+
+
Shares

पाइला पाइलामा सास्ती भोग्छन् दृष्टिविहीनहरू (भिडियो)

विद्युतीय सवारी साधनहरू साइलेन्ट हुने भएकाले आउँदै गरेको थाहा हुँदैन । यो पनि दृष्टिविहीनहरूको लागि अहिलेको ठूलो चुनौती हो ।

सुमित्रा लुइटेल सुमित्रा लुइटेल
२०८२ पुष १५ गते १५:०९
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंका सडकहरू दृष्टिविहीनहरूका लागि पहुँचयोग्य नभएको र अव्यवस्थित पूर्वाधारले उनीहरूको यात्रा जोखिमपूर्ण बनाएको छ।
  • टेक्टाइल टाइलहरू मापदण्डअनुसार राख्न नसक्दा र ट्राफिक लाइटमा साउन्ड सिस्टम नहुँदा दृष्टिविहीनहरूलाई सडक क्रस गर्न समस्या हुन्छ।

बालकोटमा बस्ने लक्ष्मी नेपाल कामका लागि उताउता जानुपर्ने हुन्छ । दृष्टिविहीन उनका लागि यस्तो यात्रा कम्ता कष्टपूर्ण हुँदैन । कहाँबाट गाडी चढ्ने, कहाँ ओर्लने, ओर्लिएर कहाँसम्म हिँड्ने ? यसको छुटै दुःख छ ।

पहिलो कुरा त, उनीहरूलाई गाडी चढ्नै महाभारत हुन्छ । किनभने दृष्टिविहीन देखेपछि गाडीले चढाउन आनाकानी गर्छन् । गाडी चढेपछि सुविस्ताले बस्न पाउने कुरै छैन । ओर्लिएर हिँड्नलाई बाटो गतिलो छैन । लक्ष्मी भन्छिन्, ‘कतै तारमा अल्झिने, कतै खाल्डोमा पस्ने, कतै बालुवाको थुप्रोमा ठोक्किने हुन्छ ।’

उनी धेरैजसो हिँडडुल गर्नुपर्ने ठाउँ हो कोटेश्वर, जहाँ गाडी चढ्न र हिँड्नै गाह्रो छ । ‘कोटेश्वरमा सार्वजनिक गाडीहरू रोक्न दिँदैनन्, झर्न पनि गाह्रो हुन्छ चलिरहेको गाडीमा चढ्नु पर्ने हुन्छ’ लक्ष्मी भन्छिन्, ‘गाडीमा धेरै भिडभाड हुन्छ । अपांगता सिटहरू पहुँचयोग्य हुँदैनन् । अफिस समयमा ६–७ वटा गाडी छोडेर मात्र चढ्न मिल्छ ।’

गौतम पोखरेलको पनि त्यस्तै अनुभव छ ।‘२०७६ भदौमा नेपाल नेत्रहीन संघबाट फर्कँदा राजधानी पेट्रोल पम्प अपोजिटको कुलोमा खसेर ल्यापटप र ज्यान भिज्यो । यो मेरो जीवनको सबैभन्दा पछुतो लाग्ने घटना हो’ पोखरेल सुनाउँछन् । उनी राइड शेयरिङ एपहरूले हिँड्नुपर्ने आवश्यकता कम गरेको बताउँछन्, तर सडकहरूको अवस्था सुधार नभएको कुराले चिन्ता लाग्छ उनलाई ।

‘देशको मुख्य राजधानीमै नै यस्तो छ भने बाहिर के होला ?’ उनी प्रश्न गर्छन् ।

शिव अग्रवालसँग पनि आफ्नो दैनिक यात्रामा भोगेका सास्तीका अनुभव धेरै छन् । कालीमाटीबाट चाबहिल अफिससम्मको यात्रा प्रायः राइड शेयरिङ एपहरूमार्फत गर्छन् । कहिलेकाहीँ सार्वजनिक सवारीमा पनि चढ्छन् । सार्वजनिक सवारी चढ्नका लागि हिँडेर जाँदा सडक पेटीहरू अव्यवस्थित हुँदा उनले धेरै सास्ती भोगेका छन् ।

पाइला पाइलामा धराप

काठमाडौं देशकै सबैभन्दा बढी सेवा, सुविधा भएको शहर मानिन्छ तर यहाँका सडक दृष्टिविहीनहरूका खतरा, अनिश्चितता र निरन्तर भयको पर्याय बनेका छन् । टेक्टाइल टाइलदेखि ट्राफिक लाइटसम्म कुनै पनि पूर्वाधारले उनीहरूलाई सुरक्षिष र स्वतन्त्रतापूर्वक हिँड्न सहायता गर्दैनन् ।

हाम्रा पूर्वाधारहरू दृष्टिविहीनका लागि मात्र नभई सामान्य व्यक्तिका लागि पनि पहुँचयोग्य नभएको एक्सेस प्लानेट संस्थाकी कार्यकारी निर्देशक तथा अपाङ्गता र महिला अधिकारकर्मी लक्ष्मी नेपाल बताउँछिन् ।

काठमाडौँको सडकमा दृष्टिविहीन व्यक्तिले यात्रा गर्दा सामना गर्ने समस्याहरू गम्भीर छन् । यी समस्याहरू भौतिक पूर्वाधारको कमी, अनियमित मर्मत र सामाजिक जागरणको अभावबाट उत्पन्न भएको नेपालको भनाइ छ ।

एक जना विद्यार्थीका लागि उनीहरूले बाटो नै बनाउनु वा भौतिक संरचना नै परिवर्तन गर्नु हाम्रा निम्ति अनौठो र अपत्यारिलो कुरा थियो ।

दृष्टिविहीनहरूले सेतो छडी ‘व्हाइट केन’ प्रयोग गरेर हिँड्ने गर्छन्, तर नेपालका सडकमा रहेका विभिन्न बाधाहरूले यो यात्रालाई जोखिमपूर्ण बनाउँछन् । बिहानको समयमा सडकका कुकुरहरू समूहमा बस्ने गर्छन् । दृष्टिविहीनहरूका लागि यो ठूलो चुनौती हो किनकि उनीहरूले कुकुर बाटोमा बसेको थाहा पाउँदैनन् । ‘कलेज जाँदा बिहानको समयमा स्ट्रिट डगहरूले समस्या दिन्थे’ लक्ष्मी भन्छिन्, ‘सेतो छडी देखेपछि झम्टिन्थे । धेरै साथीहरूलाई त कुकुरले टोकेको गुनासो पनि गर्छन् । यसबाहेक, गौशाला क्षेत्रमा छाडा गाई गोरुले दृष्टिविहीनहरूलाई हान्ने र ठक्कर दिने घटनाहरू पनि सुनिन्छन् ।’

सडकहरूमा दृष्टिविहीनहरूका लागि पहेँलो टेक्टाइल टाइलहरू राखिएका छन्, जसले दिशानिर्देश दिन्छ । तर यी टाइलहरू मापदण्डअनुसार राखिएका छैनन् । लक्ष्मीको अनुभव अनुसार, ‘टेक्टाइल टाइलहरू राखिएका छन्, तर तिनलाई पोलहरू, गाडीहरू वा अन्य बाधाहरूबाट निश्चित दूरीमा राख्नुपर्ने नियम पालना गरिएको छैन । टाइलहरू फलो गर्दै जाँदा पोलमा ठोक्किन्छ । यसले टाइलहरूको अर्थ नै हराउँछ ।’

यो कुरामा नेपाल टेलिकमका सहायक प्रशासकीय अधिकृत गौतम पोखरेल पनि सहमत छन् । टेक्टाइल पाथहरू बीचमा टुंगिन्छन् । सुन्धारा, भद्रकाली, सिंहदरबार अगाडि यस्ता टाइलहरू छन्, तर रुखहरू, पोलहरू वा सामान बेच्नेहरूले अवरोध गर्छन् ।

नेपालका सडकहरूमा टेलिकम, खानेपानी वा अन्य संस्थाहरूले बारम्बार खन्ने गर्छन्, तर समन्वयको अभावले समस्या बढाउँछ । ‘एउटै सडकलाई फरक–फरक संस्थाले छुट्टै खन्ने गर्छन्’ लक्ष्मी भन्छिन्, ‘समन्वय गरेर एकैचोटि काम गरे राम्रो हुन्थ्यो । एक हप्ताअघि सहज रूपमा हिँडेको बाटो अर्को दिन भत्किएको हुन्छ ।’

गौतमको अनुभव पनि यस्तै छ । ‘मेरो अफिस जाने बाटो सात वर्षदेखि भत्काएर छोडिएको छ राजधानीको मुटुमा नै यस्तो अवस्था छ । शहीद गेट जाने बाटो पनि अस्तव्यस्त छ । आँखा देख्नेहरूलाई नै हिँड्न गाह्रो छ । झन् हामीलाई के सहज हुन्थ्यो र ?’ गौतम भन्छन् ।

फुटपाथहरूमा सामान बेच्न राख्ने, भत्काउने वा मापदण्ड पालना नगर्ने समस्या छ । लक्ष्मीका अनुसार, काठमाडौंका फुटपाथहरूमा सामान राखेर बेच्ने गर्छन्, जसले हिँड्न अप्ठ्यारो बनाउँछ । भौतिक संरचना सम्बन्धी निर्देशिका छ, तर यसको पालना भएको छैन । यसले दृष्टिविहीनहरूलाई ठोक्किने वा लड्ने जोखिम बढाउँछ ।’

यस्तै समस्या दृष्टिविहीन शिव अग्रवालले पनि भोगेका छन् । कालीमाटी बस्ने उनी नेत्रहीन संघ, चाबहिलमा कम्प्युटर प्रशिक्षकको रूपमा काम गर्छन् । उनी भन्छन्, ‘पेटीहरू भत्किएका छन्, सामान राखिएका छन्, पेटीको बीचमा पोलहरू, रूखहरू र खाल्टाखुल्टीहरूले गर्दा ठोक्किने वा लड्ने जोखिम रहन्छ । म पनि एक दुई पटक पोलमा ठोक्किएको खाल्डोमा परेको छु ।’

काठमाडौँका सडकहरू सबैतिर केही न केही अव्यवस्थित छन्, तर आरएनएसी नजिकका पेटीहरू र धरहरा अगाडिको बाटो विशेष रूपमा अव्यवस्थित छन्, जहाँ अनावश्यक सामान, खम्बा र वेटिङहरूले समस्या बढाएको छ ।

लक्ष्मी नेपाल ।

ट्राफिक लाइटहरूमा साउन्ड सिस्टम नहुनु ठूलो समस्या हो । ‘अन्तर्राष्ट्रिय रूपमा रातो, हरियो र पहेँलो लाइटहरूमा फरक–फरक साउन्ड हुन्छ, तर नेपालमा यो छैन’ लक्ष्मी भन्छिन्, ‘ट्राफिक लाइटहरूको रङ थाहा नहुने भएकाले सडक क्रस गर्न अरूमा निर्भर हुनुपर्छ ।’

शिवले पनि बाटो काट्दा जेब्रा क्रसिङमा बत्ति मात्र बल्ने भएकाले कुन समयमा काट्ने थाहा नहुने गुनासो गर्छन् । साना बाटोहरू सजिलै काटिन्छ तर ठूला हाइवे वा मुख्य सडकहरूमा कसैको सहयोग लिएर मात्र काट्ने उनी बताउँछन् ।

विद्युतीय सवारी साधनहरू साइलेन्ट हुने भएकाले आउँदै गरेको थाहा हुँदैन । यो पनि दृष्टिविहीनहरूको लागि अहिलेको ठूलो चुनौती रहेको गौतम बताउँछन् । ‘सेतो छडी ट्रेनिङ लिएर प्रयोग गर्नुपर्ने हो, तर नेपालमा यसको ट्रेनिङ र जनशक्ति अभाव छ’ लक्ष्मी भन्छिन्, ‘ट्रेनिङ बिना नै सेतो छडी प्रयोग गर्छौं, जसले प्रभावकारी हुँदैन ।’

लण्डनमा एक दृष्टिविहीन नेपालीका लागि बनाइयो बाटो

नेपालमा अधिकांश सडकहरू बनाउँदा अपाङ्गहरूको सहजता, सुविधा वा अनुकूलतालाई ध्यान दिइँदैन । विश्वका समुन्नत मुलुकहरूमा यस्तो समस्या हुँदैन । त्यहाँ कुनै पनि कुराको योजना तय गरिदा, नीति निर्माण बनाइदा, भौतिक संरचना तयार गरिदा अरू सबै किसिमका व्यक्तिहरूको अवस्थालाई मूल्याङ्कन गरिन्छ । सबैको सुविधा र सहजतालाई हेरिन्छ ।

दृष्टिविहीन तथा मोटिभेस्नल स्पिकर सृष्टि केसीले विदेशमा हुँदाको अनुभव सुनाइन् ‘म लण्डनमा पढ्दाको कुरा हो यो । जुन विश्वविद्यालयमा म पड्थेँ, त्यहाँ म बस्ने ठाउँबाट कक्षा कोठासम्म पुग्न 5 मिनेट जति हिँड्नुपर्थ्यो । सुरुमा म हिँड्दा गाडी रोक्ने ब्यारियर हुन्थ्यो । सेतो छडीले बाटोको सतह मात्र टेकिने र अगाडि कस्तो तगारो छ भन्ने थाहा हुँदैनथ्यो । त्यसैले म हिँड्दा ब्यारियर मेरो पेटमा पर्थ्यो । त्यसैले त्यहाँ पुगेपछि मलाई एकदमै सतर्क हुन जरुरी थियो कि, ब्यारियरमा ठोक्किएला कि भनेर ।

साथै त्यस बाटोमा घुम्ती कस्तो थियो भने, सतहमा पिच र छेउमा घाँस मात्र । एक्कसी टर्न लिएर हिँड्नुपर्थ्यो । भिजुअल लेआउट किसिमको बाटो थियो । मेरो स्टिकले केही पत्तो पाउँदैनथ्यो कि मैले कहाँ पुगेर टर्निङ लिने हो । यो कुरा जब मेरो विश्वविद्यालयका प्राध्यापकहरूले थाहा पाए, तब उनीहरूले मेरो अनुकूलको बाटो बनाइदिए । जबकि विश्वविद्यालयमा म मात्र दृष्टिविहीन विद्यार्थी थिएँ ।’

एक जना विद्यार्थीका लागि उनीहरूले बाटो नै बनाउनु वा भौतिक संरचना नै परिवर्तन गर्नु हाम्रा निम्ति अनौठो र अपत्यारिलो कुरा थियो । प्राध्यापकहरू भन्थे, ‘एक जना मात्र दृष्टिविहीन भनेर हुँदैन । अरू विद्यार्थी जस्तै सहज रूपमा हिँडडुल गर्न पाउनु तिम्रो अधिकार हो ।

 

सृष्टिको समस्या थाहा पाएको एक हप्ताभित्रै त्यहाँ बाटो तयार भइसकेको थियो । बाटोमा केही सांकेतहरू राखिएको थियो, जसले गर्दा उनलाई बाटोको अवस्थाबारे भेउ पाउन सजिलो भयो । ‘ठूलो घुम्ती भएको ठाउँमा चाहिँ आकर्षक फूलको गमला राखेका थिए । मेरो स्टिकले गमलामा ठोक्किनसाथ टर्निङ लिनुपर्छ भन्ने मैले थाहा पाएँ’ उनी भन्छिन्, ‘सुन्दर गमलाको फूलले बाटो पनि सुन्दर देखियो, मलाई पनि सहज भयो । थोरै मात्र विवेक पुर्‍याउँदा वा मानवीय व्यवहार समान हुँदा कति फरक पार्ने रहेछ ?’

अब के गर्ने त ?

यी समस्याहरू सम्बोधन गर्न भौतिक संरचना निर्देशिकाको कडा पालना, संस्थाहरूबीच समन्वय, ट्राफिक लाइटहरूमा साउन्ड सिस्टम जडान र ट्रेनिङ कार्यक्रमहरू आवश्यक रहेको लक्ष्मी बताउँछिन् । ‘टेक्टाइल टाइलहरू मापदण्डअनुसार राख्नुपर्छ’ उनी भन्छिन्, ‘सडकहरू एकैचोटि समन्वय गरेर मर्मत गर्नुपर्छ । विद्युतीय सवारीहरूमा साउन्ड सिस्टम अनिवार्य गर्नुपर्छ ।’

यसबाहेक, स्थानीय निकायहरूले सडकमा छाडा पशुहरूको व्यवस्थापनका लागि विशेष अभियान चलाउनुपर्छ, जसमा कुकुर र गाईगोरुहरूलाई नियन्त्रणमा राख्ने वा सुरक्षित स्थानमा स्थानान्तरण गर्ने उपायहरू अपनाउनुपर्नेमा लक्ष्मीको जोड छ ।

दृष्टिविहीनहरूका लागि मोबाइल एपहरू विकास गर्न सकिन्छ, जसले जिपिएस र एआईको प्रयोगबाट सडकका अवरोधहरू, ट्राफिक अवस्था र नजिकका जोखिमहरूबारे रियल–टाइम अलर्ट दिन्छ । सरकारी तथा गैरसरकारी संस्थाहरूले सेतो छडी ट्रेनिङका लागि नियमित कार्यशाला र प्रशिक्षकहरूको व्यवस्था गर्नुपर्छ, जसले दृष्टिविहीन व्यक्तिहरूलाई स्वतन्त्र रूपमा हिँड्न सक्षम बनाउने लक्ष्मी सुझाव छ ।

यसका साथै, फुटपाथहरूमा अवैध अतिक्रमण रोक्न नियमित अनुगमन र दण्डात्मक कारबाही लागू गर्नु आवश्यक छ । सामाजिक जागरण अभियानहरू चलाएर सर्वसाधारणलाई दृष्टिविहीनहरूको सहयोग र सम्मान गर्ने संस्कृति विकास गर्न सकिन्छ ।

पूर्वाधार विकासमा अपाङ्गता भएका व्यक्तिहरूलाई समावेश गरेर योजना बनाउनु र पाइलट प्रोजेक्टहरूबाट सुधार सुरु गर्नु उपयुक्त हुने उनको भनाइ छ ।

लेखक
सुमित्रा लुइटेल

अनलाइनखबरकी संवाददाता लुइटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?