News Summary
Generated by OK AI. Editorially reviewed.- तेह्रथुम, सङ्खुवासभा र ताप्लेजुङको संगमस्थलमा रहेको गुफापोखरी आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षणको केन्द्र बनेको छ।
- गुफापोखरी समुद्र सतहदेखि २,८०० मिटरको उचाइमा रहेको छ र यहाँबाट मकालु, कञ्चनजङ्घा, ल्होत्से र सगरमाथा हिमाल अवलोकन गर्न सकिन्छ।
- पोखरी आसपासको जंगलमा ३० प्रकारका स्तनधारी जनावर, २७४ प्रकारका चरा र ८ प्रकारका माछा पाइन्छन् र स्थानीयले यहाँका खानपान सुविधाको प्रशंसा गरेका छन्।
२८ चैत, तेह्रथुम । चारैतिर टल्किएका हिमालहरू, आफ्नै छाया प्रतिबिम्बित गर्ने सुन्दर पोखरी, गुराँसे वनको काखमा सुस्तरी हावाको बेगसँगै छल्किंदै गरेको पोखरी । यी दृश्यले सबैको मन लोभ्याउँछन् । सानो र चिटिक्क परेको गुफा बजार र त्यसको नजिकै अवस्थित गुफापोखरी अहिले पर्यटकहरूको आकर्षणको केन्द्र बनेको छ ।
तेह्रथुम, सङ्खुवासभा र ताप्लेजुङको सङ्गमस्थलमा रहेको यो पोखरीमा आन्तरिक तथा बाह्य पर्यटकहरू रमाउने गर्छन्। विशेष गरी गुराँस फुल्ने मौसममा यहाँ पर्यटकहरूको घुइँचो लाग्ने गर्छ । चाडपर्व मात्र होइन, वर्षभर नै यहाँ आगन्तुकहरूको कमी हुँदैन । जाडो सिजन सुरु भएसँगै हिउँ परेपछि हिउँ खेल्ने पर्यटकहरू सयौँको संख्यामा पोखरी र आसपासका क्षेत्रमा रमाइरहेका देखिन्छन्। ।
गुराँसको राजधानी मानिने तिनजुरे, मिल्के र जलजलेको काखमा रहेको यो पोखरी पूर्वको एक परिचित पर्यटकीय गन्तव्यका रूपमा चिनिन्छ । समुद्र सतहदेखि २,८०० मिटरको उचाइमा रहेको यो पोखरी अत्यन्तै मनमोहक देखिन्छ । पोखरीभन्दा केही पर रहेको मेन्छयायेम डाँडाको पछाडि गुफा भएको कारण यही नामबाट पोखरीको नाम ‘गुफापोखरी’ रहन गएको स्थानीय हिमा खनालले बताइन् ।
उनका अनुसार, विसौँ शताब्दीमा गुफामा बसेर पुजारीहरूले ध्यान गर्ने गर्थे र ती पुजारीहरू पोखरीमा आएर नुहाउने भएकाले यही पोखरीलाई ‘गुफापोखरी’ नामले चिनिन थाल्यो भन्ने किंवदन्ती छ । पोखरीको सुन्दरता र प्राकृतिक वातावरणसँगै प्रकृतिले बरदान दिएको ठाउँ जस्तै लागेको मोरङबाट घुम्न आएकी एल्जिना लावतीले बताइन् । ‘म पहिलो पटक आएको हुँ, यति सुन्दर पोखरी जहाँ हिमालको छायासँगै रमाउन पाउँदा एकदमै खुशी छु’, उनले भनिन् ।

पोखरीको छेउमा मन्दिर पनि रहेको छ । आन्तरिक र बाह्य पर्यटकहरूको रोजाइमा पर्दै आएको यो स्थल चैत्र-वैशाख महिनामा गुराँस फुलेको मनमोहक दृश्यका कारण अझ आकर्षक बन्छ । सुक्रबार र शनिबार यहाँ आउने पर्यटकहरूको संख्या बढी हुने गरेको छ ।
तेह्रथुम–ताप्लेजुङ हुँदै गुफापोखरी पुग्दा बिचैमा पर्ने तिनजुरे–मिल्के–जलजले क्षेत्रमा नेपालमा पाइने ३२ मध्ये २८ प्रजातिका गुराँस फुल्ने घना जंगल देख्न सकिन्छ । मौसम खुलेको बेला गुफा बजारबाट मकालु, कञ्चनजङ्घा, ल्होत्से र सगरमाथा हिमाल समेत अवलोकन गर्न सकिन्छ ।
आन्तरिक तथा बाह्य पर्यटकलाई सहजता दिलाउन भने पहिलो सडक निर्माणसँगै पोखरी र गुफा दुवैलाई प्रवर्द्धन गर्न स्थानीय, प्रदेश र संघीय सरकारले ध्यान दिनुपर्ने चैनपुर नगरपालिका–१ का स्थानीय सुहाङ लिम्बूको भनाइ छ ।
पोखरी आसपासको जंगलमा करिब ३० प्रकारका स्तनधारी जनावर, २७४ प्रकारका चरा, २५ प्रकारका किरा, ८ प्रकारका माछा, ६ प्रकारका सर्प–घस्रने जीव र ३ प्रकारका भ्यागुता पाइने तथ्याङ्क स्थानीयहरूले दिएका छन् ।
गुफापोखरीसँगै गुफा बजार नामक मानव बस्ती र नजिकै सुके बजार पनि रहेका छन्। गुफा बजारमा खान र बस्नका राम्रा सुविधा उपलब्ध छन्। यहाँ चौरी, भेडाको घिउ, छुर्पी, दुध–दही, मह जस्ता वस्तु पाइन्छन्। याङवेन, तङ्वा, सुकुटी र बंगुरको मासुका परिकारका लागि यो ठाउँ निकै प्रसिद्ध छ ।
अधिकांश होटलमा स्थानीय परिकार – याकको मासु, भेडाको मासु, लोकल कुखुरा र हिमाली सिमीको दाल पाइन्छ । सरकारले नयाँ पर्यटकीय गन्तव्यका रूपमा घोषणा गरेको तेह्रथुम, सङ्खुवासभा र ताप्लेजुङको संगमस्थल तिनजुरे–मिल्के–जलजले क्षेत्रभित्र गुफा बजार र गुफापोखरी पनि समावेश छन् ।
प्रतिक्रिया 4