News Summary
Generated by OK AI. Editorially reviewed.- उपन्यासले अस्तित्ववाद र इसाई धर्मका गहिरा पक्षहरूलाई रास्कोल्निकोभ र सोनियाको पात्रमार्फत् प्रस्तुत गरेको छ।
- दोस्तोयभ्स्कीले उपन्यासमा गरिबी, बेरोजगारी र सामाजिक असमानताको यथार्थ चित्रण गर्दै पात्रहरूको स्वतन्त्र चेतनालाई उजागर गरेका छन्।
‘क्राइम एण्ड पनिसमेन्ट’: विश्व साहित्यको इतिहासमा एउटा यस्तो मनोवैज्ञानिक महाकाव्य हो, जुन आज डेढ सय वर्षभन्दा बढी समय बितिसक्दा पनि उत्तिकै सान्दर्भिक र चर्चित छ ।
उपन्यासका मुख्य पात्र ‘रास्कोल्निकोभ’को असाधारण अथवा विषेश मान्छेसम्बन्धी सिद्धान्त नै यस उपन्यासको वैचारिक मेरुदण्ड हो । उनले आफ्नो एउटा लेखमा मान्छेहरूलाई दुई श्रेणीमा विभाजन गरेका छन्, एक- उनीहरूले कानुनको पालना गर्छन्, परम्परालाई स्वीकार्छन् र समाजले बनाएको परिधिभित्रै बस्छन्, उनीहरूको मुख्य काम केवल जाति विस्तार गर्नु र यथास्थितिलाई कायम राख्नु मात्र हो । रास्कोल्निकोभको नजरमा उनीहरू साधारण मान्छे हुन् । अर्को- उनीहरू संसारका नियम परिवर्तन गर्नेहरू हुन् ।
उनीहरूले आफूलाई कानुनभन्दा पनि माथि सोच्छन् । कुनै महान् उद्देश्य प्राप्तिका लागि यदि कसैको हत्या गर्नुपर्छ भने, त्यो छुट ती असाधारण मान्छेहरूलाई छ, त्यो अपराध गर्ने नैतिक अधिकार उनीहरूमा छ ।
शक्ति, राजनीति अथवा धनको आडमा आफूलाई नियम-कानुनभन्दा माथि ठान्ने प्रवृत्तिलाई ‘क्राइम एण्ड पनिसमेन्ट’ले दर्पण देखाइदिएको छ । उपन्यासले यस्तो बौद्धिक घमण्डको कथा कहन्छ, जुन आजको समय र समाजमा पनि उत्तिकै जीवन्त छ । जबसम्म संसारमा अपराध रहन्छ, जबसम्म मान्छेमा विवेक र ग्लानीको भावना जीवित छ र जबसम्म उनीहरूले न्याय र क्षमाको खोजी गरिरहन्छ, तबसम्म ‘क्राइम एण्ड पनिसमेन्ट’को चर्चा चलिरहन्छ ।
‘क्राइम एण्ड पनिसमेन्ट’लाई डेढ शताब्दीदेखि विभिन्न विद्वान्, दार्शनिक तथा मनोवैज्ञानिकहरूले फरक-फरक कोणबाट नियालेका छन् । त्यसमध्ये किताबको मनोवैज्ञानिक दृष्टिकोण सबैभन्दा बढी चर्चा गरिने / गरिएको पाटो हो । त्यहीबाट थाहा हुन्छ, अवचेतन मनको जटिलता ‘फ्रायड’भन्दा अघिनै ‘दोस्तोयभ्स्की’ले देखाइसकेका थिए भनेर ।
उपन्यासका मुख्य पात्र रास्कोल्निकोभको नाम नै रूसी शब्द ‘Raskol’ बाट आएको हो, जसको अर्थ हुन्छ, ‘विभाजन’ । उनको व्यक्तित्व एउटा सिक्काका दुईवटा विपरीत पाटाजस्तै छ ।
उनीभित्र रहेका तार्किक र संवेगात्मक, दुई व्यक्तित्वको द्वन्द्वमाथि अहिलेसम्म धेरैले विभिन्न तरिकाले विश्लेषण गरिसकेका छन् । उनको मनोवैज्ञानिक विखण्डन र उनले देख्ने सपनाहरू यस उपन्यासका सबैभन्दा जटिल र चाखलाग्दा पाटा तथा पक्षहरू हुन् ।
उनीभित्र रहेको एउटा तार्किक पक्षले आफूलाई असाधारण रूपको सम्झिन्छ भने अर्को मानवीय पक्षले अरूको दुःख पटक्कै देख्न सक्दैन; त्यसैले जब तार्किक पक्षले हत्या गर्छ, त्यसको सजाय र ग्लानि मानवीय पक्षले भोग्नुपर्छ ।
उनको शरीर र आत्माले मस्तिष्कको क्रूर तर्कलाई स्वीकार गर्न सक्दैनन्, त्यसैले उनी बारम्बार बिरामी भइरहन्छन्, होसमा रहदैनन् । मनोवैज्ञानिक कोणबाट हेर्दा उपन्यासका अन्य पात्रहरू रास्कोल्निकोभकै व्यक्तित्वका विभिन्न छायाहरू हुन्; जस्तै ‘Svidrigailov’, उक्त पात्र रास्कोल्निकोभको त्यो डरलाग्दो रूप हो, जसमा कुनै नैतिकता बाँकी छैन । अर्को पात्र ‘Razumikhin’ भने रास्कोल्निकोभको त्यो स्वस्थ र सन्तुलित रूप हो, जो उनी हुन सक्थे।
लेखकले पात्रको अवचेतन मन देखाउन सपनालाई एउटा औजारको रूपमा गतिलोसँग प्रयोग गरेका छन् । उपन्यासमा रास्कोल्निकोभले विभिन्न समयमा देख्ने फरक-फरक सपनाहरूले उनको दबिएको मानवीय संवेदनालाई सतहमा ल्याएर व्याख्या गरेको छ ।
‘फ्रेडरिक नित्शे’ र ‘जीन-पल सार्त्र’ जस्ता प्रसिद्ध दार्शनिक तथा लेखकहरूले यस उपन्यासलाई अस्तित्ववादको जग मान्छन्; त्यसैले अस्तित्ववादको आँखाबाट हेर्ने हो भने ‘क्राइम एण्ड पनिसमेन्ट’ केवल एउटा हत्याराको कथा मात्र नभएर, ‘मान्छे हुनुको अर्थ के हो ?’ भन्ने एउटा ब्रह्माण्डीय प्रश्न पनि बन्न पुग्छ ।
‘फ्योदोर दोस्तोयभ्स्की’ले अस्तित्ववादका दुईवटा अत्यन्तै गहिरा तथा डरलाग्दा पक्षहरूलाई रास्कोल्निकोभ र अर्को पात्र ‘सोनिया’ ( मलाई एकदमै मनपरेको ) मार्फत् आमने-सामने उभ्याएका छन् । अस्तित्ववादको मुख्य मान्यता हो, हामी मान्छेहरू स्वतन्त्र छौँ / हुन्छौँ । रास्कोल्निकोभ त्यही स्वतन्त्रताको प्रयोग गर्न चाहन्छन् ।
उनी आफ्नै नैतिकताको निर्माण गर्न खोज्छन्; उनी सोच्छन्, यदि म साँच्चै स्वतन्त्र छु भने, समाजले बनाएको पाप र पुण्यको नियम मैले किन मान्ने ? के म आफ्नै नयाँ नियम बनाउन सक्दिनँ ? त्यहाँबाट निर्देशित हुँदै उनले हत्या गर्न पुग्छन् ।
उनको त्यो कदम कुनै रिसको आवेग नभएर एउटा दार्शनिक परीक्षण मात्र थियो । उनी जाँच्न अथवा जान्न चाहन्थे, नैतिकताको घेराभन्दा बाहिर निस्केर पनि मान्छेको रूपमा बाँच्न सकिन्छ कि सकिंदैन भनेर । अपराध गरेपश्चात् उनले स्वतन्त्रता त पाउँछन् तर, त्यसबाट उत्पन्न हुने ग्लानि र जिम्मेवारीको भारी भने बोक्न सक्दैनन् । अस्तित्ववादले हामीलाई स्वतन्त्रता दिलाउँछ, तर त्यसको दुरूपयोगको नतिजा पनि हामी एक्लैले भोग्नुपर्छ । रास्कोल्निकोभ त्यही एक्लोपनमा ठोक्किएर ढल्न पुग्छन् ।
‘फ्रेडरिक नित्शे’ले आफ्ना कृतिहरूमा ‘ईश्वरको मृत्यु’को बारेमा बारम्बार लेखिरहन्छन् । तर, दोस्तोयभ्स्कीले ‘क्राइम एण्ड पनिसमेन्ट’मा त्यसको प्रभाव पहिल्यै देखाइसकेका थिए । रास्कोल्निकोभको तर्क छ, यदि हामीभन्दा माथि बसेर न्याय गर्ने कोही छैनन् भने, सबै कुरा जायज छ; ब्रह्माण्डमा कुनै परम सत्य छैन भने, शक्तिशाली मान्छेले कमजोरलाई मार्नु एउटा प्राकृतिक घटना मात्र हो ।
तर, ‘सोनिया’ले त्यसको प्रतिवाद गर्छिन्; उनी धार्मिक अस्तित्ववादको प्रतिनिधित्व गर्छिन्; उनलाई थाहा छ, तर्कको चश्मा लगाएर जीवन हेर्दा अर्थहीन र कुरूप देखिन्छ । त्यसैले उनी विश्वास / आस्थाको थाक्रो समाउन पुग्छिन् । उनले रास्कोल्निकोभलाई देखाउँछिन्, ईश्वरको अस्तित्व गिर्जाघरमा नभएर मान्छेभित्रको करुणा र सहानुभूतिमा हुन्छ।
इसाई दर्शनमा एउटा धारणा छ, ‘कष्टले आत्मालाई शुद्ध बनाउँछ’। पाप र मुक्तिको यो इसाई अवधारणा उपन्यासको अर्को गहिरो र आध्यात्मिक पाटो हो । दोस्तोयभ्स्की स्वयं कट्टर इसाई धर्मावलम्बी भएकाले उनले रास्कोल्निकोभको पतन र पुनरुत्थानलाई बाइबलको एउटा नयाँ संस्करणजस्तै गरी प्रस्तुत गरेका छन् ।
सोनियाले देहव्यापार गर्छिन्, जुन समाजका लागि पाप हो । तर, उनले त्यो काम आफ्ना लागि नभएर अरूको जीवन बचाउन ( भाइबहिनीका लागि ) गर्छिन् । त्यो त्यागले उनलाई पापी नभएर एक शन्तको दर्जा दिन्छ, उनको हृदय सफा र ईश्वरप्रति समर्पित छ । रास्कोल्निकोभ मस्तिष्कको मार्गबाट हिँड्छन् भने सोनिया हृदयको मार्गबाट; दुवै समाजका नजरमा पापी र बहिष्कृत छन् । रास्कोल्निकोभले हत्या गरेर समाजको नियम तोडेका छन् भने सोनियाले परिवार बचाउन आफ्नो पवित्रता त्याग गरेकी छिन् ।
रास्कोल्निकोभले सोनियालाई सोध्छन्, ‘तिमी यति धेरै कष्ट सहेर पनि किन आत्महत्या गर्दिनौ ? किन ईश्वरमा विश्वास गर्छौ ?’ सोनियासँग त्यसको कुनै जवाफ हुँदैन । उनी केवल रून्छिन् र प्रार्थना गर्छिन् । उनको त्यही अतार्किक समर्पणले नै रास्कोल्निकोभको कठोर तार्किक पर्खाललाई भत्काइदिन्छ ।
उपन्यासको एउटा च्याप्टरमा सोनियाले रास्कोल्निकोभलाई बाइबलबाट ‘लाजरस’को कथा पढेर सुनाउँछिन्; लाजरस, जो मरेको चार दिनपछि जिससको प्रार्थनाले जीवित भएका हुन्छन् । रास्कोल्निकोभ शारीरिक रूपमा जीवित भएपनि उनले गरेको अपराधपछि उनको आत्मा मरिसकेको हुन्छ । जसरी लाजरस मृत्युपछि जीवित भएका थिए, सोनियाले रास्कोल्निकोभको मरिसकेको मानवीय संवेदना र आत्मालाई पुनः जीवित गराउने प्रयास गर्छिन् ।
सोनियाले रास्कोल्निकोभलाई एउटा क्रस दिन्छिन्, जसले आफ्नो पाप स्वीकार गर्ने र त्यसको भार वहन गर्ने सङ्कल्पलाई जनाउँछ । यसरी सोनियाले रास्कोल्निकोभलाई पापको दलदलबाट निकालेर मुक्तिको आकाशतर्फ डोहोर्याउने एउटा पुलको काम गर्छिन् ।
‘क्राइम एण्ड पनिसमेन्ट’ रास्कोल्निकोभ र सोनियाबीचको केवल प्रेम सम्बन्ध मात्र नभएर ती दुई प्रताडित आत्माहरूको मिलन, पाप र प्रायश्चित्तको संघर्ष र आध्यात्मिक पुनर्जन्मको गाथा पनि हो ।
रास्कोल्निकोभले आफ्नो अपराधको स्वीकारोक्ति पहिलोपटक सोनियाकै अगाडि गर्छन् । उनले आफ्नी आमा अथवा बहिनीलाई नभई सोनियालाई रोज्नुको कारण पनि त्यही हो, सोनियाले मात्र उनको पीडा र पापको गहिराइ बुझ्न सक्छिन् ।
उनले सोनियालाई ढोग्दै भन्छन्, ‘मैले तिमीलाई ढोगेको होइन, मैले त मानवताको सम्पूर्ण पीडालाई ढोगेको हुँ ।’ उक्त संवादले उनीहरूको सम्बन्धको गहिराइ झल्काउँछ । रास्कोल्निकोभका निमित्त सोनिया एउटा यस्तो दर्पण भएर उभिएकी छिन्, जहाँ उनले आफ्नो कुरूपता र सम्भावित मुक्ति दुवै स्पष्ट देख्न सक्छन् ।
सोनियाले रास्कोल्निकोभलाई आत्मसमर्पण गर्न मात्र प्रेरित गर्दिनन्, उनीसँगै डोहोरिंदै साइबेरियाको जेलसम्म जान्छिन् । सोनियाको नि:स्वार्थ प्रेमले रास्कोल्निकोभको अहंकारलाई बिस्तारै पगाल्दै लैजान्छ । उनीहरूको सम्बन्ध अन्धकारमा बलेको दियोजस्तै लाग्छ । उपन्यासको अन्त्यमा जब रास्कोल्निकोभले सोनियाको खुट्टा समातेर रून्छन्, त्यस क्षणलाई उनको वास्तविक प्रायश्चित्त र आध्यात्मिक पुनर्जन्मको सुरुवात मान्न सकिन्छ । सोनियाको प्रेमले उनले सिक्छन्, जीवन तर्कले नभएर प्रेम र कष्ट सहने क्षमताले चल्छ भनेर ।
‘क्राइम एण्ड पनिसमेन्ट’ले १९औँ शताब्दीको रुसको गरिबी, बेरोजगारी र सामाजिक असमानताको नग्न तस्बिरलाई जस्ता-को-त्यस्तै उतारेको छ । मार्क्सवादी र समाजशास्त्रीय दृष्टिकोणले यसलाई एउटा सामाजिक दुर्घटनाको रूपमा व्याख्या गर्छन् । दोस्तोयभ्स्कीले शहरको वर्णन गर्दा कुनै सुन्दर महल वा बगैँचाको कुरा गर्दैनन् ।
उनले रास्कोल्निकोभको साँघुरो कोठालाई कफिनसँग तुलना गरेका छन् । त्यस्तो सानो र साँघुरो कोठामा कसरी कोहीभित्र स्वस्थ विचार अङ्कुरित हुन सक्छ ? समाजशास्त्रीहरूले पनि भन्ने गर्छन्, ‘साँघुरो र खराब आवास / वातावरणले खराब तथा दुषित विचार नै जन्माउँछ ।’
उपन्यासको पृष्ठभूमि; शहरको भीडभाड, रक्सीको गन्ध र गरिबीको दुर्गन्धले यस्तो उकुसमुकुस पैदा गरेको छ, जसले रास्कोल्निकोभ जस्तो संवेदनशील युवकलाई समाजप्रति विद्रोही बनाउँदै लिएर जान्छ । त्यसैले उनले गरेको अपराधलाई एउटा यस्तो व्यक्तिले गरेको विस्फोट मान्न सकिन्छ, जसलाई समाजले लामो समयदेखि एउटा साँघुरो कुनामा थुनेर राखेको थियो ।
मार्क्सवादी कोणबाट हेर्दा, ‘अलियोना’ले ( रास्कोल्निकोभले हत्या गरेको महिला ) शोषक वर्गको प्रतिनिधित्व गर्छिन् । उनी गरीबहरूको मजबुरीको फाइदा उठाउँछिन्; उनीहरूको सामान आफूसँग राख्दै त्यसको बदलामा निकै थोरै पैसा दिएर उनीहरूको रगत चुस्छिन् । रास्कोल्निकोभले अलियोनालाई मार्नु एउटा सामाजिक सफाइको रूपमा हेर्छन् । उनी यस्तो बौद्धिक युवा हुन्, जोसँग क्षमता छ तर, अवसर छैन; त्यसैले उनले आफूलाई व्यवस्थाको पीडितको रूपमा देख्छन् ।
‘मार्मेलादोभ’ ( जडियाँ पात्र ) को परिवारिक अवस्थाले कसरी आर्थिक अभावले मान्छेको नैतिकता र मर्यादालाई ध्वस्त पार्छ भनेर देखाउँछ । जसरी सोनियाले देहव्यापार रोज्नुलाई उनको इच्छा नभएर पूँजीवादी समाजको क्रूर अनुहार मान्न सकिन्छ, त्यसरी नै मार्मेलादोभ रक्सीमा डुब्नुको कारण उनको खराब चरित्र नभएर बेरोजगारी र गरिबीबाट उत्पन्न निराशालाई जनाउँछ ।
समाजशास्त्रीय दृष्टिकोणले रास्कोल्निकोभलाई एउटा एन्टी-हिरो मान्छ, जसले एउटा अन्यायपूर्ण समाज र आर्थिक व्यवस्थाविरुद्ध गलत तरिकाले भएपनि विद्रोह गर्न खोजेको छ । दोस्तोयभ्स्कीले यो देखाउन खोजेका छन्, जबसम्म समाजमा चरम गरिबी र शोषण रहन्छ, तबसम्म रास्कोल्निकोभहरू जन्मिरहन्छन् र अपराध भइरहन्छन् ।
अधिकांश उपन्यासहरूमा लेखक नै सर्वज्ञानी हुन्छन् । लेखकले जुन पात्रलाई मन पराउँछन्, उनैलाई सही र अरूलाई गलत देखाउँछन् । तर, दोस्तोयभ्स्कीले त्यसो गरेका छैनन्; उनले आफ्ना सबै पात्रहरूलाई स्वतन्त्रता दिएका छन् । दोस्तोयभ्स्की आफैँ कट्टर इसाई धर्मावलम्बी थिए, तर उनले उपन्यासमा नास्तिक अथवा शून्यवादी पात्रहरूका तर्कलाई पनि यति बलियोसँग प्रस्तुत गरेका छन्, हामी पाठकहरूलाई कहिलेकाहीँ ती पात्रहरू नै सही हुन् जस्ता लाग्छन् । उनीहरूका स्वतन्त्र आवाजहरू उपन्यासमा एक-अर्कासँग ठोक्किन्छन्, तर कोही पनि पूर्ण रूपमा दबिँदैनन् ।
उपन्यासको अर्को बलियो पक्ष हो, संवाद; किताबमा आन्तरिक संवादको ठूलो भूमिका रहेको छ । भनिन्छ, हाम्रो सम्पूर्ण अस्तित्व नै संवादमा टिकेको हुन्छ । रास्कोल्निकोभले जब-जब एक्लै आफ्नो अन्तर्मनसँग कुरा गर्छन्, त्यतिबेला पनि उनी वास्तवमा अरूका तर्कहरूसँग लडिरहेका हुन्छन् । हामी पाठकहरूले कुनै एउटा पात्रको कुरा मात्र सुन्दैनौँ, त्यस्ता धेरै फरक विचारधाराहरू बीचको बहस / विवादका साक्षी बन्छौँ ।
उपन्यासका अर्का पात्र जासूस ‘पोर्फिरी’ र रास्कोल्निकोभबीचको संवाद झन् रोचक छन् । पोर्फिरी केवल पुलिस जासूस होइनन्, उनी एक महान् मनोवैज्ञानिक पनि हुन् । उनी र रास्कोल्निकोभबीचको सम्बन्ध तथा संवादलाई एउटा बौद्धिक युद्ध मान्दा कत्तिपनि फरक नपर्ला ।
पोर्फिरीलाई सुरुदेखि नै थाहा हुन्छ, हत्यारा रास्कोल्निकोभ नै हुन् भनेर । तर, उनी प्रमाण खोज्नुभन्दा पनि रास्कोल्निकोभलाई मनोवैज्ञानिक रूपमा आफैँले गल्ती स्वीकार गर्ने अवस्थामा पुऱ्याउन चाहन्छन् । रास्कोल्निकोभलाई लाग्छ, उनी आफ्नो बुद्धिमताले पोर्फिरीलाई झुक्काउन सक्छन् । तर, पोर्फिरीले उनलाई यस्तो दबाबमा राख्छन्, रास्कोल्निकोभको अहंकार बिस्तारै टुट्दै जान्छ । पोर्फिरीले रास्कोल्निकोभलाई घृणा गर्दैनन्, बरू उनलाई ‘सजाय भोगेर शुद्ध हुन’ सल्लाह दिन्छन् ।
‘क्राइम एण्ड पनिसमेन्ट’ एउटा यस्तो मञ्च हो, जहाँ दोस्तोयभ्स्कीले पात्रहरूलाई आफ्नो कठपुतली बनाएका छैनन्, बरू उनीहरूलाई स्वतन्त्र चेतना भएका व्यक्तिका रूपमा उभ्याएका छन् । रास्कोल्निकोभले हत्या गरेपछि भोगेको मानसिक पीडाको चित्रण यति वास्तविक लाग्छ, त्यसमा आजको तनावपूर्ण समयका मान्छेहरूले आफ्ना मानसिक सङ्घर्ष प्रतिविम्बित भएको पाउँछन् ।
अपराधीलाई कानुनले भन्दा पनि आफ्नै विवेकले बढी सजाय दिन्छ; मान्छे जतिसुकै तर्कशाली भएपनि उसको भित्री मानवीय संवेदनालाई मार्न सक्दैन भन्ने सन्देशले ‘क्राइम एण्ड पनिसमेन्ट’लाई कालजयी बनाएको छ । मान्छेको अवचेतन मनलाई बुझ्न यो उपन्यास एउटा गाइडबुकजस्तै हो ।
हरेक नयाँ पुस्ताका पाठकले यसमा आफ्नो समयको संकट, समस्या भेटेका छन् / भेट्नेछन्, चाहे त्यो मानसिक स्वास्थ्यको कुरा होस्, सामाजिक न्यायको होस् वा व्यक्तिगत नैतिकताको, ‘क्राइम एण्ड पनिसमेन्ट’ले ती सबैलाई समेटेको छ ।
प्रतिक्रिया 4