+
+
Shares
पुस्तक :

सुयोगवीरको प्रेमिल अवतार

शिरीषको फूल’ मा सुयोगवीर यौनकुण्ठाग्रस्त र क्रूर पात्रका रूपमा चित्रित छ भने ‘परिधि’ मा प्रेम-प्रणय निवेदन गरिरहेको रोमान्टिक पात्रका रूपमा ।

राजकुमार बानियाँ राजकुमार बानियाँ
२०८२ मंसिर २७ गते ९:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उमा सुवेदीको उपन्यास 'परिधि' ले पारिजातको 'शिरीषको फूल' को पात्र सुयोगवीरलाई नयाँ मानवीय र नारी चेतनासहितको दृष्टिले पुनर्व्याख्या गरेको छ।
  • 'परिधि' उपन्यासमा पुरुष सत्ता र महिला स्वतन्त्रता बीचको टकराव, पितृसत्ताको आलोचना र सामाजिक पाखण्डको पर्दाफास गरिएको छ।
  • 'परिधि' मा मेटाफिक्सन, बहुपात्र र बहुलकथाको प्रयोग गरी नेपाली आख्यानलाई नयाँ आयाम र दार्शनिक विमर्श प्रदान गरिएको छ।

सम्भवतः नेपाली आख्यानकै ‘ओभर’ बदनाम पात्र हो, सुयोगवीर । अत्यन्त रोचक र उत्तेजक पात्र पनि सुयोगवीर नै हो । यस्तो विरोधाभासी र सन्दिग्ध पात्र सुयोगवीरको पारिजातकृत मदन पुरस्कार विजेता उपन्यास ‘शिरीषको फूल’ (२०२२) को ६ दशकपछि आख्यानमै पुनरोदय भएको छ, उमा सुवेदीको उपन्यास ‘परिधि’ (२०८२) मा ।

‘शिरीषको फूल’ मा सुयोगवीर यौनकुण्ठाग्रस्त र क्रूर पात्रका रूपमा चित्रित छ भने ‘परिधि’ मा प्रेम-प्रणय निवेदन गरिरहेको रोमान्टिक पात्रका रूपमा । पारिजातले नारी–पीडाका कारण सुयोगवीरलाई पुरुषवादी अहंकार, वर्चस्व र हिंस्रकताको प्रतिमूर्ति बनाइन् भने उमा सुवेदीले उही पात्रलाई नारी-चेतना अनि मानवीय बहुआयामसहित देखाउने यास गरेकी छन् ।

‘शिरीषको फूल’ को सुयोगवीर एक जटिल, आन्तरिक रूपमा द्वन्द्वग्रस्त र समाज/स्व–बोधबीच च्यापिएको पुरुष पात्र हो । पारिजातले सुयोगवीरलाई साधारण ‘नायक’ होइन, एक सामाजिक र मनोवैज्ञानिक विडम्बना बोकेको पात्रका रूपमा उतारेकी छन् । त्यसमा सुयोगवीरको चरित्र सकम्बरीय दृष्टिकोणबाट गहिरो मनोवैज्ञानिक र सामाजिक यथार्थसहित कोरिएको छ ।

उमाको लेखनदृष्टि पारिजातकै समान विद्रोही भए पनि उनको स्वर अलिक नरम, मनोविश्लेषणात्मक र पात्र–केन्द्रित छ । परिधिमा सुयोगवीर पूर्णरूपमा खोटरहित बनेर आएको छैन, तर उसको कठोर आवरणभित्र दबिएका कोमलता, पश्चात्ताप र अपूर्ण प्रेमलाई लेखकले निपुणतापूर्वक उजागर गरेकी छिन् । यसमा सुयोगवीर भावनात्मक अभिव्यक्ति गर्न नजान्ने, आफ्नो कठोरताले नै आफूलाई दण्डित गर्ने जटिल पात्रका रूपमा देखा परेको छ ।

‘शिरीषको फूल’ देखि ‘परिधि’ सम्मको दोहोरो अवतारमा सुयोगवीर वास्तवमै सुरुचिकर साबित भएको छ । प्रश्न उठ्छ, एक अधरस्पर्शमै सकम्बरीको इहलीला सक्काइदिने खलपात्रलाई नै प्रेमिल बनाउन किन अघि सरिन् त उमा सुवेदी ? बरीलाई नै साकम्भरी (दुर्गा) जस्तो अग्निमय पात्र बनाउन किन संकोच मानिन् ?

उमा सुवेदीले देखाउन खोजेको प्रेमिल सुयोगवीर वास्तवमा पात्रको उद्धार होइन, बरू साहित्यिक दृष्टिकोणको परिवर्तन हो । त्यसैले ‘परिधि’ भित्रकी महिला पात्र आर्याले सुयोगवीरलाई एकोहोरो घृणाको दृष्टिले होइन, मानवभित्रका बहुपत्र केलाउने परिपक्व चेतनाबाट हेरेकी छ । एउटै पात्र अलग-अलग परिधिबाट हेर्दा कति भिन्न देखिन सक्दोरहेछ भन्ने कलात्मक कोण उमाले प्रस्तुत गरेकी छन् ।

‘परिधि’मा ‘शिरीषको फूल’ को पात्र सुयोगवीरको रूपान्तरण कुनै किसिमको यान्त्रिक चरित्र–सुधार होइन; यो नारी लेखनको विकासक्रममा आएको संवेदनाको विस्तार हो । पारिजातकृत कठोर सुयोगवीर समाजको हिंस्रक संरचनाको प्रतिफल थियो भने उमाको प्रेमिल सुयोगवीर मानवीय जटिलताको पुनर्पाठ हो । यसरी एउटै पात्र दुई फरक लेखकीय आँखामा दुई भिन्न सत्य बनेर देखिनु नेपाली आख्यान परम्पराको समृद्धि र विविधताको दसी-प्रमाण हो ।

‘परिधि’ मा समाज वा इतिहासको विराट व्याख्या/कथा अर्थात् ‘मेटा–न्यारेटिभ’ छैन, ‘मेटाफिक्सन’ को मात्रा चाहिँ पक्का छ । नयाँ कथामा पुरानो पात्रको उपस्थितिलाई समीक्षकहरू ‘मेटाफिक्सनल’ तत्त्वका रूपमा लिन्छन् । पात्र–कथक आफ्नै कथाभित्र भविष्यका घटना थाहा भएको जस्तै गरी बोल्छन् । मेटाफिक्सनमा प्रायः लेखक वा पात्रहरूले पुराना कथा र चरित्रहरूलाई नयाँ आख्यानमा प्रवेश गराउँछन् । त्यसले समय, स्मृति र कथादेशको सिमाना धूमिल बनाइदिन्छ ।

त्यसो त ‘मेटाफिक्सन’ आख्यान लेखनको बिलकुलै नौलो औजार भने होइन । मेटाफिक्सनको पहिलो ब्याड राखिएको सत्रौँ शताब्दीमै हो । सर्वान्तेसको उपन्यास ‘डन क्विजोट’ लाई मेटाफिक्सनको पहिलो सूचक कृति मानिएको छ । ‘शिरीषको फूल’ का पात्र सुयोगवीर भट्टीमा भेटिएको प्रसङ्गमा अविनाश श्रेष्ठले चालीसको दशकमै ‘अस्तित्व’ नामको सिङ्गै कथा लेखेको प्रसङ्ग पनि यहाँनेर स्मरणीय छ ।

‘शिरीषको फूल’ एकल चरित्रकेन्द्रित मानस यात्रा हो भने ‘परिधि’ बहुल विम्ब, बहस र दृश्य–विकल्पका प्रयोगात्मक रचनाविन्यास । यसमा यथार्थको आयाममा नअटाउने प्रशस्त कथाहरू छन् । यस उपन्यासमा सुयोगवीरकै उचाइको खलपात्र छ, अभयसुन्दर । कुरूप, यौनिक रूपमा असमर्थ तर समाजमा शक्ति प्रदर्शन गर्न चाहने पात्र । उसको खलनायकी देखावटी छ, असली खलनायक भने समाजको मूल्य–मान्यता हो । तैपनि सामाजिक स्वीकारोक्ति र पुरुष–शक्ति संरचनाको आड लिएर पुर्वासँग तेस्रो विवाह गर्छ । उसले विम्ब नामक प्रतिभाशाली चित्रकारको आत्मालाई बन्दी बनाएर चित्र लेखाएको छ र अमर बन्न चाहेको छ ।

अमूर्त चित्र र रङ संयोजनमा कहलिएको अभयसुन्दर हवेली (दरबार) मा बस्छ, सार्वजनिक जीवनमा कतै देखिँदैन । पुर्वा र विम्बलाई कब्जा गरे पनि अन्ततः उनीहरू विद्रोहमा उत्रन्छन् । उपन्यासमा पुरुष सत्ता र महिला स्वतन्त्रता/अधिकार टकराउने गरी पितृसत्ताको सशक्त आलोचना छ । हवेलीको वर्णन चित्ताकर्षक छ । झाडफानुस, ग्रामोफोन, आखेटोपहार जस्ता ‘क्लासिक’ चिजसँग साक्षात्कार हुने अवसर पाठकलाई मिल्छ ।

उपन्यासमा लेखकीय मुखपात्र आर्या (नाटकनिर्देशक-लेखक) हो भने आर्याको पात्र अस्मिता (न्यायमूर्ति) । यिनै पात्रहरूको वरिपरि उपन्यासले कैयौँ फन्को मारेको छ । उपन्यासमा ‘बौद्धिक तुफान’ भनिएकी आर्या मानसिक अवसादग्रस्त पात्र हो । लामो कस तानी धुवाँ गोलगोल पारेर उडाउने, लामो कपालको तारिफ सुनेर ब्वाइज कट बनाउने, जिन्स लगाएर स्विमिङ पुलमा झ्वाम्म हामफाल्ने आर्याका पात्रहरू नीरस, उदास र एकाकी हुँदै गएका छन् । यी घटनाक्रम उसको भावनात्मक खालीपन वा मानसिक थकान देखाउन पर्याप्त छ ।

शाम्भवीसँगै बालगृहमा हुर्केकी आर्या भ्रम र यथार्थको दशगजामा फसेकी छ । आफ्नै नाटकका पात्रहरूसँग प्रतिशोध लिन र हत्याको षडयन्त्र रच्न पछि परेकी छैन । ‘परिधि’ मा अधबैँसे सिपाही सुयोगवीर भट्टीबाटै मातेर आएको छ । खाकी रङकै कोट लगाएको छ । बन्दकोठामा किताबैकिताबको बगानमा ‘शिरीषको फूल’ समातेर बसेको छ । सुयोगवीरको रक्सी, चुरोट र पसिना गन्धमा आर्या नजानिँदो तवरले सम्मुग्ध छे ।

यहाँनेर सुयोगवीर आर्याको छाया संसारको पात्र मात्रै हो । सुयोगवीर कहिले आर्याको बन्दकोठामा हुन्छ त कहिले आर्याको स्कुटीपछाडि । उसले ‘शिरीषको फूल’ का सन्दर्भमा केही तार्किक प्रतिवाद पनि गरेको छ । खासमा आर्या र सुयोगवीरको प्रेम भने विशुद्ध ‘फेन्टासी’ हो । उपन्यासमा उसको उपस्थितिलाई प्रतीकात्मक रूपमै लिनु उचित हुन्छ ।

पारिजातका पात्रहरू प्रेमलाई चिन्तनको मेलो बनाउँछन् भने उमाका पात्रहरू प्रेमलाई प्रतिक्रिया र विद्रोहको यन्त्र । सकम्बरी मौन विद्रोह र आत्मविच्छेदनको यात्रा हो भने आर्या प्रेममा विद्रोह र अस्तित्वको जटिल खोज । ‘शिरीषको फूल’ र ‘परिधि’ का यी दुई स्त्री पात्र सकम्बरी र आर्या प्रेमका माध्यमबाट पुरुष होइन, आफैँलाई भेट्न खोज्छन् । तर उनीहरूको यात्रा अनिर्णीत, अधुरो र पीडादायी रहन्छ ।

‘शिरीषको फूल’को प्रेम मौन, एकल, पराजित र आत्मविमर्शात्मक छ । ‘परिधि’को प्रेम प्रतिवादी, अस्तित्ववादी र सामाजिक संरचनासँग टकराव हो । यस अर्थमा ‘परिधि’ उपन्यास एक गहिरो नारी विमर्शको दस्तावेज हो । यसले नारीका भोगाइ, पीडा, विद्रोह र चेतनालाई मात्र चित्रण गरेको छैन, बरु नेपाली साहित्यमा नारी स्वतन्त्रताको नवीन विमर्शको ढोका खोलेको छ ।

लेखकका रूपमा आर्यामाथि कथावाचकको कटाक्ष पनि उपन्यासमा छ । मृत्यु र आँसुको व्यापार गर्ने, पात्रहरूलाई स्वतन्त्र हुन नदिने, हरदम कठपुतली बनाइरहने, आँखामा कालो पट्टी बाँधेर अन्धकारमा बस्ने, जति पनि हत्या गर्ने छुट पाउने आदि । यसमा लेखकले आफैँमाथि आत्मव्यङ्ग्य गरेजस्तो आभास हुन्छ ।

उपन्यासमा अर्को पात्र न्यायमूर्ति अस्मिता आफ्नो पेशा र लैङ्गिक पहिचानबीचको चरम दुबिधामा छे । अझ भनौँ, पितृसत्ताको कठपुतली बनेकी छे । नियमित दैनन्दिनीमा व्यस्त हुँदा महिला तर अदालतमा फैसला दिने बेला पुरुष । घटनाक्रममा उसले ‘महिला हुँदैमा महिलाको पक्षधर हुँदैन’ भन्ने छर्लङ्ग पारेकी छ । न्याय र मुक्तिको सम्भावनालाई झनै सङ्कटग्रस्त बनाउने पात्रका रूपमा उसको उपस्थितिले पाठकलाई झस्काउँछ ।

‘परिधि’ ले एक हदसम्म महिलाको उत्पीडन देखाउँछ, सँगसँगै महिलाले महिलामाथि गरेको अन्याय पनि खोतल्छ । ‘पुरुष माइन्डसेट’ बोकेका महिलाले पनि शक्तिकेन्द्र बनेर अन्याय गर्न सक्छन् भन्ने विमर्शलाई उपन्यासले टड्कारो रूपमा उठाएको छ । त्यस हिसाबमा ‘परिधि’ एउटा बौद्धिक, विचारप्रधान र सामाजिक–दार्शनिक चेतनासम्पन्न उपन्यास हो ।

उपन्यासमा कतिपय पात्रहरू मुखुण्डो लगाएर वास्तविकता लुकाउँछन्; वास्तविक आत्म–पहिचान, अस्मिता, पीडा र विसङ्गतिबोध गर्छन् । ‘मुखुण्डो’ उपन्यासको सबैभन्दा सशक्त प्रतीक हो । यसले सामाजिक पाखण्ड, आत्म–छल र मानिसको ‘अन्य–बनाउने’ मनोविज्ञान उदाङ्गो पारिदिन्छ । ‘परिधि’ न पूर्णतः परम्परागत यथार्थवादी उपन्यास हो, न त विशुद्ध स्वैरकल्पनात्मक, जादुयी यथार्थवादी र अतियथार्थवादी नै । तर यसमा विचित्रको ‘मानसिक यथार्थ’ छ । त्यसले उपन्यासलाई ‘साइको थ्रिलर’ जस्तो झड्का दिन्छ ।

‘अहो ! आज भाद्र १९ गते पो हो त ! के अस्मिताले आजै आत्महत्या गर्छिन् ?’ भाद्र १९ उपन्यासको सुरुवातमा पनि आउँछ, मध्यान्तर र अन्त्यमा पनि । सायद भाद्र १९ ‘स्पेसल डे’ हो, उपन्यासकारको पनि । आत्महत्या गर्न तम्सेकी अस्मिता आर्याको मुखुण्डोधारी गिरोहले हत्या गर्न लागेको सुइँको पाएर फेरि जीवनकै पक्षमा उभिएकी छे ।

‘परिधि’ मा अद्भुत, अलौकिक र असम्भव लाग्ने घटना प्रशस्त छन् । जस्तैः रातो कार दुर्घटना हुँदा सप्तरङ पोखिनु, उपन्यासको पात्र सुयोगवीर घरी दखिने, घरी बिलाउने, गुलाफी रङको संयोग, जासुसीमा सेता मुसा प्रयोग हुनु आदि प्रसङ्ग । पीछा, हत्या, षड्यन्त्र, जासुसीजस्ता तत्वले कथाको गति तेज हुन्छ । पाठकलाई अब के होला, कसो होला भन्ने कुतूहल भइरहन्छ ।

‘परिधि’ मा उद्धृत गर्न सकिने सुकिला पङ्क्तिहरू टन्नै छन् । त्यसका केही बान्कीः

अरूको चाहना र रुचि अनुसार मान्छेले आफ्नो रहर र सपना फेर्दै हिँड्यो भने एक दिन उसलाई आफ्नै सपनाहरूले तर्साउन थाल्नेछन् । पृष्ठ १५

मानिसहरूले आफ्नो मनभित्रको प्रेमभावलाई व्यक्त गर्न कहिलेकाहीँ यति अबेर गरिदिन्छन् कि प्रेम पनि उनीहरूको व्यवहारबाट विरक्त भएर गायब भइसकेको हुन्छ । पृष्ठ ६९

प्रेमका लागि के ढोका, के पर्खाल ! प्रेमले जहिले पनि सबै खालको सीमा नाघेकै हुन्छ । भत्काएकै हुन्छ । पृष्ठ ७३

तपाईं जसलाई प्रेम गर्न चाहनुहुन्छ, उसलाई भोग्न मात्र चाहनुहुन्छ, जसलाई विवाह गर्न चाहनुहुन्छ, उसलाई प्रेम दिन चाहनुहुन्न । दुवै स्थितिमा तपाईं नारीदेहलाई भोग्न मात्र चाहनुहुन्छ । पृष्ठ ७५

समाजमा मुखुण्डो नलगाएको नै को छ र ! पृष्ठ १४१

चुम्बनहरू कहिले पनि हराउँदैनन्, विलीन हुँदैनन् । ती स्मृतिहरूमा सधैँ रहन्छन् र सधैँ फेरि तिनै ओठहरूसम्म आउजाउ गर्ने राजमार्गको खोजीमा रहन्छन् । १७६

‘परिधि’ को कथा सीधा वा रैखिक छैन; अतीत, वर्तमान, भविष्य, स्मृति र कल्पना एकसाथ मिसिन्छन् । यसले नेपाली कथा–संसारलाई अझ फराकिलो, गहिरो र बहुस्वरीय बनाइदिएको छ । यसमा बहुपात्र छन्, बहुलकथा छन् । अझ भन्ने हो भने, यसले उपन्यासलाई ‘धेरैथरी आवाज भएको ठाउँ’ बनाइदिएको छ । नेपाली उपन्यासमा ‘परिधि’ ‘हेर्ने तरिका’ नै उल्टाउने एक आलोचनात्मक औपन्यासिक दृष्टि बनेको छ ।

‘परिधि’ का बहुधा पात्रहरू अनिद्रा, अवसाद र विस्मृतिमा रहेका छन् । त्यसले पात्रहरूलाई समयसँग टाढा-टाढा बनाउँदै लगेको छ । कथाको समय-रेखामा खण्डित शैलीले जीवनको अस्थिरता र अनिश्चितताको अनुभूति गराएको छ । पात्रहरूको अनियन्त्रित दिमागी प्रवाह नै कथनका रूपमा आएका छन् ।

पारिजातकृत ‘शिरीषको फूल’ र उमा सुवेदीकृत ‘परिधि’ दुई फरक लेखकका दुई फरक ज्वाजल्यमान दृष्टिकोण हुन् । पारिजातको सुयोगवीर कठोर, पाखण्डी, स्वार्थी र मर्दवादी संरचनाको प्रतिनिधि हो । तर ‘परिधि’ लेखिँदा समय, समाज र लेखनको प्रवृत्ति स्पष्ट बदलिएको छ । उमा सुवेदी नारीलाई केवल पीडित होइन, आत्म–परिभाषा खोज्ने सक्रिय चेतनाका रूपमा प्रस्तुत गर्छिन् । त्यसैले सुयोगवीरलाई निखुर कालो वा सेतो बनाउनुको साटो भावनात्मक विविधता दिन खोजेकी छन् ।

‘शिरीषको फूल’ को सुयोगवीर तेस्रो व्यक्तिको दृष्टिकोण हो भने ‘परिधि’ को सुयोगवीर अन्य पात्रको पुनर्व्याख्या । त्यसैले सुयोगवीरको मनोभूमि ‘शिरीषको फूल’ मा भन्दा बढी खुलेको छ । मनोभूमि खुलिसकेपछि पात्रभित्र रहेका प्रेमका कणहरू पनि चम्किन थाल्छन् । उमाले सुयोगवीरलाई एकतर्फी क्रूरताको कारागारबाट निकालेकी छन् । उपन्यासमा सुयोगवीरप्रति सहानुभूतिका झिल्का समेत देखिन्छन्।

‘शिरीषको फूल’ मा केवल सकम्बरी र सुयोगवीर नै भावनात्मक तानाबाना हुन् । तर ‘परिधि’मा आर्या, अस्मिता, सुयोगवीर, पूर्वा, अभयसुन्दर, विम्ब, माया, योगमाया, जयन्ती आदि धेरै पात्रहरू छन् । ती अलग–अलग सन्दर्भ र विम्बका लागि प्रयोग गरिएका छन् ।

उमा सुवेदीको आख्यान लेखनले अस्तित्ववादी नारीवादसँग घनिष्ठ नाता राख्दछ । नारी पात्रहरू आफ्नो अस्तित्वको सीमाबोध गर्छन् र त्यसलाई नाघ्ने आकाङ्क्षातिर उन्मुख हुन्छन् । यस अर्थमा, ‘परिधि’ केवल विषयगत घेरा होइन, नारी–अस्तित्वले स्वतन्त्रता र अर्थ खोज्ने दार्शनिक रूपक हो । त्यसले सामाजिक, मानसिक र लैङ्गिक सिमाना जनाउन सक्छ ।

त्यसो त मानिसको ज्ञान, अनुभव, समय र स्थान सधैँ कुनै न कुनै परिधिभित्र हुन्छ तर त्यही परिधिबाट बाहिर निस्कने खोज नै दार्शनिक चेतना हो । यस अर्थमा, ‘परिधि’ निस्सीम अनुभव गर्नुअघि अनुभूत हुने सीमाको बोध हो । उमा सुवेदीको ‘परिधि’ मानव चेतनाको सीमारेखा र त्यसभन्दा पारको यात्रा हो । स्वतन्त्रता कुनै तोकिएको अधिकार होइन, आत्म–अन्वेषणको साहस हो ।

उत्तरआधुनिक सिद्धान्तले भनेजस्तै, ‘पूर्णता आफैँमा कृत्रिम हो; त्रुटिले नै पाठलाई यथार्थ र जीवित बनाउँछ’ । सत्य, पूर्णता वा एकल अर्थ स्थायी छैनन् । साहित्यले बहुसत्य, बहुआवृत्ति अनि बहुदृष्टिकोण नै देखाउने हो । त्यस्ता त्रुटि, विसङ्गति र अपूर्णताले पाठकलाई सक्रिय बनाउँछ र सोच्न बाध्य पारिदिन्छ ।

कुनै पनि साहित्य मानवीय रचना हो । त्यसैले त्यो खोटरहित हुन सक्दैन । लेखक कुनै सिद्ध राक्षस होइन । त्यस अर्थमा ‘परिधि’ त्यो परिसीमामुक्त छैन । तर, हामीले अधिकतम पहिल्याउने भनेको रचनात्मक सामर्थ्य नै हो ।

समग्र उपन्यास बलियो हुँदाहुँदै पनि केही खण्ड सिथिल छन् । खासगरी नाटक वा रङ्गमञ्चीय चित्रणमा । यो प्रयोगधर्मी उपन्यास भए पनि कहिलेकाहीँ नाटकीयता ज्यादा देखिन गएको छ । त्यसले कथालाई असामान्य, बनावटी, सजावटी वा जीवनभन्दा अलि पर लगेको जस्तो लाग्छ ।

समष्टिमा ‘तोदा’ र ‘इति’ पछि उमा सुवेदीको आख्यानकारिताको उत्कर्ष हो, ‘परिधि’ । उनको गद्यमा कविता नाच्दै नाच्दै आउँछ । त्यो सूक्तिमय अनि सुमधुर छ । यो कृति नेपाली आख्यानको बास्ना फैलाउन सक्षम छ । ‘परिधि’ केवल पढिने कृति होइन, समय–समयमा फर्केर सुन्नुपर्ने एउटा साहित्यिक प्रतिध्वनि हो ।

लेखक
राजकुमार बानियाँ

बानियाँ लेखक तथा पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?