साहित्यमा प्रकृतिका प्रसङ्गहरू धेरै पढ्यौँ, लेख्यौँ पनि । तर प्रकृति स्वयंलाई केन्द्रमा राखेर, वातावरणीय सङ्कटलाई मूल चिन्ताका रूपमा उठाएर गरिने साहित्यिक विमर्श भने सधैँजसो पृष्ठभूमिमै सीमित रहँदै आएको थियो । यसपटक साहित्यमा प्रकृतिमा देखिएका उपलब्धि र सङ्कटलाई मूल प्रवाहमा ल्याउने कोसिस भएको छ ।
‘प्रकृति, साहित्य र दिगो भविष्य‘ भन्ने मूल नारासहित आयोजित प्रथम बागमती पर्यासाहित्य महोत्सव २०८२ ले नेपाली साहित्यको परम्परागत घेरालाई फराकिलो बनाउने सङ्केत दिएको छ । यो महोत्सव बागमती प्रदेश वन तथा वातावरण मन्त्रालय र जिरी नगरपालिकाले विभिन्न साहित्यिक संस्था एवं वन-वातावरण क्षेत्रमा क्रियाशील सङ्घ-संस्थाहरूको सहकार्यमा आयोजना गरेका हुन् ।
चैत २७ देखि २९ सम्म महोत्सव चलेको थियो । बागमती प्रदेशका १३ वटै जिल्लाका पर्या-क्षेत्रका सर्जक लेखकहरूको जमघट भएको थियो । ३० गते बिहान पाहुनाहरूलाई जिरीबाट हात हल्लाएर बिदाइ भयो । त्यो दिन २०८२ सालको अन्तिम दिन पनि थियो ।

सङ्घीय राजधानीबाट १९० किलोमिटर टाढा रहेको हिमाली उपत्यका जिरीमा पुग्दा केवल एउटा महोत्सवमा सहभागी भएको अनुभूति भएन, बरु एउटा नयाँ संवादको जन्मस्थलमा उभिएको अनुभूति भयो । जिरीको प्रकृति साहित्यको पृष्ठभूमिबाट अगाडि आयो, मुख्य धारमा आयो । यसले देखायो कि अब साहित्य केवल सौन्दर्यको अभिव्यक्ति मात्र होइन, समयका गम्भीर प्रश्नहरूसँग जुध्ने माध्यम पनि बन्नुपर्छ ।
यहाँ सङ्कट मात्रै देखिएन, वातावरण सन्तुलनका लागि गरिएका अनेकौँ प्रयास र उपलब्धिको मुक्तकण्ठले प्रशंसा गरियो । सामुदायिक वनलगायत जलाधार व्यवस्थापनमा देखिएको उपलब्धि साहित्यमा छिराउने जमर्कोसमेत भयो ।
उत्सवमय महोत्सव
चैत २८ गते महोत्सव उद्घाटनपूर्व १३ वटै जिल्लाका सर्जकहरू जिरी बजारनजिकै रहेको गुराँस पार्कमा भेला भए । सेतो गुराँसका बगैँचाबिच रहेको पोखरी र चौरमा सर्जकहरू रमाए; कतिपयले गीत गाए, कोही नाचे, कोही संवादमा व्यस्त रहे । त्यसपछि उनीहरू हाटडाँडासम्म पुगे, जहाँ स्थानीय समुदायको बाक्लो उपस्थिति थियो । जातीय र स्थानीय परिवेश झल्काउने झाँकीले पाहुनालाई स्वागत भयो ।

झाँकीसहित पाहुना, स्थानीय समुदायसहित हाटडाँडादेखि लिङ्कन बजारसम्म पैदल र्याली गरियो र बसपार्कमा तयार गरिएको मञ्चमा उद्घाटन समारोह सम्पन्न भयो । झाँकी नाचले सबैको मन-मस्तिष्क तानेको थियो ।
कार्यक्रमको अध्यक्षता जिरी नगरपालिकाका प्रमुख मित्र जिरेलले गरेका थिए भने उद्घाटन बागमती प्रदेशका वन तथा वातावरण मन्त्री भरत केसीले । कार्यक्रममा प्रदेश सांसद उर्मिला सुनुवार, मन्त्रालयका सचिव डा. केदार बराल, विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधिहरू, पत्रकार, नागरिक समाजका अगुवा तथा सर्वसाधारणको उल्लेख्य सहभागिता थियो ।
यसले महोत्सवलाई केवल साहित्यिक मात्र नभई सामाजिक र नीतिगत संवादको साझा मञ्चका रूपमा पनि स्थापित गर्यो ।
कि-नोट : विचारको गहिरो आधार
महोत्सवको सबैभन्दा सशक्त पक्ष ‘कि-नोट‘ प्रस्तुति रह्यो । प्रा.डा. सञ्जीव उप्रेतीले पर्यासाहित्यलाई केवल नयाँ शब्द वा चलनका रूपमा होइन, समयले माग गरेको बौद्धिक हस्तक्षेपका रूपमा व्याख्या गरे । उनका विचारले स्पष्ट बनायो- जलवायु सङ्कटको युगमा साहित्य तटस्थ बस्न सक्दैन; यसले प्रश्न उठाउनुपर्छ, चेतना फैलाउनुपर्छ र समाजलाई जिम्मेवार बनाउनुपर्छ ।
त्यसैगरी छालबाटोका लेखक तथा वातावरणविद् रमेश भुसालले ‘रातो पृथ्वी, तातो पृथ्वी‘ शीर्षकमा आफ्नो प्रस्तुति दिए । मान्छेलाई ‘सुइँखुट्टे भस्मासुर‘ को उपमा दिँदै रोचक र मन घोच्ने प्रस्तुति थियो । वातावरण विनाशक मान्छेले गरेका कुकृत्यको राम्रो समालोचना गरे । उनको सन्देश स्पष्ट थियो— साहित्य जीवनसँग जोडिन सकेन भने यसको प्रभाव सीमित रहन्छ । यसले पर्यासाहित्यलाई व्यावहारिक धरातलमा उभ्याउने दिशा देखायो ।
महोत्सवका कार्यक्रमहरू नवनिर्मित रिक्रियसन भवनमा सम्पन्न भए । सुखद संयोग, यो भवन यसै महोत्सवको अन्तिम दिन प्रदेश सरकारले जिरी नगरपालिकालाई हस्तान्तरणसमेत गरेको थियो । महोत्सवमा करिब चार दर्जन कविता वाचन, आठ गजलसहितको गजल साँझ, स्थानीय संस्कृतिसहित सांस्कृतिक साँझ रोचक भए । चर्चित कवि कुमार नगरकोटीको काव्य प्रस्तुति दर्शकका लागि विशेष आकर्षण बन्यो ।
गजलकार, कवि, संवादकर्ता, साहित्यकार, पत्रकार, अभियानकर्मीहरूको प्रस्तुति थियो । दोलखाका जित कार्कीको गजल असाध्यै लयात्मक थियो । प्रतीक ढकाल, भवानी खतिवडा, भूपिन खड्का, दधि सापकोटा, अर्चना थापा, अर्चना राई, डा. अशोक थापा, डा. नवीनबन्धु पहाडी, दीपक सापकोटालगायतको बाक्लो उपस्थिति थियो ।
दुई दिनमा छ वटा अन्तरसंवाद आयोजना गरिए । तीमध्ये ‘भुइँमान्छेको आवाज‘ र ‘हिजो, आज र भोलिको जिरी‘ शीर्षकका संवाद विशेष प्रभावशाली रहे । यी संवादहरूले स्थानीय अनुभव, सङ्घर्ष र सम्भावनालाई साहित्यसँग जोड्ने प्रयास गरे ।
साथै, जिरी बजारनजिकैको खुला चौरमा ‘I Love Jiri’ लेखिएको पोखरीको पृष्ठभूमिमा गरिएको कविता वाचन र अन्तरसंवादले कार्यक्रमलाई अझ जीवन्त र स्मरणीय बनायो । प्राकृतिक सौन्दर्यसँगै साहित्यिक अभिव्यक्तिको यो संयोजनले महोत्सवको भावनालाई अझ गहिरो बनायो ।
जिरीको सन्दर्भ आफैँमा पनि अत्यन्त सान्दर्भिक रह्यो । प्राकृतिक सौन्दर्यले भरिएको यस भूभागमा प्रकृति र साहित्यबारे संवादमुखी बहस हुनु संयोग मात्र होइन, आवश्यकता जस्तै लाग्थ्यो । यस महोत्सवले जिरीलाई केवल पर्यटकीय गन्तव्य मात्र होइन, विचार, बहस, संवाद र सिर्जनाको केन्द्रका रूपमा पनि स्थापित गर्ने सङ्केत दिएको छ ।
प्रश्नसहित नयाँ यात्राको सङ्केत
यद्यपि, केही प्रश्नहरू पनि उठ्छन् र उठिरहन्छन्– यति महत्त्वपूर्ण संवाद किन देशव्यापी बन्न सकेन ? किन अझ धेरै सर्जकहरूको सहभागिता सुनिश्चित हुन सकेन ? एउटा बिर्सन नहुने विषयचाहिँ, यो बागमती प्रदेश स्तरको हो अनि पहिलो प्रयास पनि हो । धेरै त्रुटि भए होलान् तर आगामी दिनमा सुधार गर्न नसकिने कमजोरी भएका छैनन् ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले लिखित रूपमा शुभकामना सन्देश पठाउँदै यस प्रकारको पर्यासाहित्य महोत्सव नियमित गरिने प्रतिबद्धता जाहेर गरे । महोत्सवका सहभागीहरू निरन्तरताको खबरले गद्गद मात्रै भएनन्, तीनै तहका सरकारहरूलाई पर्यासाहित्यका गतिविधि समावेश गर्न आग्रहसमेत गरे । पर्यासाहित्यमा लागेका संस्था, व्यक्तिहरूसँग नियमित सञ्जालीकरण गर्ने बाटो पनि खोजेका छन् । पर्यासाहित्यका विषय विद्यालयका पाठ्यक्रममा समावेश गर्न उपायहरू सुझाइएका छन् ।

पर्यासाहित्य जस्तो विषयलाई अझ व्यापक बनाउन राज्य, प्राज्ञिक संस्था र साहित्यिक समुदायबिच थप समन्वय आवश्यक देखिन्छ । आगामी दिनमा यस्ता कार्यक्रमहरू अझ समावेशी, बहुआयामिक र अन्तर्राष्ट्रिय स्तरसम्म विस्तार गर्न सकिए यसको प्रभाव अझ गहिरो हुन सक्छ ।
तर यी प्रश्नहरूको बीचमा पनि एउटा कुरा स्पष्ट छ— जिरीमा सुरु भएको यो प्रयास सानो होइन । यो एउटा सङ्केत हो, सम्भावना हो र सम्भवतः नयाँ साहित्यिक आन्दोलनको प्रारम्भ पनि हो । यसले साहित्यलाई नयाँ दृष्टिकोणबाट हेर्ने बाटो खोलेको छ ।
अन्ततः, जिरीबाट उठेको यो स्वर त्यहीँ सीमित रहनु हुँदैन । यसले विस्तार पाउनुपर्छ, संवादलाई अझ गहिरो बनाउनुपर्छ र साहित्यलाई प्रकृतिसँग पुनः जोड्ने अभियानका रूपमा अघि बढ्नुपर्छ । यदि त्यसो हुन सक्यो भने, पर्यासाहित्य केवल एउटा शब्द होइन, नेपाली साहित्यको नयाँ दिशा बन्न सक्छ । यो जिरीबाट प्रारम्भ भएको छ ।
सबैमा नयाँ वर्षको शुभकामना !
प्रतिक्रिया 4