+
+
Shares
रुद्रकली-खगेन्द्रको दैनिकी :

आँशुले डोर्‍याएको कतार यात्रा

हात्तीहरू आफ्नो समूहमा रमाएर बस्ने प्रवृत्तिका हुन्छन् । १८ वर्षको उमेरसम्म आफ्नी आमाको साथमा बस्न रुचाउँछन् । तर, खगेन्द्र र रुद्रकलीलाई यस्तो सौभाग्य मिलेन ।

चिरञ्जीवी मास्के चिरञ्जीवी मास्के
२०८२ पुष १२ गते ७:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कतारको अलखोर पार्क चिडियाघरमा राखिएका दुई नेपाली हात्ती रुद्रकली र खगेन्द्रले आफ्नो जन्मभूमि नेपाल छाड्नुपरेको पीडा व्यक्त गरेका छन्।
  • रुद्रकली र खगेन्द्रलाई सौराहबाट भैरहवा विमानस्थल हुँदै कतार लगिएको थियो र उनीहरूले विमानस्थलमा आँसु झारेका थिए।
  • हात्तीहरूको माउते बुद्धिलाल श्रेष्ठ र पाचुखा थारूले उनीहरूको हेरचाह गरिरहेका छन् र कतारमा नेपाली पर्यटकहरू उनीहरूलाई हेर्न जान्छन्।

खगेन्द्र, नेपाल जाने ? कतारको अलखोर पार्क चिडिया घरमा पुगेका केही नेपाली पर्यटकले सोध्छन् ।

खगेन्द्र (हात्ती) ले आवाज निकालेर अ…..को संकेत गर्छ ।

प्रश्न सोध्ने नेपाली युवती चुकचुकाउँछिन्– अ भन्दैछ विचरा !

पार्कमा रमाइरहेका धेरै नेपालीको मन निमोठिन्छ, खगेन्द्रको नेपाल प्रेमले । उनीहरू एकपटक आफ्नो जन्मथलो, आफ्नो गाउँको पाखा–पखेरुमा मनमनै विचरण गर्छन् । अनि आफ्नो बाध्यताको बोझले थलिएर टोलाउछन्, तिनै रुद्रकली र खगेन्द्रलाई हेरेर ।
………………..

कतारलाई नेपाल सरकारले उपहार दिएको दुई हात्ती रुद्रकली र खगेन्द्र अहिले कतारको अलखोर पार्क चिडिया घरमा बसिरहेका छन् । पर्यटकको प्रमुख आकर्षण बनेर । हेर्दा रुद्रकली र खगेन्द्र कतारमा खुसी देखिन्छन् । सामाजिक सञ्जालमा उनीहरूको विभिन्न पोजका तस्वीर सार्वजनिक भइरहेका छन् ।

कतारको अलखोर पार्क चिडियाघरमा बनाइएको पोखरीमा नुहाउछन् उनीहरू । सुँडले एक-अर्कालाई चुम्बन गर्दै रमाउछन् । उनीहरू जन्मेहुर्किएको थलो भन्दा निक्कै राम्रो र सुविधा सम्पन्न छ कतारको नयाँ वासस्थान ।

रुद्रकली र खगेन्द्रसंगै कतार पुगेका बुद्धिलाल श्रेष्ठ र पाचुखा थारूले उनीहरूको जिउमा विभिन्न नक्सा बनाएर आकर्षण थपिदिएका छन् । दुई हात्तीमध्ये रुद्रकलीको माउते हुन् बुद्धिलाल श्रेष्ठ । खगेन्द्रका माउते पाचुखा थारू।

अलखोर पार्क चिडियाघरमा हात्ती हेर्ने रमितेहरूको घुँइचो छ । नेपालीहरू पनि त्यहाँ आफ्ना जन्मथलोको तिर्सना मेट्न पुगेका छन् । तर के स्वच्छन्द रमाउने धरातल र आफ्नो शरीर अनुकुल हावापानी भएको थातथलो सधैंका लागि छाडेर बिरानो मुलुकको बन्द चौघेरामा पुगेका ती कलिला हात्तीहरू खुसी होलान् ? सौराहको त्यो भूमि, जहाँ धुलो, हिलो र हरियालीसँग लड्दै, दौडदै, एक–अर्कासँग ठोक्किदै हुर्किएका थिए उनीहरू ।

म निर्धक्क भन्न सक्छु, मानिसमात्र हैन जीवित प्राणी सबैलाई आफ्नो थातथलो प्यारो हुन्छ । आफू जन्मिएको, हुर्किएको, खेलेको, रमाएको ठाउँ सहज पनि हुन्छ । त्यसमाथि हात्ती आफैंमा एकदमै संवेदनशील प्राणीमा पर्छ । उनीहरू आफ्नो समूहमा रमाएर बस्ने प्रवृत्तिका हुन्छन् । १८ वर्षको उमेरसम्म आफ्नी आमाको साथमा बस्न रुचाउँछन् । तर, खगेन्द्र र रुद्रकलीलाई यस्तो सौभाग्य मिलेन ।

तिनीहरू सानैमा टुहुरो भए । त्यससपछि आफ्नो ठाउँमा मनमौजी बस्न पाएनन् ।

विवश उनीहरूले आफ्नो दुःख भन्न सक्दैनन् । आफ्नो बिलौना पोख्न सक्दैनन् उनीहरूको नियति बनेको छ कतारको चिडिया घरमा बस्नु ।

चिडिया घरमा पुगेका धेरै नेपालीलाई देखेर रुद्रकली र खगेन्द्रले भनिरहेका होलान– धिक्कार नेपालीको कर्म ! मानिस होस वा पशुपन्छी, जुनसुकै बहानामा विदेशिनै पर्ने ।

…………..

रुद्रकली र खगेन्द्र पुष २ गते सौराहबाट भैरहवा विमानस्थल हुँदै कतारका लागि उडेका हुन् । सौराहबाट भैरहवा जाँदा उनीहरूले खासै असहज महसुु गरेको देखिएन । आफ्नो देशको एउटा भूमिबाट अर्को भूमिमा टेक्ने कुरा उनीहरूको लागि असहज भएन । कतै आसपास घुम्न जानलागेको ठाने सायद । तर जब उनीहरूलाई कतार लानका लागि विमानमा चढाइयो उनीहरूको आँखाबाट आँसु चुहिएको थियो ।

सामाजिक सञ्जालमा छरपस्ट ती दृश्यले आम नेपालीको मनमा भक्कानो फुटेको थियो । रुद्रकली र खगेन्द्रको रोदन विकासोन्मुख सानो मुलुकको विवशताको प्रतीक बन्यो । रुद्रकली र खगेन्द्र हुर्किएको चितवनको सौराहस्थित हात्ती प्रजनन तथा तालिम केन्द्रका खोरसरका अधिकृत मनपुरन चौधरीले भनेका छन्– हामीलाई पनि आफ्नो जन्मथलो छाडेर जानुपर्दा नमज्जा लाग्छ, हात्तीमा पनि त्यो भावना हुनु स्वभाविक हो । पीडाको समयमा हात्ती झस्किने, आवाज निकाल्ने र कतिपय अवस्थामा आँसु झार्ने गरेको अनुभव छ ।

त्रिभुवन विमानस्थलमा दैनिक सयौँ नेपाली युवायुवतीहरू आँखा पुछ्दै सुटकेस गुडाएर हवाइजहाजबाट अलप हुन्छन् । त्यस्ता युवायुवतीका अभिभावकहरू घण्टौ विमानस्थलको प्रतिक्षालय र होटल-रेष्टुरामा टोलाइरहेको भेटिन्छन् । यो गरिबीको विवशता हो । बाध्यता र आशाको विवशता हो । अलिअलि शासकको लापरवाही, भ्रष्टाचारको दुर्गन्ध र नातावादको परिणामले भित्राएको विवशता हो । जेनजी आन्दोलनको पृष्ठभूमिमा त्रिभुवन विमानस्थलको यो रोदको पनि यही योगदान छ ।

भैरहवा विमानस्थलमा रुद्रकली र खगेन्द्रको आँसुलाई साथ दिन भने कुनै अभिभावक थिएनन् । उनीहरूको आँसु भैरहवाको जमिन र सामाजिक सञ्जालको वालहरू सम्ममात्र सीमित बनिदियो । उनीहरूलाई सधैं साथ दिने दुई माउते बुद्धिलाल श्रेष्ठ र पाचुखा थारू पनि सँगै उडेका थिए । त्यसैले पनि भैरहवा विमानस्थलमा रुद्रकली र खगेन्द्रको आँसुमा तड्पिएर टोलाइरहने कोही भएनन् । जेन– जी आन्दोलनका अभियन्ताहरूले पनि रुद्रकली र खगेन्द्रको पीडालाई देख्न सकेनन् वा देख्न चाहेनन् !

हामी धेरै नेपाली अभिसप्त छौं । मानिसको पीडामा देखावटी नै भए पनि हैसे गर्न तम्सन्छौं । स्वार्थकै लागि भए पनि विद्रोहको स्वर अलापछौं । तर पशुपन्छी, जनावर र बोट– विरुवाप्रति थोरै पनि दायित्वबोध गर्दैनौं । वर्षौ दूध दिएर थाकेको गाई– भैसीलाई बुढेसकालमा कि मासु पसलतिर लगेर बेचिदिन्छौं, कि भीरमा लगेर धकेलिदिन्छौं ।

युवा उमेरमा आम्दानी दिने हात्ती, घोडा, गोरुहरूलाई बुढेसकालमा अलपत्र मर्नका लागि छाडिदिन्छौं । सकुन्जेल घर र मालिकको सुरक्षामा बफादार कुकुरलाई बुढो भएपछि सडकमा अलपत्र छोडिदिन्छौं । अनि कानुन कार्यान्वयन गर्ने निकायले पनि यी पशुपन्छीको मामला हो भन्दै त्यस्ता अपराधीहरूलाई सजाय दिने कुरामा वेवास्ता गरिदिन्छन् ।
……………..

नेपाली भूमि भैरहवाको विमानस्थलबाट उड्दा रुद्रकली र खगेन्द्रले झारेका आँसु आफ्नो वासस्थान र जन्मभूमिप्रतिको स्नेही अभिवादन थियो । उनीहरू रुदै गए । साथमा माउतेहरू बुद्धिलाल श्रेष्ठ र पाचुखा थारु भएकोले सायद नेपाल फर्कने अपेक्षा उनीहरूको भावनासँग जीवित थियो ।

म प्रताडित छु त्यो समयका लागि जतिबेला बुद्धिलाल श्रेष्ठ र पाचुखा थारूले रुद्रकली र खगेन्द्रलाई छोडेर नेपाल फर्कन्छन् । उनीहरू त्यतिबेला पक्कै खुसी हुन सक्दैनन् । मैले कतै पढेको थिए जेन–जी आन्दोलनको क्रममा जलेको पूर्व प्रधानमन्त्री झलनाथ खनालको घरमा उनीहरूले पालेको कुकुर एक्लै बसिरहेको थियो रे ! यो कति संवेदनशील विषय छ । जनावरहरू आफ्नो वासस्थान र जन्मथलोप्रति कति बफादार र निकट हुन्छन् ।

नेपाल र सौराहको आफ्नो जन्मथलोलाई हरेक पल सम्झिरहेका रुद्रकली र खगेन्द्र माउतेहरूको साथले कतारको चिडिया घरमा रमाउन सकिरहेका छन् । जब बुद्धिलाल र पाचुखा नेपाल फर्कने छन् र उनीहरूले नयाँ माउते पाउनेछन् अनि सौराहको भूमिले उनीहरूको ह्रदयको संवेदनलाई झस्काइदिने छ ।

कति रुन्छहोला उनीहरूको मन त्यो संवेदन भूमरीले तथ्यको सुईको पाएपछि । चिडिया घर पुग्ने नेपालीको आवाज र नेपाल शब्दले उनीहरूको वासस्थान प्रतिको स्नेहलाई पलपल चिथोरी रहने छ । उमेर घर्किदै जाँदा सौराह फर्कने उनीहरूको चाहनाको धड्कन बढ्दै जाने छ ।

डा. उपेन्द्र देवकोटाले मर्ने बेला आफू बाल्यकालमा रमाएको खोलामा खुट्टा डुबाएर रमाउने र घर नजिकको धाराको पानी पिउने चाहना राखे । उनको चाहनाअनुसार परिवारले हेलिकप्टरबाट उनलाई जन्मथलो पुर्‍याएर खोलामा खुट्टा डुबाउने र घर नजिकको धाराको पानी पिउने अवसर दिए ।

मानिसको जस्तै भावनात्मक उद्वेग भएका रुद्रकली र खगेन्द्रलाई पनि सौराह फर्किएर आफ्ना माउते र नेपाली पर्यटकसँग रमाउने चाहना हुनेछ । कठै ! उनीहरूको चाहना अब कस्ले पूरा गरिदेलान ।

नेपालबाट चोरीएर विदेश पुगेका धेरै मूर्तीहरू सम्बन्धित मुलुकका शासकको महानताकै कारण फर्किएर पहिलेकै ठाँउमा सजिएका धेरै उदाहरण छन् । अपेक्षा गरौ कुनै समय कतारका महान राजाले रुद्रकली र खगेन्द्रलाई सौराह फर्काउने प्रबन्ध मिलाउने छन् ।

रुद्रकली र खगेन्द्रको धड्कन फेरि पनि सौराहको भूमिमा धड्कने छ । नेपालको भुमिमा उनीहरूले फेरि एकपटक अभिनन्दन गर्नेछन् र जीवनको केही पल कतारको भूमिमा सयर गर्ने अवसरको लागि क्रुर नेपालका शासकहरूलाई धन्यवाद दिनेछन् ।

लेखक
चिरञ्जीवी मास्के

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?