News Summary
Generated by OK AI. Editorially reviewed.- सन् १९९६ मा सगरमाथा आरोहण क्रममा मे १० तारिखको हिमआँधीमा १२ जना पर्वतारोहीको मृत्यु भयो र धेरै घाइते भए।
- लेखक जोन क्र्याकाउरले सगरमाथा आरोहण र १९९६ को दुर्घटनाको व्यक्तिगत अनुभव सहित 'इन्टू थीन एअर' पुस्तक लेखे।
- सन् १९९६ मा सगरमाथा आरोहण अनुमति शुल्क प्रति टोली ७२ हजार डलर र एकल आरोहीका लागि १५ हजार डलर थियो, जुन अहिले बढेको छ।
सगरमाथा हिमाल आरोहणको इतिहासमा त्यो एक वर्ष –सन् १९९६– कहिल्यै बिर्सन नसकिने गरी समयको पात्रोमा टाँसिएर बसेको छ, बडो पीडादायी बनेर इतिहासको कालातीत क्यानभासमा कोरिएर बसेको छ, अनि, एक चहर्याउँदो घाउ र पर्पराउँदो प्रतिमान बनेर विश्वकै अग्लो हिमालको फिर्फिरे सिरेटोमा फिँजारिएको छ ।
यो एक त्यस्तो सन्दर्भ र प्रसङ्ग हो जसलाई भुल्न खोज्दा पनि भुल्न सकिँदैन, बिर्सन चाहे पनि बिर्सिँदैन र विस्मरण गर्न खोजे पनि विस्मृतिको गर्तमा हराउँदैन । आखिर के भएको थियो त सगरमाथामा त्यो वर्ष ?
समयको त्यस कालबेलामा कोही आरोही संसारको सर्वोच्च शिखर टेक्न उँभौलिँदै थिए, र केही चाहिँ शिखर टेक्न सकेको आनन्दमा लुटपुटिँदै उँधौलिँदै थिए । मौसम लगभग पूर्णत : सफा थियो । कसैलाई हेक्का थिएन, त्यो समयभन्दा ठीक तीन वर्ष पहिले सगरमाथा चढ्ने पहिलो नेपाली महिला हुने गौरव हासिल गर्न सफल भएकी पासाङ ल्हामू शेर्पा सर्वोच्च विश्वचुलीमा पुगेर फर्किने क्रममा सन् १९९३ अप्रिल २२ तारिख –वि.सं.२०५० वैशाख १० गते– का दिन दिवंगत हुन पुगेकी थिइन् ।
अन्य सबै कुरालाई बेवास्ता गर्दै विभिन्न देशका आरोहीहरू आ–आफ्ना ईश्वरलाई सम्झँदै र धन्यवाद दिँदै उकालिने, ओरालिने वा शिविरमा बस्न जाने उपक्रम गर्दै थिए । एक्कासि प्रकृतिले रौद्र रूप धारण गर्यो र कसैले त्यो बेला कल्पनै नगरेको घटना प्रत्यक्ष हुन पुग्यो ।
अचानक आकाश बादलियो र ठूलो हिम–आँधी आउन थाल्यो । आफैँले आफ्नो हात समेत देख्न नसक्ने गरी बाक्लो हिउँ बोकेको चीसो आँधी तेज गतिमा चल्न थाल्यो । अनि त सन् १९९६ मे १० तारिख, (अर्थात्, वि.सं.२०५३ वैशाख २८ गते), को त्यस एक दिनको हिउँ–आँधीमा परेर मात्र आठ जना परिपक्व पर्वतारोहीको मृत्यु भयो, र अन्य कतिका त हात–खुट्टाका औंला र कसै–कसैको एउटा हातै वा एउटा खुट्टै काट्नु पर्यो ।
लगभग ती सबै जना तत्कालीन समयमा विश्वकै उम्दा र अनुभवी पर्वतारोही एवं हिमाल आरोहण–पथ प्रदर्शकहरू थिए, जसमा न्यूजील्याण्डका रोबर्ट एड्वीन हल (रब हल) र अमेरिकन स्कट युजीन फिशर प्रमुख थिए । पछि अर्को अभियान दलमा समाविष्ट अन्य चार जना समेत गरी त्यस आरोहण वर्षमा मात्र जम्मा बाह्र जना पर्वतारोही काल कलवित भएका थिए ।
सगरमाथा आरोहणको इतिहासमा एकै वर्षमा यति धेरै पर्वतारोहीको मृत्यु भएको त्यस बेलासम्मको यो सर्वाधिक दु :खद घटना र आरोहीको अधिकतम सङ्ख्या थियो । यद्यपि, त्यसपछि पर्वतारोहणको एक सिजनमै ज्यान गुमाउनेहरूको त्यो सङख्या अझ बढेर सन् २०१४ मा सोह्र जनाको, सन् २०१५ मा भुँइचालोले गर्दा आएको हिउँ–आँधीले बाइस आरोहीको र सन् २०२४ मा खुम्बु–हिमपात क्षेत्रमा आएको त्यस्तै आँधीले सोह्र जना शेर्पाको ज्यान लिएको थियो ।
त्यसभन्दा अलि पहिले पनि सन् १९७० मा खुम्बु आइसफल क्षेत्रमा आएको हिउँ–आँधीले गर्दा छ जना नेपाली शेर्पाले अकालमै प्राण गुमाउनु परेको थियो।
जीवन अन्त्यपछि गौरव पाउने चाहना
सगरमाथा आरोहण गर्नु परेमा नेपालतिर (उत्तरतिर) बाट चढाइ गर्ने हो भने नेपाल सरकारबाट र तिब्बत (दक्षिण) तर्फबाट चढ्ने हो भने चीन सरकारबाट आरोहण अनुमति लिनु पर्दछ । हरेक वर्ष सयौं साहसी जिज्ञासुहरूले त्यसरी अनुमति लिन्छन् । तीमध्ये केही मात्र चुचुरोमा पुग्न सफल हुन्छन्, धेरै जना असफल हुन्छन्, र केही चाहिँ कहिल्यै नफर्किने गरी बिरानो लोकको बाटो लाग्छन् ।
हिमाल आरोहण सम्बन्धी तथ्याङ्क राख्ने संस्था ‘द हिमालयन डाटाबेस’को “पीक डेथ्स रिपोर्ट” अनुसार, सगरमाथा चढ्ने साहसिक प्रयासमा सन् १९२२ देखि यता अहिले मार्च २०२६ सम्म आइपुग्दा जम्मा ३३९ जनाले अप्रत्याशित मृत्यु वरण गरिसकेका छन् । तीमध्ये १५७ जनाले चाहिँ बिना अक्सीजन आरोहण गर्न खोज्दा ज्यान गुमाएका हुन् ।
त्यसरी सगरमाथा चढ्ने प्रयासमा मारिनेहरूमा २०७ जना विभिन्न समयका विभिन्न आरोहण दलका पर्वतारोही सदस्य थिए भने १३२ जना चाहिँ ती विभिन्न आरोहण दलका सदस्यहरूलाई सघाउन गएका स :शुल्क स्थानीय सहयोगीहरू –हायर्ड सपोर्ट क्लाइम्बर्स– थिए ।
स्मरणका लागि, एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सन् १९५३ मे २९ मा पहिलो सफल आरोहण गरे यता डिसेम्बर २०२५ सम्ममा जम्मा १३,७३७ (तेह्र हजार सात सय सैंतीस) जनाले सगरमाथा आरोहण गरिसकेका छन् ।
उल्लेखनीय के छ भने सगरमाथा चढ्न चाहनेहरूमध्ये चीन सरकारले एक वर्षमा अधिकतम तीन सय जनालाई अनुमति दिने गरेको छ तर नेपाल सरकारले भने आवश्यक शर्त र प्रक्रिया पूरा गर्ने जति जनालाई पनि अनुमति दिने गरेको छ । अर्थात्, नेपाल सरकारले सगरमाथा आरोहणको अनुमति चाहनेहरूका लागि कुनै सङ्ख्यात्मक बन्देज वा नियञ्त्रण राखेको छैन ।
००० ०००
सगरमाथा हिमाल । चोमोलोङ्मा । माउन्ट एभरेष्ट । संसारको सबैभन्दा अग्लो टाकुरा । यो नाममै खास आकर्षण जो छ । त्यसैले गर्दा त प्रकृति र सौन्दर्यप्रेमीहरू यसको एक झल्को देख्न पाउँदैमा दङ्ग पर्छन् र यसको मनमोहक दर्शन गर्न पाएर मखलेल हुन्छन् ।
तर साहसिक क्रियाकलाप गर्न मन पराउने र एक बारको मानव जुनी सकिएपछि, अर्थात्, जीवन शेषपछिको गौरव –आफ्टर लाइफ ग्लोरी– को चाहना सँगालेर जिन्दगीमा अगाडि बढ्दै गरेकाहरूका लागि सगरमाथाको चुचुरोमा पुग्नु एक विलक्षण चुनौती, अप्रतिम आकर्षण र स्वर्गिक सन्तुष्टिको सोपान हो।
चुचुरोमा टेक्न पुग्नु जति अलौकिक आनन्ददायक छ, त्यहाँसम्म पुग्न त्यत्तिकै खर्चिलो, परिश्रमपूर्ण र पाइला–पाइलामा मृत्युको चर्को जोखिम भरिएको छ । चुचुरोमा टेक्न पुग्ने चाहना मन भरीभरी हुन्छ र त्यसका लागि प्राण हत्केलामा राखेर हिउँको उकालो चढ्न परिरहेको हुन्छ । कायरहरू र जसरी पनि बाँच्नुपर्ने मोह भएकाहरूका लागि त्यो चुचुरो केवल र केवल ‘ऊ पारि सुनको लङ्का’ मात्र हो ।
तर आखिर, ज्यानको यतिविधि जोखिम हुँदा–हुँदै र फर्की आउने हो होइन भन्ने थाहा नहुँदा–नहुँदै पनि दुनियाँभरबाट अनेकअनेक जुनूनी मानिसहरू आफूलाई अग्घोरै माया–स्नेह गर्ने प्रेमिल परिवारजन र अनुरागी परिचितहरू सबैसबैलाई झण्डै आहत पार्दै किन मृत्युलाई हाँक दिन तम्सिन्छन् र त्यो सर्वोच्च टाकुरामा पुग्न लालायित हुन्छन् ? यसको जवाफ शायद, प्रख्यात बेलायती पर्वतारोही जर्ज म्यालोरीका शब्दमा छ, “किनभने त्यो त्यहाँ छ ।’
हो, यी र यस्ता धेरै प्रसङ्गहरूको अनुभवजन्य प्रत्यक्ष वर्णन गर्दै अमेरिकी पत्रकार जोन क्र्याकाउरले एउटा किताब लेखे र शीर्षक राखे, “इन्टू थीन एअर : अ पर्सनल अकाउन्ट अफ दी माउन्ट एभरेष्ट डिजास्टर” । र, उनले किताबको शरूआत गरे आफू संसारको छानो पनि भनिने सगरमाथाको चुचुरोमा उभिएको कौतुकमय क्षण, अनि तत्जन्य रोमाञ्चक अनुभवलाई शब्दमा उतारेर ।
उनले किताबको शुरूमै लेखेका छन्, “सगरमाथा चढ्ने जमर्को गर्नु भनेको तर्कमाथि भावनाको जीत हो, र चेतनामाथि इच्छाहरूको विजय हो । त्यसो भएको हुँदा नै म केही असल मानिसहरू अनियोजित एवं आकस्मिक मृत्यु–भोजमा जाँदै गरेको हूलमा मिसिन पुगेको थिएँ ।”
यही कारण हुन सक्छ, उनले आफ्नो यो किताब आफू पनि सगरमाथा चढ्न सफल भएको दिनमै घट्न पुगेको सर्वोच्च शिखरको सर्वोच्च दुर्घटनाको शिकार हुन विवश भएका आफ्ना सह–आरोहीहरू एण्डी ह्यारीस, डग ह्यान्सन, रब हल, यासुको नाम्बा, स्कट फिशर, नवाङ थोप्चे शेर्पा, चेन यू–नान, ब्रूस हेराल्ड र लोप्साङ जाङ्गबू शेर्पाका नाममा समर्पित गरेका छन् ।
पर्वतारोही पत्रकार अनि लेखक
जोन क्र्याकाउर पत्रकार मात्र होइन, एक उम्दा लेखक पनि हुन् । उनले केही वर्ष दैनिक पत्रकारिता गरे । उमेर, अनुभव र दक्षता बढ्दै गएसँगै उनले खास स्थान, व्यक्ति वा घटनाहरूबारे गम्भीर खोजसहित लेख्नुपर्ने विशेषज्ञ पत्रकारिता –एक्सपर्ट जर्नालिजम– गर्न थाले । अनि त्यसपछि उनी एकोहोरिए, साहसिक पर्वतारोहण पत्रकारितातर्फ । यही क्रममा उनी आफैँ पनि पर्वतारोही बन्न पुगे । केही गैर–आख्यान किताब लेखे र छिट्टै ‘बेष्ट सेलर’ लेखकका रूपमा नामूद भए ।
क्र्याकाउरले आफू सगरमाथा चढ्न जानु पहिले लेखेर सन् १९९६ मा छापिएको किताब “इन्टू द वाइल्ड” रातारात बेष्ट सेलर पुस्तक बन्यो । र, उनी पनि एकाएक लोकप्रिय लेखकहरूको श्रेणीमा दर्ज भइहाले ।
खासमा यो किताब तीन वर्ष पहिले ‘आउटसाइड’ पत्रिकाको जनवरी १९९३ अङ्कमा “एक निर्दोषको मृत्यु” शीर्षकमा छापिएको नौ हजार शब्द लामो लेखको विस्तारित र परिमार्जित स्वरूप थियो । उपलब्ध तथ्याङ्क अनुसार, अहिलेसम्म यो किताब विभिन्न तीस भाषामा प्रकाशित भइसकेको छ भने अमेरिका समेत कतिपय मुलुकमा हाई स्कूल र कलेजका पाठ्यक्रमहरूमा समावेश पनि गरिएको छ ।
अझ रोचक के छ भने यस किताबलाई पछिल्ला पच्चीस वर्षमा छापिएका गैर–आख्यान पुस्तकहरूमध्ये सर्वश्रेष्ठ मानिएको छ । अझ, किताबकै शीर्षकमा हलिउड सिनेमा पनि बनेको छ ।
००० ०००
“इन्टू द वाइल्ड” किताबमा एक जना अमेरिकी पर्यटक क्रिस म्याकेन्डलेसको कथा छ । भर्जीनिया राज्यको अनानडेल शहरमा हुर्केबढेका यी युवक मे १९९० मा स्नातक तहको अध्ययन सकेपछि परिवारसँगको संवाद–सञ्चार सबै विच्छेद गर्छन्, आफूसँग भएको करीब पच्चीस हजार डलर अन्तर्राष्ट्रिय बेलायती गैरसरकारी संस्था अक्सफामलाई दान दिन्छन् र पश्चिम अमेरिकातिर घुम्न निस्कन्छन् । केही समयपछि आफ्नो गाडी पनि परित्याग गरी दिन्छन्।
अप्रिल १९९० मा म्याकेन्डलेस अलास्का भ्रमण गर्न हिँड्छन् । त्यति बेला उनीसँग केवल साढे चार किलो चामल, एउटा प्वाइन्ट ट्वान्टी–टू क्यालीबर राइफल, थुप्रै बक्सा गोली, एउटा क्यामरा, र खान मिल्ने स्थानीय घाँस–रुख–बिरुवाबारे बताउने फिल्ड गाइडबुक समेत केही अध्ययन सामग्री मात्र थिए । लगाइरहेको एक जोर कपडाबाहेक अरू केही थिएन ।
अलास्का क्षेत्रमा आफ्नै पाराले एक्लै घुमी हिँड्दा–हिँड्दै ११३ दिन बाँचेपछि भोकमरी र कुपोषणले गर्दा अगस्ट १८, १९९२ मा उनको मृत्यु भयो । उनले त्यहाँ खान हुनेभन्दा खान नहुने घाँस–बिरुवा धेरै खाएका थिए । स्वस्थ हुँदा करीब पैंसट्ठी किलो हुने गरेकोमा मृत्युको बेला उनको शारीरिक वजन तीस किलो मात्र थियो ।
भर्खर चौबीस वर्षको लक्का तन्नेरी वयमा रहेका म्याकेन्डलेसले मर्नुभन्दा एक दिन पहिले आफ्नो डायरीमा अन्तिम केही शब्दहरू लेखेका थिए, “मैले एक खुशियालीपूर्ण जीवन बाँचें । त्यसका लागि म ईश्वरलाई धन्यवाद दिन्छु । अलविदा । ईश्वरले हामी सबैको कल्याण गरून् ।”
सगरमाथा चढ्ने सपना साकार हुँदा
“इन्टू द वाइल्ड” लेखेको केही महिनापछि जोन क्र्याकाउर एक पत्रकारका रूपमा संसारको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न सफल भए । र, त्यसकै अर्को वर्ष सन् १९९७ मा त्यही सगरमाथा आरोहण सम्बन्धी सविस्तार वर्णन गर्दै उनले अर्को किताब लेखे, “इन्टू थीन एअर : अ पर्सनल अकाउन्ट अफ दी माउन्ट एभरेष्ट डिजास्टर” । यो नयाँ किताब सन् १९९७ मा अमेरिकामा प्रकाशित भयो ।
छापिए लगत्तै यो किताब त्यस वर्षको सर्वाधिक बिक्री भएको गैर–आख्यान पुस्तक बन्न पुग्यो । विश्वको एक प्रमुख पत्रिका ‘टाइम’ ले यसलाई ‘वर्ष पुस्तक’ घोषणा गर्यो । गैर–आख्यान पुस्तकका लागि दिइने पुलित्जर प्राइज–१९९८ का लागि नामाङ्कित सूचीको अन्तिम तीन किताबमध्ये एक यही किताब पनि थियो । सन् १९९७ मै यही किताबको आधारमा सोनी टीभी कम्पनीले सिनेमा पनि बनायो, “इन्टू थीन एअर : डेथ अन एभरेष्ट” ।
“संसारको सबभन्दा अग्लो ठाउँमा दुईतिर खुट्टा टेकेर म उभिइरहेको छु, एउटा खुट्टा चीनतर्फ र अर्को खुट्टा नेपालतिर, मैले आफ्नो अक्सीजन मास्कमा टाँसिएको हिउँ सफा गरें, चीसो बतासविरुद्ध आफूलाई बलियो बनाइराख्न काँध हल्लाएँ, र आफू उभिएको ठाउँबाट धेरै तल देखिने तिब्बतको विस्तृत फैलावटतिर ट्वाल्ल परेर हेर्न थालें ।……
“मैले केही मधुरो तरीकाले बुझें, मेरा पाइतालामुनि रहेको पृथ्वी आफैँमा एक अत्यन्तम रहरलाग्दो दृश्य हो । केवल यही एक क्षणको रोमाञ्चक कल्पना गर्दै मैले कति धेरै महिना बिताएको थिएँ, त्यो समय र यतिबेलाको अवर्णनीय भावना एकाकार भएर मेरा सामु छताछुल्ल भइरहेछ ।…..
“तर अहिले अन्तत : म यहाँ छु, खासमा सगरमाथाको शिखरमा, म आफूलाई यो ठाउँमा उभ्याई राख्ने शक्ति सञ्चय गर्न सकिरहेको छैन ।……
“यो घटना हो, मे १० सन् १९९६ को सखारै अपरान्हको । म पछिल्ला सन्ताउन्न घण्टादेखि सुतेको थिइनँ । यी तीन दिनमा मैले खाएको भनेको केवल एक बाउल रेमन चाउचाउ सुप र मुठी एक जति पीनट्स बदाम मात्र थियो । बितेका धेरै सातादेखि मलाई भीषण खोकीले पनि उत्तिकै सताएको थियो, र मलाई सामान्य किसिमले सास लिन पनि औधी गाह्रो भइरहेको थियो ।……
“यस्तोमा समद्र सतहभन्दा २९,०२८ फीट माथि उभिइरहँदा मेरो मस्तिष्कमा अक्सीजन समुचित ढङ्गले पुग्न सकिरहेको थिएन, र म कुनै शिशु जस्तो हुन पुगेको थिएँ । म अग्घोर चीसो र थकानबाहेक अरू केही सोच्ने र महसुस गर्न सक्ने अवस्थामै थिइनँ ।……
“मैले मभन्दा केही पहिले मात्र टाकुरामा पुगिसकेका रुसी पर्वतारोहण गाइड एनातोली बुकरीभ र मभन्दा केही पछि शिखरमा आइपुगेका अर्का अमेरिकन गाइड एन्डी ह्यारीसका चार ओटा फोटा खिचें, र आफ्नो पनि लिएँ पनि, लिन लगाएँ पनि ।…
“तर संसारको छानोमाथि म धेरै बेरसम्म बस्न सकिनँ, र, त्यहाँबाट ओर्लन कस्सिएँ । हाते घडीले त्यतिबेला दिउँसोको १ :१७ बजाइरहेको थियो । पछि, शिखरमा मसँगै रहेका सह–आरोहीहरूले भनेअनुसार, म संसारको सर्वोच्च टाकुरामा पाँच मिनेट पनि अडिन सकिनँ रे । म ओर्लंदा सगरमाथाभन्दा धेरै टाढा रहेका पुमोरी र अमादब्लम हिमालहरू कालो अँध्यारो बादलले ढाकिंदै गरेको देखिएका थिए ।” …
यसरी नै शुरू हुन्छ करीब तीन सय पृष्ठ लामो र एक्काइस अध्याय अनि उपसंहार, लेखकीय आभार एवं सन्दर्भ–सूचीसम्म विस्तारित किताब “इन्टू थीन एअर”, जसमा लेखक क्र्याकाउरले आफू सगरमाथाको शिखरमा उभिएको विशिष्ट क्षणको हृदयस्पर्शी वर्णनबाट किताबको थालनी गरेका छन् ।
पत्रकारिताको भाषामा ‘रिपोर्टरको डायरी’ र साहित्यिक विधाको परिधिमा ‘रिपोर्ताज’ शैलीको झलक दिइरहने अनि सगरमाथा आरोहणको विकास–क्रमबारे समेत बताउने यो किताब पढ्दै जाँदा यसले सगरमाथा चढ्ने मोह, सगरमाथा आरोहण क्षेत्रमा बढ्दै गएको फोहोर, आरोहण क्रमसित जोडिएका विभिन्न पक्ष र सगरमाथा आरोहणलाई अधिकतम धन आर्जन गर्ने उद्देश्यले पश्चिमी देशहरूमा बढ्दै गएको संगठित व्यवसायीकरणका पाटाहरू पनि उधिन्दै गएको थाहा हुँदै जान्छ ।
क्र्याकाउर अप्रिल १२, १९५४ मा म्यासाचुसेट्स राज्यको ब्रूकलिनमा जन्मेका हुन् । उनले ‘इन्टू द वाइल्ड’ र ‘इन्टू थीन एअर’ का साथै ‘आइसल्यान्ड’, ‘आइगर ड्रीम्स : भेन्चर्स अमोङ मेन एन्ड माउन्टेन्स’, ‘अन्डर द ब्यानर अफ हेभन’, र, ‘व्हेअर मेन वीन ग्लोरी : द ओडिसी अफ प्याट टिलम्यान’ शीर्षक भएका लोकप्रिय गैर–आख्यान किताबहरू पनि लेखेका छन् । योसँगै पत्रिका र म्यागेजिनहरूका लागि दर्जनौं लेख लेखेको त छँदैछ ।
यसै मेसोमा क्र्याकाउर सन् १९९९ मा ‘दी अमेरिकन एकेडेमी अफ आर्ट्स एन्ड लेटर्स’ संस्थाबाट ‘आटर््स एन्ड लेटर्स अवार्ड’ बाट पुरस्कृत–सम्मानित भए ।
सन् १९७७ मा उनले पूर्वपर्वतारोही युवती लिन्डा मरियम मूरलाई भेटे, केही समय दुवैबीच प्रेम र डेटिङको क्रम चल्यो । अनि, प्रथम भेटको तीन वर्षपछि उनीहरूबीच विवाह भयो र उनीहरू वाशिङ्गटन राज्यको सियाटलमा बस्न थाले । अझ केही समयपछि, र “इन्टू थीन एअर” किताबको प्रकाशनपछि उनीहरू हाल बस्ने गरेको कोलोराडो राज्यको बोल्डर शहरमा बसाइँ सरेका हुन् ।
००० ०००
मार्च १९९५ मा क्र्याकाउरलाई “आउटसाइड” पत्रिकाबाट फोन आयो र त्योसँगै ‘एक जना गाइडको नेतृत्वमा सगरमाथा आरोहण गर्न जान लागेको अभियान दलमा मिसिएर सगरमाथा आधार शिविरसम्म जाने र सगरमाथाको तिब्बततिरको आधार शिविर ‘इष्ट रोङबुक ग्लेशियर’ मा बसेर सगरमाथा चढ्न हुल बाँधेर लाम लागेका पर्वतारोहीहरू, सगरमाथा आरोहणको तीव्र व्यावसायीकरण र आरोहण सहयोगीहरू सम्बन्धी विवादबारे गहन रिर्पोटिङ गर्नुपर्ने’ प्रस्ताव पनि आएको थियो ।
तर पहिले खुशी भए पनि उनले झ्याप्पै यो प्रस्ताव स्वीकार गरेनन्, यद्यपि कोलोराडो राज्यको बोल्डर शहरबाट निस्कने “आउटसाइड” म्यागेजिन आफैँमा एक प्रतिष्ठित र सम्मानित पत्रिका थियो (र, हो पनि) । रेसिङ, इतिहास, भोजन, संस्कृति, पर्यटन, पर्वतारोहण र प्रविधि आदि समेत साहसिक विषयमा लामालामा र गहन सामग्री दिँदै सन् १९७७ देखि प्रकाशित हुँदै आएको यस पत्रिकामा क्र्याकाउरले पछिल्ला पन्ध्र वर्षमा साठी ओटाभन्दा धेरै आलेख छपाइसकेका थिए ।
क्र्याकाउरलाई पर्वतारोहणको राम्रो अनुभव थियो । तर उनले केवल अमेरिका, यूरोप र दक्षिण अमेरिकाका पहाड–हिमाल मात्र चढेका थिए । समग्रमा उनी अठार हजारको उचाइसम्म पनि चढ्न पाएका थिएनन् । अब एभरेष्ट बेस क्याम्प भएको ठाउँको उचाइ नै उनले त्यतिबेलासम्म चढेको उचाइभन्दा धेरै थियो । त्यसो हुँदा बेस क्याम्पसम्म पुगेपछि त उनलाई सगरमाथा चढ्ने आफ्नो बालापनको सपना पूरा हुने अवसर मिल्न सक्ने सम्भावना बलियो भए जस्तो लाग्यो ।
उनले पत्रिकाका सम्पादक मार्क ब्रायण्टसँग आफ्नो त्यो सगरमाथा रिपोर्टिङ असाइनमेण्ट एक वर्ष पछाडि सार्न अनुरोध गरे । साथै, गाइडको अगुवाइमा आफूलाई सगरमाथा चढ्न चाहिने पैंसठ्ठी हजार डलरको प्रायोजन–व्यवस्थापन पनि गरी दिन अनुरोध गरे । सम्पादकले पत्रिका–व्यवस्थापनसँग कुराकानी गरेपछि क्र्याकाउरको अनुरोध स्वीकृत भयो ।
आफूलाई प्राप्त करीब बाह्र महिनाको अवधिमा क्र्याकाउरले सगरमाथा चढ्दा सामना गर्नुपर्ने हाई अल्टीच्यूडका लागि आफूलाई तयार पारे, हाइकिङ र पदयात्रा र मिलेसम्मका पहाड–हिमाल चढ्दै उच्च–तापमानसँगको अनुकूलता हासिल गर्ने अभ्यास गरे । थेरापिष्ट अनि गुरुहरूको मातहतमा रहेर सहनशीलता र शारीरिक औ मानसिक शक्ति र स्टेमिना बढाउन सकिने मिलेसम्मका अभ्यास गरे ।
यसरी हिउँको काखमा दुई महिना लामो अवधि बिताउनका लागि उनले आफूलाई तयार पारेका थिए । र, मार्च १९९६ मा न्यूजील्याण्डका नामूद पर्वतारोही एवं गाइड रब हलले अगुवाइ गर्ने गरी प्रतिव्यक्ति पैंसठ्ठी हजार अमेरिकी डलर तिरेका आठ जनाको समूह रहेको ‘माउन्ट एभरेष्ट एक्सपेडीशन’ नामक अभियानमा सामेल भएर नेपाल पुगेका थिए ।
श्रेष्ठतम पर्वतारोहण गाइडको अगुवाइमा
४५ वर्षीय रब हल तत्कालीन विश्वकै सम्मानित एवं श्रेष्ठतम हाई–अल्टीच्यूड गाइड थिए, र पछिल्ला पाँच वर्ष, अर्थात् सन् १९९० देखि १९९५ सम्म, मा मात्रै चार पटक सगरमाथा आरोहण गरिसकेका थिए भने न्यूजील्याण्डमा मुख्यालय रहेको आफ्नै कम्पनी ‘एडभेन्चर कन्सल्टेन्ट्स’ मार्फत अन्य उन्चालीस जना उत्साही पर्वतारोहीलाई पनि सगरमाथाको चुली टेकाउन गाइड गरिसकेका थिए ।
यहाँनिर रोचक त के भने तेन्जिङ–हिलारीहरू पहिलो पटक सगरमाथा चढे यताका बीस वर्षमा चढेका कुल पर्वतारोहीभन्दा तीन जना बढी पर्वतारोहीलाई त रब हलले गाइड गरेर शिखर टेकाइसकेका थिए । हलको कम्पनीले यो कार्य केवल पाँच वर्ष, अर्थात् सन् १९९० देखि १९९५ सम्मको अवधिमा मात्र गरेको थियो ।
क्र्याकाउर बाहेक हलको टोलीमा अस्टे«लियन गाइड माइक ग्रूम, न्यूजील्यान्डर गाइड एन्डी “ह्यारोल्ड” ह्यारीस, अमेरिकी सेवाग्राहीहरू डग ह्यान्सन र डा.स्टुअर्ट हचीसन, जापानकी यासुको नाम्बा, न्यूजील्यान्डकै हेलेन विल्टन र डा.क्यारोलीन म्याकेन्जी आदिका अतिरिक्त एघार जना नेपाली शेर्पा पनि थिए ।
क्र्याकाउर गएको टोलीसँगै अर्को एक टोली अमेरिकी पर्वतारोही तथा हाई–अल्टीच्यूड गाइड स्कट यूजीन फिशरको नेतृत्वमा शिखर चढ्ने लक्ष्यसहित जाँदो थियो । टोली नेता तथा गाइड मुखिया फिशरको कम्पनी ‘माउन्टेन म्याडनेस गाइडेड एक्सपेडीशन’ अन्तर्गत रुसी गाइड एनातोली बुकरीभ र अमेरिकी गाइड नील बीडलम्यान समेत तेह्र विदेशी र दश नेपाली शेर्पा गरेर तेइस जनाको टोली थियो ।
यी दुई टोलीका अतिरिक्त अन्य चौध ओटा टोलीले पनि त्यसै समयमा सगरमाथा चढ्ने अभियानमा कम्मर कसेका थिए । त्यसैमध्येको एउटा टोली दक्षिण अफ्रिकाको थियो, जसमा ‘जोहानसबर्ग सन्डे टाइम्स एक्सपेडीशन’ टोलीको नेतृत्व गर्दै थिए, बेलायती पर्वतारोही इयान वूडाल र उपनेता पनि बेलायतकै ब्रूस हेरोड थिए ।
सियाटलमा ‘माउन्टेन म्याडनेस’ नामक हिमाल आरोहण र ट्रेकिङ सम्बन्धी व्यावसायिक कम्पनी चलाइरहेका चालीस वर्षीय फिशर अर्का अमेरिकी पर्वतारोही व्याली बर्गसँगै मिलेर विश्वको चौथो सर्वोच्च हिमाल ल्होत्से चढ्ने प्रथम अमेरिकी पर्वतारोही बनेका थिए भने दोश्रो सर्वोच्च हिमाल केटू र सर्वोच्च हिमाल सगरमाथा पनि अक्सीजन नलिइकन आरोहण गरिसकेका थिए ।
त्यस वर्ष अर्थात् सन् १९९६ मा फिशरको दोश्रो सगरमाथा आरोहण अभियान थियो । उनी शिखरमा पुग्न सफल पनि भए तर ओर्लने क्रममा सगरमाथाको हिमआँधीले उनको प्राण उडाई लगेको थियो । (अझ मर्मान्तक पीडा त के हुन गएको थियो भने सन् १९९३ मा पतिसँगै सगरमाथा चढीसकेकी उनकी चिकित्सक पत्नी ज्यान आर्नोल्ड पनि उनीसँगै सन् छयानब्बेको दलमा सामेल हुने योजना थियो तर त्यही समयमा उनी गर्भवती भएकीले जान पाएकी थिइनन् ।) ।
अर्को एक टोली ताइवानको थियो जसका नेता थिए, “मकालु” गाओ मिङ–हो । विश्वको पाँचौं सर्वोच्च शिखर मकालुको नाममा उनलाई त्यो नाम दिइएको थियो, र उनलाई मकालु गाओ भनेर बढी चिनिन्थ्यो ।
००० ०००
लेखक क्र्याकाउर टाकुराबाट ओर्लंदै गर्दा पुमोरी, अमादब्लम र अन्य कम उचाइका हिमालहरू भएतिरबाट मौसमको अनिष्टकारी सङ्केत देखा परिसकेको थियो तापनि उनले अन्य धेरै उत्सुक सेवाग्राहीहरू अझ बढी कम्मर कसेर शिखरतिर पुग्ने प्रयास गर्दै गरेको देखेका थिए ।
त्यो अवस्था देखिसकेपछि लेखकले प्रश्न गरेका छन्, “टोलीको अगुवाइ गरिरहेका भेटेरान हिमालयन गाइडहरूले किन मौसम बिग्रँदै गएको बुझ्न सकेनन् र सगरमाथा चढ्ने रहरले पैंसठ्ठी हजार डलर तिरेर टोलीमा समावेश भएका उत्साही आरोहीहरूलाई समयमै सुरक्षित शिविरमा अथवा अलि तल ओराल्न सकेनन् ?”
सगरमाथा आरोहण र शुल्कको सेरोफेरो
यसै मेसोमा उनले केही आर्थिक तथ्याङ्क पनि दिएका छन् । सन् १९९६ को वसन्तमा सगरमाथा आरोहणका लागि सरकारी अनुमति प्राप्त गर्न सफल छत्तीस ओटा अभियान दल थिए र तीमध्ये दश ओटा चाहिँ विशुद्ध अर्थोपार्जनका लागि सञ्चालन गरिएका दल थिए ।
(पछिल्लो तथ्याङ्क अनुसार, चालू वर्ष सन् २०२६ को गर्मी याम वा वसन्त ऋतुमा सगरमाथा चढ्नका लागि एकचालीस समूह र ती समूहबाट सन्तानब्बे महिला सहित कुल चार सय दश जना आरोहीले नेपाल सरकारबाट आरोहण अनुमति लिएका छन् । र, यो अनुमति वापत ८९ करोड ३ लाख रुपैयाँ रोयल्टी सङ्कलन भएको छ ।) ।
सन् १९९१ मा कुनै पनि र कत्रै पनि सङ्ख्यात्मक आकारको टोलीका लागि आरोहण शुल्क तेइस सय अमेरिकी डलर थियो । अर्को वर्ष सन् १९९२ मा यो बढेर दश हजार डलर भयो र टोलीमा सामेल हुन सक्ने पर्वतारोहीको सङ्ख्या पनि निश्चित गर्दै एक टोली वा दलमा अधिकतम नौ जना मात्र हुन सक्ने, र अझ पर्वतारोही थप्नु परेमा प्रति नयाँ पर्वतारोही शुल्क बाह्र सय डलर तिर्नुपर्ने सीमा तोकियो ।
शुल्कमा वृद्धि भए पनि सगरमाथा चढ्न चाहनेहरू कम भएनन् । सन् १९९३, अर्थात् प्रथम सफल सगरमाथा आरोहणको चालीसौं वार्षिकोत्सवको अवसर, मा पन्ध्र ओटा आरोहण दल र दुई सय चौरानब्बे जना पर्वतारोहीले नेपाल सरकारबाट आरोहण अनुमति लिएका थिए ।
अब त्यो वर्षको हिउँदे सिजनमा एक आरोहण दलका लागि शुल्क पचास हजार डलर पुग्यो भने टोलीमा अधिकतम पाँच जना आरोही मात्र हुनुपर्ने र अतिरिक्त आरोही सम्मिलित गर्नुपर्ने भएमा त्यस्ता नयाँ आरोहीका लागि प्रति आरोही दश हजार डलर थप तिर्नुपर्ने नियम लागू भयो ।
यो शुल्क बढेर सन् १९९६ मा अधिकतम सात जना आरोही हुनुपर्ने एक आरोहण टोलीका लागि सत्तरी हजार डलर, र थप आरोही सामेल गर्नुपर्ने भएमा प्रति आरोही दश हजार डलर अतिरिक्त दिनुपर्ने भयो ।
(सन् २०२६ मा यो शुल्क प्रति टोली पैंसठ्ठी हजार डलर र एकल आरोहीका लागि पन्ध्र हजार डलर छ । ‘एक्सपेडीशन रिभ्यू’ नामक एडभेन्चर पत्रिकाले भने अनुसार, सगरमाथा चढ्न जाने एक जना पर्वतारोहीले तीस हजारदेखि तीन लाख डलरसम्म खर्च हुन सक्ने गरी आफूलाई तयार पार्नु पर्दछ ।) ।
००० ०००
उनले थप के पनि लेखेका छन् भने सन् १९८५ मा अमेरिकाको टेक्सासमा बसोबास भएका धनाढ्य व्यापारी एवं जिज्ञासु पर्वतारोही रिचर्ड डीक ब्यासले अर्का एक जना जब्बर अमेरिकन युवा पर्वतारोही डेभिड ब्रेसनर र नेपाली शेर्पा आङ फूर्वासँगै सगरमाथा शिखर आरोहण गरे ।
त्यो बेला पचपन्न वर्ष पुगेका ब्यास त्यतिबेलासम्म सगरमाथा चढ्ने सबैभन्दा बढी उमेरका व्यक्ति बनेका थिए तर केवल आठ वर्षपछि सन् १९९३ अक्टोबरमा उनको त्यो कीर्तिमान स्पेनका साठी वर्षीय रामोन ब्लाङ्कोले भंग गरेका थिए ।
यद्यपि सगरमाथा चढेसँगै डीक ब्यास सात महादेशका सात ओटै सर्वोच्च हिमाल चढ्न सफल हुने पहिलो मानिसको रूपमा इतिहासमा दर्ज हुन पुगेका थिए, तर क्र्याकाउरका शब्दमा “प्रशस्त धन खर्च गरेपछि अनुभवी गाइड र बलवान शेर्पाको सहयोगमा सगरमाथा चढ्न सकिन्छ भन्ने कुराको जग हाल्ने काम उनै ब्यासले गरेका हुन् । ब्यासले सगरमाथा चढेसँगै सगरमाथा आरोहणमा ‘पोस्ट–मोडर्न एरा’, –उत्तर आधुनिक युग– पनि शुरू भएको हो ।”
(अझ रोचक के भने फेरि छ वर्षपछि मे १९९९ मा ब्लाङ्कोको त्यो कीर्तिमान केवल एक दिनले गर्दा जर्जियाका लेव सार्कीसोभले तोडेका थिए । त्यो बेला सार्कीसोभको उमेर साठी वर्ष एक सय साठी दिन थियो, अर्थात्, ब्लाङ्कोको उमेभन्दा केवल एक दिन बढी ।….
(पछि, मे २०१३ मा यो रेकर्ड पनि भंग भयो जतिबेला अस्सी वर्ष दुई सय तेइस दिन उमेर पुगेका जापानी पर्वतारोही यूइचीरो मिउराले सफलतापूर्वक सगरमाथा आरोहण गरे । उनले नेपालका मीनबहादुर शेरचनले सन् २००८ मा कायम गरेको रेकर्ड तोडेका थिए । शेरचनले छयत्तर वर्षको उमेरमा सगरमाथा चढेर त्यो कीर्तिमान बनाएका थिए ।……
(पछि फेरि सन् २०१७ मा शेरचनले पचासी वर्षको उमेरमा सगरमाथा चढेर मिउराको कीर्तिमान तोड्ने प्रयास गरेका थिए तर त्यस जमर्कोमा सफल हुन नपाउँदै बेस क्याम्पमा नै उनको मृत्यु भएको थियो ।) ।
शिखरबाट ओर्लिंदा जे भयो, जे दखियो
क्र्याकाउर अझ ओर्लंदै तल हिलारी स्टेपसम्म आइपुग्दा त्यस स्थानबाट माथि निस्कन एक दर्जनभन्दा धेरै पर्वतारोहीहरू पालो कुर्दै लामबद्ध उभिएका देखिन्थे ।
करीब चालीस फुट (बाह्र मीटर) ठाडो पहाड चढ्नु पर्ने र सगरमाथा आरोहणको अन्तिम अप्ठ्यारो मानिने यस ठाउँलाई मृत्यु जालो –डेथ ट्र्याप– पनि भनिन्छ ।
शिखरबाट करीब दुई सय फुट तल रहेको यस ठाउँलाई पहिले “डेथ जोन”, अर्थात्, “मृत्यु इलाका” भनिन्थ्यो ।क्र्याकाउर केही समय छेउ लागेर त्यहीँ कुरी बस्छन्, तल स्कट फिशर र रब हल नेतृत्वका दुई टोलीका साथै ताइवानी टोलीमा भएका सदस्यहरू समेत थिए ।
केही समयको अन्तरालमा गर्दै रब हल, यासुको नाम्बा, डग ह्यान्सन, स्कट फिशर आदि सबै जना र अरूहरू पनि माथि आइपुग्छन्, अनि मात्र न्यून अक्सीजनले गर्दा अत्तालिएका क्र्याकाउर तल ओर्लिन पाउँछन् । तल शिविरमा उनका लागि नयाँ अक्सीजन सिलीन्डर सुरक्षित थियो ।
तर भोलिपल्ट, अर्थात् मे ११ मा, उनलाई थाहा भयो– अचानक बिग्रेको मौसम र त्यसले ल्याएको भयानक हिमआँधी एवं हिमपहिरोले गर्दा उनकै टोलीका चारजना समेत छजना पर्वतारोही हिमआँधीको शिकार भइसकेका छन् !
००० ०००
सगरमाथा चढ्नका लागि उनीहरू अमेरिका, क्यानाडा, अस्ट्रेलिया, जापान, न्यूजील्याण्ड आदि विभिन्न देशबाट आ–आफ्नो समय र सुविधा अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका थिए । त्यहाँबाट ठमेलको गरुड होटलमा बसेर हेलिकोप्टरबाट लुक्ला पुगेका थिए । लुक्लाबाट दूधकोशी नदीको गल्छी हुँदै फाक्दिङ गाउँमा पहिलो रात बिताएका थिए ।
हेलिकोप्टर यात्रा गरेर उनीहरूले तीन साताभन्दा बढी समय बचाएका थिए ।
किनभने, सगरमाथा आरोहणका लागि अत्यन्त कठिन र टेक्नीकल मानिने ‘वेष्ट रीज मार्ग’ बाट सर्वप्रथम सन् १९६३ मा सगरमाथा आरोहण गर्न सफल भएका अमेरिकी पर्वतारोहीद्वय टम हर्नबीन र विली अनसोल्ड काठमाडौंबाट बनेपा हुँदै पैदल मार्ग हिँड्दै जाँदा एकतीस दिनमा सगरमाथा बेस क्याम्प पुगेका थिए ।
(सम्झनाका लागि, नेपालतिरको बाटो तुलनात्मक तवरले सजिलो मानिन्छ, त्यो सर्वाधिक लोकप्रिय पनि छ र त्यस मार्गलाई ‘साउथ कोल’ भनिन्छ । चीन (तिब्बत) तिरको मार्गलाई ‘नर्थ रीज’ भनिन्छ) ।
रब हलको अगुवाइमा त्यो आरोहण टोली उकालो र सम्म मार्गमा हिँड्दै, अनि छेउछाउतिरका गह्रा र बारीमा उम्रेका जौ, तीते फापर र आलुका बोटबिरुवा हेर्दै, अनि बाटोको छेउतिर ठाउँठाउँमा रहेका लुङ्दर र छोर्तेन (स्तूप) हेर्दै अगाडि बढ्दै जाँदा नाम्चे बजार पुग्छन् ।
रब हल टोलीले त्यहाँ आफूलाई खुम्बु लजमा विश्राम गराउँछ । स्थानीय सामाजिक तथा व्यापारिक केन्द्रका रूपमा स्थापित नाम्चे बजार समुद्री सतहबाट ११,३०० फीट उचाइमा अवस्थित छ ।
००० ०००
भोलिपल्ट लेखक क्र्याकाउर र अन्यहरू खुम्बु क्षेत्रकै सबैभन्दा पवित्र एवं महत्वपूर्ण बौद्ध गुम्बा त्याङबोचे पुग्छन्, र आफूहरूको टोलीमा भान्से बनेर सहभागी भएका स्थानीय छोङ्बा शेर्पाको सहयोगमा धर्मगुरु रिम्पोछेलाई भेट्छन, सय–सय रुपैयाँ चढाउँछन्, र रिम्पोछेबाट खादा लगाइएर सुरक्षित रहने आशीर्वाद थाप्छन् ।
गुरु रिम्पोछेले उनीहरूलाई चिया खुवाउँछन्, र आफूले अमेरिका भ्रमण गरेको बेला खिँचेका तस्वीर भएको एल्बम देखाउँछन् ।हिँडाइलाई निरन्तरता दिँदै जाँदा रब हलको टोली छैटौं दिन फेरिचे पुग्छ । यो फेरिचे भन्ने क्षेत्र समुद्री सतहबाट चौध सय फीटको उचाइमा अवस्थित छ ।
त्यहाँ हिमाल चढ्न आउनेजानेहरू र हाई अल्टीच्यूड क्षेत्रमा ट्रेकिङ गर्नेहरूका लागि एउटा उच्च स्तरीय क्लीनिक सञ्चालनमा छ, जसको स्थापना हिमालयन रेस्क्यू एशोसिएशन नामक एक फाउण्डेशनले सन् १९७३ मा गरेको थियो ।
त्यो क्लीनिक शुरू हुनु पहिलेसम्म फेरिचे भएर जाने प्रत्येक पाँच सय पदयात्रीमध्ये कम्तीमा दुई जनाको मृत्यु हुन्थ्यो, भने क्लीनिक सञ्चालनमा आएपछि त्यो मृत्य–दरमा व्यापक सुधार आएर प्रति तीस हजार पदयात्रीमा एक जना मात्रको मृत्यु हुने अवस्थामा झरेको छ ।
स्थानीय शेर्पाहरूलाई नि :शुल्क उपचार सेवा दिने त्यस क्लीनिकमा विश्वभरका उम्दा र प्रतिबद्ध चिकित्सकहरू आफ्नो सेवा दिन आउँछन्, यद्यपि उनीहरूलाई पारिश्रमिक भने खासै उल्लेखनीय परिमाणमा प्राप्त हुँदैन ।
धेरैजसो त पारिश्रमिक पाउनेभन्दा पनि नेपाल आउनेजाने र त्यहाँ बस्नेखाने खर्च आफैँले व्यवस्थापन गरेर नै त्यहाँ सेवा दिन पुगेका हुन्छन् ।
रब हलले आफ्नी भावी श्रीमती ज्यान आर्नोल्डलाई पहिलो पटक यहीँ भेटेका थिए, सन् १९९० मा आफू पहिलो पटक सगरमाथा चढेर फर्कंदा ।
बेस क्याम्पभन्दा पहिलेको अन्तिम गाउँ
भोलिपल्ट अप्रिल छ तारिखमा फेरिचेबाट हिँडेको केही घण्टामै उनीहरू खुम्बु ग्लेशिएर क्षेत्रको तल्लो भेग पुग्छन्, जुन समुद्री सतहबाट सोह्र सय फीट उचाइमा अवस्थित छ ।
यो ठाउँबाट अगाडिको बाटो भनेको केवल सर्वत्र फिँजारिएका बञ्जर चट्टान र हिउँ बोकी हिँड्ने सिरेटो मात्रले भरिएको थियो । अल्टीच्यूड समस्या अथवा लेक लाग्ने अवस्थाले पनि यहीँबाट आफ्नो प्रभाव क्रमश : बढाउँदै लैजान्छ ।
यही ठाउँमा क्र्याकाउरहरूले बीस ओटा ढुङ्गे स्मारकरूपी चिहान देख्छन्, जुन वास्तवमा सगरमाथा चढ्ने क्रममा असमयमा र अप्रत्याशित् तवरले कालको ग्रास बन्न पुगेका पर्वतारोहीहरूका थिए ।त्यसमा धेरैजसो चाहिँ शेर्पाहरूको स्मारक थियो ।
फेरि त्यहाँबाट अगाडि बढ्दै जाँदा साँझतिर उनीहरू लोबुजे भनिने सानो गाउँ पुग्छन् ।सोह्र हजार दुई सय सात फीटको उचाइमा अवस्थित लोबुजे सगरमाथा बेस क्याम्प पुग्नुभन्दा पहिले चियाखाजा खाने र केही विश्राम गर्न मिल्ने अन्तिम गाउँ हो ।
लेखक क्र्याकाउरका शब्दमा, यस ठाउँमा उत्सुक पर्वतारोहीहरू, पदयात्रामा हिँडेका उत्साही ट्रेकरहरू, सहयोगी शेर्पा–राई–तामाङ जवानहरू र भारी बोकेका प्रशस्त याक अनि स्थानीय गाउँलेहरूको मिश्रित भीड देखिन्छ ।
लोबुचे उनीहरूका लागि फोहोर गाउँ थियो । त्यहाँ भएका जम्मा चार ओटा लज उपस्थित भीडका लागि नपुग थिए । त्यसकारण हिलो र फोहोर नभएको सुख्खा ठाउँ खोजेर पर्वतारोही र ट्रेकरहरूले यत्रतत्र टेन्ट गाडेका थिए ।
तीन वा चार ओटा कच्ची शौचालय थिए जसले गर्दा नेपाली वा पश्चिमा धेरैजसो मानिसहरू खुल्ला ठाउँमै दिसा–पिशाब गर्न विवश देखिन्थे ।
हिउँ र पानी मिसिएर छेउमा बगिरहेको खोलाले ढलको काम पनि गरिरहेको थियो ।
जेनतेन दुई रात लोबुजेमा बिताएपछि अप्रिल ९ तारिख बिहान उनीहरू आफ्नो अन्तिम लक्ष्यको प्रस्थान बिन्दुतिर लम्कन्छन् । मध्यान्न हुँदै गर्दा उनीहरू “फ्यान्टम एले” भनिने विचित्र दृश्ययुक्त स्थानमा पुग्छन्, जहाँ हिउँका टुक्राटाक्रीभन्दा पनि हिउँ –ग्लेशियर– नै थुप्रेर स्वतन्त्र रूपमा अग्ला–अग्ला डाँडा वा चुचुरा निर्मित भएका थिए ।
कुनै कुनै त्यस्ता हिउँ–टाकुरा त करीब एक सय फीट अग्ला पनि थिए ।पुन : त्यहाँबाट केही मील हिँडेपछि अन्तत : उनीहरू सत्र हजार छ सय फीट उचाइमा रहेको सगरमाथा आधार शिविर –एभरेष्ट बेस क्याम्प– पुग्छन् ।
लेखक क्र्याकाउरको गणनामा बेस क्याम्पमा तीन सयभन्दा धेरै टेन्ट गाडिएका थिए र टेन्टभन्दा धेरै त पर्वतारोही र शेर्पाहरू थिए ।
त्यस ठाउँमा बसेर उनीहरूले त्यसपछिका आउँदा छ साता बिताउने वाला थिए ।
त्यहाँ रहँदा–बस्दा उनीहरूले आफूहरूलाई सगरमाथा चढ्नका लागि हिमाली तापमान –हाई अल्टीच्यूड– सँग तादात्म्य –एक्लीमेटाइज– मिलाउनुपर्ने थियो ।
००० ०००
लेखक क्र्याकाउर सम्मिलित आरोहण दलका टोली नेता रब हल आफैँमा एक जना पर्वतारोही मात्र नभएर हिमाललाई पनि उत्तिकै माया गर्ने मानिस समेत थिए ।
लेखकले सम्झेका छन्, बेस क्याम्पतिर प्रस्थान गर्नु पहिले टोलीका सबै सदस्यहरूलाई एकै ठाउँ राखेर हलले “म दोहोर्याएर तेहर्याएर भन्छु, शेर्पाहरूको सहयोग बेगर हामी कोही पनि हिमाल चढ्न सक्दैनौं । त्यस कारण समेत उनीहरूसित समुचित राम्रो व्यवहार गर्नु पर्छ” भन्दै कुनै र कस्तै बेला पनि व्यवहारमा नचिप्लिन गहन सुझाव दिएका थिए ।
रब हल हिमालको फोहोर र प्रदूषणप्रति पनि चिन्तित थिए । सर्वप्रथम हल र उनका सहकर्मी आरोही साथी ग्यारी बल दुई जना मिलेर सन् १९९० मा बेस क्याम्पबाट पाँच टन फोहोर उठाएका थिए ।
पछि उनीहरूले सरकारका मन्त्रीहरूसित कुराकानी गरेर मन्त्रालयबाट खटाइएका मानिससित मिलेर पनि त्यसरी फोहोर हटाउने अभियान चलाएका थिए ।
अझ अलि पछि गएर सन् १९९६ देखि त नेपाल सरकारले नै आरोहण टोलीसित अन्य सबै शुल्कका अतिरिक्त चार हजार डलर धरौटी लिन थाल्यो । आफू (हरू) ले गरेको सबै किसिमको फोहोर आफूहरू हिमाल क्षेत्रबाट फर्किंदा सँगै लिएर आउनुपर्ने र त्यसरी फोहोर नल्याएमा धरौटी जफत हुने नयाँ व्यवस्था बनेको थियो ।
योबाहेक पनि हल त्यस क्षेत्रमै सबैभन्दा सम्मानित पनि थिए । कसैलाई केही समस्या परेमा वा गाइड र सेवाग्रही र शेर्पाहरूबीच विवाद भएमा झगडियाहरू उनलाई भेट्न आइपुग्थे, र उनले पनि कसैको पक्ष नलिइकन चित्तबुझ्दो समाधान दिइपठाउँथे ।
स्कट फिशर जस्ता धेरै सेवाग्रही बटुल्नुपर्ने प्रतिद्वन्द्वी गाइडहरू पनि उनको सल्लाह लिन आउँथे ।स्कट फिशरको अगुवाइमा उनको टोलीले पनि सन १९९४ मा “सगरमाथा इन्भायोरनमेन्ट एक्सपेडीशन” नामक अभियान अन्तर्गत सगरमाथा क्षेत्रबाट पाँच हजार पाउण्ड फोहोरमैला हटाएको थियो ।
००० ०००
लेखक क्र्याकाउर आफैँ पनि बिरामी हुँदै जान्छन् । लोबुजेमा छँदै उनलाई लागेको खोकी अझ बढ्दै जान्छ, निद्रा पनि खल्बलिन्छ र ‘माइनर अल्टीच्यूड’ को समस्याले सताउन थाल्छ ।
यसले गर्दा उनलाई राति लामोलामो सास लिनकै लागि मात्र पनि तीन–चार पटकसम्म उठ्नुपर्ने भएको थियो । भोक पनि हराउँदै जान थाल्यो र बलपूर्वक केही खाए पनि त्यो पच्न नसक्ने गरी पाचन प्रणाली पनि बिग्रियो ।
आरोहण दलका अन्य साथीहरू एन्डी, माइक, क्यारोलिन, ल्याओ, स्टुवर्ट र जोनलाई पाचन बिग्रिएर उनीहरू पालैपालो ट्वाइलेट गइरहन थालेका थिए, भने अन्य दुई जना डग र हेलेन नराम्ररी टाउको दु :खेर आत्तिइरहेका थिए ।
त्यति बेला उनीहरूले बेस क्याम्पभन्दा प्रत्येक दुई हजार फीटमाथि शेर्पा सहयोगीहरूले खडा गर्ने क्याम्प एकदेखि चारसम्म ओहोदोहोर गर्नपर्ने भन्नेतिर केही सोच्न सकेका थिएनन् ।
खुम्बु आइसफल क्षेत्रमा हरेक आरोहण सिजनमा एउटा एक माइलभन्दा लामो पुल राख्नुपर्ने हुन्छ । बेस क्याम्पबाट क्याम्प एकमा जानका लागि नै पनि त्यो पुल चढेर जानुपर्ने हुन्छ ।
पुलमा अल्युमिनियमबाट बनेका करीब साठी ओटा खुड्किला हुन्छन् र यो पुल चाहिँ ‘गोराक शेप’ भन्ने शेर्पा गाउँबाट भाडामा ल्याएर त्यहाँ जोड्ने अनि बीचमा एउटा आइसफल खसेर बनेको खोँच (गहिरो खाडल) नाघ्न मिल्ने गरी राख्ने गरिन्छ ।
कुनै एउटा समूहले वा कुनै आरोहण दलले अलि पहिले गएर त्यस पुलको व्यवस्थापन गर्छ । र, त्यसपछि अन्य सबै दल, टोली वा एकल आरोहीले त्यो पुल प्रयोग गरे वापत निश्चित शुल्क (टोल) तिर्नुपर्ने हुन्छ, कम्तीमा दुई हजार अमेरिकी डलर ।
हिमाली तापक्रम –हाई अल्टीच्यूड– सँग आरोहीको शारीरिक तापक्रमको सन्तुलन र सामञ्जस्य मिलाउन बेस क्याम्पबाट क्याम्प एकदेखि चारसम्मै केही पटक ओहोर–दोहोर गर्ने क्रम त्यहाँ हुने गर्दछ ।
अन्तत : त्यही चौथो क्याम्पबाट, अर्थात्, छब्बीस हजार केही सय फीटको उचाइबाट शिखर चढ्ने अन्तिम आरोहण–क्रम अगाडि बढ्छ । अन्तिम क्याम्पबाट माथि लागेपछि शिखर नपुग्दासम्म बीचमा थप कुनै क्याम्प हुँदैन ।
ताइवानी र दक्षिण अफ्रिकी टोलीका कुरा
लेखक एवं सगरमाथा आरोही क्र्याकाउरले क्याम्प एक, त्यहाँबाट बेस क्याम्प र अझ त्यसअघि नाम्चे बजारसम्मको हिँडाइका क्रममा भेटिएका ताइवानी र दक्षिण अफ्रिकी अभियान दलबारे पनि सम्झना गरेका छन् ।
मकालु गाओले गाइड गरिरहेको दलमा सगरमाथा चढ्न अगाडि बढिरहेका ताइवानी आरोहीहरूमा लगभग कोही पनि पोख्त पर्वतारोही थिएनन् । उनीहरू रहर र उत्सुकताले गर्दा टन्न धन खर्च गरेरै भए पनि सर्वोच्च शिखर चढेको गौरव हासिल गर्न तम्सेका थिए ।
धेरै अमिल्दो र अमानवीय पनि देखिने चाहिँ दक्षिण अफ्रिकी दल थियो । लेखक क्र्याकाउर यस टोलीका बेलायती नेता इयान वूडालप्रति र उनको निरंकुश, अहंकारी एवं नश्लीय व्यवहारका लागि निकै आलोचक देखिएका छन् ।
जोहानेसबर्गको एक प्रमुख एवं देशकै राष्ट्रिय अखबार “द सन्डे टाइम्स” ले त्यस टोलीलाई मुख्य प्रायोजन गरेको थियो ।आरोहणका लागि नेपालतिर प्रस्थान गर्नुभन्दा पहिले त्यस अभियान दलका सबै सदस्यलाई भेटेर राष्ट्रपति नेल्सन मण्डेलाले आशीर्वादसहित शुभकामना दिएका थिए ।
वूडालको हेपाहा एवं अमानवीय व्यवहारले गर्दा त्यस दलका तीन जना अनुभवी दक्षिण अफ्रिकी आरोही एडमण्ड फेब्रुअरी, एन्डी डे क्लार्क र एन्डी ह्याकल्याण्ड अनि दलकी चिकित्सक शार्लोट नोबल चाहिँ बेस क्याम्पसम्म पनि पुग्न नपाई स्वदेश फर्किनु परेको थियो ।
उन्चालीस वर्षीय एडमण्ड फेब्रुअरी चाहिँ टोलीका एक मात्र अश्वेत आरोही थिए ।
उनले त अझ सँगै रहेका टोलीका सदस्यद्वय “द सन्डे टाइम्स” का पत्रकार केन भर्नोन र फोटोग्राफर रिचर्ड शोरेलाई पनि अपमानजनक तवरले घर फिर्ता पठाइदिए भने पदयात्रा गर्दै दक्षिण अफ्रिकी आरोहण दललाई बेस क्याम्पमा भेट्ने गरी कार्यक्रम मिलाएर श्रीमती र अन्यसँगै फेरिचे गाउँसम्म आइपुगेका त्यही पत्रिकाका एक सम्पादक केन ओवेनलाई पनि मार्नेसम्मको धम्की दिँदै निकै अपमानित गरेका थिए ।
ओवेनले जोहानेसबर्ग कार्यालयमा खबर गरेपछि पत्रिकाले त्यस अभियान दललाई गरेको प्रायोजन फिर्ता लिएको थियो तर प्रायोजन रकम पहिले नै हस्तान्तरण भइसकेको थियो, र वूडालले त्यसलाई फिर्ता गर्ने आशय पनि देखाएनन् । र, गरेनन् पनि ।
अझ वूडालले त टोलीकी एक मात्र अश्वेत महिला आरोही डेशन डेजेलका लागि त आरोहण अनुमति शुल्क –परमीट चार्ज– नै चुक्ता गरी दिएनन्, र त्यसरी सँगै भएर पनि उनलाई शिखर चढ्ने अभियानबाटै पाखा लगाइदिएका थिए ।
पछि, मे १० तारिखमा भएको दुर्घटनामा फँसेका अन्य कतिपय आरोहीलाई उद्धार गर्नका लागि रब हलको टोलीलाई अत्यावश्यक परेको बेला तिनै वूडालले उनको टोलीसित रहेको शक्तिशाली रेडियो ट्रान्समिटर प्रयोग गर्न पनि दिएका थिएनन् ।
त्यही अभियान दलकै नेताका रूपमा वूडाल मे २८ तारिखमा सगरमाथा चढ्न सफल भएका थिए ।त्यही टोलीकी महिला सदस्य क्याथी ओ’डाउड र अन्य चार जनाले पनि त्यसरी शिखर चढेका थिए । उनीहरू सबै जना श्वेतहरू थिए ।
केही वर्षअघि मात्र ब्रिटिश रङ्गभेदी शासनबाट मुक्ति पाएको नवस्वाधीन राष्ट्र दक्षिण अफ्रिकाका लागि सगरमाथा चढेर समन्याय र समानताको सन्देश दिन चाहेका अश्वेत आरोही कसैले पनि बेस क्याम्पभन्दा माथि जान पाएनन् ।
००० ०००
त्यस वर्ष पाँच ओटा इन्टरनेट वेबसाइट पनि बेस क्याम्प पुगेका थिए र संसारभर सगरमाथा आरोहणको समाचार सम्प्रेषण गरिरहेका थिए ।
दक्षिण अफ्रिकी टोलीसँग एउटा वेबसाइट थियो, अर्को चाहिँ आरोही माल डफले नेतृत्व गरिरहेको इन्टरनेशनल कमर्शियल एक्सपेडीशन टोलीसँग थियो।
अर्को शक्तिशाली वेबसाइट म्याकगिलीभ्रे फ्रीम्यान आइम्याक्स एक्सपेडीशन टोलीसँग थियो, जसले पीबीएस टेलीभिजनको ‘नोभा’ भन्ने शोका लागि सूचना र फीचर सम्प्रेषण गर्दै थियो ।
स्वयं स्कट फिशरको टोलीमा दुई प्रतिद्वन्द्वी वेबसाइटका लागि सूचना सम्प्रेषण गर्नका लागि दुई जना पत्रकार थिए ।फिशरको टोलीमा रहेकी एक पत्रकार जेन ब्रोमेट थिइन् जसलाई केवल बेस क्याम्पसम्म मात्र पुग्ने अनुमति थियो भने अर्की पत्रकार चाहिँ स्यान्डी हील पिटम्यान थिइन् र उनले शिखरसम्मै पुगेर समेत एनबीसी इन्टर्याक्टिभ मीडिया कम्पनीका लागि समाचार सम्प्रेषण गर्ने दायित्व पाएकी थिइन् ।
पत्रकार स्यान्डी हील पीटम्यान
स्यान्डी हील एक जना म्यागेजिन पत्रकार, टेलीभिजन प्रस्तोता र लखपति पर्वतारोही थिइन् । यस पटक सगरमाथा चढ्ने उनको तेश्रो प्रयास थियो ।
यसअघि उनले सन् १९९३ मा सगरमाथा चढ्न खोज्दा आफ्नो नौ वर्षे छोरा र एक जना सुसारे समेत लिएर बेस क्याम्प पुगेकी थिइन्, र त्यो वर्ष उनले करीब २४ हजार फीट उचाइसम्म मात्र पुगेर फर्किनु परेको थियो ।
अर्को पटक सन् १९९४ मा फेरि सगरमाथा चढ्ने जमर्को गरेकी थिइन्, र, त्यसका लागि उनले न्यूयोर्कमा विभिन्न कर्पोरेट समूहबाट गरी करीब तीन लाख डलर प्रायोजन रकम उठाएकी थिइन्, चार जना नामूद अमेरिकी पर्वतारोहीलाई राम्रो रकम दिएर आफ्नो गाइड र सहयोगी बनाएर नेपाल लगेकी पनि थिइन्, तर यस पटक उनलाई मौसमले साथ दिएन र उनी बाइस हजार फीट उचाइमा पुगेपछि थप आरोहण परित्याग गर्दै फर्किनु परेको थियो ।
तर यस पटक अर्थात् सन् १९९६ मा आफ्नो तेश्रो प्रयासमा भने उनी सगरमाथा शिखर चुम्न (मे १० मा) सफल भइन् । योसँगै उनी सात महादेशका सातै ओटा सर्वोच्च हिमाल चढ्न सफल दोश्रो अमेरिकी महिला बन्न पुगिन् ।
उनीभन्दा पहिले म्यारी “डली” लेफेभर यो सम्मान हासिल गर्ने प्रथम अमेरिकी महिला पर्वतारोही बनेकी थिइन् । आफ्नो किताबमा लेखक क्र्याकाउरले स्यान्डी हीलको आलोचना गरेका छन् ।
स्यान्डीले धनको तुजुक देखाउने गरेको, पर्वतारोही आफैँले बोक्नुपर्ने वा गर्नुपर्ने कतिपय सामान्य काम पनि नगरेको, ‘मै छोरी सुन्दरी, कसरी भरूँ पानी’ भन्ने जस्तो व्यवहार गरिरहने, र त्यसले गर्दा दलका अन्य सदस्यहरूलाई समस्या पर्न गएको आदि जस्ता कुराहरू पनि लेखेका छन् ।
००० ०००
लेखकले स्थानीय शेर्पाहरूमा रहेको कट्टर बौद्ध धार्मिकतासँग साक्षात्कार भएको रोचक प्रसङ्ग पनि उल्लेख गर्न भुलेका छैनन् ।बौद्ध ऋचाहरू, खास गरी ‘ओम माने पद्मे हूँ’, लेखिएका झण्डा वा लुङ्गदर र छोर्तेन ठाउँठाउँमा गाडेर राखिएका हुन्छन् । अनि ती लुङ्गदरहरूमा शेर्पाहरूले धूपबत्ती बाल्ने, मन्त्रोच्चारण गर्ने र अन्य पूजाआजा गर्ने गर्दछन् ।
शेर्पाहरूको विचारमा सगरमाथा बेस क्याम्प वा त्यसमाथिका कुनै क्याम्पमा पनि शारीरिक सम्पर्क गर्नु हुँदैन, त्यसमा पनि परस्त्री वा परपुरुषसँग त झन् गर्नै हुँदैन, र, यदि त्यसो गरेमा ‘संसारकी देवी’ सगरमाथा रिसाउँछिन् र केही न केही अनिष्ट हुन्छ ।
यस्तो शारीरिक सम्पर्कलाई उनीहरू “चटनी बनाउने” (सस–मेकिङ) भन्ने गर्दा रहेछन् ।एक जना अमेरिकी महिला आरोहीले क्याम्प टूमा स्थानीय शेर्पा न्गावाङ टोप्चेसँग पटक–पटक शारीरिक सम्पर्क गरेकी थिइन् ।
ती अमेरिकी महिला आरोहीलाई त केही भएन, तर न्गावाङ टोप्चे भने अचानक बिरामी परे । उनलाई सक्दो चाँडो बेस क्याम्प झारियो र तत्काल सघन उपचारका लागि हेलिकोप्टर चार्टर गरी काठमाडौं पठाइयो । त्यहीँ केही दिनपछि नै उनको मृत्यु भयो ।
००० ०००
बेस क्याम्पमा पुगेपछि नै रब हलले आफ्नो टोलीका सेवाग्राहीहरूलाई भनेका थिए, “हामीहरू मे १० तारिखका दिन शिखर चढ्ने हो । यसभन्दा पहिले म चार पटक सगरमाथा चढ्न र चढाउन समेत सफल भएको छु, र तीमध्ये दुई पटक त यसै दिन चढेको हो ।…
“शेर्पाहरू पनि यो दिनलाई आरोहणका लागि पवित्र मान्दछन् ।”
खासमा के पनि हो भने मे १० वा त्यस अघि वा पछिको दिन सगरमाथा शिखरमा जान–आउनका लागि वर्षभरमै सबैभन्दा सुहाउँदो र अनुकूल मौसम हुने समयावधि पनि हुने गर्दछ ।
लेखक क्र्याकाउरले आरोहण क्रममा शरीरलाई स्फूर्तिमय बनाउन तातो शेर्पा चिया र अन्य शारीरिक थकान मेट्न स्थानीय भाषामा ‘छ्याङ’ भनिने बाक्लो जाँड खाने प्रवृत्ति निकै चल्तीमा रहेको उल्लेख गरेका छन् ।
त्यो छ्याङ चाहिँ चामल र कोदो मिसाएर बनाइएको हुन्छ ।
शिखर आरोहणका लागि एकै पटक धेरै भीडभाड नहोस् भन्नाका लागि रब हलले स्कट फिशरसँग भेटेर अन्य आरोहण दलसँग भिन्न–भिन्न मितिमा चढ्ने गरी सहमति कायम गरे, तर केवल इयान वूडालले “आफूखुसी कुनै पनि दिन चढ्ने” भन्दै उनको प्रयासप्रति असहमति जनाएका थिए ।
यसै क्रममा लेखकले इटालियन पर्वतारोही रेनहोल्ड मेसनर र अष्ट्रियन पर्वतारोही पीटर ह्याबलरलाई पनि ससम्मान उल्लेख गरेका छन् । यी दुई जना यूरोपेली पर्वतारोहीले मे ८ सन् १९७८ मा कृत्रिम अक्सीजन प्रयोग नगरीकन पहिलो पटक सगरमाथा चढेका थिए ।
अझ त्यसको दुई वर्षपछि सन् १९८० मा मेसनर कोही पनि सहयोगी र कृत्रिम अक्सीजन पनि नलगी सगरमाथको एकल आरोहण गरेका थिए ।
समुद्र सतहभन्दा त्यति अग्लाइमा पनि मान्छे बाँच्न सक्छ भन्ने उनीहरूले प्रमाणित गरेका थिए । त्यसले गर्दा पर्वतारोहण क्षेत्रको परिभाषा नै फेरिएको थियो ।
फेरि, उनै मेसनर आठ हजार मीटरभन्दा अग्ला सबै चौध ओटा हिमाल चढ्ने विश्वकै प्रथम पर्वतारोही पनि बन्न सफल भएका थिए ।
सगरमाथा चुली टेक्न अन्तिम आक्रमण
मे १० तारिखमा बिहान दुई बजेपछि लेखक क्र्याकाउर समेत टोलीका सबै सदस्य शिखरमा पुग्ने अन्तिम आक्रमणका लागि हिँडेका थिए ।
पछि उज्यालो भए पश्चात् लेखकले देखे अनुसार, पचास जना भन्दा धेरै पर्वतारोही एकअर्काबाट लगभग एक सय मीटर दूरी कायम राख्दै हिउँ–उकालोमा लामबद्ध हिँडिरहेका थिए ।
त्यहीँ उनले देखे, स्कट फिशरको टोलीकी एक सदस्य स्यान्डी हीललाई त्यही टोलीका एक शेर्पा सरदार लोप्साङ जाङ्गबू कुनै एउटा गाडीलाई अर्को गाडीले ताने जसरी नै तान्दै शिखरतिरको उकालोमा डोर्याउँदै थिए !
अघि र पछि हुँदै शिखरतिर बढिरहँदा क्र्याकाउरको बोटल–अक्सीजन सकिने सम्भावना देखा पर्छ । त्यसले गर्दा उनी गाइड नील बीडलम्यानसँग अनुमति लिएर अरूहरूभन्दा पहिला शिखरतिर जाने अनुमति लिन्छन्, र दिउँसो १ बजेर १२ मिनेट हुँदा सर्वोच्च हिमचुली टेक्न पुग्छन् ।
चुलीमा उभिएर एक बाजी तिब्बततिर र अर्को बाजी नेपालतिर हेर्छन्, आफ्नो ब्याकप्याकबाट ‘आउटसाइड’ पत्रिकाको ब्यानर –जसलाई उनकी पत्नी लिन्डाले थप आकर्षक बनाइदिएकी थिइन्– निकालेर शिखरमा गाड्छन्, र शिखर पुगिसकेका दुई जना गाइड एन्डी ह्यारीस र एनातोली बुकरीभका फोटो खिँच्छन, अनि आफ्नो पनि खिँच्न लगाउँछन् ।
अनि, आफूसँग भएको वृmत्रिम अक्सीजन सकिने र तल क्याम्प फोरमा नपुग्दासम्म तत्काल अर्को बोटल पाउने सम्भावना नभएकाले उनी तत्काल शिखरबाट ओर्लन थाल्छन् । (कृत्रिम अक्सीजन आरोहीलाई प्रतिघण्टा तीन र अलि गाह्रो हुँदा चार लीटरसम्म आवश्यक पर्छ) ।
तर केही तल हिलारी स्टेपसम्म आइपुग्दा माथि शिखरतिर उक्लिन लाइन लागेका डेढ–दुई दर्जन आरोही देखिन्छन् र नचाहेर पनि उनले त्यहाँ करीब एक घण्टाभन्दा केही बढी समय कुर्र्दै बिताउनु पर्छ ।
त्यहाँ रब हल भेटिन्छन् र उनले आफ्नो दलका फ्र्याङ्क फीशबेक, बेक वेदर्स, ल्याओ काजीस्की, स्टुअर्ट हचिन्सन र जोन टास्क गरी पाँच जना सदस्य शिखर चढ्ने आँट नै नगरी बेस क्याम्पतिर फर्किइसकेको प्रसङ्ग अत्यन्त दु :ख मान्दै सुनाउँछन् ।
हिलारी स्टेपबाट तल ओर्लेर साउथ समीट पुगेपछि त्यहाँ गाइड एन्डी ह्यारीस देखिए, जो अक्सीजन बोटलको थुप्रो हेर्दै मिल्क्याउँदै गरिरहेका थिए ।
क्र्याकाउरले उनीसँग एउटा अक्सीजन माग्दा उनले सबै अक्सीजन क्यानिष्टर रित्तो भएको बताए । केही पछि क्र्याकाउरलाई शिखर पुगेर झर्दै गरेका गाइड माइक ग्रूमले अक्सीजन बोटल दिन्छन् ।
त्यसो त आकाश सफा र नीलो थियो तर अपरान्ह साढे तीन बजेतिरबाट मौसम झ्याप्पै बिग्रँदै गयो ।समय अँध्यारियो । करीब पाँच इन्च बाक्लो हिउँ पर्न थाल्यो । गड्याङ्गुडुङको भयानक आवाजसहित आकाशमा बिजुली चम्किन थाल्यो ।
साढे ६ बजेतिर माथिबाट डरलाग्दो हिउँआँधी आउँदै गरेको देखिन थाल्यो । क्र्याकाउरले पछि थाहा पाए– रब हल, माइक ग्रूम, स्यान्डी पीटम्यान र अन्य केही जना २ :१० बजेतिर मात्र शिखर पुगेका थिए भने फिशर चाहिँ ३ :४० बजे मात्र त्यहाँ पुगेका थिए ।
खासमा त फिशर अगिल्लो दिन अर्थात् मे ९ तारिखको अपरान्हदेखि नै थकित र अस्वस्थ देखिएका थिए, तर उनले आफूलाई त्यस्तो पटक्कै देखाउन चाहेका थिएनन् ।
(अझ हल र फिशरको योजना त के थियो भने दुई बजे उता शिखर र वरपरको मौसम बिग्रने हुँदा त्यतिबेलासम्म जो शिखर चढ्न सके भने सके, अन्यथा जो जहाँ पुगेको भए पनि त्यस दिनका लागि फेरि क्याम्पतिर नै फर्किनुपर्ने थियो ।) ।
हिमपात र आँधीको अँगालोमा
हिउँआँधी अझ तेज र डरलाग्दो हुँदै थियो । हिमपातसहितको पहिरो पनि आउने लक्षण देखा परिसकेको थियो ।स्यान्डी पीटम्यान हिँड्न नसक्ने अवस्थामा पुगेकी थिइन् । उनलाई पहिले त गाइड बीडलम्यानले समातेर अनि पछि आफूसँगै डोरीमा बाँधेर केही तलसम्म ल्याए ।
त्यतिले पनि नपुगेपछि स्यान्डीलाई औषधीका रूपमा स्टेरोइड दिइएको थियो । (हिमाल आरोहण गर्न जाने लगभग सबैले सङ्कटकालका लागि भनेर स्टेरोइड लग्ने गरेका हुन्छन् ।) ।
लेखक–पर्वतारोही क्र्याकाउरलाई गाइड एनातोली बूकरीभको व्यवहार अनौठो लाग्छ ।किनभने, उनी शिखरमा पुगे लगत्तै तल ओर्लिन्छन्, केही समय हिलारी स्टेपको भीडलाई माथि आउन बाटो छोड्दै उभिन्छन्, र त्यसपछि हिउँआँधी खतरनाक हुँदै गएको भए पनि हतारहतार क्याम्प फोरमा आफ्नो टेन्टमा पुगेर तातो चिया खाँदै विश्राम गर्छन् ।
उनले त आफ्नो टोलीका अन्य सदस्यहरूलाई सघाउनुपर्ने पो थियो त !साँझ करीब साढे सात बजेतिर बूकरीभ अक्सीजन सिलीन्डर बोकेर हिउँआँधीमा हराइरहेका अन्य साथी र सेवाग्राहीको खोजीमा निस्कन्छन् । तर, अर्का गाइड बीडलम्यानसँग रेडियो नभएजस्तै, उनीसँग पनि रेडियो थिएन ।
यसले गर्दा अँध्यारो र हिउँआँधीमा अलपत्र परेका अन्य सेवाग्राही कहाँ कता थिए भन्ने उनलाई थाहा हुन सकेन ।केही सफलता हात नलागेपछि बूकरीभ राति करीब नौ बजेतिर टेन्टमा फर्किन्छन् । अहिलेसम्म उन्नीस जना पर्वतारोही सम्पर्कभन्दा बाहिर थिए ।
त्यहीबीच बिहान करीब पौने एक बजे बीडलम्यान, ग्रूम, शोनिङ र ग्यामलगार्ड लत्रिँदै क्याम्पभित्र छिरे । उनीहरूले शार्लोट, स्यान्डी र टीम तीनै जना अत्यन्त अप्ठ्यारो अवस्थामा रहेको भन्दै उनीहरू भएको ठाउँबारे पनि जानकारी दिए ।अरू दुई जना –बेक र यासुको– पनि अत्यन्त संवेदनशील अवस्थामा रहेको जानकारी मिल्यो ।
मध्यरातको त्यो समयसम्ममा हिमपात बन्द भइसकेको थियो र हिउँआँधी पनि कम भइसकेको थियो, बरु चीसो हावा चाहिँ चलिरहेकै थियो ।गाइड बूकरीभ अन्य कसैसँग सल्लाह नगरी बेपत्ता र अलपत्र परेका अन्य आरोहीको खोजीमा टेन्टबाट बाहिरिए । तर एक घण्टा खोज्दा पनि कोही नभेटिएपछि हताश उनी पुन : टेन्टभित्र आइपुगे ।
तापनि बूकरीभले हार मानेनन्, अर्का गाइड बीडलम्यान र शोनिङसित थप जानकारी बटुले, अनि फेरि आरोहीको खोजीमा अँध्यारो हिउँआँधीभित्र हराए।
यस पटक भने उनले आरोही म्याडसनको मधुरिँदै गएको शीरबत्ती (हेडल्याम्प) देखे र उनै मार्फत केही अन्य बेपत्ताहरूबारे पनि थाहा पाए । म्याडसन अझै पूर्ण होशमै थिए र आफ्नो हेरचाह गर्न सक्ने अवस्थामा थिए ।
तर पीटम्यान, फक्स र बेक वेदर्स पूर्णत : असहाय थिए भने जापानी आरोही यासुको नाम्बा त लगभग मरेतुल्य अवस्थामा थिइन् । बूकरीभले म्याडसनसित कुराकानी गरे र आफूले एकपटकमा एक जनालाई मात्र टेन्टसम्म लग्न सक्ने बताउँदै आफ्नो उद्धार कार्यमा लागे ।
यासुको नाम्बा हलचल नगरी आकाशतिर हेरेजस्तो गरी ढलेकी थिइन् ।
म्याडसनले उनलाई हेरे, उनको देब्रे हात नाङ्गो थियो, त्यसमा लगाएको पञ्जा कतै खसेको थियो र हात नै एकदम अररो भएको थियो ।केही छिनपछि अचानक नाम्बाको शरीरमा हलचल भयो, लगत्तै पछि शान्त पनि भयो, र त्यसपछि भने त्यो शरीर कहिल्यै हलचल भएन । यासुको नाम्बा यो संसारमा नरहेको समाचार आफूहरू रहेको क्याम्पमा सुनेर गाइड बीडलम्यान पैंतालीस मिनेटसम्म रुँदै बसेका थिए ।
सगरमाथा–दुर्घटनाका निर्दोष शिकार
भोलि बिहान भयो, अर्थात् मे ११ तारिख । एन्डी ह्यारीस आफ्नो वा अन्य कसैको टेन्टमा फर्किएनन् । बेक पनि राति नै हिउँआँधीमा कक्रिक्इसकेका थिए।
रब हल शिखर छेउछाउ थिए र तल ओर्लिनका लागि बेस क्याम्पमा फोन गर्दै सहायता मागिरहेका थिए । स्कट फिशर कुनै सम्पर्क नभई बेपत्ता थिए ।
तर क्याम्प फोरमा क्र्याकाउरहरूसँग रेडियो थिएन, ब्याट्री चार्ज सकिएको थियो ।
रब हलको टोलीसँग सम्बन्ध टुटेकाले उनीहरूलाई सहयोग गर्नका लागि आइम्याक्स आरोहण टोलीमा रहेका क्र्याकाउरका परिचित डेविड ब्रेशरले दक्षिण अफ्रिकी टोलीसँग रहेको शक्तिशाली रेडियो प्रयोग गर्न दिन अनुमति मागे ।
तर दक्षिण अफ्रिकी टोली नेता इयान वूडालले त्यसो गर्न मानेनन् ।
रब हल चार बजेसम्म शिखरमै रहेर टोलीका अन्तिम सेवाग्रही अमेरिकी डग ह्यानसनलाई कुरी बसेका थिए ।शिखरभन्दा केही फिट तल उनलाई देख्ने बित्तिकै हल आफू चालीस फीट तल ओर्लेर त्यहाँबाट ह्यानसनलाई अँगालोमा बाँधेर शिखरसम्म ल्याई पुर्याएका थिए ।
केही मिनेट मात्र त्यहाँ शिखरमा बसेर उनीहरू दुवै जना लामो अवतरणतर्फ लागेका थिए ।तर केही मात्र तल हिलारी स्टेपसम्म आइ पुग्दा–नपुग्दै उनीहरूको अक्सीजन बोटल रित्तियो । हलले फोन गर्दै तलबाट आफूहरूलाई दुई बोटल अक्सीजन यथाशक्य छिटो ल्याएर सहयोग गर्न आग्रह गरे, तर त्यो उनलाई उपलब्ध हुन सकेन ।
रब हल आफू एक्लै त तल ओर्लिन सक्थे तर उनी आफ्ना क्लाइन्ट ह्यानसनलाई त्यहाँ एक्लै छाडेर हिँड्न तयार भएनन्, उनको मनले मानेन ।
००० ०००
उता फिशरका अन्तरङ साथी तथा शेर्पा मुखिया (सरदार) लोप्साङ जाङ्गबूले क्र्याकाउरलाई भने अनुसार, तल ओर्लिंदै गर्दा फिशर एकदमै अस्वस्थ थिए ।
फिशर दश पाइला हिँड्थे र थचक्क बस्थे । घरी आफू हिँड्न नसक्ने त घरी एकै पटक तल फाल हाल्छु भन्थे । तर जाङ्गबूले उनलाई त्यसो गर्न दिएनन् र आफूसँगै विस्तारै–विस्तारै क्याम्पतिर ओर्लन सहमत गराए ।
त्यो बेला हिउँआँधी झन्झन् भयावह हँुदो थियो । अझ त्यसै समयमा उनीहरूकै छेउमा जस्तो गरी दुई पटक ठूलो आवाजमा चट्याङ पर्यो, त्यसै–त्यसै डर लाग्ने पो बनायो ।
आठ बजेतिर हिउँले ढाकिएको अलिकति समथर ठाउँ आएपछि फिशर त्यहीँ बसे । केही छिनमा हिउँले पुरिएको जस्ता देखिने मकालू गाओ पनि दुई जना शेर्पासहित त्यहाँ आइपुगे ।
थप हिँड्न गाह्रो भइरहेका मकालुलाई उनीहरू दुई जनासित त्यहीँ छाडेर दुवै शेर्पा तल ओर्लनेतिर लागे ।एक घण्टा त्यहाँ बसिसकेपछि फिशरले जाङ्गबूलाई आफू र मकालू त्यहीँ बस्ने र जाङ्गबूलाई तल क्याम्प गएर अनातोली बूकरीभ र केही शेर्पालाई माथि पठाउन भने ।
फिशर छ फीटभन्दा अग्ला थिए, र वजनदार थिए तर जाङ्गबू छोटो कदका थिए र छिटा थिए, सगरमाथा चढ्न र ओर्लन उनलाई अक्सीजन आवश्यक थिएन ।
उनले फिशरको करा माने र रातिको अँध्यारोमा ओर्लिंदा बीचमा बाटो बिराउँदै फेरि पहिल्याउँदै अन्तत : क्याम्पमा पुगे, र, बुकरीभलाई स्कट फिशर सङ्कटमा भएको, तत्काल सहायता आवश्यक रहेको र उनैलाई बोलाएको सूचना सुनाए ।
तर मौसममा सुधार नभएकाले फिशर र रब हलसम्म कोही पुग्न सकेन । फिशरलाई खोज्दै गाइड बुकरीभ भोलिपल्ट (अर्थात् मे ११ मा) एक्लै राति साढे सात बजेतिर उनी समक्ष पुगेका थिए ।
तर धेरै प्रयास गर्दा पनि फिशरमा जीवनको कुनै लक्षण देखिएन । र, सबै आश त्यागेर फिशरलाई त्यहीँ छाडी बुकरीभ एक्लै शिविरतिर फर्किए ।
००० ०००
हलका पुराना साथी र त्यस वर्ष छेउको पुमोरी हिमालको आरोहण निम्ति गाइड बनेका पर्वतारोही गाई कोटरले तत्काल सगरमाथा बेस क्याम्पमा आइपुगेर न्यूजील्याण्डमा सम्पर्क स्थापित गरी हललाई उनकी गर्भवती पत्नी जेन आर्नोल्डसित फोन गर्न लगाएका थिए ।
सञ्चो–बिसञ्चो सोधपूछ, मौखिक माया साटासाट र केही अरू सामान्य कुराकानी भइसकेपछि अन्त्यमा हलले आफ्नी पत्नीलाई भनेका थिए, “म तिमीलाई माया गर्छु । राम्रोसँग सुत्नू, मेरो मनकी रानी । अनि धेरै चिन्ता पनि नलिनू, ल ।”
संयोग, यिनै केही शब्द नै रब हलका अन्तिम शब्द पनि बन्न पुगे । किनभने त्यसपछि उनी कहिल्यै बोल्न सकेनन्, बोलेनन्, र, कसैले उनको आवाज सुन्न पाएन ।
त्यस रात र त्यसपछिको बिहान अनि दिनभरी नै र त्यसपछि कहिल्यै हलसित रेडियो–फोन सम्पर्क नै हुन सकेन । त्यसपछि उनको खोजी शुरू भयो, तर उनी भेटिएनन्, एकै पटक माथि उल्लिखित घटनाको बाह्र दिनपछि मात्र हिउँले आधा छोपेको अवस्थामा रब हलको शव भेटिएको थियो ।
००० ०००
हिउँले नराम्ररी खाएका मकालु गाओ र डग ह्यानसन अनि शार्लोट फक्स र माइक ग्रूमलाई चार्टर्ड हेलिकोप्टरबाट उपचारार्थ सोझै काठमाडौं लगियो ।
मे १६ मा लेखक क्र्याकाउर समेत अन्य पाँच जनालाई हेलिकोप्टरबाट बेस क्याम्पबाट फेरिचे र फेरि त्यहाँबाट स्याङ्बोचे पुर्याइयो ।
अलिकति धुलौटे बाटो हिँडेर उनीहरू नाम्चे बजार पुगे अनि त्यहाँबाट काठमाडौंका लागि उडानमा बसे ।
नाम्चे बजारमा जापानबाट तत्काल आइपुगेका एक जना दुई पटक सगरमाथा चढिसकेका मुनियो निकीता, यासुकोका पति केनिची नाम्बा र यासुकोका भाइ समेत तीन जना जापानी नागरिकले उनीसँग केही दिन पहिले भएको सगरमाथा दुर्घटनामा परेकी यासुको नाम्बाबारे करीब पैंतालीस मिनेटसम्म सोधी रहे ।
तर लेखक र अन्यले धेरै जवाफ दिन सकेनन् ।
सगरमाथा आरोहण क्रममा भएको सैंतालीस वर्षीया यासुको नाम्बाको मृत्युको समाचार जापानमा अप्रत्याशित, हृदयविदारक र राष्ट्रिय शोकको विषय बनेको थियो ।
उनी सगरमाथा चढेपछि विश्वकै प्रथम महिला जुन्को ताबेईपछि सात महादेशका सात ओटै सर्वोच्च शिखर (सेभन समीट्स) चढ्ने दोश्रो जापानी महिला पनि थिइन् ।
काठमाडौंमा पनि त्रिभुवन विमानस्थलमा देशी–विदेशी मीडियाकर्मीहरूको ठूलो हुलले घेरेर उनीहरूलाई एकपछि अर्को प्रश्नका झटारो हानेका थिए । त्यही बीचमा काठमाडौं स्थित अमेरिकी दूतावासका एक अधिकारीले क्र्याकाउरलाई उनी बस्ने ठमेलको होटल गरुड पुर्याइदिएका थिए ।
सगरमाथा–सम्झनाको भुरूङले भिजायो सिरानी
लेखक क्र्याकाउर होटलमा राति सुत्न सकेनन् । उनको मनभरी र मस्तिष्कभरी उही सगरमाथा–क्षेत्रका परिघटनाहरू नै लगातार आइरहे ।
भोलिपल्ट उनले बिहानै कोही नेपाली युवकलाई राम्रै रकम दिई गाँजा किने, त्यसलाई चुरोटमा राखेर गहिरो गरी ताने र नग्न अवस्थामा उत्तानो परेर ओछ्यानमा ढल्किए ।
तापनि मे १९ मा अमेरिका प्रस्थान गर्नु अघिसम्म पनि आफूलाई सगरमाथा–सम्झनाको भुरूङबाट बाहिर निकाल्न सकेका थिएनन् ।दु :ख, पीडा, ग्लानि, लज्जाबोध र साथीहरू गुमाएको वेदना आदि सबैको मिश्रित भाव उनका आँखाबाट बगेर सिरानी भिजाइरहेको थियो ।
स्वदेश फर्की सकेर तीन महिनापछि सेप्टेम्बरमा ‘आउटसाइड’ पत्रिकामा सत्र हजार शब्द लामो उनको लेख छापिएपछि समर्थन र विरोधमा अत्यधिक पाठक–प्रतिक्रियाहरू आइरहेका थिए ।
कतिपय चिठ्ठीमा सगरमाथामा मृत्यु भएकाहरूप्रति समवेदना र जीवित फर्केकाहरूप्रति जीवन्त सहानुभूति थियो भने कतिपय चिठ्ठीमा बाँचेर आएकाहरूले दुर्घटनामा परेकाहरूप्रति लापरवाही गरेको दोषारोपण थियो ।
अझ, त्यस अप्रत्याशित् सगरमाथा–दुर्घटनामा प्राण गुमाउनेहरूका कतिपय पारिवारिक सदस्यहरूले सोझै क्र्याकाउरलाई सम्बोधन गर्दै स्वयं उनलाई आलोचना गर्दै गहिरो दु :खेसो पोखेका थिए ।
सगरमाथा चढेको खुसीयालीपूर्ण गर्वभन्दा बरु पीडा, वेदना र अज्ञात ग्लानिको भाव काँडा जस्तो भएर बारम्बार हृदयको द्वारमा ढकढक गर्न आइरहन्थ्यो।
००० ०००
सँगै सगरमाथा आरोहण गरेका मिशीगनवासी त्रिपन्न वर्षीय वकील ल्याओ काजीस्कीले केहीपछि नोभेम्बरमा क्र्याकाउरलाई एउटा चिठ्ठी लेखेका थिए ।
त्यस चिठ्ठीमा उनले भनेका थिए, “आफूभित्र पलाएको अवसादजन्य व्यथा मेटाउन मैले केही महिना निरन्तर प्रयास गरिरहें । तर अझैसम्म सकेको छैन।……
“सगरमाथा आरोहण अभियान मेरो जीवनको सबैभन्दा नराम्रो र सर्वथा बिर्सनयोग्य अनुभव बन्न पुगेको छ । म सकारात्मक हुने प्रयास पनि गरिहेकै छु।……
“यही क्रममा मैले जीवनलाई पहिले कहिल्यैभन्दा बिल्कुल फरक ढङ्गले हेर्न सिकेको छु ।”सगरमाथाबाट फर्किंने (ओर्लिने) क्रममा काजीस्कीलाई हेलिकोप्टरबाट उद्दार गरिएको थियो ।
उनीसँगै रहेका अर्का साथी बेक वेदर्स चाहिँ सन् १९९६ को सगरमाथा–दुर्घटनाका एक पीडित थिए । फर्केर अमेरिका आइसकेपछि वेदर्सको दाहिने हातको कुहिनोमुनिको सबै भाग काटेर फाल्नु परेको थियो ।
त्यति मात्र नभएर, वेदर्सको देब्रे हातका पाँच ओटै औंला पनि काटेर फाल्नु परेको थियो ।उनको (वेदर्सको) नाक पनि काट्नु परेको थियो तर नाकलाई चाहिँ उनकै कान र निधारबाट तन्तु (टीश्यू) सहितको मासु निकालेर नयाँ नाक बनाइएको थियो ।
००० ०००
क्र्याकाउरले आफ्नो किताबमा लेखेका कतिपय घटना, विचार र प्रसङ्गहरूसँग सहमत हुन नसकेर उनीहरूसँगै सगरमाथा आरोहण गर्न पुगेका रुसी गाइड अनातोली बूकरीभले त सन् १९९७ मै “द क्लाइम्ब : ट्र्याजिक एम्बीशन्स अन एभरेष्ट” शीर्षकमा एउटा सिङ्गो पुस्तक नै प्रकाशित गरे ।
त्यसैगरी अमेरिकी एडभेन्चर फोटोग्राफर ग्यालेन एभेरी रोवेल पनि क्र्याकाउरको लेखनप्रति आलोचक बनेर देखिए ।
त्यही वर्ष बेलायती आरोहण टोलीमा सदस्यका रूपमा सगरमाथा पुगेका र मे १० को हिमआँधीको बेला २६ हजार फीटमाथि अवस्थित ‘साउथ कोल’ मा सुरक्षित भई बसेका बेलायती पर्वतारोही ग्राहम र्याट्क्लिफले पनि क्र्याकाउरको आलोचना गरेका छन्, खासगरी मौसम सम्बन्धी सूचना समुचित ढङ्गले त्यस आरोहण क्रममा प्राप्त नभएको भन्ने सम्बन्धमा ।
र्याट्क्लिफले “अ डे टू डाई फर : १९९६ : एभरेष्ट्’स वस्र्ट डिजास्टर – वान सर्भाइभर्स पर्सनल जर्नी टू अनकभर द ट्रूथ” शीर्षकमा एउटा किताब नै लेखे । र, त्यो किताब फेब्रुअरी २०११ मा प्रकाशित भएको थियो ।
००० ०००
हिमाल आरोहण, अर्थात्, हिउँ नै हिउँले ढाकिएका ठाडा र कताकति तेर्पाएँ–तेर्पाएँ डाँडा चढ्नुपर्ने साहसिक अभियान । यो आफैँमा एक सुमधुर चुनौती हो । मान्छेलाई उसको क्षमता र साहस जाँच्न हुट्हुटी लगाउने एक मनोरम प्राकृतिक धरोहर हो । र, हो मान्छेका लागि एक सदाबहार हाँक ।
त्यो हाँक स्वीकार गर्न तम्सिने हिम्मतिला महिला वा पुरुष मानवहरूका लागि सफलता र असफलता सँगसँगै हिँडिरहेका हुन्छन्, एक सिक्काका दुई पाटा बनेर ।
त्यसैगरी, सुखान्त र दुखान्तका पलहरू पनि नदेखिने दुई किनार बनेर साथसाथै हिँडिरहेका हुन्छन् । बेला–बखतमा बुद्धि, आँट र हिम्मत भएर मात्र लक्ष्य फत्ते हुँदैन, परिस्थिति र संयोगले पनि सहयोगी हात मिलाउनुपर्ने हुन्छ ।
यही त हो, सन् १९९६ –वि.सं.२०५३– को सगरमाथामा हिउँआँधीले सिर्जना गरेको मानवीय दुर्घटनाबाट सम्बन्धित सबैले सिक्नुपर्ने पाठ ।
प्रतिक्रिया 4