News Summary
Generated by OK AI. Editorially reviewed.- कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले अनलाइनखबरको \'५० प्रभावशाली महिला\' अवार्ड कार्यक्रममा महिलाको सङ्घर्ष र साधनाको महत्व व्याख्या गरिन् ।
- उनले भनिन्, \'समावेशिता कसैले दिएको उपकार होइन, हाम्रो संविधानले महिलालाई अधिकार र समानता सुनिश्चित गर्छ।\'
- उनले महिलाले भोगिरहेका विभेद र हिंसाविरुद्ध बलियो कानुन र संरचना आवश्यक रहेको बताइन् ।
आज यस मञ्चमा उभिँदा मेरो मनमा एउटा गहिरो खुसी छाएको छ। र, यो राष्ट्रको लागि मात्र होइन, व्यक्तिगत रूपमा मेरो निमित्त पनि अर्थपूर्ण क्षण हो।
आज यहाँ, पचासवटा फरक–फरक अदृश्य अवरोध भत्काउँदै अगाडि बढ्नुभएका पचास महिलाहरूको बिचमा उभिँदा केवल पेसागत उपलब्धि मात्र होइन, यो व्यक्तिगत पनि हो।
म यो मञ्चलाई एउटा ऐनाको स्वरूपमा हेर्छु। यस्तो ऐना जहाँ नेपालकी एउटी सानी बालिका- चाहे त्यो हिमालको काखमा हुर्किएकी होस् वा तराईको चौरमा वा सहरको सानो अपार्टमेन्टमा- उनले त्यो ऐनामा आफूलाई देख्छिन्।
त्यो ऐनामा उनले के देखिरहेकी छिन् ?
– एक महिला कानुन व्यवसायी।
– एक राजनेत्री।
– एक मेयर।
– एक कलाकार।
– एक पर्वतारोही।
– एक अधिकारकर्मी।
– एक खेलाडी।
– एक उद्यमी।
– एक लेखिका।
– एक सुरक्षाकर्मी।
– एक न्यायाधीश ।
र, त्यो ऐना हेरेर उनी भन्छिन्, ‘म पनि त्यस्तै हुन सक्छु।’

यही हो पहिचानको शक्ति। त्यो शक्ति जसले सपना देख्न सिकाउँछ।
त्यो सम्भावना जसले अर्को महिलाको मनमा उज्ज्वल भविष्यको ज्योति बाल्छ।
आजका यी पचास कथाहरू प्रेरणादायी त छन् तर हामीले स्वीकार्नुपर्छ, यी अपवाद पनि हुन्।
आज पनि हाम्रो समाजमा धेरै महिलाहरू छन् जसले आफ्नो क्षमता देखाउन नपाउँदै, आफ्ना सपनाहरू पछ्याउन नपाउँदै, बिच बाटोमै रोकिन बाध्य हुन्छन्।
उनीहरू अघि बढ्न चाहन्छन्, तर घरको, बच्चाको जिम्मेवारीले तान्छ, समाजको अपेक्षाले रोक्छ र संरचनागत असमानताले उनीहरूको बाटो साँघुरो बनाइदिन्छ।
कहिलेकाहीँ त उनीहरूले लडाइँ सुरु गर्नुअघि नै हार स्वीकार्नुपर्ने अवस्था आउँछ।
त्यसैले, आजको यो क्षण केवल उत्सव मनाउने क्षण मात्र होइन, सँगै यो गहिरो रूपमा सोच्ने, आफैँसँग इमानदार हुने क्षण पनि हो।
हामीले यहाँ बसिरहँदा आफैँलाई सोध्नुपर्छ-
– के हामीले वास्तवमै त्यो संसार बनाउँदै छौँ, जहाँ हाम्रा छोरीहरू निडर भएर सपना देख्न सक्छन् ?
– कि हामी अझै पनि त्यही पुरानो चक्र दोहोर्याउँदै छौँ, जहाँ उनीहरूले हरेक कदममा आफूलाई प्रमाणित गर्नुपर्छ कि उनीहरू योग्य छन् ?
– के अबको पुस्ताले भी यति नै सङ्घर्ष गर्नुपर्छ ?
– कि हामी यस्तो बाटो बनाउँदै छौँ, जहाँ उनीहरूले सङ्घर्षभन्दा बढी सम्भावना पाउँछन्, अवरोधभन्दा बढी अवसर पाउँछन् ?
किनभने साँचो परिवर्तन संरचनाले ल्याउँछ।
साँचो परिवर्तन तब हुन्छ, जब एउटी सानी बालिकाले ‘म पनि सक्छु’ भनेर भनिरहँदा, त्यो केवल सपना हुँदैन, त्यो उनको भविष्यको यथार्थ हुन्छ।
हामीले बारम्बार सम्झिनुपर्ने कुरा के हो भने समावेशिता कसैले दिएको उपकार होइन।
हाम्रो संविधान, जुन संसारकै प्रगतिशील संविधानहरूमध्ये एक हो- धारा १८ समानताको हकदेखि धारा ३८ महिलाको हकसम्म, संविधानले महिलालाई केवल उल्लेख मात्र गर्दैन, यसले हामीलाई प्रतिष्ठा दिन्छ, अधिकार दिन्छ, र परिणाममा समानताको सुनिश्चितता गर्छ।
यो त हरेक महिलाको नैसर्गिक अधिकार हो, संविधानले मान्यता दिएको, संरक्षण गरेको अधिकार।
परिवर्तन साहसी कदमबाट सुरु हुन्छ। यो पहल त्यही साहसको उदाहरण हो।
धेरै वर्षसम्म, हाम्रो समाजमा महिलाहरूले इतिहास बनाए तर इतिहासले उनीहरूलाई ठाउँ दिएन।
उनीहरूले योगदान दिए तर त्यो योगदानको आवाज बाहिर आएन।
यस्तो कार्यक्रमले मौनता तोडिएको स्थापित गरेको र बारबार मौनता तोडिँदै छ भन्ने पनि कायम भएको छ।
४६० नामहरू सङ्कलन गर्नु केवल सूची बनाउनु होइन, त्यो त कथा सङ्कलन गर्नु हो।
हरेक नामभित्र एउटा सङ्घर्ष छ, एउटा अस्वीकार गरिएको सपना छ, एउटा पुनः उठेर अघि बढेको यात्रा छ।
तपाईंहरूले ती कथाहरूलाई केवल देखाउनुभएको छैन, तपाईंहरूले तिनलाई पहिचान गर्नुभएको छ र सम्मान दिनुभएको छ, आवाज दिनुभएको छ।
सङ्घर्ष
आज म सबैभन्दा पहिले ती महिलाहरूलाई सम्झन चाहन्छु- जो हामीभन्दा अघि थिए। जसले सायद कहिल्यै यस्तो मञ्च पाएनन् ।
जसले अवसर होइन, अपमान पाए, उपेक्षा भोगे, योगमाया जसले अन्यायविरुद्ध आवाज उठाइन्,समाजका कुरीतिहरूको विरुद्ध लडिन् तर विकल्पको अभावमा देहत्याग गर्न बाध्य भइन्।
महिलाहरूले आफ्नो लडाइँ चुपचाप लडे, त्यस्ता अदालतहरूमा जहाँ कसैले उनीहरूको कुरा विश्वास गरेन, त्यस्ता संसद्हरूमा जहाँ उनीहरूको आवाज सुनिएन, त्यस्ता खेतहरूमा जहाँ उनीहरूको श्रमको मूल्याङ्कन भएन,त्यस्ता घरहरूमा जहाँ उनीहरूको स्वामित्वमै आएन।
महिलाहरू लडे-आमाको पहिचान स्थापित गर्न, छोरीको सम्पत्तिमा अधिकार सुनिश्चित गर्न, शिक्षामा समान पहुँच पाउन, आफ्नो श्रमको मूल्य चिनाउन, राजनीतिमा समावेशी प्रतिनिधित्वको लागि ।
उनीहरूको लडाइँ केवल अधिकारको लागि मात्र थिएन, अस्तित्वको संरक्षणको निमित्त थियो। त्यो सम्मानका लागि थियो,पहिचानका लागि थियो र समानताका लागि थियो।
आज हामी यहाँ उभिएका छौँ भने त्यो उनीहरूले बनाएको बाटोमा हिँडेर हो। हामी उनीहरूकै काँधमा उभिएका छौँ।
सङ्घर्षले हामीलाई यहाँसम्म ल्यायो। तर साँचो कुरा के हो भने सङ्घर्ष अझै सकिएको छैन। यी सबै उपलब्धिहरूका बिच पनि यथार्थ अझै कठोर छ। बाटो अझै पूरा भएको छैन।
हामी अझै हामीलाई प्राप्त अधिकारलाई जीवन्त बनाउन लडिरहनु परेको छ। कानुन हुँदाहुँदै पनि, महिलाहरूले अझै सम्पत्तिको २ प्रतिशतभन्दा कम मात्र स्वामित्व राख्छन्। मातृ मृत्युदर घटेर १५१ मा पुगे पनि शून्य भने छैन र ती प्रत्येक मृत्युपछाडि एउटा रोक्न सकिने पीडा लुकेको छ।

महिलाविरुद्धका अपराधका मुद्दाहरू दिनहुँ हेरिरहेका छौँ, अपराधको स्वरूप परिवर्तन भएको छ।
अहिले हिंसा केवल सडक वा घरमै सीमित छैन, बजारमा छ, कार्यस्थलमा छ। यो डिजिटल संसारमा पनि फैलिएको छ।
नेपालमा साइबर अपराधका पीडितमध्ये झन्डै ९० प्रतिशत महिला छन्। ‘हेट एक्सप्रेसन’, ‘हेट क्राइम’, ‘स्टेरियोटाइप’, यी केवल शब्दहरू होइनन्, यी घाउ हुन् ।
त्यसैले प्रश्न उठ्छ- के विभेद, लघुताभास सोच, नकारात्मक, हिंसात्मक अभिव्यक्तिबाट न्याय सम्भव हुन्छ? के पीडालाई अझ बढाएर हामी समानता ल्याउन सक्छौँ ?
उत्तर स्पष्ट छ- सकिँदैन। न्याय त्यहाँबाट सुरु हुन्छ जहाँ संवेदनशीलता हुन्छ। अभिव्यक्ति स्वतन्त्र हुनुपर्छ तर उत्तरदायी पनि हुनुपर्छ।
त्यसैले अब प्रश्न केवल उपलब्धिको होइन, जिम्मेवारीको हो। हामीलाई बलियो कानुन चाहिन्छ, तर त्यत्तिकै बलियो संरचना पनि चाहिन्छ।
हामीलाई प्रविधि बुझ्ने, समावेशिता र सुशासनलाई व्यवहारमा उतार्ने प्रणाली चाहिन्छ।
संविधान र कानुनले महिलाको प्रजनन भूमिकालाई मान्यता दिइसकेको छ, अब त्यो कागजमै सीमित नरहेर व्यवहारमा रूपान्तरण हुनुपर्छ। त्यही रूपान्तरण नै दिगो परिवर्तनको आधार बन्नेछ।
हामीलाई यस्तो प्रणाली चाहिन्छ, जहाँ प्रविधि न्यायको सहायक बन्छ, प्रतिशोधको हतियार होइन। जहाँ नियमहरू केवल लेखिँदैनन्, लागु हुन्छन्। जहाँ अधिकार केवल दिइँदैन, सुनिश्चित गरिन्छ।
र, सबैभन्दा महत्त्वपूर्ण- यस्तो समाज चाहिन्छ, जसले अन्याय देख्दा आँखा चिम्लिँदैन, आवाज उठाउँछ, साथ दिन्छ, र परिवर्तनको भाग बन्छ।
किनकि परिवर्तन सुरु भइसकेको छ, तर त्यसलाई अन्त्यसम्म पुर्याउने जिम्मेवारी अझै हाम्रो, तपाईं र हाम्रो काँधमै छ।
साधना
नेपाली महिलाको साधना कस्तो हुन्छ ?
– यो देखिन्छ झमककुमारी घिमिरेले आफ्नो खुट्टाको औँलाले शब्दहरू सिर्जना गर्दा।
– यो देखिन्छ मीरा राई दौड्ने ट्र्याक नभएको गाउँबाट विश्वस्तरीय धावक बन्दा।
– यो देखिन्छ जब कुनै महिला मेयरले बिजुली समेत नपुगेको बस्तीमा बाटो बनाउँछिन्।
– यो देखिन्छ जब कुनै महिला आफूलाई स्वागत गर्न नबनाइएको क्षेत्रमा वा ठाउँमा टिकिरहन्छिन् र त्यहीँ उत्कृष्टता हासिल गर्छिन्।
साधना एकैचोटिको उपलब्धि होइन।
यो त हरेक बिहान उठेर, फेरि उपस्थित हुने निर्णय हो- एउटा यस्तो संसारमा, जहाँ केवल महिला भएकै कारण तपाईंको बाटोमा थप बाधाहरू राखिन्छन्।
यस कोठामा हुनुहुने हरेक महिलालाई साधना के हो भन्ने कुरा आफ्नो जीवनले सिकाएको छ।
नेपालमा एउटी महिला सफल हुँदा, उनी एक्लै सफल हुँदिनन्। त्यो हजारौँ अरूका लागि सम्भावनाको प्रमाण बन्छ।
आज नेपालको न्यायपालिका, राजनीति, र स्थानीय सरकारमा महिलाहरू नेतृत्वको अग्रपङ्क्तिमा छन्।
उनीहरूले हरेक दिन प्रमाणित गरिरहेका छन्- नेतृत्वको कुनै लिङ्ग हुँदैन, नेतृत्वमा केवल सङ्कल्प, क्षमता, साहस र संवेदनशीलता हुन्छ र चाहिन्छ।
मलाई यस क्षणमा रुथ बेडर गिन्सबर्गको भनाइ याद आइरहेछ।
उहाँले भन्नुहुन्थ्यो- ‘वुमन बिलङ इन अल प्लेसेस ह्वेर डिसिजन्स आर बिइङ मेड’ (निर्णय हुने हरेक ठाउँमा महिलाको उपस्थिति हुनुपर्छ।)
यस कोठामा एकछिन नजर घुमाऔँ त, यहाँ को-को हुनुहुन्छ ?
न्यायपालिकामा महिला- जसले अधिकारलाई केवल कागजमा होइन, जीवनमा अनुभूत गराइरहनुभएको छ।
विज्ञानमा महिला- जसले हाम्रो स्वास्थ्य र भविष्य निर्धारण गर्ने खोज गरिरहनुभएको छ।
कलाकारितामा महिला- जसले हाम्रो पहिचान, हाम्रो कथा, हाम्रो आत्मालाई शब्द र स्वर दिइरहनुभएको छ।
खेलकुदमा महिला- जसले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको झन्डा गर्वका साथ बोकिरहनुभएको छ।
सुरक्षा निकायमा महिला- जसले हाम्रा समुदायलाई सुरक्षित राखिरहनुभएको छ।
शिक्षामा महिला- जसले आउने पुस्तालाई आकार दिइरहनुभएको छ। र, अझ कति धेरै क्षेत्र छन्, जहाँ महिलाहरू चुपचाप होइन, दृढताका साथ इतिहास लेखिरहनुभएको छ।
धेरै वर्षअघिसम्म, नेपालको सुरक्षा क्षेत्रलाई पुरुषको मात्र क्षेत्र भनिन्थ्यो। तर आज हेर्नुहोस्, महिला अधिकारीहरू ट्राफिक व्यवस्थापनदेखि अपराध अनुसन्धानसम्म, सीआईबीदेखि अन्तर्राष्ट्रिय शान्ति सेना हुँदै महान्यायाधिवक्तासम्म नेतृत्व गर्न सफल भएका छन्, त्यो पनि उत्कृष्टताका साथ । केही वर्षअघिसम्म भनिन्थ्यो- नेपाली महिलाले जहाज उडाउन सक्दैनन्।
आज, नेपाली महिला पाइलटहरूले अन्तर्राष्ट्रिय आकाशमा उडान भर्दै छन् । देशका अत्यन्त विषम परिस्थितिमा सुशीला कार्की पहिलो महिला प्रधानन्यायाधीश मात्र बनिनन्, राष्ट्रलाई निकास पनि दिन सक्नुभयो। कथा बदलिँदै छ र त्यो परिवर्तनको कलम यस कोठामा हुनुहुने तपाईंहरूसँग छ।
इन्टरसेक्सनालिटी अर्थात् अन्तरसम्बन्धीयता
हामी अझै पनि विभेदसँग जुधिरहेका छौँ। केवल महिला भएकैले होइन, मधेसी महिला भएकाले, दलित महिला भएकाले, आदिवासी जनजातिकी महिला भएकाले, अपाङ्गता भएकी महिला भएकाले- पहिचानका तहहरू थपिँदै जाँदा, विभेदको भार पनि थपिँदै जान्छ।
हाम्रो संविधानले यी सबै विभेदलाई स्पष्ट रूपमा निषेध गरेको छ, र विभेदविरुद्ध उभिँदै, स्टेरियोटाइप (रूढीवादी) सोचलाई तोड्दै, नन-स्टेरियोटाइप जिम्मेवारीसहित अगाडि बढिरहनुभएका प्रत्येक नारीको प्रतिनिधित्व तपाईंहरूले गरिरहनुभएको छ।
आज सम्मानित तपाई पचास महिलाहरूलाई हेर्दै, म मनको गहिराइबाट भन्न चाहन्छु, तपाईंहरूले यो सम्मान केवल पाउनुभएको होइन, तपाईंहरूले यसलाई अर्थ दिनुभएको छ।
तपाईंहरू प्रत्येक, नेपाल कहाँ जाँदै छ भन्ने ऐना हुनुहुन्छ। तपाईंहरू प्रत्येक प्रमाण हुनुहुन्छ- यो देश परिवर्तन हुन सक्छ र गरिरहेको छ।
तपाईंहरू ती सबै महिलाहरूको आशा हुनुहुन्छ। र, तपाईंहरूले बाटो पनि खोल्नुभएको छ ती महिलाहरूका लागि, जो तपाईंहरूपछि आउनेछन् र अझ टाढा पुग्नेछन्। ग्लास सिलिङ (अदृश्य तगारो) भत्काउनुभएको छ।
अनुमतिको प्रतीक्षा नगरी भत्काउनुभएको छ। तपाईंहरूको लागि नबनाइएको स्थानमा प्रवेश गरेर, त्यस क्षेत्रलाई नयाँ अर्थ दिनुभएको छ।
तर, तपाईंहरूले भत्काउनुभएको छतभन्दा माथि अझ धेरै छतहरू छन्। तपाईंहरूले खोल्नुभएको ढोकालाई कृपया पछाडि आउनेहरूका लागि खुल्लै राखिदिनुहोस्।

आफ्नो प्रभाव प्रयोग गर्नुहोस्, आफ्नो आवाज प्रयोग गर्नुहोस्, आफ्नो मञ्च प्रयोग गर्नुहोस्। अरू महिलाहरूलाई साथ दिनुहोस्, अगाडि बढाउनुहोस्, मार्गदर्शन गर्नुहोस्।
किनभने हाम्रो सफलताको मापन केवल हामी कति माथि पुग्यौँ भन्ने होइन, हामीले कति जनालाई सँगै लग्यौँ भन्ने पनि हो।
मैले जहाँबाट सुरु गरेको थिएँ म त्यहीँबाट अन्त्य गर्न चाहन्छु।
कुनै कुनामा बसेर एउटी सानी बालिकाले, आज तपाईं-हामीलाई ऐनासरह हेरिरहेकी छे। उसले तपाईं-हामीमा आफूलाई हेरिरहेकी छे।
ऊ हेरिरहेकी छे। र, ऊ सिक्दै छे- के-के सम्भव छ भनेर।
उसले बुझ्नेछे नेपाल केवल आफ्ना हिमालहरूको कथा होइन, यो ती महिलाहरूको कथा हो, जसले ती हिमाल चढिन्।
उसले महसुस गर्नेछे- सफलता कुनै एक प्रकारकी महिला, कुनै एक पृष्ठभूमि, कुनै एक सपना बोक्ने महिलाको मात्र हिस्सा होइन। र भोलि जब ऊ कुनै अदालतमा उभिनेछिन्, वा जहाज उडाउनेछिन्, वा कानुन लेख्नेछिन्- उसले त्यसलाई असाधारण ठान्ने छैनिन्… उसले त्यसलाई आफ्नो अधिकार ठान्नेछिन्।
म अनलाइनखबरलाई फेरि एकपटक धन्यवाद दिन चाहन्छु हामीलाई एउटै कोठामा उभ्याएर, सिङ्गो नेपाललाई देखाउनुभएकोमा: ‘हेर, नेपाल तिमीसँग कति शक्ति, कति सम्भावना छ।’
अन्त्यमा- सङ्घर्ष वास्तविक हो। साधना अथाह छ। सङ्घर्ष र साधनाले सफलता चुम्नेछ।
केवल आफ्नो सर्वोत्तम प्रयास गरिरहौँ।
(अनलाइनखबरको ‘५० प्रभावशाली महिला’ अवार्ड वितरण कार्यक्रममा कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको सम्बोधन)
प्रतिक्रिया 4