याक्स फलफूल तथा बेरीहरू थिए । आजका आधुनिक स्न्याक्समध्ये सबैभन्दा पुरानो सायद पपकर्न भएको उनको भनाइ छ । पुरातत्वविद्हरूले दक्षिण अमेरिकाका गुफाहरूमा पप गरिएका मकैका दानाहरू फेला पारेका थिए । जुन करिब ७ हजार वर्ष पुराना भएको ठहर उनीहरूको थियो ।
इतिहासमा विश्वका धेरै मानिसहरूले बसेर खाना खाने समय निकाल्न सक्दैनथे, त्यसैले भोक लाग्दा केही खाइहाल्थे । यही प्रचलनबाट स्न्याक विकास भएको ग्रेको भनाइ छ ।
पुरानो समयमा स्न्याकिङ
यदि मानव इतिहासको अधिकांश भागमा स्न्याकिङ नै सामान्य थियो भने, हामीले यसलाई खानाहरू बीचमा खाइने खानेकुरा मात्रै किन मान्छौं ? डा. ग्रेका अनुसार स्न्याक शब्दको जरा सुरुवाती आधुनिक युगमा भेटिन्छ र जब यो पहिलो पटक अङ्ग्रेजीमा प्रयोग भयो, यसको अर्थ थियो– ‘कुनै चीजको एक भाग’। त्यो समयको बुझाइअनुसार स्न्याक भनेको केवल खानेकुरा मात्रै नभएर पैसा वा नाफाको स्न्याक लिन सकिन्थ्यो ।
त्यसपछि यो शब्द खानासँग जोडियो। खेतमा काम गर्ने कुनै मजदुरले भन्न सक्थ्यो, ‘ओहो, मलाई भोक लाग्यो, म केकको एक स्न्याक खान्छु ।’
१८औं शताब्दीको मध्यतिर आइपुग्दा ‘स्न्याक’ शब्द पूर्णरूपमा खानासँग जोडियो र औपचारिक खाने बानीहरूबाट अलग चीज बन्यो । स्यान्डविच जस्तो एउटा ठूलो स्न्याक पनि यही समयमा जन्मिएको डा. ग्रे बताउँछिन् ।
यसबारे एउटा कथा छ । सन १७६२ मा एक साँझ ‘फोर्थ अर्ल अफ स्यान्डविच’ जोन मोन्टेग्यू कार्ड खेल्दै थिए । खेल्दै गर्दा उनलाई भोक लाग्यो तर खेल छोड्ने मन भएन । त्यसैले उनले आफ्नो कामदारलाई दुई ब्रेडबीचमा मासु राखेर ल्याउन भने । यहींबाट स्यान्डविचको जन्म भयो । जुन आज स्न्याकको सही परिभाषा बनेको छ ।
औद्योगिक युगको शुरुआती समयमा अमेरिकामा स्न्याक बनाउने कम्पनीहरूले कारखानाका कामदारलाई लक्षित गरे । कारखानाको गेटमा साना–साना स्न्याक बारहरू थिए, जहाँ सिपीहररू, अचार र स्यान्डविच विक्री हुन्थे।
१९औं शताब्दीमा अमेरिकामा पपकर्न लोकप्रिय भयो । त्यसपछि अरू धेरै चीजहरू आए ।
१९१० मा पहिलो पटक क्रिस्प्स (चिप्स) व्यावसायिक रूपमा बनाउन थालिएको डा.ग्रे बताउँछिन् । त्यो समयमा धेरै तयारी र औद्योगिक खानाहरू बजारमा आए।
दोस्रो विश्वयुद्धपछि खाना प्रशोधन र प्याकेजिङमा ठूलो प्रगति भयो । मानिसहरूको आय बढ्न थाल्यो, जसले स्न्याक्स सजिलै घर–घर पुग्न थाले।
डा. ग्रे भन्छिन्, ‘अब बढी मानिसहरू घरबाहिर काम गर्थे, शिफ्टमा काम गर्नेहरूले पूर्ण खानाका लागि समय निकाल्न सक्दैनथे । उद्योग बढ्यो, मध्यम वर्गको जनसंख्या बढ्यो, मानिसहरूसँग अतिरिक्त पैसा आयो, जसले स्न्याक्समा खर्च बढायो ।’
आज स्न्याक बजार कति ठूलो छ ?
यही समयमा प्याकेजिङ प्रविधि पनि अगाडि बढ्यो । जस्तै चिप्सका झोलामा नाइट्रोजन ग्यास भर्न थालियो, जसले चिप्स नटुट्ने र ढुवानीमा सुरक्षित बनायो। यसले एउटै ठाउँ उत्पादन गरी टाढा-टाढासम्म ढुवानी गरी विक्री गर्न सम्भव बनायो । ठूला–ठूला कारखाना खुल्न थाले।
१९७९ मा जब पल पोलम्यानले अमेरिकी कम्पनी प्रोक्टर एन्ड ग्याम्बलमा जोडिए, त्यतिबेलासम्म साधारण क्रिस्प्स स्न्याकिङको संसारको ठूलो हिस्सा बनिसकेको थियो।
पोलम्यानले एउटा नयाँ उत्पादनमा काम गरे जुन सुकेका आलुबाट बनेको क्यान वाला चिप्स थियो। त्यो समयमा, ठूला–ठूला कम्पनीहरूले साना व्यवसायहरूमाथि कब्जा गर्दै थिए र ब्रान्ड बनाउने तथा विज्ञापनमा पैसा लगाउँदै थिए।
आजको समयमा पोलम्यान यो उद्योगलाई ‘सैन्य अपरेसन’ सँग तुलना गर्छन् । उनी भन्छन्, ‘सफलता धेरै छिटो मिल्न सक्छ, तर उत्तिकै छिटो समाप्त पनि हुन सक्छ ।’ लामो समयसम्म टिक्नका लागि उत्पादनको गुणस्तर र मूल्य सही हुनुपर्छ । साथै राम्रो प्याकेजिङ, विक्री गर्ने सही ठाउँ र आवश्यक परे राम्रो प्रमोशन पनि चाहिन्छ।
यसको मुनाफा पनि धेरै ठूलो हुन सक्छ, किनकि स्न्याक्सको खपत निरन्तर बढ्दैछ।
कुन–कुन हुन् विश्वभरका मान्छेलाई मनपर्ने स्न्याक्स ?
विश्वभरि मानिसहरूका मनपर्ने स्न्याक्स धेरै फरक–फरक छन् । कोही घरमा बनेका, कोही प्याकेट वाला, मिठो, नुनिलो, चटपटे। बीबीसी वर्ल्ड सर्भिसले विश्वभरिका मानिसहरूसँग सोधेको थियो- भोक लाग्दा उनीहरू के खान्छन् ।
अर्जेन्टिनाकी बारबरा ओयेवारीको मनपर्ने स्न्याक चिपा हो । यो क्यासावा (साबुदाना जस्तो), चीज, बटर, दूध र नुन मिसाएर बनेको सानो गोलाकार बन हो । यसलाई गल्फ बल जस्तै बनाएर तयार गरिन्छ । बारबरा यो स्न्याक आफैं बनाउँछिन्, तर उनका छोरालाई रेडिमेड स्न्याक्स बढी मनपर्छ ।
डा. स्वाति मिश्रा नयाँ दिल्लीमा बस्छिन् । उनी उमालेको आलु, धेरै धनिया, प्याज र मटरले भरिएका समोसा खान मन पराउँछिन् । उनी भन्छिन्, ‘कुनै पार्टी वा विवाह समोसा बिना पूरा हुँदैन जस्तो लाग्छ ।’
ताजा स्न्याक्सको ठाउँ तयारी खानेकुराहरूले लिन थालेको डा. स्वाति बताउँछिन् । बच्चाहरूलाई प्याकेटवाला खानाबाट टाढा राख्न गाह्रो भएको उनी सुनाउँछिन् ।
नाइजेरियाकी स्टेला ओसिएग्बु स्थानीय बजारबाट दैनिक फिस रोल किन्छिन्। ‘फिस रोल मैदा, माछा र नुनबाट बन्छ, र यससँग मदिगा हुन्छ, जुन क्यासावाको पीठो, नुन र चिनीबाट बनाइन्छ । ओसिएग्बुका अनुसार मदिगा नाइजेरियाको दक्षिण–पश्चिम भागको धेरै लोकप्रिय स्थानीय ब्रेड हो । यो आफ्नो कडा बनावट र राम्रो स्वादका लागि लोकप्रिय छ ।
बैंकककी पापाचाया निपानन भन्छिन्,- म हरेक दिन स्न्याक्स खान्छु । सामान्यतया केही कुरकुरे हुन्छ वा कहिलेकाहीं चकलेट, तर कहिलेकाहीं नाचोज पनि खान्छु ।’ उनी आफ्नो छुट्टीका दिन स्न्याक्स जम्मा गर्छिन् र कामका दिनमा अलिकति समय मिलेका बेला ती खान्छिन्।
छिटो बढ्दै गरेको ट्रेन्ड
बजार अनुसन्धान कम्पनी सर्कानाको तथ्यांक अनुसार, अमेरिकामा लगभग आधा वयस्कहरू हरेक दिन तीन वा त्योभन्दा बढी स्न्याक्स खान्छन्। यो ट्रेन्ड अन्य देशहरूमा पनि धेरै देखिँदै छ । यस्तो लाग्छ कि स्न्याक्सप्रतिको मानिसहरूको चाह कहिल्यै समाप्त हुनेछैन।
बीबीसीबाट
प्रतिक्रिया 4