News Summary
Generated by OK AI. Editorially reviewed.- अनलाइनखबरले नेपालका ‘५० प्रभावशाली महिला २०८२’ को सूची सार्वजनिक गरेको छ, जसमा राजनीति, समाज, कला, युवा, विज्ञान, उद्यम र डायस्पोराका महिलाहरू समावेश छन्।
- ललितपुरको द प्लाजामा आयोजित समारोहमा कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले सूची सार्वजनिक गरी ५० महिलालाई सम्मान गरिन्।
- अनलाइनखबरका अध्यक्ष धर्मराज भुसालले सूचीमा समावेश महिलाहरूका लागि अल्मुनाई गठन गर्ने घोषणा गरे ।
काठमाडौं । अनलाइनखबर डटकमले नेपालका ‘५० प्रभावशाली महिला २०८२’ को सूची सार्वजनिक गरेको छ । हरेक वर्ष अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) को पूर्वसन्ध्यामा सार्वजनिक गरिंदै आएको यो सूची यस वर्ष आम निर्वाचन (फागुन २१) को चटारोका कारण केही समय ढिलो गरी सार्वजनिक गरिएको हो ।
अनलाइनखबर ‘५० प्रभावशाली महिला’ को यो तेस्रो संस्करण हो ।
सोमबार बेलुका ललितपुरको द प्लाजामा आयोजित विशेष समारोहमा कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले ५० प्रभावशाली महिलाको सूची सार्वजनिक र उनीहरूलाई अवार्ड प्रदान गरिन् । उनले अनलाइनखबरले महिलाहरुको सम्मानका लागि गरेको थालेको अभियानप्रति खुसी व्यक्त गर्दै यसलाई निरन्तरता दिन सुझाव दिइन् ।
यस सूचीमा नेपाली राजनीति, समाज, कला/साहित्य, संस्कृति, युवा तथा खेलकुद, ज्ञान–विज्ञान, उद्यम र डायस्पोरा क्षेत्रका प्रतिनिधिमूलक ५० जना संघर्षशील र कर्मशील महिलाहरू समेटिएका छन् ।
अन्तिम सूची तयार गर्नुअघि अनलाइनखबरले सार्वजनिक रूपमा नाम उपलब्ध गराउन आह्वान गरेको थियो । खुला आह्वानसँगै काठमाडौंमा रहेको केन्द्रीय समाचार कक्ष, सातै प्रदेशका संवाददाताहरू र कतिपय क्षेत्रका विज्ञ तथा स्रोतहरूबाट गरी जम्मा ७०० भन्दा बढी नामहरू प्राप्त भएका थिए । तिनै नामबाट पूर्वन्यायाधीश मीरा खड्का संयोजक रहेको निर्णायक मण्डलले ५० जना छनोट गरेको हो ।
अल्मुनाई गठन गर्ने घोषणा
समाजका विभिन्न क्षेत्रमा क्रियाशील महिलाको योगदानको पहिचान र सम्मान गर्न तथा उनीहरूको विशिष्ट नेतृत्वलाई मुलुककै उपलब्धिको रूपमा सार्वजनिक अभिलेखमा राख्नु नै ‘५० प्रभावशाली महिला’ छनोटको मुख्य उद्देश्य रहेको अनलाइनखबर प्रालिका अध्यक्ष धर्मराज भुसालले बताए । अध्यक्ष भुसालले प्रभावशाली सूचीमा समावेश भएकाहरुलाई समेटेर अल्मुनाई गठन गर्ने घोषणा पनि गरे ।
अध्यक्ष भुसालले ५० प्रभावशाली महिला हरेकको कथा आफैंमा एउटा विश्वविद्यालय भएको भन्दै यी प्रभावशाली कर्मलाई इतिहासले सधैं सम्झने बताएका छन् ।
महिलाहरूलाई ‘पीडित’, ‘निमुखा’ वा ‘सहयोगी’को रूपमा मात्रै चित्रण गर्न खोजेको तर, ती भाष्यहरू विस्तार जरैदेखि भत्कँदै गएको उनले बताए । ‘हाम्रो समाजले महिलालाई लामो समयसम्म ‘पीडित’, ‘निमुखा’ वा ‘सहयोगी’ को रूपमा मात्रै चित्रण गर्न खोज्यो । तर, आज यहाँ उपस्थित ५० अनुहारहरूले त्यो भाष्यलाई जरैदेखि भत्काइदिनुभएको छ,’ अध्यक्ष भुसालले भने, ‘तपाईंहरूले परम्पराको साँघुरो घेरा, अभावको पहाड र राज्यको नीतिगत शून्यतालाई चिरेर आफ्नै बाटो खन्नुभएको छ ।’
अनलाइनखबर डटकमका प्रधानसम्पादक बसन्त बस्नेतले ५० प्रभावशाली महिलाहरुको सूची साधना र संघर्षका पर्याय तथा सफलताका असली रचयिता हुन् भन्ने प्रमाण भएको बताए । उनले भने, ‘म आफैं जुरीमा बसेका कारण पनि भन्न सक्छु– आएका सात सय नाममध्ये कम्तीमा चार सय नाम त साँचो अर्थमा अभिनन्दन गर्नुपर्ने खालका छन् । म उहाँहरु सबैलाई धन्यवाद दिन चाहन्छु, बधाई दिन चाहन्छु । आगामी वर्षहरुमा तपाईंहरुलाई सक्दो समेट्ने हाम्रो कोसिस हुन्छ । विजययात्रा नरोक्नुहोला ।’
उनले थपे, ‘यो वर्षको एउटा गज्जबको रोचक अनुभव छ । यहाँ सामुन्नेमा उपस्थितिमध्ये कति धेरै सांसदहरु हुनुहुन्छ, जसले अनलाइनखबरको पचास प्रभावशाली महिलाका लागि अनलाइन आवेदन भर्नुभएको थियो । ती आवेदन अहिले पनि हामीसँग सुरक्षित छन् । तर तपाईंहरुलाई यस अर्थमा पनि बधाई कि, राष्ट्रले नै तपाईंहरुलाई हाम्रा जनप्रतिनिधिका रुपमा अभिनन्दित गरिदिएको छ ।’
अनलाइनखबरले हरेक वर्ष अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भ पारेर विभिन्न क्षेत्रका ‘चालीस मुनिका चालीस’ युवाहरूको सूची पनि सार्वजनिक गर्दै आएको छ ।












प्रतिक्रिया 4